Autobiography

[ Download PDF  (4 MB) | TXT (suitable for mobile phones) ]

 

वैरागदेखि बचावसम्म

(आत्मकथा ‘डिनायल टु डिफेन्स्’को नेपाली अनुवाद)

डा. सी. के. राउत
पीएच. डी. (क्यामब्रिज)

इन्टरनेट संस्करण, सन् २०१३ मार्च
© सर्वाधिकार लेखकमा सुरक्षित

विषय-सूची

लेखकका बारेमाप्रस्तावना

१. त्यो नाजुक मोड

२. मेरो मध्यदेश

३. दासताको डोरी

४. झोपडीभित्र

५. क्षितिजपारि

६. गुरुको ज्ञान

७. आक्रान्त अछुत

८. शहरको सेरोफेरो

९. लौहद्वार नाघ्दा

१०. काठमाडौंका कथाहरू

११. मान्छे हैन, मधिसे

१२. इच्छित इन्जिनियरिङ

१३. ढोकापछाडि

१४. मधेशी मास्टर

१५. बदलिएको बहाव

१६. जापानतिर

१७. घोर शून्यता

१८. सत्यको खोजीमा

१९. एक अर्को आक्रमण

२०. फेरि फर्किंदा

२१. क्यामब्रिजको काखमा

२२. स्थूल समाज

२३. नेपालगंजको आक्रमण

२४. मधेश आन्दोलन

२५. मधेश र मिडिया

२६. पहाड र परीहरू

२७. आततायी दिनहरू

२८. अमेरिकी सपना

२९. द्वैधी डायस्पोरा

३०. मेचीदेखि महाकाली

३१. निर्विकल्प गोरेटो

३२. स्वशासनको अधिकार

३३. स्वतन्त्रता संग्राम

३४. आत्मसम्मानको एक दिन

परिशिष्ट

क: शान्तिका अग्रदूत गौतम बुद्धलाई एक पत्र

ख: श्री ५ महाराजाधिराज तथा सम्बन्धित सबैलाई एउटा खुला पत्र

ग: मधेश आन्दोलनका क्रममा दिइएका सार्वजनिक वक्तव्यहरू

घ: प्रस्तावित मधेश राष्ट्रगान

ङ: काठमाण्डू के खुलामञ्च पर मधेशी मोर्चा द्वारा आयोजित आमसभा में भाषण

READING GUIDE

लेखकका बारेमा

डा. सी. के. राउत सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मे-हुर्केका हुन्। उनले नेपालको त्रिभुवन यूनिवर्सिटी, जापानको टोकियो यूनिवर्सिटी र बेलायतको क्यामब्रिज यूनिवर्सिटीबाट शिक्षा प्राप्त गरेका छन्। उनी युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट विभूषित छन्। अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत् उनी सन् २०११ को अन्त्यतिर आफ्नो पदबाट राजीनामा दिएर मधेश फर्के। उनी अमेरिकामा दर्ता गरिएका तथा विश्वभरि नै उपस्थिति राखेर मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष हुन्। उनी सामाजिक रूपान्तरणको उद्देश्य बोकेका इजोत अभियानका संस्थापक समेत हुन्।

प्रस्तावना

‘डिनायल टु डिफेन्स्’ मुख्य रूपमा सन् २०१० को अन्त्यतिर अमेरिकामै बस्दा लेखिएको हो। नेपालमा मेचीदेखि महाकाली यात्रा सकेर अमेरिका फर्केको केही समयपछि आफ्नो जन्मभूमि नै फर्किने निर्णय गरे पश्चात् नै मैले त्यो किताबलाई मूर्तरूप दिन थालेको थिएँ। पहिलो ड्राफ्ट २०११ को पूर्वार्धमै सके पनि सम्पादन गर्न भने मैले समय निकाल्न सकिरहेको थिइनँ, र नेपाल फर्कँदासम्म पनि त्यो काम पूरा हुन सकेन। नेपाल फर्केदेखि भने म अनवरत रूपमा अनेकौं जिज्ञासा, कौतुहलता र प्रश्नहरूको लक्ष्य बन्न पुगेँ र त्यसकारणले आफ्नो आत्मकथा चाँडै नै प्रकाशित गर्नुपर्ने आवश्यकता महशूस भएर आयो। जिज्ञासुहरू प्राय: नेपाली भएकाले तथा मूल अंग्रेजी संस्करणको प्रकाशनमा ढिलाइ तथा अनिश्चितता देखिएकाले नेपाली अनुवाद नै पहिला ल्याउनु परेको हो।

प्रकाशन चाँडो गर्ने हेतुले नेपाली लेखनमा खासै अभ्यास नभए तापनि अनुवाद आफैंले गर्नु परेको हो। अनुवाद गर्दा मुख्य रूपमा भावलाई नै विचार गरिएको छ, र आफैंले अनुवाद गरेकाले मूल संस्करणको तुलनामा केही काँटछाँट गर्ने स्वतन्त्रता पनि मैले उपयोग गरेको छु। हुन पनि मूल अंग्रेजी संस्करण अन्तर्राष्ट्रिय पाठकलाई ध्यानमा राखेर लेखिएको थियो, तर नेपाली पाठकलाई आफ्नै देशका कतिपय कुराहरू विस्तारमा वर्णन गरिराख्नु पर्ने आवश्यकता पनि हुँदैन। अर्को कुरा, यस संस्करणमा मैले पहिला नेपाली वा हिन्दीमा लेखेका केही सम्बन्धित कुराहरूलाई परिशिष्टको रूपमा थपेको छु र त्यसमा हालका केही कुराहरू पनि परेका छन्। त्यसै गरी यस संस्करणमा केही तस्वीरहरू पनि थपेको छु।

समयाभावको कारणले अनुवाद गर्नुदेखि लिएर टाइप र लेआउट पनि आफैंले नै गरेर यो पुस्तक पाठक समक्ष ल्याउनुपर्यो, भाषा शुद्धि गर्नसम्म पनि भ्याएन। यस किताबमा निश्चय नै भाषागत् तथा अन्य त्रुटीहरू भएका छन्। त्यसलाई आउँदा संस्करणहरूमा सुधार्ने बचनका साथ यो पुस्तक पाठकहरू समक्ष राख्दछु।

पुस्तक तयारी तथा प्रकाशन गर्ने क्रममा मलाई सहयोग गर्नु हुने सबैलाई म धन्यवाद दिन चाहन्छु। खास गरी म आफ्नो गुरूवर्ग प्रति विशेष आभारी छु।

सी. के. राउत, पीएच. डी. (क्यामब्रिज)

२०१२ अप्रिल ७, राजबिराज

१. त्यो नाजुक मोड

आइमाईले लगाउने भनिए तापनि म आफ्नो अनुहारभरि फेयर एण्ड लभली हतार-हतार लगाएँ। मिश्रले ढोका कैयौं पटक ढकढकाइसकेको थियो, र बाहिरबाट जोर-जोरले मलाई बोलाइरहेको थियो। कम्प्यूटर सम्बन्धी एउटा पत्रिका निकाल्ने विषयमा सुझाव लिन हामी एक लेखकलाई भेट्न जाँदै थियौं। त्यस ताकासम्म, शायद त्यस किसिमको कुनै पत्रिका नेपालमा थिएन, र आफ्नो देशको लागि केही राम्रो काम गर्ने अठोट लिएका हामी त्यसलाई शुरुवात गर्ने तरखरमा थियौं, यद्यपि हामी दुवै जना त्यति वेला विद्यार्थी नै थियौं र काठमाडौं उपत्यकामा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत थियौं।

लेखक पाटनमा बस्थे। पुल्चोक क्याम्पसभन्दा त्यति टाढा थिएन उसको डेरा। क्याम्पसको हाता भित्रै क्यान्टिन, पसल र खेलमैदान जस्ता सुविधाहरू भएकाले प्राय: हामीलाई बाहिर जानु पर्दैनथ्यो। कैयौं दिनसम्म म बाहिर निस्केको थिइनँ।

होस्टलबाट बाहिर निस्किने बित्तिकै अनुहारमा चिसो हावाको अनुभूति भयो। लगभग छ वर्षअगाडि पढ्नका लागि म काठमाडौं छिरेको थिएँ, देशका कुना-कुनाबाट अन्य विद्यार्थीहरू आए जस्तै। तैपनि, उपत्यका र पहाड मेरो लागि चिसो नै थियो। निकै गर्मी हुने देशको दक्षिणी भाग मधेशमा जन्मेकोले होला, उपत्यका र पहाड जहिले पनि मलाई चिसो लागि नै रह्यो। तैपनि, जाडो विदामा समेत म राजधानी मै बस्ने गर्थें, र कलेजको लाइब्रेरीमा आफ्नो अधिकांश समय विताउँथें। त्यो एक अर्को शिशीर थियो।

जसरी हामी खेलमैदान र पुरानो लाइब्रेरी हुँदै आफ्नो बाटोमा अगाडि बढ्दै थियौं, दीपकजीले हामीलाई बाटैमा रोक्नुभयो।

‘बाहिर नजानुस्। कहाँ हिँड्नु भा’?’ उहाँले चेताउँदै हामीलाई भन्नुभयो।

‘किन?’ प्रतिक्रिया कसरी दिऊँ नबुझेर मेरो मुखबाट फुत्त निस्किहाल्यो।

‘ए मान्छे, चारैतिर दङ्गा छ। पहाडीले मदिसेलाई जहाँतहीँ समात्दै गोदिरहेका छन्, खत्तम छ। उनीहरूले प्रदीपजीलाई पनि बागमती पुलमै भेट्टाएका थिए, तर त्यति बेला हामी धेरैजना थियौं, र त प्रदीपजीलाई घेरेर बल्ल-बल्ल बचायौं। अनि दुईजना मात्रै कहाँ लुरुलुरु हिँड्नु भा’?’

गोर्खा घर भएका दीपकजी आफैं पहाडी भए तापनि मेरा असल मित्र थिए। मधेशमा जन्मेका हामीलाई — सम्मानपूर्वक भन्दा — मधेशी भनिन्थ्यो।

हाम्रो सुरक्षाको बारेमा दीपकजीको चिन्ताका बावजूद उहाँको सल्लाहमाथि हामीले त्यति ध्यान दिएनौं। उहाँसँग दुई-चार कुरा गरेर हामी अगाडि बढ्यौं र गेटसम्मै पुग्यौं। तर गेट बन्द थियो। दिँउसोतिर गेट बिरलै बन्द हुन्थ्यो। हामीले पालेलाई गेट खोल्न लायौं, अलि चकित हुँदै हेर्दै उसले गेट खोलिदियो।

बाहिर सडक सफा थिएन, केही गरी त्यसले मलाई डढेर खरानी भएको गाउँमा पानी परेपछि देखिने स्थितिको याद दिलाइरहेको थियो। बलेका टाइरका खरानी, ढुंगा र ईंटका टुक्राहरू, आधा जलेका कागजका टुक्राहरू यत्रतत्र थिए। भागाभागमा मान्छेहरूले छाडेर गएका चप्पलहरू छरपस्ट थिए। घरका ढोका र झ्यालहरू बन्द थिए। कोही पनि देखिन्न थियो, शायद केहीअगाडि लाएको कर्फ्यूले होला।

हामी पाटनढोका पुग्दा पनि त्यहाँ दर्जन जति पुलिस बाहेक अरू कसैलाई देखेनौं। पाटनढोकामा प्राय: मान्छेहरूको घुँइचो लाग्ने गर्दथ्यो तर त्यो दिन त एउटै मान्छे पनि बिरलै देखिन्थ्यो। तर बलिरहेका टाइरहरूबाट धूवाँको कालो मुस्लो अझै निस्किरहेको थियो, केही दनदनी बल्दै पनि थिए। त्यो देखेर अलि भयभीत भएका हामीले आफ्नो नजर चारैतिर घुमायौं। गल्लीतिर आधा खोलिएका पसलहरूमा हुल लुकेको हामी देख्न सक्थ्यौं। तिनीहरूका आँखा कुनै शिकारी जन्तुले आफ्नो शिकारमाथि पारे झैं थिए। एकछिन त त्यो दिन के गर्न बाहिर निस्केको जस्तो लाग्यो। पुलिसहरू पनि हामीलाई त्यहाँ देखेर अलि अचम्भित थिए। तैपनि हामी आफ्नो गन्तव्यतिर लाग्यौं। गल्लीहरूमा केहीले आफ्नो बरन्डाबाट हामीलाई टोलाइरहेका थिए, तर तिनीहरूतिर हेर्दै नहेरी हामी अगाडि बढिरह्यौं।

लेखकको डेरा पुग्नासाथ, मिश्रले ढोका ढकढकायो तर एक छिनसम्म कुनै आवाज आएन। त्यहाँ पनि ढोका र झ्यालहरू बन्दै थिए र त्यहाँ पनि मान्छेहरूको चहलपहल थिएन। अलि अनौठो लाग्यो, तर मिश्रले ढोका ढकढकाइरह्यो। एक छिनपछि भित्रबाट कसैको आवाज आयो। मिश्रले आफ्नो नाम भन्यो। लेखकले ढोका आधी खोले, हामीलाई भित्र ताने र तुरुन्तै ढोका लगाएर चुकुल लाए।

‘यो बेला कसरी आउन सक्नुभयो?’ लेखक भयभीत हुँदै भने, ‘बाहिर सबै ठीक त छ?’

‘ठीकै छ,’ मिश्रले अलि अप्ठ्यारो मान्दै जवाफ दियो।

‘तपाईं आज यसरी आउनु हुन्न थियो, माहौल ठीक छैन,’ भूईंतिर हेर्दै उनले भने। केही छिनको असहज अनालापपछि उनले एउटा समाचारपत्र मलाई देखाउँदै भने — ‘ल हेर्नुस्, तपाईंको ठाउँमा त एक जनालाई पुलिसले गोली हानेछ।’

मैले त्यो समाचार पढें। सप्तरीको राजबिराजमा पुलिसले खुशीलाल यादवलाई गोली हानेर मारेको रहेछ। मेरो घरको स्थिति कस्तो छ भनेर मैले जान्न पाएको थिइनँ, तर ठीकै होला भनेर आशा गरें। आखिर हाम्रो मधेशीहरूको बाहुल्यता भएको जिल्ला थियो, र पहाडी आप्रवासीहरू थोरै संख्यामा थिए। तैपनि म बढीमा आशा मात्र गर्न सक्थें, किनकि तिनीहरू थौरै भए पनि प्रशासन, पुलिस र सेना त तिनीहरूकै थिए, बन्दुक त तिनीहरूसँगै थिए, र गोली तिनीहरूले नै हान्न सक्थे।

आक्रमणको डरले लेखक आफैं बाहिर गएका थिएनन्, र आफ्नो ढोका र झ्यालहरू बेस्सरी बन्द गरेर राखेका थिए। बन्द कोठाभित्र हामी आफ्नो पत्रिकाको बारेमा गफ गर्यौं तर त्योभन्दा पनि बढी मधेशीमाथि जहाँतहीँ भइरहेका आक्रमणका बारेमा। त्यस सम्बन्धी केही खबरहरू मैले समाचारपत्रमा पढे पनि शासकवर्गको हातमा रहेका मिडियाले मधेशीमाथि भइरहेको व्यापक आक्रमणका खबरहरू प्राय: छाप्दैनथे, बरु तिनीहरूले त्यसलाई ढाकछोप गर्ने प्रयास गर्थे। लेखक कलमजीवी भएर होला, उनको पहुँच मधेशका विभिन्न ठाउँ र पत्रकार-रिपोर्टरहरूसम्म थियो, र फोनमा उनी बराबर खबर पाइरहन्थे। मधेशीमाथि भइरहेको व्यापक आक्रमणका खबरहरू उनीबाट सुनेर हामी स्तब्ध भयौं।

एक घन्टाभन्दा बढी समयसम्म उनीसँग गफ गरेपछि कुनै डराएको बिरालो झैं हामी आफ्नो कोठातिर लाग्यौं। गल्लीहरूबाट बच्दै र मूल सडकको बीचमा हिँड्दै पुलिसहरू भएको ठाउँ हुँदै हामी कलेज फर्क्यौं।

क्याम्पस सुरक्षित फर्केकोमा हामीले भगवानलाई धन्यवाद दियौं। क्याम्पस पुगेपछि हामीलाई एक किसिमको राहतको अनुभव भयो, केही छिनको लागि भए पनि। सूर्यको अझै अत्तोपत्तो थिएन, भूईं अझै ओशिलो र भिजेको थियो, र बाटो ठाउँठाउँमा चिप्लो।

त्यो दिन भौतिकरूपमा कुनै आक्रमणको शिकार नभए पनि म अत्यन्त आकुल थिएँ। म समाचारपत्रहरू खोजीखोजी पढ्न थालें, पुराना दिनका समेत। तर तिनीहरूमा दङ्गा भड्काउने, पहाडीहरूमा अन्धराष्ट्रवाद र हिंषा सञ्चार गर्ने, र पहाडी नेताहरूले दङ्गा र मधेशीमाथि भइरहेका आक्रमणहरूको समर्थन गरिएका समाचारहरू नै धेरै भेटें।

के भएको रहेछ भनेर कुरो बुझ्दै जाँदा पत्ता लाग्यो त्यो सबै चितवनबाट शुरू भएको रहेछ। चितवन शुरुमा आदिवासी मधेशीहरू, थारूहरूको भूमि हुने गर्दथ्यो। तर पहाडीहरू त्यहाँ झर्दै र बसाइँ सर्दै अधिकांश थारूहरूलाई विस्थापित गरे र तिनीहरूलाई अल्पसंख्यक नै बनाइदिए। सन् १९५० पूर्व त्यहाँ बिरलै कुनै पहाडीको वस्ती थियो। तर औंलो उन्मूलनपछि, चितवन पहाडीहरूको आकर्षणको केन्द्र बन्न पुग्यो। तिनीहरू एकपछि अर्को षड्यन्त्र गर्दै, एकपछि अर्को ‘योजना’द्वारा मधेशी भूमिपुत्रहरूको जमीन खोस्दै चितवनमा बसे। र त्यो आक्रमण पनि त्यसकै एउटा हिस्साको रुपमा आएको हुनसक्छ। त्यो कुराको शुरूवात डिसेम्बरको मध्यमा भएको थियो, ऋतिक रोशनले नेपाललाई घृणा गर्ने कथित टिप्पणी एउटा पत्रिकाले छापेपछि। अनौठो रुपमा, त्यो मधेशी विरुद्धको आक्रमण र दङ्गामा परिणत भएको थियो।

तर दङ्गा चितवन भित्रै सीमित रहेन, बरु देशभरि नै फैलियो। नेपालका राष्ट्रिय पत्रपत्रिकाहरूले त्यसलाई अझ बढाइ-चढाइ गरेर नेपालीहरूमा अन्धराष्ट्रवाद र हिंषाको संचार गरे। तिनीहरूले समाचारलाई पुष्टि गर्ने प्रयास त गरेनन्, बरु ऋतिकले त्यसो बोले बापत ‘नेपाली’हरूले केही गर्नै पर्ने र मधेशी विरुद्धको आक्रमण र दङ्गा उचित भएको भन्दै समाचार र अन्तर्वार्ताहरू छापे। त्यसका अलावा बामदेव गौतमको नेतृत्वमा नौवटा पहाडी पार्टीहरूको गठबन्धनले आक्रमण र दङ्गालाई समर्थन गरेको थियो। परिणामस्वरूप रंगभेदी दङ्गाले देशभरि नै उग्र रूप लिएको थियो। मधेशीलाई निशाना बनाउँदै कालो छाला भएका जो सुकैलाई पनि पहाडीहरूले समात्न थाले, पिट्न थाले, छुरा घोप्न थाले, बलात्कार गर्न थाले। मधेशीहरूको घर लुट्न थाले, तोडफोड गर्न थाले, घरमा आगो लगाउन थाले। दङ्गा बिराटनगर, बुटवल लगायत अरू शहरहरूमा फैलियो, गाउँगाउँ भित्र पनि फैलियो। लगभग दश दिन पश्चात्, दङ्गा काठमाडौं उपत्यकामा पनि फैलिन गएको थियो, र मधेशीहरूमाथि आक्रमण तीब्र भएको थियो।

सरकारले दङ्गालाई उग्ररुप दिन उत्तिकै ठूलो भूमिका निभाए। नेपाल सरकारले ऋतिक रोशनले माफी माग्नु पर्ने अडान लिए। ऋतिकले नेपालीहरूको भावनामा चोट पुर्‍याएकाले माफी माग्नु पर्ने कुराको माँग संचार मन्त्रीले राखे। नेपाल सरकारले हिन्दी च्यानलहरूमाथि प्रतिबन्ध लगाउनुका साथै ऋतिकका चलचित्रहरूमा पनि रोक लगाए।

काठमाडौंमा हजारौं-हजार पहाडीहरू सडकमा ओर्ले। तिनीहरूले टायर बाल्दै, मधेशीहरूको घर-पसलमा आगो लगाउँदै उग्र दङ्गा मचाए। मधेशीका घर र पसल जलेर खरानी भए, र मानवता र साम्प्रदायिक सहिष्णुता पनि। साइकलमा तरकारी बेचेर आफ्नो गुजारा गर्ने मधेशीहरूमाथि पहाडीहरूले आक्रमण गरे, आफ्नो बच्चाको लागि बेलुकाको खाना ल्याउन सकून् भनेर काम गर्न हिँडेका मधेशी मजदूरहरूमाथि तिनीहरूले आक्रमण गरे। आफ्नो नागरिकता खल्तीमा बोकेर काममा हिँडेका मधेशी कामदारहरूमाथि आक्रमण गरे, नागरिकता खोसेर च्यात्दै फाले, र मर्ने गरी पिटे। पहाडीहरूले मधेशीलाई घर-घरमा खोजे, डेरा-डेरा र होटल-होटलमा खोजे, सडक र गल्लीहरूमा खोजे, र बेस्सरी पिटे। मधेशी जहाँसुकै देखिए, तिनीहरूको शिकार भए। परिणामस्वरूप मधेशीहरू आफ्नो घरको ढोकामा बाहिरबाट ताल्चा लाएर भित्रै बसे, ताकि पहाडीहरूले भित्र कोही छैन भनेर सोचून् र उनीहरूलाई नभेटाऊन्। मधेशीहरूले आफ्ना घरका झ्यालहरू बन्द गरेरै राखे, आफ्ना बच्चाहरूको मुख बन्द गरेर राखे। तैपनि आक्रमण अविरल रुपमा भइरह्यो।

पन्ध्र-बीस जनाको समूहले सद्‌भावना पार्टीको कार्यालयमा डिसेम्बर २९ का दिन आक्रमण गरे। तिनीहरूले तोडफोड गर्नुका साथै कार्यालयमा आगो पनि लगाए। बाहिर पार्क गरिएको गाडी पनि जलेर ध्वस्त भयो।

पहाडीको आक्रमणको शिकार मधेशी झैं कालो वर्ण भएका केही भारतीयहरू पनि भए। त्यही भएर भारतीय समाचारपत्रहरूले भारतीय र तिनीहरूको पसल-कारखानामाथि नेपालमा भइरहेको आक्रमणको बारेमा लेख्न थाले। भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीले नेपाली प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई भारतीयहरूको सुरक्षा सम्बन्धमा फोन पनि गरे। त्यसको प्रतिक्रियामा दङ्गालाई समर्थन गर्ने मोर्चाको नेतृत्व सम्हालेका बामदेव गौतमले भने — ‘नेपालमा भारतीयहरू आक्रमणको निशाना भएको कुरा झूठो हो। केही गाडीहरू ध्वस्त भए, केही मारवाडीका घर र पसलहरूमा पनि आक्रमण भए, तर तिनीहरू भारतीय हैनन्, मुख्यत: नेपाली हुन्।’[1] आफ्नो अन्तर्वार्तामा उनले आक्रमण उचित भएको र नेपालीहरूले अझ कडा प्रतिकार गर्नु पर्ने विचार राखेका थिए। उनको कुरा सुनेर म सोच्न बाध्य थिएँ — यी ‘नेपालीहरू’माथि आक्रमण उचित किन, र केका लागि? यदि एउटा भारतीय अभिनेताले नेपाल मन नपराउने अभिव्यक्ति दिएकै हो भने पनि ‘नेपालीहरू’माथि आक्रमण किन?

अन्तत: ऋतिकले त्यस्तो कुनै कुरा नभनेको साबित भयो। दङ्गामा जोशिएर नेतृत्व गर्ने कसैले पनि अन्तर्वार्ता आफैंले हेरेको दाबी गर्नै सकेनन्। विवादित भनिएको अन्तर्वार्तामा ऋतिकले त नेपालको चर्चा नै गरेको थिएन। स्टार प्लसले सिमी ग्रेवालद्वारा लिइएको त्यो अन्तर्वार्ता प्रसारण गरेको थियो। ऋतिकले शुरूदेखि नै आफूले त्यस्तो केही नभनेको भन्दै आएका थिए र सबै टेपहरू जाँचपडतालका लागि दिन तयार थिए। तर नेपाली मिडियालाई त दङ्गा भड्काउन खाली एउटा विषय न चाहिएको थियो, सत्यसँग नेपाली मिडियाको कुन साइनो? त्यही भएर नेपाली मिडिया उनको सफाइ वा केही गलत नगरे पनि उनले गरेको क्षमायाचना छाप्नुको साटो मधेशीहरूमाथि आक्रमण र दङ्गा उग्र गराउनेतिरै लागिरहे। बामदेव गौतम त बीबीसीको अन्तर्वार्तामा ऋतिकले त्यस्तो भनेकै हो भनेर विना प्रमाण नै कुर्लिरहे।

दङ्गामा प्रहरीले आधा दर्जनलाई गोली हानी हत्या गरे। मारिनेहरूमा एघार र बार्‍ह वर्षका बच्चाहरू पनि थिए। देशभरि हजारौं हजार घाइते भए।

दङ्गामा पहाडीहरूले आक्रमणको निशाना कालो छाला हेर्दै यसरी निर्ममतापूर्वक बनाए कि गोरो छाला नभएका केही नेवारहरू पनि आक्रमणको शिकार हुन पुगे। पहाडीहरूले देखाएको रंगभेदको रुप त्यतिसम्म विवेकहीन र वीभत्स थियो। मेरा एक नेवारी साथी सर्भेको साइटबाट फर्किन लागेको बेलामा उसलाई पहाडीहरूले मधेशी सम्झी घेर्दै ऊमाथि आक्रमण गर्नै लागेको थियो, तर झट्ट नेवारीमा म मधेशी हैन भनेर बोलेपछि मात्र ऊ छुट्न सफल भएको थियो। झट्ट नेवारीमा नबोलेको भए ऊ शायद पुलतल पडेको हुन्थ्यो।

काठमाडौंमा दङ्गा जारी रहँदा म एक पटक छात्रावासको धारामा हातमुख धोइरहेको बेला एक जना पहाडी जुनियरले मुख बाङ्गो गर्दै मलाई भनेछ — ‘तेरो त छालै कालो छ, जति धोए पनि जाँदैन।’ म अवाक् भएँ। त्यो त्यही जुनियर थियो जुन मसँग ठीकसँग आँखा मिलाएर गफ पनि गर्न सक्दैनथ्यो, र मसँग हात मिलाउन पाउँदा गौरवको अनुभूति गर्ने गर्थ्यो, तर त्यो दिन त्यसरी अशिष्ट तरिकाले बोल्दैथ्यो। म केही प्रतिक्रिया नदिई आफ्नो कोठा फर्कें। छात्रावासमा दङ्गा फैलिनुको सोचाइ मात्रले पनि मलाई असहज बनाउँथ्यो। छात्रावासको नियम-अनुशासन कडा भए पनि मलाई शंका लागिरहन्थ्यो, आखिर दङ्गा नियमले बाँधिएको कहाँ हुन्छ र?

छात्रावासमा रात बिताउन गार्‍हो हुन्थ्यो। जाडोको छुट्टी थियो, र अधिकांश मधेशी विद्यार्थीहरू घर गएका थिए। म एक्लिएको महशूस गर्थें, कोठामा रुममेट पनि थिएन। बिछ्यौनामा लेट्दै बेचैन म सोचिरहन्थें। मेरो मनमा पनि दङ्गा शुरू भएको थियो। प्रश्नहरूको ज्वालामुखी उठ्थ्यो। हामीमाथि आक्रमण किन? मैले के अपराध गरें? ऋतिकले, कुनै एउटा भारतीय ठिटोले, नेपाल मन पराउँदैन भने पनि मधेशीमाथि चाहिं आक्रमण किन? म कैयौं पटक उठ्थें, र अविश्वासले ढोकाको छिस्किनी कैयौं पटक चेक गर्थें। निद्रा आउनुको साटो विचित्र विचारहरू आइरहन्थे। के मेरा यी आफ्नै साथीहरू राती आएर ममाथि आक्रमण गर्लान्? के मेरा यी आफ्नै साथीहरू ममाथि खुकुरी प्रहार गर्लान्? के मेरा यी आफ्नै साथीहरू मलाई छतबाट फालिदेलान्? बेलाबेलामा म आफूतिर पनि हेर्न बाध्य हुन्थें, आक्रमणको कारक रहेको आफ्नो छालाको रंग हेर्थें, आफ्नो पहिचान बारे सोच्न बाध्य हुन्थें; आफ्नो भूमि, आफ्नो पूर्वज, आफ्नो इतिहासको स्मरण गर्न बाध्य हुन्थें। बीच-बीचमा ढोकाको ढ्याम्मको आवाजले मलाई झस्काउँथ्यो।

[GO TO CONTENTS]

२. मेरो मध्यदेश

म जन्मेको भूमि कुनै साधारण होइन — यिनले जनक, सीता र बुद्धलाई जन्माएका हुन्। हिमालयको दक्षिणमा पूर्व-पश्चिम फैलिएका यी विस्तीर्ण समतल भूमि मानव सभ्यताका उद्‌गमस्थल हुन्। यस भूमिमा नागबेली भएर बग्दै पवित्र गंगामा समर्पित हुने कोशी, गण्डक र घाघरका किनाराहरू महान तपस्वी र ऋषिमुनिका बासस्थान हुने गौरव पाएका छन्। क्षितिजसम्मै फैलिएका शश्यश्यामला धानका खेतहरू हावाको झोकामा लहरी-लहरी यस भूमिको अनन्त उर्वरताको गान गर्दछन्। मानव-सभ्यताको यस झुलामा, महान संतहरूको यस तपोभूमिमा, र अनन्त उर्वर यस भूखण्डमा जन्मिन पाउनुमा मलाई असीमित गौरवको अनुभूति हुन्छ।

मध्यदेशको नामले प्रख्यात थियो यो भूमि, प्राचीन कालमा। बुद्धको समयमा यसलाई पाली भाषामा मज्झिमदेश भनिन्थ्यो। प्राचीन नाम अपभ्रंश हुँदै अब यो भूमि केवल मधेशको नामले जानिन्छ। सबैको अर्थ ‘बीचमा रहेको भूमि’ अर्थात् ‘मध्यमा रहेको देश’ हुन्छ।

भारत उपमहादेशको ठीक मध्यमा रहेको यस भूमिलाई ‘मध्यमा रहेको देश’ भन्नु निकै नै स्वाभाविक छ। यो कुरा आकाशबाट वा स्याटेलाइटबाट नियालेर हेर्दा पनि प्रष्टै हुन्छ — मध्यदेशको यो समतल भूभाग भारत उपमहादेशको मध्यमा, हिमालय र विन्ध्यांचल पर्वत बीच, आफ्नो सीमाना प्राकृतिक रुपमा आफैं नै कोर्दै आफ्नो रूप छर्लङ्ग देखाइरहेको हुन्छ।

वेद र पुराण यस भूमिका अनेकौं गुणगान गरिरहेका भेटिन्छन्। मनुस्मृतिले मध्यदेशको सीमाना हिमालय र विन्ध्य पर्वतका बीच, पूर्वमा प्रयाग र पश्चिममा विनाशन (सरस्वती) नदीसम्म फैलिएको देखाउँछ।[2]

यही भूमि हो जहाँ वैदिक आर्य सभ्यता हुर्के, जहाँ पूर्वीय दर्शन मौलाए, र यो त्यही भूमि हो जहाँ जनकले आफ्नो राज्य सँभाले, जहाँ याज्ञवल्क्य जस्ता महर्षिहरूले पाइला टेके, जहाँ माता सीता जन्मिइन्, र जहाँ भगवान् बुद्ध जन्मे। बौद्ध धर्मग्रन्थहरूले भगवान् बुद्धको जन्मका बारेमा लेख्दछन् [3]

त्यसपछि उहाँले [कहाँ जन्मने भन्ने] ठाउँको निर्णय गर्नुभयो। ‘दश हजार योजनको सीमाना भएको भारत [उप]महादेश त विशाल छ, यसका कुन देशमा बुद्ध जन्मनु पर्दछ?’ उहाँले सोच्नुभयो र मज्झिमदेशमै जन्मिने भनेर निर्णय गर्नुभयो। मज्झिमदेशको लम्बाइ तीन सय योजन, चौडाइ दुई सय पचास योजन, र सीमाना नौ सय योजनको छ। ‘यही देशमा बुद्धहरू, प्रमुख शिष्यहरू, अस्सी महान शिष्यहरू सबै जन्मेका छन्, र यही देशको कपिलवत्थुमा बुद्ध जन्मिनु पर्दछ’ भनेर उहाँले निर्णय गर्नुभयो।

यसरी भगवान् बुद्ध मधेशमा जन्मेर मधेशलाई धन्य तुल्याए। विनय पिटकले त्यस ताकाका मधेश अर्थात् मज्झिमदेशको सीमांकन अति नै निश्चित तरिकाले गर्दै लेखेका छन्[4]— ‘यो मध्यमा पर्दछ — पूर्वमा गजङ्गल शहरवारि जसको पारि महासाला छ, दक्षिणपूर्वमा सल्लवती नदीवारि, दक्षिणमा सेतकण्णिक शहरवारि, पश्चिममा ब्राम्हणहरूको वस्ती थूणवारि, र उत्तरमा उसीरद्धज पर्वतवारि।’

प्रोफेसर भंडारकर[5] अनुसार बुद्धको समयमा मध्यदेशको पूर्वी सिमाना प्रयागभन्दा ४०० माइल पूर्वसम्म थियो। सोर्‍ह महाजनपदहरू मध्ये काशी, कोशल, अंग, मगध, वज्जि, मल्ल, चेदि, वंश, कुरु, पांचाल, सुरसेन, अस्सक र अवन्ति लगायत चौदहवटा मध्यदेशकै सीमानाभित्र पर्दथे।

प्राचीन र मध्यकालमा यस विशाल भूमिमा अनेकौं महान वंशहरूले राज्य गरे, सम्राट अशोकदेखि राजा सलहेशसम्म कैयन् गौरवशाली शासकहरूले राज्य गरे। मध्य पूर्वबाट मूस्लिम शासकहरूको आगमनसँगै यो भूमि फारसी भाषाको शब्द ‘तर’बाट आएको शब्द ‘तराई’को नामले पनि जानिन थालियो। ‘तराई’ को अर्थ ‘भिजेको भूमि’ हो। मूस्लिम शासकहरूपछाडि ब्रिटिशहरू आए। ब्रिटिश शासनको अन्त्यतिर, मधेशमा सेन वंशका राजाहरूको शासन थियो। तिनीहरूले ब्रिटिश सरकार र नबावहरूलाई कर बुझाउँदै मधेशमा राज्य गर्थे।

त्यसपछि अठारहौं शताब्दीको अन्त्यतिर गोर्खाली शासक पृथ्वी नारायण शाहले आफ्नो गोर्खा राज्य विस्तार गर्न शुरु गरे। गोर्खा राज्य त्यति बेला केही हजार मानिसहरू बस्ने केवल एउटा गाउँ थियो। राज्य विस्तारका क्रममा धेरै वर्षसम्म निकै क्रूर र हिंषात्मक युद्धहरू भए, धेरै रक्तपात भए, धेरै हत्या भए, र वर्षौंसम्म सीमाना बदलिरह्यो। अन्तत: सन् १८१६ को डिसेम्बर ८ मा ब्रिटिश सरकारले नेपाल सरकारलाई वार्षिक दुई लाख रूपैयाँ तिर्नुको साटो कोशी र राप्ती बीचको मधेशको भूभाग उपभोग गर्न दिए। त्यो दुई लाख नेपाल सरकारले आफ्नो कर्मचारी र प्रशासन आफैंले धान्न नसक्दा सहयोग स्वरूप ब्रिटिश सरकारबाट पाउने गरेका थिए। राप्ती र महाकाली नदी बीचको मधेशको भूभाग सन् १८६० मा मात्र नेपालमा गाभियो। नेपाल सरकारले सन् १८५७-१८५९ मा भारतमा भएको सिपाही विद्रोह दबाउन ब्रिटिश सरकारलाई गरेको मद्दतको पुरस्कार स्वरूप ब्रिटिश सरकारले त्यो भूभाग नेपाललाई दियो। र त्यसरी मेचीदेखि महाकालीसम्मको मधेशको भूभाग नेपालमा गाभिन पुग्यो।

म जन्मेको ठाउँ मधेशको पूर्वभागमा कोशी नदी नजिकै पर्दछ। गोर्खालीहरूले सन् १७७३ मा आक्रमण गर्नुअघि त्यो ठाउँ राजा कर्ण सेनद्वारा शासित मधेशको चौदण्डी राज्यको सप्तरी जिल्ला अन्तर्गत पकरी परगन्नामा पर्दथ्यो। इतिहास स्वयं साक्षी छ, यस भूमिमा गोर्खालीहरूले गरेका अत्याचार र छलकपटको, क्रूर आक्रमणको, बरबरतापूर्ण नृशंसताको, राजाको नवजात छोरालाई विष खुवाई अन्त्यमा ब्रिटिशहरूलाई मुआब्जा बुझाउने शर्तमा यस भूमिमाथि गरेको कायरतापूर्ण कब्जाको।[6] आज पनि, चौदण्डी राज्यका अवशेषहरूले हाम्रो गौरवमय इतिहासको परिचय दिइरहेका छन्।

[GO TO CONTENTS]

३. दासताको डोरी

गोर्खालीहरूको अतिक्रमणका विरुद्ध लड्ने क्रममा मधेशीहरूले सन् १८१४-१८१६ को बेलायत-नेपाल युद्धमा ब्रिटिशहरूलाई साथ दिए। मधेशीहरूले ब्रिटिशलाई साथ दिदैं गोर्खालीलाई परास्त गर्नका लागि लडे, र अन्त्यमा परास्त पनि गरे। तर दुर्भाग्य, त्यही ब्रिटिशहरूले मधेशी र तिनको भूमि त्यही पुरानो दुश्मनलाई नै हस्तान्तरण गरिदिए।

मधेशीहरू विरुद्ध गोर्खालीहरूको रंगभेद र घृणा, मधेशीहरू प्रति तिनीहरूको घोर तिरस्कारको भावना र कालो-छालाका मानिसलाई देखी नसक्ने धृष्टता ब्रिटिश रेजिडेण्ट र जनरलहरूलाई पनि राम्ररी थाहा थियो। सन् १८१६ ताका नेपालमा ब्रिटिश रेजिडेण्ट रहेका ब्राइन हड्सनले लेखेका छन्[7] — ‘गोर्खालीहरूको मधेशी प्रति घोर तिरस्कारको भावना र अक्षुण्ण सैनिक अनुशासनले उनीहरूको बफादारीमा विश्वास गर्न सकिन्छ।’ भारतमा भएको सिपाही विद्रोहका ताका पनि मधेशीहरू विरुद्ध रंगभेद प्रखर रुपले व्याप्त थियो। गोर्खालीहरूले काला-छाला भएका मधेशीहरू नजिकै बस्न समेत मान्दैनथे, जसका बारेमा फिलीप मेसन लेख्छन्[8]— ‘विद्रोहका ताका गोर्खालीहरूले आफ्नो टेन्ट काला-मान्छेहरू नजिक लगाउन अस्वीकार गर्दै ब्रिटिशहरू नजिक लगाउन पाउने माँग गरे।’ तर यी सबका बाबजूद, सबै कुरा जान्दा-जान्दै पनि, अंग्रेजहरूले मधेश र मधेशीलाई तिनै गोर्खाली दुश्मनको हातमा सुम्पे। तर मधेशीहरूमाथि हुन सक्ने अत्याचारको आकलन अंग्रेजलाई पनि थियो र त्यही भएर, कागजमै भए तापनि, तिनीहरूले मधेशीको बचावका लागि केही शर्त राखे।

सन् १८१६ मा बेलायत र नेपाल बीच भएको सम्झौता, जसद्वारा अंग्रेजहरूले नेपाललाई वर्षेणी दुई लाख रूपैयाँ तिर्नुको साटो मधेशको जमीननै नेपालको नाम गरिदिए, त्यसमा प्रष्ट लेखिएको छ[9] — ‘मधेशीहरूले ब्रिटिश सरकारलाई नेपाल विरुद्धको युद्धमा सघाएको कारणले नेपालका राजाले कुनै पनि मधेशीलाई सजाय नदिने कुरा मंजूर गर्दछ।’

तर त्यसले मधेशीलाई बचाउन सकेन । गोर्खालीहरूको हातमा मधेशीहरू युद्धबन्दी सरह नै थिए। किर्तीपुरमा हजारौं जनताको नाक काटेर आफ्नो पराजयको बदला लिने[10] तथा पूर्वी मोर्चामा आम-भ्रूणहत्या[11] गर्नमै उत्रेका गोर्खाली जस्ता क्रूर र बर्बर लडाकूहरूले आफ्ना युद्धबन्दीसँग कस्तो व्यवहार नै गर्न सक्छन्? मधेशीहरू शुरूदेखि नै गोर्खालीहरूको क्रूरता र कपटका शिकार हुन पुगे, र उनीहरू अहिलेसम्म सजायस्वरूप भेदभाव, रंगभेद र उपनिवेश भोगिरहेका छन्। मधेशीहरूको भूमि गोर्खालीहरूको हातमा आएदेखि नै मधेशीहरूले आज-न-भोलि फेरि विद्रोह गर्लान् कि डरले गोर्खालीहरूले त्यहाँबाट मधेशीलाई हटाउन चाहे र त्यस भूमिमा आफ्नै मान्छेहरू बसाउन चाहे। भूमिपुत्र मधेशीहरूको जमीन खोस्दै त्यहाँ पहाडी सेना, पुलिस, जमीन्दार र जनतालाई बसाउँदै गए।[12]

नेपाल सरकारले ल्याएका पहाडीहरूलाई मधेशमा बसाउने योजनाहरूले गर्दा मधेशका आदिवासीहरू विस्थापित भए। मधेशीहरू आफ्नै भूमिमा भूमिहीन भए। तिनीहरू कमैया, कम्लरी र दास भए। पहाडीहरूले मधेशीलाई सैनिकमा छिर्न नदिन अघोषित प्रतिबन्ध नै लाए। कैयन् मधेशीहरूलाई नागरिकता जस्ता आधारभूत अधिकारबाट वंचित गरियो, जसको कारणले तिनीहरूको पहुँच न त जमीनसम्म रह्यो न त जागिरसम्म। पहाडीहरूले मधेशीलाई आफ्नै भूमिमा भूमिहीन र अनागरिक बनाउन एक माथि अर्को षड्यन्त्र गरिरहे।

पहाडीहरूले मधेशलाई उपनिवेश बनाएर शासन गरिरहे। इतिहासकार जोन वेल्पटन लेख्छन्[13] — ‘तराई पनि धेरै हदसम्म उपनिवेश नै थियो, तर अलि व्यवस्थित। नेपाल राज्यमा पहाडीहरूको उच्च दर्जा मुलुकी ऐनले प्रष्ट रूपमा तोकेको थियो।’ सन् १९५० को दशकसम्म मधेशीहरूलाई काठमाडौं छिर्न समेत भिसा चाहिन्थ्यो। यसरी मधेश नेपालको उपनिवेश भए तापनि, सन् १९५० को दशकसम्म पनि, एउटा छुट्टै राज्यको रुपमा रहेको थियो, र मधेशीहरू विदेशीका रुपमा। फ्रेडरिक गेज मधेशीहरूको स्थितिका बारेमा लेख्छन्[14]

सांस्कृतिक रूपमा पहाडीभन्दा भिन्न र काठमाडौंदेखि विच्छिन्न रहेका तराईका मधेशीहरूलाई कम्तीमा अर्धविदेशीका रूपमा मानिन्थ्यो। भारतीयहरूलाई पशुपतिनाथसम्म तीर्थयात्रा गर्न छुट हुने शिवरात्री पर्वमा बाहेक काठमाडौं छिर्नका लागि मधेशी र भारतीय दुइटैलाई बीरगंजमा भिसा लिन रोकिनुपर्थ्यो, जुन चिसापानी गढीमा जाँच गरिन्थ्यो। यो प्रक्रिया सन् १९५० को दशकको पूर्वार्द्धसम्म पनि कायमै थियो र सन् १९५८ मा मात्र बदलियो। सन् १९५१ अगाडि मुख्यत: भाषिक आधारमा नै नेपालको राष्ट्रियता निर्धारण गरेको पाइन्छ, नेपाली र नेवारी, मगर वा गुरुङ्ग जस्ता पहाडी भाषा बोल्ने पहाडीहरू नै नेपाली मानिन्थे।

नेपाललाई सार्वभौमको दर्जा पहिला ब्रिटिशहरूले नै दिए, सन् १९२३ मा, नेपालले प्रथम विश्व युद्धमा ब्रिटेनलाई सघाए बापत पुरस्कार स्वरूप। र त्यसको पछाडि पनि स्वार्थ लुकेको थियो। यस बारेमा जोन वेल्पटन लेख्छन्[15] — ‘नेपालको स्वतन्त्रतालाई पहिचान दिँदै सन् १९२३ मा ब्रिटेन र नेपाल बीच गरिएको संधि नेपालले युद्ध ताका ब्रिटेनलाई सघाएको कुराको पुरस्कार थियो। अझ यहाँ ब्रिटिशहरूको थप उद्देश्य थियो: भारतमा विद्रोह दमन गर्न प्रयोग हुँदै आएका गोर्खाली सैनिकहरूको बफादारी जित्ने। यदि नेपाललाई भारतभन्दा अलग राज्य मानियो भने ती नेपाली सैनिकहरू भारतीय राष्ट्रवादीसँग समानता महशूस गर्ने सम्भावना निकै नै कम हुन्थ्यो।’

सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो। संयुक्त राष्ट्र संघले पनि मधेश र मधेशीहरूको सही स्थिति पहिचान गर्न सकेन। संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ड्याग ह्यामरशोल्डले नेपालसँग संयुक्त राष्ट्र संघ चार्टरको दफा ७३ भित्र पर्ने कुनै भूमि भए-नभएको कुराको स्पष्टीकरण नेपाल सरकारसँग माँगेको थियो, तर नेपाल सरकारले झूठो उत्तर दिएर संयुक्त राष्ट्र संघलाई ठग्यो। मधेशको भूमि संयुक्त राष्ट्र संघको चार्टरको दफा ७३ भित्र पर्दथ्यो, मधेशीहरूलाई त काठमाडौं आउनजान समेत सन् १९५८ सम्म पनि भिसा नै लिनुपर्दथ्यो।

यसरी एकमाथि अर्को षड्यन्त्रद्वारा पहाडीहरू मधेशीमाथि शासन गर्दै आएका छन्, र मधेशीहरू दास बनेर आफ्नो जीवन बिताइरहेका छन्। त्यो दासता मधेशीहरूले ब्रिटिशलाई गरेको सहयोगको उपहार हो! ब्रिटिशहरूले सुम्पेका ‘युद्धबन्दी’हरूको हालत हेर्न तिनीहरू कहिले आएनन्, तिनीहरूले गरेर गएको भाँडभैलो सफा गर्न तिनीहरू कहिले आएनन्, सवा करोडभन्दा बढी मधेशीहरूमाथि भइरहेको अत्याचार, भेदभाव र रंगभेद कहिले तिनीहरूको सरोकारको विषय बनेन। मधेशीहरू नेपाली उपनिवेशमा रंगभेद र भेदभावको शिकार हुँदै बाँचिरहे। आज धेरै मधेशीहरू आफ्नै भूमिमा विदेशी हुन पुगेका छन्, तिनीहरू ‘मेन अफ् नो ल्यान्ड’ हुन पुगेका छन्, देश र आत्मसम्मान विहीन हुन पुगेका छन्।

आफ्नो कष्टकालमा इतिहासभरि नै मधेशीहरू आफूलाई एक्लो नै पाए। एक्लै भए पनि तिनीहरूले आफूलाई मुक्त गराउन संघर्ष नगरेका होइनन्। वेदानन्द झाले सन् १९५१ मा मधेशको स्वायत्तताका लागि तराई कांग्रेस खोले। रघुनाथ ठाकुरले सन् १९५६ मा मधेश स्वतन्त्रता आन्दोलन शुरू गरे। त्यसैगरी, मधेशीहरूले सन् १९६० को दशकतिर तराई लिबरेशन फ्रन्ट खोले। तर नेपाली सेना र प्रहरीले तिनीहरूमाथि दमन गरे, एकपछि अर्को नेता र अधिकारकर्मीहरूलाई मार्दै गए, र मधेशीहरूको आवाजलाई दबाए। मधेशीहरूको अधिकारका लागि आवाज उठाउन गजेन्द्र नारायण सिंहले सन् १९८३ मा सद्‌भावना काउन्सिल र सन् १९९० मा नेपाल सद्‌भावना पार्टी समेत खोले। तर मधेशीहरू नेपाली उपनिवेशमा निम्न दर्जाका नागरिक भएर दास सरह बाँच्न बाध्य भइ नै रहे, कहिले मुक्त हुन सकेनन्।

र यसरी, दासताको त्यो डोरी आफ्ना पूर्बजहरूबाट मसम्म आइपुग्यो।

[GO TO CONTENTS]

४. झोपडीभित्र

म जन्मेको गाउँ समतल भूमिको विस्तृण फैलावट माझ सडेको परालको थुप्रो झैं देखिन्थ्यो। मधेशका अरू गाउँ जस्तै मेरो गाउँ पनि अस्तव्यस्त झोपडपट्टी नै थियो, तर धेरैपछि सम्म पनि म आफ्नो गाउँलाई त्यसरी हेरिनँ। डगर र साँघुरा गल्लीका दुइटै भागमा कोचिएका फुसका घरहरू र हरेक घरअगाडि बाँधिएका गाई-बस्तु, त्यही नै मेरो गाउँको पनि परिचय थियो। गाउँमा अंकुरी महादेवको स्थान भएकोले मेरो गाउँ महदेवाको नामले परिचित छ।

मेरो बुवा गाउँकै प्राथमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। गाउँमा विद्यालय स्थापना गर्न निकै नै परिश्रम गर्नुभएका र योगदान दिनुभएका उहाँ गाउँलेहरूलाई शिक्षित बनाउन जीवनभर लागिरहनु भयो। उहाँको समय ताका न त वरिपरि विद्यालय नै थियो, न त कतै शिक्षाको चहलपहल नै। शिक्षित मान्छे भेटाउन निकै नै मुश्किल हुन्थ्यो र साधारण लेख-पढ गर्न जान्ने मान्छे पनि राम्रै जागीर पाउन सक्थे। कट्टी (त्यतिबेला, कोइलाडी) मा भरखरै स्थापना भएको विद्यालयबाट मेरो बुवा आफ्नो ब्याचमा म्याट्रिक पास गरेका एक मात्र विद्यार्थी हुनुहुन्थ्यो, र उहाँको विद्यार्थी जीवनको ख्याति दशकौंपछि पनि विद्यालय र टाढा-टाढाका गाउँहरूमा जीवित नै थियो। हाइस्कूलका शिक्षकहरू अझै पनि गणितका कठिन समस्याहरूको समाधानका लागि बुवासँग मद्दत लिन आउँथे। उहाँलाई असन्दिग्ध रुपमा आफ्नो र वरिपरिका गाउँहरूमा ‘मास्टर साहेब’ भनेर बोलाइने गरिन्थ्यो, त्यतिबेला हाम्रोतिर शायदै अरू कोही शिक्षकका रुपमा जानिन्थे।

पढेलेखेको हुनु त्यतिबेला ठूलो जिम्मेवारी हुन्थ्यो र तिनीहरूबाट धेरै नै अपेक्षा गरिन्थ्यो। पढेलेखेका भनाउँदाले पढाइ र लेखाइ सम्बन्धी जे कुरा पनि सामना गर्नुपर्थ्यो — चाहे त्यो कानूनी कागजपत्र तयार गर्ने काम होस् वा जमीन नाप-जोख गर्ने, चाहे गाउँलेहरूको दवाइ-दारू गर्नुपर्ने काम होस् कि अज्ञात भाषामा लेखिएका कुराहरूको अर्थ निकाल्ने, पचाङ्ग अनुसार तिथि-नक्षत्र हेरेर काम-काजको शुभ साइत निकाल्ने काम होस् कि गाउँका विभिन्न गतिविधिको अभिलेख राख्ने, सबै किसिमका भूमिका उहाँले निभाउनुपर्थ्यो। शायद त्यही भएर होला, उहाँ सानैदेखि अध्याग्रही पाठक हुनुका साथै डायरी लेख्ने, हरेक कुराको हरहिसाब र अभिलेख राख्ने गर्नुहुन्थ्यो। उहाँ हरेक कुरा पढ्नुहुन्थ्यो — धार्मिकदेखि नास्तिक, ज्योतिषदेखि पाकविज्ञान, चिकित्सादेखि कानून, वेद र उपनिषद्‌देखि आधुनिक विज्ञान, शेक्यपियरदेखि प्रेमचन्द, सबै। जहाँ प्रायजसोले अक्षर समेत चिन्न सक्दैनथे, त्यो ठाउँको लागि निश्चित रूपले त्यो असाधारण कुरा नै थियो। हामीलाई पढाउँदा उहाँले वर्डस्‌वर्थ र रोबर्ट फ्रस्टका पंक्तिहरूदेखि लिएर वेद र उपनिषद्का सूक्तहरू सुनाइराख्नुहुन्थ्यो। केही वर्षअगाडि उहाँले अवकाश प्राप्त गर्नुभयो।

मेरी आमा गृहिणी हुन् र उहाँलाई कहावतको पारङ्गत भन्दा फरक नपर्ला। बातै पिच्छे तुक मिल्दो कहावत सुनाउने उहाँको आदत थियो। यसले हाम्रो मातृभाषा कति धनी छ भन्ने कुरा मलाई बारम्बार सम्झना दिलाइरहन्छ। धार्मिक वा आत्मविकासका किताब दैनिक रुपमा पढ्नु जीवनभरि उहाँको दिनचर्या नै रह्यो। उहाँ हिन्दीका किताब पढनुहुन्छ। उहाँमाथि धार्मिक प्रभाव खास गरी उहाँको आफ्नो बुवा र ठूल्दाइबाट परेको हो। उहाँको जन्म सप्तरीको भारदहमा भएको हो। भारदहको कंकालिनी भगवती स्थान, हालको ठाउँमा सारिनु पूर्व, मामाघरकै सामुन्ने थियो, र उनीहरू त्यहाँ पूजापाठ र रेखदेख गर्ने गर्थे।

तीन छोरा र एक छोरी मध्येका सबभन्दा कान्छोका रूपमा जन्मेकोले होला मैले कहिले पनि मायाको कमी महशूस गरिनँ। आफन्तदेखि गाउँलेहरूसम्म, छिमेकीदेखि हजामसम्म, साहूदेखि कामदारसम्म — शायद बुवा प्रतिको आदरले गर्दा होला — सबैले औधी माया गर्थे। तर घरमा, म हजुरआमाको बढी नजिक भएर हुर्कें। उहाँ तीक्ष्ण र शालीन व्यक्तित्वको हुनुहुन्थ्यो र आफ्ना हरेक पल केही-न-केही उपयोगी काममा लगाउनुहुन्थ्यो। साँझपख आँगनमा सुकुल ओछ्याएर अनेकानेक कथाहरू भन्नुहुन्थ्यो, हाम्रा पूर्वजका इतिहास सुनाउनुहुन्थ्यो। हामीलाई बिहे गर्ने बेलामा चाहिन्छ भनेर सात पूर्खाका नाम कण्ठस्थ गर्न लाउनुहुन्थ्यो। उहाँ बराज्यूको धेरै प्रशंसा गर्नुहुन्थ्यो र उहाँका अनेकानेक प्रसङ्गहरू सुनाइरहनुहुन्थ्यो। मेरा बराज्यू निकै नै प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो। उहाँ हनुमाननगरमा नेपाल सरकारको पञ्चायत प्रशासनमा पनि हुनुहुन्थ्यो।

मैले सम्झेसम्म मेरा हजुरबा जोगीको झैं जीवनशैली अपनाउनु भएको थियो, उहाँ जहाँ जाँदा पनि लोटा, शंख, घडीघंट र आफ्ना पोथीहरू लिएर जानुहुन्थ्यो। उहाँ रामायणका दोहाहरू ठूलो स्वरमा गाउनुहुन्थ्यो। विहानै विहान उहाँ पराती गाउनुहुन्थ्यो। उहाँले मनपराउने अन्य किताबहरूमा गजपुकार र रामगीता थिए। उहाँले गृहत्याग नगरे पनि घरको कामकाजमा कहिले पनि चासो लिनुभएन र त्यही भएर बराज्यूको देहावसानपछि पारिवारिक र सामाजिक उत्तरदायित्व बुवाको काँधमा आउन गएको थियो। बुवा त्यतिबेला अझै पनि काँचो उमेरका युवा नै हुनुहुन्थ्यो। हजुरआमाले बेलाबेलामा बुवालाई सघाउनु हुन्थ्यो। हजुरबा प्राय: कुशहामा बस्नुहुन्थ्यो, कोशीपारि, काकासँग। काका सपरिवार कुशहामा बस्नुहुन्थ्यो, र खेतीपाती गर्दै, गाईवस्तु पाल्दै जीवनयापन गर्नुहुन्थ्यो। काकालाई पनि भगवानको भक्तिमा विशेष अभिरुचि थियो। कुशहामा परिवारका सबैजना ‘वैष्णव’ थिए।

महदेवामा हामीसँग करीब डेढ विघा जमीन थियो। हामीसँग अरू जमीन भएको तर सरकारले जफत गरेको कुरा मैले हजुरआमाबाट सुनेको थिएँ। महदेवाको खेतको उब्जाले हामीलाई वर्षभरि धान्न सक्दैनथ्यो। असार-साउनदेखि धान नकाटेसम्म हामीले चामल किनेर खानुपर्दथ्यो, त्यो त्यहाँका लागि समृद्ध परिवारको परिचय थिएन, न त त्यस समाजको लागि इज्जतको कुरा नै। हामीले धान वा चामल किन्ने बेलामा दर निकै महँगो हुने गर्दथ्यो, तर गाउँका किसानहरूले आफ्नो फसल बेच्नुपर्दा निकै नै सस्तोमा बेच्नुपर्दथ्यो। हामीले हलो जोत्न गोरु पाल्न नसकेकाले खेती गर्न त्यो पनि भाडामै ल्याउनुपर्थ्यो, खाद र बीउको पनि उस्तै समस्या पर्ने गर्दथ्यो र समग्रमा खेतीपाती हाम्रो लागि फाइदाजनक थिएन। बुवाले यो कुरा पहिले नै अनुभव गर्नुभएको थियो र त्यही भएर उहाँ खेतीपातीमा त्यस्तो जोडतोडले लाग्नुभएको थिएन।

तर गाउँमा धेरै नै भूमिहीनहरू थिए। तिनीहरूसँग खेती गर्ने मान्छे त थिए, तर खेत थिएन। उनीहरू अरूको खेत जोत्थे, बटियामा खेती गर्थे र उपजको एक-तिहाइ पाउँथे। तिनीहरू केहीले हाम्रो पनि खेती गर्न मद्दत गर्थे। धेरै त एक अढैया धानको ज्यालामा काम गर्थे। आफ्नो गाउँमा काम नभेटेको खण्डमा तिनीहरू कहिलेकाहीं अर्को गाउँतिर पनि जान्थे। त्यस्तै परिस्थितिमा रहेका अरूहरू खेतमा काम गर्न पंजाब र हरियाणातिर पनि लाग्थे, र स-साना रकम लिएर वर्ष-दुईवर्षमा फर्कन्थे।

खेतीपाती वर्षामै भर पर्दथ्यो। कुनै-कुनै साल वर्षाको नामोनिशान देखिँदैनथ्यो, र त्यसको अभावमा गाउँलेहरू तड्पिन्थे, तिनीहरूको जीवन र जीविका संहारमा हुन्थ्यो। गाउँको पश्चिममा एउटा नहर थियो, तर त्यो लगभग मृत भइसकेको थियो। सिंचाइको कुनै व्यवस्था थिएन। पानीको अभावमा गाउँलेहरू जसरी दिन-दिन निराशोन्मत्त हुन लाग्थे, गाउँका आइमाई र युवतीहरू राती जाट-जाटिन खेल्न बस्थिन्। पानी नपर्नाको दोष तिनीहरू भ्यागुतामाथि थुपार्थिन्, भ्यागुताहरू ट्वारट्वार नगरेकैले पानी नपरेको हो भनेर सोच्थिन्। आइमाईहरूले दुई समूह बनाउँथिन्, जाट र जाटिन। जाट पक्षका महिलाहरू पुरुषको झैं वेषभूषा लाउँथिन्, जुँगा बनाउँथिन्, पगडी लाउँथिन् भने जाटिन पक्ष चाहिं महिला शक्तिको रुपमा देखिन्थ्यो। ती दुई समूहहरू एक अर्कालाई आफ्नो दु:ख-मर्का गीत गाउँदै सुनाउँथे, गीतमै गुनासो गर्थे। अन्त्यमा ‘उखैर’मा भ्यागुतालाई राखेर ‘समाठ’ले बेस्सरी चुट्थे, भ्यागुताले ट्यार नगरेसम्म। भ्यागुताको ट्यार सुनेपछि अब त पानी पर्ने भो भनेर सबै हर्षित हुन्थे।

कुनै-कुनै साल धेरै दिनसम्म पनि वर्षा नहुँदा गाउँलेहरू दिक्कदार हुन्थे, र गाउँको उत्तरमा रहेको नदीमा बाँध बाँध्दथे। तर त्यति ठूलो मेहनत र प्रयासका बाबजूद वर्षा भएपछि बाँध भत्किएर सबै बग्थ्यो। आखिर वर्षात्‌मा ती नदीहरूलाई कसले छेक्न सक्छ? स्लूइस गेट शायद तिनीहरूको समस्याको समाधान थियो, तर ती गाउँहरू बाहिरको दुनियाँ र नजरभन्दा निकै पर थियो, बाहिरी सहयोगको सम्भावनाभन्दा निकै टाढा थियो। सरकारी, गैरसरकारी वा दातृ संस्थाको पहुँच र चासोभन्दा निकै दूरको कुरा थियो।

कुनै-कुनै साल मनसून भयानक तरीकाले आउँथ्यो। किसानहरूले धेरै मेहनत र श्रमले धान रोपिसकेपछि ठूलो झरी शुरु हुन्थ्यो। हप्तौंसम्म खेतबारी डुब्दथे। रोपाइँ भएका खेतहरू नष्ट हुन्थे। कुनै-कुनै साल गाउँमा वाढी आउँथ्यो। घरहरू खस्थे। हाम्रो घरको अवस्था पनि जर्जर थियो। फुसको छानामा अक्सर ठूल-ठूला प्वाँल हुने गर्दथे। घिरौलाका लहराहरू घरमाथि चढेकाले घिरौला टिप्न हामी अक्सर छानामा चढ्ने गर्थ्यौं, र त्यसले छानालाई झन् नराम्रो गरेको थियो। हाम्रो घरले हामीलाई पानीबाट बिरलै बचाउन सक्थ्यो। राती पानी पर्दा जोगिनका लागि मुश्किलले ठाउँ भेट्थ्यो। पानी नपर्ने एक कुनामा बस्दै कैयौं पटक हामी रात काट्थ्यौं। घरभित्र कहिलेकाहीं यति पानी जम्मा हुन्थ्यो कि थालले छ्याप्दै निकाल्नुपर्थ्यो। पानी दिउँसो पर्दा पनि समस्या नै हुन्थ्यो, खासगरी खाना बनाउन। गुँइठा भिज्ने भएकाले चुल्हो बाल्न आमालाई निकै नै कठिनाइ हुन्थ्यो। भोकले आफ्नो पेट थिच्दै सन्दुकमाथि म लेटिरहन्थें। आमा अन्तत: चुल्हो बाल्न सफल हुँदा पनि घर भित्र धूवैँ-धूवाँ हुन्थ्यो, त्यसले मेरा आँखामा नराम्ररी पीरो लागेर आँसु नै आउँथ्यो।

वर्षात्‌मा गाउँलेहरू विहानै उठ्थे, आफ्ना स-साना बच्चालाई पिट्थे, हिलाम्मे बाटोमा छोड्थे, र खेततिर लाग्थे। बच्चाहरू पनि नथाकुञ्जेल रुन्थे, पछि त्यही हिलोमै खेल्थे, र भोकलागे पछि कहिलेकाहीं त हिलो नै खान्थे। ती बच्चाहरू हिँड्न सक्ने भएपछि र दिशाको हेक्का राख्न थालेपछि तिनीहरू पनि खेतबारी र कामकाजमै सरिक हुन्थे। तिनीहरू बाख्रा-बाख्री चराउँथे, खेतमा चराचुरुङ्गी उडाउँथे, तरकारी-बारीको पहरा गर्थे।

वर्षात्‌मा गाउँको स्थिति साँच्चै नै भयावह हुन्थ्यो। बाटाहरू हिलो नै हिलोले भरिएका हुन्थे र महिनौंसम्म त्यस्तै हुन्थ्यो। ठाउँठाउँमा घुँडामाथि सम्मै आउने हिलो पार गर्न मान्छे बलियै हुनुपर्थ्यो। अझ त्यसमा गुहु र गोबर सबै मिलेर बाटो हेर्न लायक हुँदैनथ्यो। पोखरीका डिल र छेउछाव जहाँ अधिकांश गाउँलेहरू दिसा गर्ने गर्थे त हेर्नै सकिन्नथ्यो। गाउँमा शायदै एउटा पनि शौचालय थियो, मान्छेहरू नदी र पोखरी छेउछावै जान्थे। महिलाहरू बाँसको झाडीमा जान्थिन्, कि त तिनीहरूले अँध्यारोको पर्दाको सहारा लिनुपर्दथ्यो। वर्षात्‌मा त्यो टाल्नै नसकिने नित्यकर्म गर्नु पनि निकै नै कठिन थियो। र त्यसमाथि पेट त्यही बेलामा विग्रदा त झन के कुरा गर्नु? हुन पनि त्यो मौसममा मान्छेहरूलाई झाडापखाला पनि निकै नै लाग्ने गर्दथ्यो। इनार भित्र फोहर पानी पसिदिनाले झाडापखाला लाग्ने सम्भावना धेरै हुन्थ्यो। कति इनारमा त माथिसम्म पर्खाल पनि लगाइएको थिएन, र खुला नै हुन्थ्यो। एकपटक त हामीले पानी पिउने गरेको घरअगाडिको इनारमा गोरु नै खसेको मैले देखेको छु। बर्षात्‌मा त्यो इनार अनगिन्ती भ्यागुता र पातपतिङ्घरका घर हुने गर्दथे, कतिपटक त बाल्टिनले पानी निकालेर पिउन थालेपछि भ्यागुता ब्रुलुक्क उफ्रेर भाग्थ्यो।

वर्षात्‌मा पोखरीहरू पनि उस्तै फोहर हुने गर्दथे। मान्छेहरू पोखरीमा नुहाउने गर्थे, लुगा धुन्थे। साना केटाकेटीहरू आफ्ना सबै लुगा फालेर त्यसमा नाङ्गै कुद्थे र घंटौंसम्म पौडि खेल्दै नुहाउँथे। केही त आफ्ना भैंसी लिएरै पोखरी भित्र छिर्थे। कुनै-कुनै वर्ष पोखरीलाई लीध र जलकुम्भीले ढाक्थ्यो। तैपनि मान्छेहरू जलकुम्भीलाई ठेल्दै आफ्नो लागि स्थान बनाइहाल्थे, र त्यहीं डुबुल्की लाउँथे।

तर हिउँदमा गाउँ सफा देखिन्थ्यो। भुस, पराल, सुकेका पात र गोइठा बाल्दै गरेको घूरले अक्सर चुम्बकको भूमिका निर्वाह गर्दथ्यो। सबै छरछिमेकीहरू त्यसै वरपर झुम्मिन्थे, आगो ताप्थे र घंटौंसम्म गफगाफ गर्थे। हजुरआमाहरू आफ्ना नाति-नातिनी काखमा बोक्दै आउँथिन्, ओढनाभित्र स-साना बच्चाहरूलाई ढाक्दै आउँथिन्। घूर नजिक विहानपख पुरुषहरूको मुखमा प्राय: दतमैन हुन्थ्यो र तिनीहरू बीचबीचमा थुक फेक्न उठ्दै अनेकानेक कुरा गर्थे। राती दलान वा गोठमा घूर बलेकै हुन्थ्यो, र सुत्नुभन्दा पनि धेरै समय त्यहीं बित्ने गर्दथ्यो। अत्यधिक जाडो भएमा मान्छेहरू पराल ओछ्याएर सुत्ने गर्थे, लुगाफाटा नहुने गरीबहरू कहिलेकाहीं सनपाटको बोरा पनि ओढ्ने गर्थे।

गर्मी निकै नै प्रचण्ड हुने गर्दथ्यो। कुनै कपडा शरीरमाथि राख्न गार्‍हो हुन्थ्यो। सबै लुगा फालेर पानीमा हाम्फालूँ जस्तो लागिरहन्थ्यो। मध्यान्हमा सबै कुरा रोकिएको आभास हुन्थ्यो, समय अचल भए जस्तो लाग्थ्यो। बीचबीचमा पीपलको पात फडफडाउनु बाहेक केही हल्लेको देखिन्नथ्यो। मान्छेहरू बाँसका मचानमाथि आँपको रूखको छायाँमा बस्थे, र कुकुर जस्तै जोरजोरले श्वास लिन्थे। साँझपख मान्छेहरू दुवारमा जम्मा हुन्थे, बेन्च, कुर्सी वा खाट निकालेर त्यहीं बस्थे। लामुखुट्टेहरूको टोकाइ असाध्य हुन्थ्यो, झुण्डका झुण्ड लामखुट्टे खुट्टामा बस्न आउँथे। गमछा चलाउँदै मान्छेहरूले त्यसलाई भगाउने गर्थे। नजिकै बाँधिएका गाईवस्तुलाई लामखुट्टे र झीँगा नलागोस् भनेर लगाइएको घूरबाट निस्केको पीरो धूँवाले मान्छेहरूलाई समेत जोगाउँथे। जसरी गाउँलेहरू गर्मी र लामखुट्टेसँग जुध्दै दुवारमा बसेका हुन्थे, बुवा चाहिं रेडियोमा समाचार सुन्नुहुन्थ्यो र गाउँलेहरूलाई मैथिलीमा उल्था गर्दै बुझाउनुहुन्थ्यो। त्यो रेडियो बाहिरी दुनियाँसँगको हाम्रो एक मात्र सम्पर्क थियो, र त्यहाँको लागि विलासी वस्तु नै थियो। पंजाबबाट फर्केका एक मजदूरबाट बुवाले त्यो रेडियो किन्नुभएको थियो। त्यतिबेला नेपालबाट केवल एउटै च्यानल प्रसारण हुन्थ्यो — रेडियो नेपाल।

राती जतिबेला दुवारमा मान्छेहरू जम्मा भएर कृषि र ‘पोल्‌टिस्’का कुरा गरिरहेका हुन्थे, हामीहरू डिबिया (टूकी) लिएर दलान र ओसरामा माहुरी झैं भनभनाउँदै पढिरहेका हुन्थ्यौं। आँगनभित्र भने हजुरआमाहरू सुकुल ओछ्याएर स-साना बच्चाहरूलाई खेलाइरहेकी हुन्थिन्, कथाहरू सुनाइरहेकी हुन्थिन्। यद्यपि ती अधिकांश कथाहरू नैतिक शिक्षा र प्रेरणा दिने खालका हुन्थे, कतिपय भने काल्पनिक र मनोरञ्जक पनि हुन्थे। गुनु झाका कथाहरू मलाई औधी मन पर्थ्यो। केही कथाहरू भन्दै जाँदा बच्चाहरूलाई काउकुती लाउने गरिन्थ्यो, बच्चाहरूको खितखितीले आँगन नै भरिन्थ्यो। मलाई पनि हजुरआमाले कथा सुनाई सकेपछि अन्त्यमा आफ्नो घुँडामाथि राखेर मास्तिर उठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो — ‘पुरानो घर खसोस्, नयाँ घर बनोस्’। कहिलेकाहीं म छिमेकका बूढापाकाहरू कहाँ पनि कथा सुन्न जान्थें। उनीहरूले ऐतिहासिक घटना र व्यक्तिका बारेमा पनि बताउँथे। त्यो नै मेरो प्रथम विद्यालय थियो, र त्यहाँ नै मैले राजा जनक, राजा सलहेश, दीना-भद्री, लोरिक, कृष्णाराम आदिका बारेमा जान्ने मौका पाएँ। त्यहाँ नै मैले प्रथम पटक आफ्नो गौरवशाली इतिहास र महान पूर्खाहरूका बारेमा जान्ने मौका पाएँ।

मेरो औपचारिक शिक्षा भने गाउँकै प्राथमिक विद्यालयबाट शुरु भयो। मेरो स्मृतिमा रहेका सम्भवत: सबैभन्दा पुरानो सम्झनाहरूमा काठको पाटी र बोरा च्यापेर म दिदीको हात समाउँदै स्कूल गइरहेको दृश्य पनि पर्दछ। कक्षाकोठामा बेन्च थिएन, र बर्षात्‌मा कक्षाकोठामा पनि पानी जमेर हिलो हुनेगर्दथ्यो। फुसको टुटेफुटेको छानाबाट कक्षाकोठामा पानी सजिलै आउँथ्यो, र धेरै पटक त पानी छ्यापेर बाहिर निकाल्नुपर्थ्यो।

शिक्षा हाम्रो बेलामा पनि दुर्लभ नै थियो, धेरैले आफ्ना छोराछोरीलाई स्कूल पठाउँदैनथे, खास गरी छोरीलाई। तिनीहरू त सानैदेखि खाना बनाउनुपर्थ्यो, भाँडा माँज्नुपर्थ्यो, गोठ-गोबर गर्नुपर्थ्यो, घाँस काट्नुपर्थ्यो, बाख्राबाख्री चराउनुपर्थ्यो। तिनीहरू मध्ये केही त अरूको घरमा काम गर्नुपर्थ्यो, चार-पाँच वर्षदेखि नै। घरको कामकाज राम्ररी नगरिँदा तिनीहरूले पिटाइ खानुपर्थ्यो। तिनीहरूलाई देख्दा छोरा भएर जन्मिँदा र स्कूल जान पाउँदा म भाग्यशाली नै अनुभव गर्थें।

स्कूलमा म मखन यादब सरको बढी नजिक थिएँ। उहाँलाई पंडितसर भनेर बोलाइन्थ्यो र म उहाँलाई जीवनभरि नै गुरु मानिरहें। उहाँ मलाई धेरै माया गर्नुहुन्थ्यो र कुनै खाली समय मिल्नासाथ, स्कूलको चौरमा आफ्नो काखमा बसाउनुहुन्थ्यो, र अनेकौं कुराहरू सिकाउनुहुन्थ्यो। उहाँले अनवरत रूपमा मलाई बुद्ध, क्राइष्ट, गान्धी, मुहम्मद र अनेक महान व्यक्तित्वका जीवन र उपदेशका बारेमा बताउनुहुन्थ्यो। उहाँले अनेकौं स-साना कथाहरू र मार्मिक प्रसङ्गहरू सुनाउनुहुन्थ्यो, जसको प्रभाव ममाथि जीवनभरि रहिरह्यो। कक्षामा उहाँ संस्कृत र नैतिक शिक्षा पढाउनुहुन्थ्यो र कक्षाकोठाबाहिर पनि आफूसँग संस्कृतमै बोल्न भन्नुहुन्थ्यो। उहाँले नीतिशतक र चाणक्यका कुराहरूदेखि लिएर धर्मग्रन्थका अनेकौं श्लोक र पदावलीहरू मलाई सिकाउनु भयो।

तर उहाँको शिक्षा बाहेक सबै पाठ्यपुस्तकहरू मलाई पराया लाग्थ्यो। तिनीहरू नेपालीमा लेखेका हुन्थे र नेपाली भाषा हाम्रो लागि पराया थियो, कहिले कतै कसैले बोलेको नसुनिने। हामीलाई आफ्नो भाषामा नभई नेपालीमा किन पढाइँदैछ, म बुझ्न असमर्थ थिएँ। अझ, ती किताबमा वर्णन गरिएका कुराहरू हाम्रो जीवन, हाम्रो रहनसहन, र हामीसँग पटक्कै मिल्दैनथ्यो। किताबहरू पहाडका कुनै शासकहरूको प्रशंसागानले भरिएका हुन्थे, पहाडका वेषभूषाका दृश्यले सुसज्जित हुन्थे, कसैले नजानेको लोककथाले भरिएका हुन्थे, कहिले नमनाइने चाडपर्वका वर्णनले भरिएका हुन्थे, हाम्रो कुनै सम्बन्ध नभएको संस्कृतिका बखानहरूले भरिएका हुन्थे। त्यहाँ म आफ्नो लोककथा खोज्थें, आफ्नो इतिहास खोज्थें, आफ्नो संस्कृति खोज्थें, आफ्नो चाडपर्व खोज्थें, आफ्नो रहनसहन खोज्थें, आफ्नो वेषभूषा खोज्थें, आफ्नो भाषा खोज्थें, तर दुर्भाग्य केही भेट्दिनथें।

बुवा अक्सर विद्यापतिका गीतहरू गुनगुनाइरहनुहुन्थ्यो, र म पनि ती मध्ये केही गीतहरू सिक्न चाहन्थें तर कहिले पनि कतै भेटाउन सकिनँ। आमाले भन्ने गरेका कहाबतहरूको अर्थ बुझ्न चाहन्थें, मान्छेहरूले भन्ने गरेका सलहेश, दीनाभद्री, लोरिक र कृष्णारामका जीवनका बारेमा जान्न चाहन्थें, आफ्नो ऐतिहासिक राज्य र गौरवशाली राजाहरूका बारेमा जान्न चाहन्थें, तर कहिले पनि त्यहाँ भेटाउन सकिनँ। हाम्रो इतिहास शासकवर्गका किताबहरूमा निसासिएको थियो, गोर्खाली सैनिकहरूको बुटमुनि कुल्चिएको थियो।

म बुझ्न सकिरहेको थिइनँ कि हामी त्यस्तो पराया कुरा किन पढिरहेका थियौं। पढ्नु पनि त्यति खराब थिएन, अझ ती पराया कुराहरूलाई आफ्नो भन्दै किन जोरजोरले चिच्याइरहेका थियौं, रहस्य झैं लाग्थ्यो।

हाम्रो स्कूलमा विभिन्न अवसरमा सार्वजनिक विदा हुने गर्दथ्यो, कहिले राजाको जन्मदिनमा त कहिले रानीको जन्मदिनमा, त कहिले पञ्चायत दिवसको अवसरमा। ती अवसरहरूमा हामीलाई नाराहरू लेखिएको कागज थमाइन्थ्यो। त्यसमा लेखिएको हुन्थ्यो — एउटै भाषा एउटै भेष, प्राण भन्दा प्यारो छ; हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, आदि आदि। जिल्ला शिक्षा अधिकारीले ती नाराहरू सिफारीश गर्ने गर्दथे। हामीहरू जोर-जोरले नारा लगाउँदै गाउँभरि घुम्नुपर्दथ्यो। घंटौसम्म गला नसुकुञ्जेल म जोरजोरले ती नाराहरू लगाउँथे, हामीले नबोल्ने त्यो एक भाषाका लागि, हामीले नलाउने त्यो एक भेषका लागि, हामीलाई दास बनाएका ती राजाहरूका लागि। आखिरमा कहिले पनि म आफ्नो भाषा पढन-लेख्न पाइनँ। साहित्यमा निकै श्रेष्ठ मानिने आफ्नो भाषामा एक पानासम्म पढन पाइनँ। आफूले लाउने भेषमाथि मलाई कहिले गौरवको अनुभूति हुन दिइएन। आफ्नो गौरवशाली इतिहास र राजाहरूको बारेमा कहिले पनि जान्न दिइएन।

तैपनि पढाइ जारी रह्यो र म कक्षामा सधैं प्रथम आइरहें। रिजल्टका दिन चम्पा, बेली र चमेलीका फूलको माला बनाएर म लग्थें र आफ्ना गुरुहरूलाई लाइदिन्थें।

प्राथमिक शिक्षाको अन्त्यमा हामीले बोर्ड परीक्षा दिनुपर्थ्यो र हाम्रो केन्द्र अरू केही स्कूलहरूसँगै वभनगामा कट्टीमा परेको थियो। बोर्ड परीक्षापछि केन्द्रबाट प्रथम, द्वितीय र तृतीय स्थानमा आएकाहरूले जिल्ला स्तरीय प्रतिस्पर्धामा जानुपर्थ्यो। त्यहाँ म पनि जानु पर्ने भयो र त्यसको लागि फोटो खिचाउनु पर्ने भयो। बुवाले मलाई राजबिराजको एउटा फोटो स्टूडियोमा लग्नुभयो र त्यहाँ म फोटो खिचाउन तयार भएँ। फोटोग्राफरले मेरो शिरमाथि नेपाली टोपी लाइदिए। बारबारको प्रयोगले त्यो फोहोर थियो, गन्हाइरहेको थियो, प्रतिरोध गरे पनि मैले लाउनै पर्ने बुझें। कुनै पनि सरकारी कामकाजको लागि फोटो खिचाउँदा नेपाली टोपी लाउनु अनिवार्य थियो, अन्यथा स्वीकार्य हुँदैनथ्यो। जतिबेला फोटो आयो र मैले हेरें, छक्क परें। त्यो कुनै अर्कै मान्छे जस्तो थियो। म बुझ्न सकिरहेको थिइनँ, आखिर नेपाली टोपी नलाइकन मेरो अस्तित्व किन स्वीकार्य हुँदैन। केवल यति बुझें, त्यो फोटोमा म थिइनँ, थियो त केवल शासक वर्गको कुनै दास, नेपाली साम्राज्यको कुनै दास मात्र।

[GO TO CONTENTS]

५. क्षितिजपारि

गाउँबाट प्राथमिक शिक्षा पूरा गरेपछि म वभनगामा कट्टीको माध्यमिक विद्यालयमा भर्ना भएँ। त्यो स्कूल कट्टी गाउँ नजिकै खेतहरूको बीच थियो। कट्टीकै तीनजना समाजसेवीद्वारा स्थापित त्यो विद्यालयको विकल्प त्यस क्षेत्रमा थिएन। विद्यार्थीहरू टाढाटाढाबाट तीन-तीन घंटासम्म हिँडेर पनि आउँथे। त्यही स्कूलबाट बुवा र दाइहरूले पनि पढ्नुभएको थियो। चारैतिरका दर्जनौं गाउँहरूबाट विद्यार्थीहरू आउने भएकाले स्कूलको वातावरण निकै नै रमाइलो र ऊर्जामय थियो। त्यहाँ मैले कोइलाडी, कट्टी र अन्य गाउँका थुप्रै घनिष्ठ मित्रहरू छिट्टै नै बनाएँ।

स्कूलमा भर्ना भएको करीब वर्ष दिनपछि जनआन्दोलन शुरु भयो। हामीले क्लास छोड्यौं। क्लास चलाउन प्रहरी आए। स्थानीय र प्रहरीको झडप भयो। त्यसैगरी देशभरि नै झडपहरू भए, हडताल भए। कर्फ्यू लगाइयो। देशभरि कैयन् मान्छेहरू मारिए। अन्त्यमा प्रजातन्त्र आएको सुनियो, राजाको अधिकार सीमित गरिएको सुनियो, जनतालाई अधिकार दिएको सुनियो। तर हाम्रो लागि केही बदलिए जस्तो लागेन, हामीले केही पाए जस्तो लागेन।

स्कूलमा भर्ना भएको केही समय पश्चात् नै बुवा एउटा बस दुर्घटनामा पर्नुभयो। त्यसपछाडि उहाँको स्वास्थ्य ठीक नरहँदा उहाँले ट्यूशन पढाउन छोड्नुभयो, र हामीले पनि आफ्नो पढाइ प्राय: आफैं हेर्नुपर्दथ्यो। त्यसले गर्दा म आफैं सबै कुरा खोज्न र हेर्न बाध्य हुन पुगें। ट्यूशन पढाउन छाड्दा घरमा आर्थिक समस्या पनि निम्त्यायो। त्यति बेलासम्म बुवाले कानूनी कागजपत्र पनि लेख्न छाडिसक्नुभएको थियो। सरकारले त्यस कार्यका लागि छुट्टै कर्मचारी राख्ने नयाँ प्रावधान ल्याएको थियो। यसरी हाम्रा आर्थिक श्रोतहरू बन्द हुन पुग्दा र खर्च बढ्न जाँदा वर्षभरि खानाको व्यवस्था गर्न पनि हामीलाई धौ-धौ पर्न गएको थियो। तर गाउँलेहरूको सहयोगले हाम्रो परिवार जसोतसो चलिरह्यो।

घरको आर्थिक स्थितिले हाम्रो पढाइ र जीवन पनि कठिन हुन पुगेको थियो। स्कूलसम्मको करीब घंटाभरिको बाटो महिनौंसम्म म नाङ्गै खुट्टा हिँडेर जान्थें। बुवाले चप्पल किन्दिन्छु भनेर आश्वासन दिँदादिँदै महिनौं बित्थ्यो। खास गरी बर्षात्‌मा नाङ्गै खुट्टा हिँड्नु खतरनाक थियो। गँगटोका हाडहरू यत्रतत्र बाटामा छरिएका हुन्थे, र पैतालामा गड्ने गर्दथ्यो। मलाई सम्झना छ एक चोटि मेद नारायण सरले बाटोमा म नाङ्गो खुट्टा हिँडेको देखेर मलाई राम्ररी हेरेर हिँड्न सम्झाउनुभएको थियो, अरू भएको भए शायद भोलिदेखि चप्पल लाएर आउनु भनेर थर्काउनुहुन्थ्यो होला।

मेरा लुगा पनि ठीकठाक स्थितिमा थिएन। वर्षभरि घरमा र स्कूलमा लाउने त्यही एउटै हाफपाइन्ट घसिएर झुत्रो हुन पुग्थ्यो, पछाडि प्वालैप्वाल पर्न आउँथ्यो। कक्षामा उभेर आफ्नो फाटेको जालीदार हाफपाइन्ट देखाउनु साटो म बसिराख्न नै रुचाउँथे र कुनै जवाफ समेत दिन्नथे। तर शिक्षकले मलाई नै केही सोध्दा उठ्नैपर्थ्यो। त्यसको फाइदा पछाडि बेन्चका विद्यार्थीहरूले कहिलेकाहीं उठाउने गर्थे, आफ्नो औंलारूपी अस्त्र छोड्दै। कहिलेकाहीं कक्षा हाँसोले भरिन्थ्यो। तर मलाई दु:ख त्यस विशेष क्षणको लाग्दैनथ्यो, बरु त्यो अपरिहार्य भोलिका लागि, कि यति सबका बाबजूद पनि म भोलि फेरि त्यही हाफपाइन्ट लाएर आउनेछु। अन्त्यमा म तिनीहरूबाट यति आजित भएँ कि घसिएर जालीदार भएको भागलाई एक दिन काटेर त्यहाँ अर्को कपडाको टुक्रा टाँसेर सिइदिएँ। त्यही दिन पोखरीमा लुगा धुँदै गर्दा एक जना केटीले मेरो कलाको तारिफ गरी। एक जना सम्बन्धीले दिदीको बिहेमा मेरो लागि सुरूवाल र शर्ट ल्याएपछि मात्र त्यो हाफपाइन्टले मेरो पीछा छोडेको थियो। दिदीको बिहे पनि माँगेको दाइजो दिन नसक्दा धेरै चोटि रोकिएको थियो।

स्कूलमा दिनभरि नै बस्नुपर्दा स्वाभाविक रुपमा भोक लाग्थ्यो। गाउँको स्कूलमा छँदा त खानका लागि मध्यान्हमा घर फर्किन सक्थें, तर कट्टी स्कूलमा पढ्दा त्यो विकल्प बाँकी थिएन। टिफिनको छुट्टीमा मसँग खानेकुरा केही हुन्नथ्यो। केही विद्यार्थीहरू घरबाटै टिफिन ल्याउँथे, केही भने स्कूलमै पनि किन्थे। तर कट्टी स्कूलमा पढुञ्जेल मैले कुनै टिफिन लगिन र अरू धेरै गरीब विद्यार्थी जस्तै ट्यूबवेलको पानी पिएरै आफ्नो भोक टार्थें।

तर ती सबका बाबजूद पढ्न पाएकोमा म आफूलाई भाग्यमानी नै सम्झिन्थें। ठूल्दाइले पढ्नु भएका किताबहरू घरमै थिए, र मैले किताबको लागि चिन्ता गर्नुपर्दैनथ्यो। समस्या त स्कूल-फीले दिन्थ्यो। सानै रकम भए पनि प्राय: साल बुवा समयमै फी तिर्न असमर्थ हुनुहुन्थ्यो। फी तिर्न नसक्दा म समयमै परीक्षाका लागि प्रवेशपत्र लिन सक्दिनथें, र त्यो नलिइकन स्कूल प्रशासनले प्राय: परीक्षा हलमा प्रवेश गर्न दिँदैनथ्यो। तर म बाहिर बसिराख्थें। प्राय: सबै साल मैले त्यो समस्या झेल्नु परेकाले म अनुभवी नै भइसकेको थिएँ। केही समय पर्खेपछि गार्डले भोलि फी अवश्य तिर्नू भनेर जान दिन्थे।

एक पटक स्कूल प्रशासनले मलाई दुई-तीन विषयका जाँच त्यसरी नै लिन दिए, यस आशामा कि म फी त अर्को दिन बुझाइहाल्छु। तर त्यो हुन सकेन, बुवाले पैसाको व्यवस्था गर्नसक्नु भएन। तेश्रो वा चौथो विषयको जाँचको दिन प्रशासन कडा भयो, र केही बेर पर्खेपछि पनि मलाई परीक्षा भवन भित्र छिर्न दिएन। तिनीहरूको पनि समस्या थियो, मलाई छिर्न दियो भने म जस्तै अरूहरूलाई पनि छिर्न दिनुपर्दथ्यो, त्यसैले त्यसदिन सबैलाई बाहिरै रोके। तैपनि म पर्खिरहें। केही बेरपछि रनिङ्ग गार्ड आयो र मलाई स्कूलको हाताबाहिर जान बाध्य बनायो। म बाहिर गएँ, गहभरि आँसु टलपलाइरहेको थियो, म स्कूललाई परैबाट नियालिरहें। समय बित्दै जाँदा नजिकैको स्कूल पनि पर पर सरे जस्तो लाग्थ्यो। लगभग एक घन्टै वित्न लाग्दा मेरो मन टुट्नै लागेको थियो, आँसुका थोपा त अघिदेखि नै बर्रर झर्दै थिए। एक घंटापछि परीक्षाहल भित्र विद्यार्थीलाई छिर्न नदिइने नियम थियो, र त्यसले म आत्तिएको थिएँ । तर अन्तिम समयमा तिनीहरूले मलाई बोलाए। तिनीहरू पनि दोधारमा थिए, क्लासको प्रथम विद्यार्थी भएकाले मैले परीक्षा दिन सकिनँ भने उचित मूल्याङ्कन नहुने उनीहरूको डर थियो।

यद्यपि म त्यसदिन परीक्षा हल भित्र छिर्न सफल भएँ, त्यस्तै परिस्थितिमा रहेका अरूहरू चाहिँ बाहिरै रहन बाध्य भए। तिनीहरूमध्ये मेरै एक परममित्र हरि प्रसाद थिए। ऊ बाहिर जोरजोरले रूँदै थियो। पहिला पनि त्यस्तै हुँदा एक पटक मैले विश्वनाथ सरलाई भनेर भोलि फी तिर्ने शर्तमा उसलाई परीक्षाहलमा प्रवेश गराउन सफल भएको थिएँ। तर त्यो दिन मेरो केही चल्नेवाला थिएन। अन्तत: उसले पढाइ छोडेको थियो।

आफ्नो खाना र पढाइ धान्न नसक्दा मेरा धेरै मिल्ने साथीहरू पढाइ छोड्न बाध्य भए। तिनीहरू पढाइ छोडेर पंजाब र दिल्लीतिर लाग्थे। केही लुधियाना पनि जान्थे। एक पटक त म पनि पढाइ छोडेर पंजाब लाग्ने मोडसम्मै पुगेको थिएँ। म अरू साथीहरूसँग दश मिनेटका लागि बाहिर निस्केको थिएँ, अवश्य पनि पर्खालपारिको खाली खेततिरै। स्कूलमा विद्यार्थीको लागि एउटै पनि शौचालय थिएन र केटीहरूसमेत पर्खालपछाडि नै लाइन लाग्थिन्; कहिलेकाहीं कोही बटोही नजिकैबाट गुज्रदा तिनीहरूले निकै नै लज्जाको सामना गर्नुपर्दथ्यो। जब हामी चाहिनेभन्दा अलि परैसम्म पुग्यौं, साथीहरूको योजनाका बारेमा मैले आभास पाएँ। तिनीहरू पंजाबका लागि भाग्न तम्तयार रहेछन् र साथमा मलाई पनि आउन जिद गरे। दैव जानून् त्यो दिन मलाई के ले रोक्यो तिनीहरूको कुरा सुन्ना साथ म आफ्नो ठाउँमै अडें, ठूलो दृढताका साथ। साथीहरू गए, ती जोतेका खेतहरू बीच म एक्लै उभेर तिनीहरू टाढिएको टोलाइरहें।

तर अर्को पटक भाग्ने प्रयास भने मैले गरें, अलिपछि। दिनहुँ गरीबीमा पिल्सिदाँ-पिल्सिदाँ वाक्क भई मैलें घर छोडें, एक्लै। म चौध-पन्ध्र वर्षको हुनुपर्छ, तर शारिरीक रूपमा त्यसभन्दा पनि कम उमेरको देखिन्थें। दिल्ली कि पंजाब, एक्लै कहाँ जाने भनेर सोच्न नसकी इण्डियामा कुनै ठाउँमा बच्चाहरूलाई पढाउने भनेर मैलें मनमनै सोचें। मसँग केही पनि थिएन, अन्यथा मान्छेहरूले शंका गर्थे होला, मलाई रोक्थे होला। आफूले लाएको लुगामै म घरबाट निस्केको थिएँ। मेरो शर्टमा दुई-तीनबटा बटन नै थिएन, बाटोमा बाँसको कैरची तोडेर बटन बनाएँ। म अक्सर त्यसरी बटन बनाउने गर्थें, मलाई सम्झना छ एकचोटि मेरो त्यस्तो बटन देखेर ध्रुवसर जिल्लिनुभएको थियो।

मसँग एक रूपैयाँ पनि थिएन। कोशी च्यानेल भएरै म हिँडिरहेको थिएँ, विहानैदेखि केही नखाएकोले भोक पनि लागिसकेको थियो। त्यही भएर च्यानेलकै छेउमा रहेको एकजना नातेदारको घर गएँ। तर मलाई त्यहाँ चाहेभन्दा बढी नै समय रोकिनुपर्यो। दिउँसो कडा घाम भएको कारण देखाउँदै तिनीहरूले मलाई रोकिराखे। तर म एक्लै भएको र जान त्यसरी छटपटिएको देखेर तिनीहरूको मनमा शंका लागिसकेको थियो।

उता घरमा मैले घर छोडेको कुरा केही गरी सबैले थाहा पाएछन्। घरमा सबै चिन्तित हुन पुगे। आमा रुँदै कराउँदै खोज्न थाल्नुभयो, र बुवाले पनि मलाई खोज्न चारैतिर मान्छेहरू पठाउनुभयो। अन्त्यमा साँझ तिर मलाई खोज्न आएका एकजनाले मलाई त्यही समाते र घर लिएर आए।

हाम्रो घरको स्थिति यति खराब थियो कि इमर्जेन्सी स्वास्थ्य उपचारका लागि समेत पैसाको कुनै व्यवस्था थिएन। एकपटक त पचास-साठी रूपैयाँ तिर्न नसक्दा म झण्डै मर्नै लागेको थिएँ। मेरो पेट बिग्रेको थियो, शायद शूल भएको थियो। शुरूमा मैले धेरै काँचो आँप खाएको भनेर घरमा सबैले शंका गरे। हुन पनि त्यतिबेला हामी आँपको बगैंचामा जाने गर्दथ्यौं, हरिया आँप टिप्ने गर्दथ्यौं, गमछा ओछ्याएर त्यसमाथि मजाले बस्दै आँप ताछेर टुक्राटुक्रा पार्दथ्यौं, र ती दूध झैं सेता आँपका टुक्रामाथि नून छर्केर हाम्रो दाँतले भ्याएसम्म खाने गर्थ्यौं। त्यही भएर तिनीहरूको शंका निराधार थिएन, तर मलाई थाहा थियो, कम्तीमा त्यसपालि आँपको कारणले मेरो पेट दुख्ने गरेको थिएन।

पेटको दुखाइ दिन प्रति दिन बढ्दै गइरहेको थियो। डाक्टरलाई देखाउने हाम्रो क्षमता थिएन, धेरै पैसा लाग्थ्यो। तर त्यो वर्ष चुनाव थियो र त्यस चुनावमा डा. अशोकानन्द मिश्र पनि उठेका थिए। हाम्रो गाउँमा उनी भोट माग्न आउँदा पैसा तिर्न नसक्ने धेरै बिरामीहरू उनीकहाँ जँचाए। ती मध्ये म पनि एक थिएँ। ठीक हुन्छ कि भनेर उनले केही दिन अरू पर्खेर हेर्न भने। तर पेट दुख्ने क्रम झन् बिग्रियो। एक हप्ताभन्दा बढी भइसकेको थियो, म निकै नै कमजोर भइसकेको थिएँ। दिनभरि म घरपछाडि बसिरहन्थें। नजिकैबाट कोही जाँदा पनि म प्रतिक्रिया दिन असमर्थ थिएँ। बुवाले गाउँकै पसलबाट किनेर केही ट्याबलेट दिनुभएको थियो, तर त्यसले कुनै फरक पारेको आभास हुँदैनथ्यो। उहाँ यति बिघ्न निराश हुनुभएको थियो कि एकजना झाँक्रीलाई बोलाएर मलाई दिनहुँ झाड्न लगाउनुहुन्थ्यो, म भित्रको भूत-प्रेत भगाउन। निराशा, आवश्यकता र सन्तानप्रतिको मायाले मान्छेलाई नदेखिने भूत-प्रेतका अगाडि भन्दा झुक्न बाध्य बनाइदिंदो रहेछ।

अझ केही दिन पर्खंदा म घरपछाडि समेत जानै नसक्ने गरी कमजोर भएँ। त्यही भएर ठूल्दाइले ट्वाइलेटका रुपमा प्रयोग गर्न घरभित्रै खाट नजिकै खाल्डो खन्दिनुभयो। तर अरू एक-दुई दिनमा म विछ्यौनाबाट पनि उठ्न नसक्ने भएँ। अब म बाँचूला जस्तो नलागेपछि मेरा एक छिमेकीले गोरुगाडा जोडे, मलाई त्यसमाथि सुताए, र राजबिराजको अस्पताल लगे। दुई-अढाई घंटापछि हामी त्यहाँ पुग्यौं, ठम्याउन गार्‍हो भए पनि जीवित नै थिएँ। बेड त उपलब्ध थिएन, बरन्डामै मेरो औषधीउपचार शुरु भयो, पहिला पानी चढाइयो। तुरुन्तै चाहिने औषधीहरू बुवाले ल्याउनुभयो, शायद उधारोमा। औषधी छोडेर उहाँ पैसा खोज्न हिँड्नुभयो।

हजुरआमा मसँगै हुनुहुन्थ्यो। त्यो साँझ धेरै दिनपछि मलाई भोक लागेर आएको थियो, र मैले खानका लागि केही माँगें। केही थिएन, उहाँले पर्खन भन्नुभयो। घंटौ-घंटा पर्खंदा पनि बुवा फर्केर आउनुभएन। भोकले छट्पटिएको देखेर अर्का बिरामीसँग रहेका कुरुवाले खाना दिन लाग्दा हजुरआमाले अस्वीकार गर्नुभयो र बुवाले खाना ल्याउँदै हुनुहुन्छ भनेर भन्नुभयो। अन्त्यमा बुवा आउनुभयो तर उहाँ खाना नलिइकन खाली हात नै फर्कनुभएको थियो, शायद पैसाको व्यवस्था हुन सकेको थिएन। पछि अस्पतालकै मेसबाट नर्सलाई भनेर खाना ल्याइदिनुभयो। विहान विद्यानन्दकाकाले बुवालाई केही पैसा दिनुभयो र उहाँले औषधीको मोल साठी रूपैयाँ जति चुकाउनु भयो।

म अस्पतालमै केही दिन बसें। त्यहाँ पनि ट्वाइलेटको व्यवस्था राम्रो थिएन, मलाई अस्पतालको छेउमा रहेको खुला ठाउँमै जानुपर्थ्यो। माहिलादाइ राजबिराज मै हुनुहुन्थ्यो, उहाँले मलाई त्यहाँसम्म लग्दिनुहुन्थ्यो। त्यो अंचल अस्पताल थियो र कुनै समयमा उत्कृष्ट अस्पतालहरू मध्ये नै पर्दथ्यो, तर सरकारले ध्यान नदिँदा त्यसको हालत एकदम बिग्रिसकेको थियो।

स्कूल र पढाइका अलावा मैले घरको कामकाज हेर्नुपर्थ्यो, गाईवस्तुको स्याहारसुसार गर्नुपर्थ्यो, किसानहरूलाई खेतीमा सघाउनुपर्थ्यो। म विहानै उठ्थें, गोठ-दलान सफा गर्थें, दुवारमा जम्मा भएका ठूलाबडाका लागि चिया बनाउँथें, करेसाबारीमा पानी हाल्थें। सानो करेसाबारीमा म अनेकौं किसिमका तरकारीहरू लगाउने गर्थें, र हरेक विहान-बेलुका इनारबाट पानी तान्दै सबैमा पानी हाल्थें। हामीले एउटा गाई पनि राखेका थियौं, र पछि आमाले एउटा बाख्री पनि थप्नुभयो। गाई त ठीकै थियो, बाख्रीले जहिले पनि मलाई चिढाइराख्थी। म सुत्ने खाटमै वाँधिने बाख्री नचाहेको बेलामा कानै निर म्याम्या गर्थी, र सिरानीमुनि मैले राखेका मेरा नोटकपी र किताबहरू बेलाबेलामा चपाइदिने गर्थी। तर ‘बाख्रीघर’ खेल्नका लागि त्यसले प्रयाप्त मात्रामा गोटी पनि दिन्थी, र कहिले हराउने र कमी हुने डर हुँदैनथ्यो। बाख्रीघर खेल्दा अर्को छेउमा भने अंडीका बीउका गोटी हुन्थे भने धरती नै हाम्रो बोर्ड हुन्थ्यो।

स्कूलबाट फर्केपछि म गाई चराउन जान्थें। छुट्टीका दिनमा त हामी विहानै निस्किन्थ्यौं, टाढा-टाढासम्मै जान्थ्यौं र साँझ मात्र फर्किन्थ्यौं। हामी मध्ये एक जना मध्यान्हका बेला खाना लिन फर्किन्थे र सबैको खाना बोकेर ल्याउँथे। गाई चराउँदाका दिनहरू पनि असाध्यै रमाइला थिए, गाईवस्तु चरिरहँदा हामी अक्सर कबडी, कोइलियती र हाथीचुका खेल्ने गर्दथ्यौं भने कहिलेकाहीं गीत गाउने गर्दथ्यौं।

॰हाम्रा खेतहरू स-साना टुक्राहरूमा गाउँको चारैतिर रहेका थिए। हाम्रा कतिपय खेतहरू गाउँकै एक किसान राम किसुन साफीले हेर्ने गरेका थिए। खेत जोत्न कहिलेकाहीं हाम्रा नातेदारहरूले पनि सघाउँथे। म पनि तिनीहरूलाई सघाउन जान्थें। तिनीहरू गोरुले खेत जोत्दै गर्दा म खेतको कुना र आली छेउछाव कोदालीले खन्थें। कहिलेकाहीं खाद र वीउ छर्थें। खेतका डल्लाहरू फुटाउन ‘चौकी’ लगाउँदाको मज्जा म अझै सम्झिरहन्छु।

ती दिनहरूमा बुवाले मलाई किनमेल गर्न अक्सर हनुमान नगर पठाउनुहुन्थ्यो, त्यो हाम्रो लागि सबभन्दा नजिकको बजार थियो। हनुमान नगर त्यही स्थान थियो जहाँ जय प्रकाश नारायण लगायतका भारतीय स्वतन्त्रता सेनानीहरूलाई नेपाल सरकारले जेल हालेका थिए, तर पछि मधेशीहरूले तिनीहरूलाई जेल तोडेर भगाएका थिए। म अक्सर खेतैखेत हिँडेर जान्थें। त्यहाँ सोमबार र बिहीबार हटिया लाग्ने गर्दथ्यो। कहिले गेहुँ पिसाउन त कहिले तोरी पेलाउन पनि त्यहीं जाने गर्थें। हटियाबाट कहिलेकाहीं माछा पनि ल्याउँथे, कोशीको माछा बुवालाई निकै मन पर्थ्यो। कोशीको च्यानलमा माछा मार्न जाल लिएर माहिलादाइसँग एक ताका लगभग नियमित रुपमै गइराख्थें।

॰गाउँमा हाम्रा दिनहरू अनेकौं चाडपर्वले भरिएका हुन्थे। खास गरी भारदहको कंकालिनी थानको मेला, र ढिकली र तोपाको दहा मेला हेर्न मलाई निकै मन पर्दथ्यो। पर्वहरूमा हामी जितिया, सामाचकेवा, सिरूवा, चौरचन, छठ, होली, माघी, दशमी, दिपावली, भरदूतिया, नागपंचमी, कृष्ण जन्माष्टमी, सरस्वतीपूजा आदि मनाउने गर्दथ्यौं।

कान्छो भएकोले होला ती पर्वहरूमा धेरैजसो जिम्मेवारीहरू मेरै काँधमा आउने गर्दथ्यो। ती मध्ये एक भरदूतियामा चिम्हटीमा रहेकी दिज्यूलाई भेट्न जानु थियो। भरदूतियामा भाइहरूले दिदीबहिनी कहाँ मुरही-चिउरा लिएर भेट्न जाने चलन थियो। दिदीबहिनीहरू पनि आफ्नो भाइका लागि पिँधेको चामल पानीमा मिसाएर आँगनमा चौका लेखेर राख्थिन्, त्यसमा रथ बनाइएको हुन्थ्यो। दिदीबहिनीहरू आफ्ना भाइलाई राजसी सम्मान दिँदै त्यसमाथि बसाएर हातमा पाँच पान र पाँच सुपारी राख्ने गर्थिन् र उनीहरूको लामो आयुको लागि प्रार्थना गर्दै विधीपूर्वक जल चढाउँथिन्। त्यो दिन मधेशमा हरेकका यहाँ पाहुना हुन्थ्यो।

बाटोका कारणले चिम्हटीमा रहेकी दिज्यू कहाँ जान कोही हतपत तैयार हुँदैनथे। उहाँको अनुहारमा म हजुरआमाको झलक पाउँथे, र उहाँलाई भेट्न म निकै उत्सुक रहन्थें। उहाँको कुनै छोरा थिएन, खाली छोरी मात्र। उहाँ छोराको कमी महशूस गर्नुहुन्थ्यो र त्यहाँ जान चाहनु त्यो पनि अर्को कारण थियो। तर यात्रा गर्न साहासै चाहिन्थ्यो। ती गाउँहरू पर थिए, सवारी साधनको सुविधाभन्दा निकै टाढा। त्यहाँसम्म जाने बाटो पनि राम्रो थिएन, प्राय: खेतैखेत जानुपर्थ्यो र नदी चार-पाँच ठाउँमा तर्नुपर्थ्यो। त्यही भएर जानुअगाडि नदीमा धेरै पानी भए-नभएको कुरा पहिले नै हेर्नुपर्थ्यो।

तर बाटोमा यात्रा रमाइलो पनि हुने गर्दथ्यो। धानका झुलिरहेका बालाहरूबीच आली हुँदै हिँड्दै जाँदा धनकटनीहरूले गाउने गरेका सुरिला गीतहरूले मुग्ध पार्थे। ती संगीतहीन गीतहरू मोजार्टका सुरिला सोनाटाभन्दा बढी आनन्ददायक लाग्थ्यो। ती गीतहरू मध्ये केही विछोड र प्रेमका गीत हुन्थे भने केहीमा विदेशिएको आफ्नो श्रीमान्‌सँग भेट्ने प्रगाढ चाह। कहिलेकाहीं तिनीहरूका गीत बटुवालाई जिस्क्याउने खालका पनि हुन्थे। आखिर त्यो मधुर गीतहरूको भूमि थियो, जहाँ आइमाईको मुखमा हरेक अवसरका लागि मीठा गीतहरू हुन्थे। तिनीहरू जन्ममा गाउँथिन्, मृत्युमा गाउँथिन्, मिलनमा गाउँथिन्, बिछोडमा गाउँथिन्, विवाहमा गाउँथिन्, झगडा हुँदा गाउँथिन्, धान रोप्दा गाउँथिन्, धान काट्दा गाउँथिन्।

त्यतैतिरबाट म अर्को ठाउँ पनि जान्थें, गोरपार। ठूल्दाइको बिहे त्यहाँ भएको थियो र भाउजूलाई लिएर मलाई त्यहाँ आवतजावत गरिराख्नुपर्थ्यो। तर त्यहाँ गोरुगाडा लिएर जान्थ्यौं। गोरूगाडामा भाउजूको लागि पर्दा बाँधिएको हुन्थ्यो, र अरूकोही नातेदार पनि गोरुगाडा हाँक्नमा सघाउन हामीसँगै हुन्थ्यो। जानका लागि लगभग आधा दिन नै लाग्थ्यो, र बर्षात्‌मा खास गरी यात्रा निकै नै दु:खदायक हुन्थ्यो। जतिसुकै बचाए पनि ठाउँठाउँमा हिलोमा गाडा अड्किन्थ्यो। भर्खरै वर्षा भएको खण्डमा त यात्रा नै स्थगित गर्नुपर्थ्यो, वर्षा हुना साथ नदीहरूमा ठूलो पानी आउँथ्यो। महूली धार पनि अझ बीचमै पर्थ्यो।

गोरपार चुरे पर्वतको छेउमै पर्थ्यो। त्यहाँ जानुअगाडि म कहिले पनि पहाड नजिकबाट देखेको थिइनँ, कुनै डाँडा चढेको थिइनँ। त्यही कौतुहलताले म एक पटक अन्य साथीहरूका साथ चुरे चढ्न गोरपारको उत्तरतिर लागें। चुरे नजिकै देखिए पनि छेउ पुग्दासम्म हामी थाकिसकेका थियौं। अझ त्यहाँ पुग्नासाथ एक किसिमको भयको वादलले हामीलाई ढाक्यो। त्यो भय कुनै जंगली जनावरको नभई बर्बर शासकहरूको थियो।

स्थानीयहरूले पहाडी पुलिसहरूले त्यस जंगलमा गर्ने गरेका अत्याचारका कुराहरू सुनाए, मधेशीलाई दिने गरेका यातनाहरू सुनाए। संरक्षित क्षेत्रमा होस् कि नहोस्, मधेशीलाई चुरेको जंगलतिर समातेपछि बेवजह उनीहरूलाई कठोर यातना दिइन्थ्यो, कहिलेकाहीं गोलीले नै उडाइन्थ्यो। त्यतिबेला त्यसले मलाई ‘हीना’ हिन्दी फिल्मको याद दिलाइरहेको थियो, भारत-पाकिस्तान सीमाको याद दिलाइरहेको थियो। पहाडको शुरुवात हाम्रो सीमानाको अन्त्य थियो, हाम्रो भूमिको अन्त्य थियो। त्यो सीमा भारत-पाकिस्तानको सीमा झैं कठोर थियो, तर सीमाना एकतर्फी थियो। पहाडीहरूका लागि सीमा थिएन, तिनीहरू पहाडबाट झर्दै गाउँको उत्तरी भागमा बसाइँ सरेका थिए। पुलिसले तिनीहरूलाई जंगलमा जान-आउन दिन, दाउरा, घाँसपात, जडीबुटी र तरकारी संकलन गर्न दिन्थे। तिनीहरू रूखै काटेर नै ल्याउँथे। मधेशीहरूलाई भने अक्सर ती कुराहरू पहाडीबाटै किन्नु पर्दथ्यो। मधेशीहरू घरबार गर्न र डोरी बनाउन चाहिने ‘साबे’का लागि पहाडीहरूको खुसामत गरिरहन्थे, हलो बनाउनका लागि आवश्यक सालको सानो टुक्राका लागि पहाडीसँग भीख माँगिरहन्थे। पहाडीहरू त एकमाथि अर्को घर पूरै काठले नै बनाएर बस्थे, काठको तस्करी नै गर्थे।

गोरपार जाँदा कहिलेकाहीं बुवाले पहाडीबाट दाउरा किनेर ल्याउन भन्नुहुन्थ्यो। एक पटक मसँगै गएको काकाले दाउरा किनिदिएछन्। हामी दाउरा गोरूगाडामाथि लाध्यौं र घरतिर लाग्यौं। तर मोहली नदीको बीचमा आएर गाडा पल्टियो। भाग्यले हामीलाई केही भएन। तर त्यस दिन असाध्यै गर्मी थियो, त्यसमा पनि मध्यान्हको समय थियो। नदी पूरै सुख्खा थियो, कहीं कतै पानी देखिन्नथ्यो, चारैतिर सेतो बालुवा मात्र। बालुवा पनि यति तातो थियो कि पैताला राख्न गार्‍हो हुन्थ्यो।

लगभग घंटाभरि नै त्यो तापमा हामीले प्रयास गरे पनि गाडालाई सल्ट्याउन सकेनौं। अन्त्यमा काकाले नजिकैको गाउँबाट सहयोग लिने विचार गर्नुभयो। गाडा ठीक पार्ने कोशिस कै क्रममा मेरो चप्पलको फित्ता पनि चुँडिन गएको थियो। बालुवामाथि पैताला राख्नै नसक्ने स्थिति भएकाले घिसार्दै भए पनि त्यही चप्पल लाएर म गाउँसम्म पुगें, काकासँगै। अब मूर्च्छित होऊँला कि जस्तो लागिरहेको थियो। त्यही भएर गाउँमा पुग्ने बित्तिकै पहिला म पानी खान चाहें। म एक जनाको घर गएँ, कलमा एक जना महिला रहिछिन्। उनले मेरो जात सोधिन्। मैले भनें। उनले बुझिनन्। उनले आफ्नो कल मलाई छुने अनुमति दिइनन्। कसरी म उनीसँग पानीको भीख माँगू, कसरी याचना गरूँ वा के गरूँ, सोच्दै म किंकर्तव्यविमूढ उभिरहें। तर धन्यवाद उनलाई, एकछिन मेरो अनुहार टोलाएपछि उनले नजिकै अर्को कल देखाइन्, शायद अछुतहरूको लागि थियो कि। म त्यहाँ पुगें, पानी खाएँ र कलको मुखमुनि आफ्नो टाउको राखेर केही बेरसम्म पानी बेस्सरी चलाएँ। पछि त्यहाँका गाउँलेहरूको सहयोगले हामीले गाडा ठीक पार्यौं र घरतिर लाग्यौं।

॰घरमा पारिवारिक उत्तरदायित्व निभाउनुको अलावा शिक्षकको छोरा हुनुको नाताले ममाथि धेरै सामाजिक उत्तरदायित्वहरू पनि आउने गर्थे। मान्छेहरूले मसँग धेरै अपेक्षा गर्दथे, जेसुकै पनि सोध्न आउँथे। त्यसले गर्दा मैले पनि चिकित्साका किताबहरूदेखि लिएर कानूनी किताबहरू सबै पढ्नुपर्थ्यो।

एकपटक मैले डेविड वर्नरको ‘डाक्टर नभएमा’ किताब पढ्ने प्रयास गरेको थिएँ। गाउँकै एकजना स्वास्थ्यकर्मीले ल्याएका थिए त्यो किताब। तर त्यो किताब बुझ्न मलाई निकै गार्‍हो हुन्थ्यो, खास गरी त्यसमा प्रयोग भएको भाषाको कारणले। किताब त आम मानिसकै लागि लेखिएको थियो तर त्यसको कठिन नेपाली शब्दावलीले मलाई बुझ्न गार्‍हो भएको थियो। त्यो स्वास्थ्यकर्मी आफैं धेरै वर्षदेखि पहाडमै काम गर्दै आएका थिए, तैपनि त्यो किताब उसलाई बुझ्न गार्‍हो हुन्थ्यो र बुवालाई सोध्न उनी सँधैजसो आइरहन्थे। त्यसखालका किताब आफ्नो भाषामा हामीलाई उपलब्ध भएको भए त्यसको धेरै लाभ लिन सक्ने थियौं तर मधेशीहरूको कठिनाइ कुनै सरकारी-गैरसरकारी संस्थाको सरोकारको विषय बिरलै वन्ने गर्थ्यो, तिनीहरू त नेपाली भाषा हरेक माध्यमबाट थोपर्ने गर्थे। स्वास्थ्य मन्त्रालय र गैर-सरकारी संस्थाहरूले सरसफाइ सम्बन्धी जनचेतना जगाउने खालका विज्ञापनहरू समेत खाली नेपालीमा दिन्थे। ‘दिसा चर्पीमा गर्नुपर्छ’ भन्थे आदि आदि। ती शब्दहरू कतिले मधेशमा बुझ्न सक्थे?

नेपाली भाषा गाउँलेहरूका लागि ठूलो वाधा बनिरह्यो। प्रशासकहरू जो प्राय: सबै पहाडी नै हुन्थे नेपालीमा बोल्न भन्थे। त्यसकारणले गाउँलेहरू जहिलेपनि प्रशासनबाट टाढा नै बस्थे। कुनै काम परे पनि तिनीहरू जाँदैनथे। असहाय हुँदै तिनीहरू बुवाको मद्दत माग्न आउँथे। चाहे त्यो काम चिठ्ठी वा टेलिग्राम सम्बन्धी होस् कि बैंक वा अस्पताल सम्बन्धी, चाहे मालपोथ-पानीपोथ वा लालपुर्जा सम्बन्धी होस् कि नागरिकता सम्बन्धी, चाहे गाउँको प्रशासनमा होस् कि जिल्लाकोमा, चाहे पुलिस स्टेशनमा होस् कि कोर्ट-कचहरीमा, गाउँलेहरू बुवा कहीं नै आउँथे।

एक पटक हाम्रो गाउँमा एउटा पुलिस आयो। त्यो घटना आफैंमा बिरल थियो, शंका र भय उत्पन्न गर्ने। कहिले पनि पुलिस आउँदा प्राय: सबै लोग्नेमान्छेहरू गाउँ छोडेर भाग्ने गर्थे, तिनीहरू देखा नै पर्दैनथे। देखा पर्नु भनेकै प्रशासनको अत्याचार, आतङ्क र दु:ख झेल्नु बुझिन्थ्यो। त्यो दिन पनि शुरुमा कोही वयस्क पुरुष देखा परेनन्। पुलिस गाउँकै एकजना दुर्गा प्रसादलाई खोज्न आएको रहेछ। विस्तारै गाउँलेहरू देखा पर्न थाले, तर पुलिसको कुरा बुझ्ने कोही थिएन। पुलिस र सैनिक भनेकै पहाडी बुझिन्थ्यो र तिनीहरूले अवश्य पनि नेपाली मै कुरा गर्थे। त्यही भएर केही बुवालाई खोज्न आए, तर बुवा त्यो दिन गाउँमा हुनुहुन्नथ्यो। आखिर मलाई नै समातेर लगे। म त्यहाँ दोभाषेको काम गर्दै पुलिसको कुरा गाउँलेहरूलाई सम्झाएँ।

दुर्गादाइ प्रहरीको तालिमबाट केही महिनाअगाडि बीचमै भागेर आउनुभएको थियो। त्यही भएर त्यो दिन पुलिस छानबीन गर्न खोज्दै आएका रहेछन्।

दुर्गादाइ प्रहरीमा भर्नाका लागि प्रवेश परीक्षा पास गर्दै तालिमका लागि भर्ना हुनुभएको थियो। त्यसरी प्रहरीमा मधेशी जानु आफैंमा एउटा ठूलो कुरो थियो, प्राय: कतै नहुने। तर तालिम शुरू भएपछि उहाँलाई प्रशासनले भेदभाव र रंगभेदको शिकार बनाए, मधेशी भएको कारणले नश्लभेदी गालीहरू दिँदै कुटे, सताए, र अनैकौं दु:ख दिए। असह्य भएपछि उनी तालिम केन्द्रबाटै भागेका थिए। उहाँले तालिम केन्द्रबाटै बुवाको नाममा एउटा पत्र लेख्नुभएको थियो, र कुनै तरिकाले पोस्ट गर्न भ्याउनुभएको थियो। त्यो पत्र मैले पनि पढेको थिएँ, उहाँको दु:खको कहानीले भरिएको त्यस पत्रमा उहाँले बचाउनका निकै गुहार गर्नुभएको थियो। भागेर आएपछि दुर्गादाइले सबैकुरा मलाई पनि सुनाउनुभएको थियो। मधेशी हुनाले त्यहाँ दिने गरिएका शारीरिक यातना, मानसिक सास्ती र अभद्र नश्ली गालीहरूका बारेमा उहाँले विस्तारमा बताउनुभएको थियो। पछि उहाँ कट्टर मधेशवादी बन्नुभयो, र सद्‌भावनाका सक्रिय कार्यकर्ताका रुपमा स्थापित हुनुभयो।

॰ती दिनहरूमा म भित्र जिज्ञासा र कौतुहलता प्रशस्त हुने गर्दथ्यो, हरेक किसिमका जिज्ञासाहरू। कामकाजबाट खाली समय पाउना साथ कुनै लोखर्के जस्तै म व्यस्त हुन्थें, मचानमा यताउति किताबहरू खोज्न त कहिले रेडियोको सर्किट बनाउन त कहिले कुनै नयाँ प्रयोगका लागि। दिउँसो मान्छेहरू आराम गरिरहँदा म घरेलु सरसामानबाटै विज्ञानको कुनै प्रयोग गरिरहेको हुन्थें, कहिले इन्द्रजालको मन्त्रलाई जाँचिरहेको हुन्थें, त कहिले अलौकिक शक्ति र अस्तित्वका वारेमा विचार गरिरहेको हुन्थें। किम इल सूङ्गको जीवनवृत्तान्तदेखि कोकशास्त्रसम्म, भेट्टिएका किताब जति मैले सबै पढें। त्यति नै बेला घरमा भएका उपनिषदहरू पनि पढें, र तिनीहरूको द्वंदात्मक तर्कशैलीबाट म निकै प्रभावित भएँ।

माध्यमिक शिक्षाको अन्त्यमा मैले एसएलसीको बोर्ड परीक्षा राजबिराजको के.\ अ.\ स्कूलको परीक्षा केन्द्रमा दिएँ। पहिला कट्टी स्कूलमा होम-सेन्टर नै हुने गरेको थियो, तर हाम्रो पालोमा अचानक आएर अन्तिम क्षणमा त्यो बदलिएको थियो। राजबिराजमा मेरो बस्ने व्यवस्था थिएन, धान्न सक्नेले पहिलादेखि नै कोठा भाडामा लिइसकेका थिए। म पर्खिरहें। अन्त्यमा एकाउन्टेन्ट सरले बाँकी रहेका लगभग चालीस जना विद्यार्थीका लागि तीनवटा कोठा राजबिराजमा भाँडामा लिनुभयो। हामी त्यहीं फ्लोरमा जन्ती आए झैं सुत्थ्यौं र त्यहींबाट परीक्षा दिन जान्थ्यौं। जाडोमा पर्याप्त कपडा नहुँदा र राम्ररी सुत्न नपाउँदा दुई‍-तीन दिनपछि मलाई अलिक ज्वरो आयो। तैपनि सबै परीक्षाहरू दिएरै म घर फर्कें।

[GO TO CONTENTS]

६. गुरुको ज्ञान

गुरू देवो भव: — हामीलाई सिकाइयो। र वास्तवमै, मेरा गुरुहरू मेरो जीवन रूपी समुद्रको यात्रामा मार्गदर्शन गर्ने लाइटहाउस नै बनिरहे।

जीवनका प्रारम्भिक वर्षहरूमा हाम्रा गुरुहरूले महान व्यक्तिका जीवनका झाँकीहरू, तिनका जीवनका कथा र आदर्शहरू हाम्रा पाइलै-पाइलामा बिछाए। पंडित सरले प्रेरणा जगाउने अनेकाअनेक किताबहरू पढ्न दिनुहुन्थ्यो, त्यस मध्ये महान व्यक्तिहरूको स-साना किस्सा भएको एउटा किताबको मेरो कोमल मष्तिष्कमाथि परेको प्रभावलाई जति भने पनि कम नै हुन्छ। म त्यसमा दर्शाइएका आदर्शहरूलाई एक-एक गरी आफ्नो विद्यार्थी जीवनभरि उतार्ने कोशिस गरिरहें।

हाम्रा गुरुहरूले बुद्ध अपमानित भएर पनि मौन बसेको र अन्त्यमा अपमान गर्ने मान्छे शरणमा आउन बाध्य भएको कथा बारम्बार भन्नुहुन्थ्यो। आफ्नो थालको किनाराबाट खसेका अन्नका दाना पनि बुद्धले टिपेर खाने गरेको प्रसंगको चर्चा गर्नुहुन्थ्यो। बुद्धले आफ्नो राजपाट र सुखशयल त्यागेर ज्ञानको खोजीमा निस्केको कुरा पटक-पटक दोहर्‍याउनुहुन्थ्यो।

गाँधीले आफ्नो सहभागीको फाटेको लुगा आफैं सिलाइ गरिदिने प्रस्तावको, विद्यार्थीले आफ्नो झोला बोकाउन कूली बोलाउँदा गोपाल कृष्ण गोखलेले आफैं बोकी दिएको प्रसङ्गको, नेपोलियनले बाल्यकालमा केकको ठूलो हिस्सा अरूलाई दिने गरेको आदतको चर्चा हाम्रा गुरुहरूले गर्नुहुन्थ्यो। त्यसका अलावा पंचतन्त्र र धर्मग्रन्थका शिक्षाप्रद कथाहरू त थिए नै। शिक्षा दिनलाई नै बनाइएको एउटा कथा नैतिक शिक्षाको किताबमा कलिलो उमेरमै पढेको थिएँ जसका शब्दहरू बालिश भए पनि न त म त्यसलाई भुलाउनै सकें न त त्यसको दूरगामी प्रभावलाई नै म नकार्न सक्छु — त्यस कथामा राम नाम गरेको एक विद्यार्थी आफ्ना सँगीसाथी र अन्य जो कोहीले गाली गर्दा, अपमान गर्दा सहेर बस्थ्यो, र त्यसको बदलामा ऊ केवल एक मुस्कान दिन्थ्यो।

मलाई पूरा थाहा छैन गान्धीको सादगीलाई हाम्रा शिक्षकहरूले कसरी बुझेका थिए, तर विद्यार्थीले एउटा बेल्ट लगाउँदा पनि उहाँहरूले कहिलेकाहीं छडीले पिट्ने गर्नुहुन्थ्यो। हाम्रो सहपाठी शुरेशको दश कक्षामा हुँदा नै बिहे भएको थियो, र उसले दाइजोमा साइकिल, घडी र जुत्ता लगायतका कुराहरू पाएका थिए। उसले त्यो जुत्ता लगाएर विद्यालय आउँदा बेस्सरी पिटाइ खाएको सम्झना मलाई छ। मेरो सादा शर्टको गोजीमा फूल छापिएको कारणले हेडसरले मलाई छडीले बेस्सरी हिर्काउनु भएको राम्ररी याद छ। त्यही भएर पनि होला, सादा कपडा प्रति मेरो मोह अलि बढी नै छ।

ती स्कूलका अलावा, घरमै पनि मैले असल स्कूल पाएको थिएँ। हजुरआमाले हाम्रा पूर्खाका, दीनाभद्री र सलहेशका, हाम्रा राजा र तिनका राजमहलका कथाहरू भन्ने गर्नुहुन्थ्यो। हजुरबा आत्मसंयमका पाठ पढाउनुहुन्थ्यो। पछिका दिनहरूमा समेत भेट्दा, उहाँले कानेखुसी गर्दै भन्नुहुन्थ्यो — एक पलको आवेश, जीवनभरिको दु:ख। उहाँले रामायणका दोहाहरू सिकाउनुहुन्थ्यो, संस्कृतका श्लोकहरू सुनाएर अर्थ सम्झाउनुहुन्थ्यो। चाणक्यका श्लोकहरू सुनाएर शिक्षा र विवेकको महिमाको बखान गर्नुहुन्थ्यो, र पटकौं-पटक भन्नुहुन्थ्यो — स्वविवेक भन्दा ठूलो अर्को कुनै मित्र हुँदैन, र शिक्षा भन्दा ठूलो अरू कुनै धन हुँदैन।

मेरी आमा मलाई जीवनभरि अनगिन्ती चोटि भन्नुभएको होला — झुकेरै हिँड, दबेरै बस। झुक्ने वृक्ष नभाँचिने दृष्टान्त उहाँले औधी मन पराउनुहुन्थ्यो। हामी कुनै कुरामा झुक्न नमानेको खण्डमा उहाँ भन्नुहुन्थ्यो — अलिकति तिमी नै हटिदियौ भने के हुन्छ? आकाश खस्छ कि पाताल? यस किसिमका कुराहरू पश्चिममा आश्चर्य लाग्दो मानिन सक्छन् जहाँ बच्चाहरू अस्तित्वै नभएका प्राणीमाथि गोली वर्षा गर्दै आफ्नो विजयको प्वान्ट जम्मा गर्दै हुर्कन्छन्।

मेरी आमा मजाकमा पनि झूठो नबोल्ने कुरा सिकाउनुहुन्थ्यो। त्यही भएर — सानो वा ठूलो — मजाक गर्नु पनि पाप भित्रै पर्दथ्यो। यसले म भित्र उत्पन्न मजाकियापनको अभावले गर्दा तर आफ्नो कलेज जीवनमा मैले राम्रै ख्याति पाएको थिएँ। साथीभाइलाई कसैले मजाकमा छकाउन खोज्दा, वा उनीहरूले कुनै कुरा साँचो हो कि होइन भनेर केलाउनु पर्दा मलाई नै सोधेर निश्चिन्त हुन्थे।

कहिलेकाहीं रिसाएको वा निराश भएको बेला मेरी आमा भन्नुहुन्थ्यो — सबै कुरा लेखिएको छ, नियतिका सबै कुरा निश्चित छन्। यो कुराले मलाई निकै झक्झकाउँथ्यो। के लेखिएको छ? के लेखिएको छैन? हामी के गर्न स्वतन्त्र छौं? के गर्न छैनौं? हाम्रो नियन्त्रण कति हदसम्म छ? कहाँ छैन? यसले मलाई नियतिलाई चुनौती दिन अग्रसर गराउँथ्यो। जा, आज म नियतिले लेखेको अनुसार केही गर्दिन, दिनभरि यही कुर्सी मै बसेर बिताउँछु र नियतिलाई चुनौती दिन्छु — भनेर चुपचाप घन्टौं कुर्सीमा बसिदिन्थे। तर फेरि सोच्थें — म आज नियतिलाई चुनौती दिन्छु र दिनभरि यसरी कुर्सी मै बिताउँछु भन्ने कुरा पनि त कतै पहिले नै लेखिएको छैन? म आज यसरी सोच्नेछु भन्ने कुरा पनि त कतै पहिले नै लेखिएको छैन? आफ्ना किशोरावस्थाभरि यस बारेमा म घन्टौं-घन्टा सोच्थें। नियतिमाथि आमाको ठूलो विश्वासले मलाई बेचैन बनाइरह्यो।

आफ्ना विज्ञानका किताबहरूमा मात्र नभएर, अध्यात्म-रामायणदेखि महाभारत र सुखसागरसम्म ब्रह्माण्ड र जीवनको उत्पत्ति र प्रकृतिका बारेमा जान्न खोज-तलाश गरिरहें। प्रकृतिको प्रकृति जान्न गीता र उपनिषदहरू अर्थ्याइरहें। त्यस अनन्तलाई जान्न बुवाले ल्याउनु भएका अनेकाअनेक किताबहरूमा घोत्लिरहें। र बुवालाई पनि प्रश्नहरू सोधेर दु:ख दिइरहें।

तर बुवाले कहिले पनि सोझो उत्तर दिनुहुन्नथ्यो। उहाँले झन् एकमाथि अर्को प्रतिप्रश्न गर्दै मलाई बेचैन बनाउनुहुन्थ्यो। उहाँ स्थिर हुन दिनुहुन्नथ्यो। म कुनै किनारातिर लाग्दै आफ्नो विचार स्थिर गर्न लागेको आभास उहाँलाई हुनासाथ उहाँले त्यसको विपरीतमा तर्कहरू दिन थाल्नुहुन्थ्यो। मलाई याद छ हाम्रो समाजमा राम्रो स्थान पाएको शाकाहारी भोजनको पक्षमा मैले झुकाव राख्न थाल्दा त्यतिबेला आफैं पनि शाकाहारी रहनुभएका उहाँले ऋषिमुनिहरूले समेत गौमांस खाने गरेको प्रसंग वेदमा रहेको भनी तर्क दिन थाल्नुभयो। चाहे परम्परावादको कुरा होस् वा प्रगतिवादको, सबै किसिमका बहसहरूमा उहाँले त्यही भूमिका निभाउनुहुन्थ्यो।

आमा र दिदीले मलाई हाम्रो पर्व-तिहार र लोकगीतहरूको बारेमा ज्ञान दिनुभयो। मेरी दिदी आफैं गाउँघरका वृद्ध-पाका महिलासँग गीत सिक्नुहुन्थ्यो। त्यसको कुनै किताब थिएन। तिनीहरू कतै लेखिएका थिएनन्, कतै रेकर्ड गरिएका थिएनन्, र कतैबाट प्रसारण पनि हुन्नथ्यो। ती गीत र परम्पराहरू पुस्तौं-पुस्ता मुखै-मुख सरिरहे।

सामाचखेवा पर्वमा मेरी दिदी माटोका स-साना सुन्दर पुतलीहरू बनाउनुहुन्थ्यो, र तिनीहरूमा रंगरोगन गरेर लुगाफाटा लाइदिनुहुन्थ्यो। ती प्रतिमूर्तिहरू सामा र चकेवा नामक दुई चराहरू र तिनीहरूको परिवारका हुन्थे। धेरै दिनसम्म राती टोलका महिलाहरूसँगै दिदी ती गुडियाहरूलाई बाँसको डालीमा राखेर जोतिएको खेतमा लग्नुहुन्थ्यो। उनीहरू भाइबहिनी सामा-चखेवाको अमर प्रेमको सम्झनामा मीठा गीतहरू गाउँथिन् र तिनको अमरत्वका लागि प्रार्थना गर्थिन्। अन्त्यमा कार्तिकको पूर्णिमाको रात, म पनि सँगै जान्थें र परम्परा अनुसार झगडा लगाउने चुग्लाको मूर्तिलाई लात्तीले हान्दै खेतमा लछार-पछार गर्थें।

मेरी दिदीका भित्तेचित्रहरू मेरा लागि रहस्यमय नै रहिरह्यो। कहिले चामलको पीठो पानीमा मिलाउँदै त कहिले त्यसमा विभिन्न रंग मिलाउँदै उहाँले माटोले लिपिएका हाम्रा घरका भित्तामा चित्रहरू बनाउनुहुन्थ्यो। म उहाँलाई रंग मिलाउन सहयोग गर्थें, र बदलामा उहाँले मेरो कौतुहलता मेट्नुपर्दथ्यो, चित्रमा भएका मयूर, बाँस, कमल, पोखरी आदि जस्ता कुराहरूको अर्थ बुझाउनुपर्दथ्यो। ती चित्रहरूमध्ये सुहागरातका लागि लेखिने ‘कोहबर’ र डोलीमा दुलहीलाई उठाएर लैजादैँ गरेको ‘विदाइ’ मलाई अति राम्रो लाग्थ्यो। अरू महिलाहरूले गाउँको जनजीवन तथा राम र कृष्ण भगवानका जीवनका झाँकी झल्काउने चित्रहरू पनि बनाउँथिन्।

मेरा दाइहरूलाई पढाइका अलावा गीत-संगीत र नाटकमा निकै अभिरुचि थियो। बुवाले रेडियो राख्ने बित्तिकै उहाँले विविध भारती र अल इंडिया रेडियो फर्माइश सुन्नुहुन्थ्यो। समय वित्दै जाँदा संगीतले आफ्नो मोहनी ममाथि पनि लगाउन थाल्यो। पछि संगीतसँग यस्तो लगाव हुन आयो कि कलेज ताका एक दिन मैले एउटा किताबको भित्री गातामा लेखेको थिएँ — मलाई मायाले परास्त गर्न सकिन्छ तर संगीतले ममाथि विजय हासिल गर्न सकिन्छ।

घरमा हामीलाई किताबमा भने झैं आदर्श बालबालिका हुन सिकाइयो। स्वाद जस्तै भए पनि खानाका लागि कहिले पनि नराम्रो शब्द प्रयोग गर्नुहुन्न भनेर सिकाइयो। स्वाद लिनु कुनै पाप जस्तो लाग्थ्यो, इन्द्रियको वशमा भए जस्तो। मेरा हजुरबा खानाखाने बेलामा मौन व्रत लिनुहुन्थ्यो, र खाना खाएर सिद्धिएपछि मात्र बोल्नुहुन्थ्यो।

हामी सानो हुँदा खाली नियम थियो, बाल्यकाल थिएन। हानि पुर्‍याउनेसम्मै कट्टरपन्थी झैं हामीहरू नियम पालन गर्ने गर्दथ्यौं। दौड्नुलाई हल्का र अपरिपक्व व्यक्तित्वको परिचायकको रूपमा लिइन्थ्यो, र मेरो लागि वर्जित थियो। मैले अतिकति पनि दौड्दै आएको ठूल्दाइले देख्नासाथ कराइहाल्नुहुन्थ्यो। पछि कलेज जीवन ताका, पानी परे पनि म नदौडी रुझ्दै कतै छेउ लाग्थें वा हिँडिरहन्थें।

॰परीक्षाभन्दा एक-डेढ़ महिनाअगाडि देखि नै हामी विहान लगभग तीन बजे नै उठेर पढ्नुपर्थ्यो। त्यसबेला बुवाले उँघेको भेटाउनु हुँदा ‘काकचेष्टा बकोध्यानं श्वाननिद्रा तथैव च, अल्पाहारी गृहत्यागी विद्यार्थिन: पञ्चलक्षणम्’ भन्न शायदै चुक्नुहुन्थ्यो। कहिलेकाहीं बारम्बार उँघेको भेटाउनु हुँदा आँगन वा खलिहानमा धान दाँईं गरिरहेका साफीलाई सघाउन भन्नुहुन्थ्यो। डोरीले मेहमा बाँधिएका चार-पाँच गोरुलाई जूवालीले हिर्काउँदै फनफनी घुमाउँथे। तर त्यसबाट निद्रा भाग्नुको सट्टा झन् कहिलेकाहीं चक्कर आए झैं लाग्थ्यो। अन्त्यमा आँखामा पानी छ्याप्दै फेरि पढ्न फर्किन्थें।

॰घर र विद्यालयमा मात्र हैन, गुरू र नातेदारमा मात्र हैन, आफ्नो जीवनमा मैले जहाँसुकै शिक्षक भेटाएँ। आखिर त्यो महान संतहरूको भूमि न हो। आज पनि त्यो समाज प्रज्ञावान् नै छ — बौद्धिकतालाई आज पनि यति महत्व दिइन्छ कि विवाह समारोहहरूमा समेत अचेल पनि बौद्धिक वहसको ‘महफिल’को आयोजना गरिन्छ, र दुलहा र दुलही पक्षका बीच विभिन्न विषयमा प्रश्नोत्तर र वादविवाद हुने गर्दछ। प्रश्नको सही वा संतोषजनक उत्तर नदिँदा विवाह रोकिएको प्रसंग त मैले सुनेको छैन, तर यो महफिल अक्सर दुलहा र दुलही पक्षका गाउँ बीच जोरदार प्रतिस्पर्धाको रूप लिने गर्दछ र उनीहरूको गाउँको बौद्धिक क्षमता आजमाउने अखडा नै बन्न जान्छ। त्यही भएर जन्तीका लागि, अरू गाउँबाटै वा नाता नै न भए तापनि, विद्वान र पढेलेखेका मान्छेहरूलाई बोलाइन्छ।

म पनि त्यसरी कति पटक जन्ती गएको छु, र एक पटक त्यस्तै महफिलमा हामीलाई आफ्नो ऐतिहासिक परिचय दिन भनियो। स्कूलको किताबबाट सिकेका कुराहरू परीक्षामा लेखे झैं मैले त्यसको जवाफ दिएँ र प्रशंसा पनि पाएँ। तर म सन्तुष्ट थिइनँ। मलाई कता-कता केही कुराले घोच्चाइरह्यो। त्यसमा केही ठीक थिएन, केही कमी थियो। त्यहाँ मैले दिएको किताबी ऐतिहासिकतामा मेरो इतिहास थिएन, हाम्रो संस्कार अनुसार भइरहेको त्यस विवाहसँग त्यस ऐतिहासिकताको तारतम्यता थिएन। प्रश्न निकै नै विशाल थियो, मलाई त्यसले भित्र-भित्रै हल्लाइदिएको थियो।

[GO TO CONTENTS]

७. आक्रान्त अछुत

एसएलसी परीक्षा सकेपछि म कुशहा हजुरबा कहाँ गएँ र त्यहाँ आठ-दश दिन बसें। फर्केपछि थाहा भयो बुवाले मलाई जुलाहा टोलमा ट्यूशन पढाउने व्यवस्था गरिदिनु भएको रहेछ। जुलाहा टोल हाम्रो घरभन्दा पश्चिममा पर्दथ्यो र त्यहाँ मुख्यत: जुलाहा र चमारहरू बस्दथे। तिनीहरू पानी नचल्ने अछुत मानिएका कारणले कोही पनि तिनीहरूसँग घुलमिल गरेर आफ्नो जातिमा तिरस्कृत हुन चाहँदैनथे।

गाउँ बेरोजगार युवाहरूले भरिएको थियो, र तिनीहरू तास खेल्दै, फिल्मका कुरा गर्दै र अरूको मजाक उडाउँदै आफ्ना दिन बिताउँथे। शायद म पनि त्यही भीडमा हराउँला कि भन्ने डर बुवालाई थियो र हुनसक्छ त्यो पनि बुवाको निर्णयपछाडि कारक होस्। तर त्यस टोलका बुवाका साथीहरूको आग्रहले नै बुवाले त्यो निर्णय गर्नुभएको जस्तो लाग्यो।

ट्यूशनको लागि एक जनाको गोठ छानियो, म त्यही बिहान-बेलुकी पढाउन थालें। बच्चाहरू मलाई धेरै नै मन पर्ने हुनाले तिनीहरूसँग म चाँडै नै घुलमिल भएँ। तर तुरून्तै मलाई अनौठो समस्याको सामना गर्नुपर्यो। मेरा छरछिमेकीहरू मबाट पन्छिन थाले, मसँगै खान वा मैले छोएको कुरा खान हिचकिचाउन थाले। म आफ्नै छिमेकी र केही साथीभाइहरूका लागि पनि अछुत हुन पुगें।

त्यसको कारण पनि थियो। हरेक हप्ता ट्यूशन पढाउने ठाउँमा परम्परागत रूपमा शनिश्चरा गरी सरस्वतीको पूजाआजा गर्ने गरिन्थ्यो। सबै विद्यार्थीहरूले फूल-फल, चामल, च्यूरा, मिठाइ र अगरबत्ती ल्याएर सामूहिक रूपमा पूजा गर्ने गर्दथे, सरस्वतीको स्तुतिगान गर्दथे। अन्त्यमा, सबै चामल, मिठाइ, केरा आदि मिलाएर प्रसाद बनाउने गर्थे। तर शुरुमा घरमालिकको आदेशमा विद्यार्थीहरूले मलाई प्रसाद दिँदैनथे र चढाएका दक्षिणाहरू मात्र दिने गर्थे। पछि त्यसको अवज्ञा गर्दै मैले माँगेर प्रसाद खान शुरू गरें, र यही कुरा केही गाउँलेहरूको मनमा बिझ्न गएको थियो। तर गाउँमा बुवाको प्रभावको कारणले होला, कसैले मलाई केही भनेनन्। अन्यथा म ठूलो सजायको भागिदार हुनसक्थें।

मलाई याद छ गाउँकै एक जना प्रगतिशील दाइले अछुतको प्रथालाई चुनौती दिदैं एक जना चमार केटीलाई एक लोटा पानी ल्याउन लगाएर गाउँकै सामुन्ने खाइदिएका थिए। त्यस घटनाले नराम्रो स्वरूप धारण गरेको थियो र उसको पूरै परिवारलाई समाजको कामकाज र भोजभातबाट तिरस्कार गरिएको थियो। गाउँमा इज्जतदार रहेका उसको ठूल्दाइको निकै विन्ती र क्षमायाचना र पटकपटकको पञ्चैती पश्चात् मात्र गाउँलेहरूले विधीपूर्वक पापलाई शुद्धीकरण गर्ने आदेशका साथ उसलाई धेरै महिनापछि क्षमा गरेको थियो। गाउँका पंचहरूले उसलाई पूरै गाउँकै लागि ठूलो भोज गर्नु पर्ने गरी दण्डित गरेका थिए।

गाउँका आम मानिसहरू मात्र हैनन्, समाजमा परिवर्तन र समानता ल्याउन कार्यरत कार्यकर्ता र नेताहरू समेत अछुतको प्रथालाई बढावा दिएका थिए। मधेशका एक जना प्रख्यात अग्रज सामाजिक कार्यकर्ताले मलाई निराशाजनक रूपमा एक भन्दा बढी अवसरमा अछुत मानेर व्यवहार गरेका थिए। धेरै पटक, मान्छेहरूले जात सोध्दथे। अर्को गाउँमा पानी खान कल वा इनारमा जाँदा पहिला जात नै सोध्थे। तिर्खाले मर्नै लागेको किन नहोस्, अछुत भएको शंका लागेमा कल वा इनार छुन दिँदैनथे।

गाउँका अछुतहरू सामाजिक तौरले मात्र पछाडि थिएनन्, नेपाल सरकारको नीति र ऐन-कानूनले त ऐतिहासिक रूपमा अछुतको जरा गाडेर तिनीहरूलाई दयनीय स्थितिमा पुर्‍याएका थिए। मुलुकी ऐनले जातिवादमा आधारित समाजलाई परिपोषण गरेको थियो। जाति अनुसार मान्छेहरूका लागि भिन्नाभिन्नै ऐन-कानून र दण्डको व्यवस्था थियो। सन् १९६३ सम्म लागू रहेको मुलुकी ऐनको ‘पानी नचल्ने जातको’ दफाले कुन-कुन जात अछुत हो भनेर छुट्टयाएको थियो।[16] त्यसले मूस्लिम, तेली, कासी, कुशले, धोबी, कुलु, मलेच्छ आदिद्वारा छोएको पानी नचल्ने र त्यस्ताले छोएको खण्डमा जल छर्केर शुद्ध गरिनुपर्ने कुरा तोकेको थियो। जाति अनुसार दण्डको व्यवस्था गर्ने क्रममा तल्लो जाति वा मधेशीलाई अरूभन्दा निकै नै कठोर दण्ड दिइन्थ्यो। कागजी रुपमा केही परिवर्तनहरू भए पनि अछुतहरूको वास्तविक स्थितिमा अझै खास सुधार भएको छैन। अछूतहरू अझै पनि नागरिकता जस्ता आधारभूत मानवअधिकारबाट समेत वंचित नै रहेका छन्।

मैले आफ्नो नागरिकता लिने क्रममा त्यसका लागि मधेशी, र त्यसमा पनि गरीब अछुतहरूले गर्नु पर्ने संघर्ष राम्ररी देखेको छु। र शासकवर्गको हातबाट भोग्नु पर्ने त्यही दु:ख र झमेलाका कारणले मधेशका अछुत र अनपढहरूले नागरिकता लिने आँट नै गर्दैनन्।

गाउँमै ट्यूशन पढाउने समयमा मैले नागरिकता प्रमाणपत्र लिएको थिएँ। त्यसको लागि सिडियो कार्यालय कैयौं दिनसम्म मैले धाउनु परेको थियो। त्यहाँ कैयौं मान्छेहरू नागरिक भएको “प्रमाण” दिन हैरान-हैरान भएको देखें। एकको आफ्नो जन्म दर्ताको थरमा ‘थारू’ जोडिएको तर विद्यालयमा ‘चौधरी’ मात्र लेखिएको थियो। मधेशका लागि यो सामान्य थियो। केही दशकअगाडि सरकारी कर्मचारीले जन्म दर्ता गर्दा चाहे न चाहे पनि जातको नाम थरसँग जोडेर लेखिदिएका थिए — जस्तै, सिंह राजपूत, रजक धोबी, चौधरी थारू, मंडल धानुक। तर स्कूलमा तल्लो जातका विद्यार्थीलाई अप्ठ्यारो होला कि भनेर वा अन्य कारणले शिक्षकहरूले विद्यार्थीको थरमा जातको नाम सामान्यतया लेखेनन्। यसले गर्दा जन्म दर्ता र विद्यालयको प्रमाणपत्रमा नाम फरक हुन आउँथ्यो। तर कर्मचारीहरूले तपाईंको नाम त जन्म दर्तामा छैन वा यो मान्छे तपाईं नै हो भन्ने प्रमाणित गरेर ल्याउनुस् आदि भनेर दु:ख दिन्थे र नागरिकताबाट वंचित गर्थे। यसले कैयौंलाई अनागरिक रहन बाध्य बनाएको थियो।

तर जन्म दर्ता रहनु मात्रले नागरिकताको ग्यारेन्टी हुँदैनथ्यो। मेरो नाम जन्म दर्ताको रजिस्टरमा थियो, जुन कुरा बिरलै नै हुने गर्दछ। तैपनि म नागरिकताको लागि त्यसै योग्य भइनँ। उनीहरूले मलाई नेपाली बोल्न आउँछ कि आउँदैन भनेर जाँचे। मलाई याद छ, त्यसक्रममा मैले ‘पर्सि’को प्रयोग गलत रूपमा हिजोभन्दा अगाडिको दिनका लागि गरेको थिएँ। त्यस किसिमका गल्तीहरू स्वाभाविक रूपमा हुने गर्थे, किनकि ‘परसू’ वा ‘परसों’को प्रयोग हिन्दी, भोजपूरी वा मैथिली जस्ता मध्यदेशीय भाषामा ‘भोलिको भोलि’का लागि मात्र नभई ‘हिजोको हिजो’का लागि पनि गरिन्छ। मैले त्यो गल्ती गर्दा बुवा अफिसको ढोकामै उभिराख्नुभएको थियो। अधिकारीले गल्ती औल्याउँदा मलाई लाज र भयको अनुभूति एकै चोटि भएको थियो। भगवान कृपा, तैपनि म ती अधिकारीको आभारी छु कि त्यस गल्तीका कारण मलाई नागरिकताबाट वंचित गरिएन। नागरिकताका लागि तोक लाग्दा म निकै नै भाग्यमानी भएको ठानें। नागरिकता ऐन १९६२ ले नागरिकताका लागि नेपाली बोल्न र लेख्न आउनुपर्ने प्रावधान राखेको थियो, जुन आम मधेशीको वश भित्रको कुरा थिएन।

जन्म दर्ताको आधारमा पनि मधेशीहरूको नागरिकतासम्म पहुँच सहज थिएन। उनीहरूको जन्म रजिस्टरमा दर्ता हुनुपर्दथ्यो। तर सन् १९९९ मा पनि नेपालमा जन्म दर्ताको दर केवल २०% थियो।[17] मधेश, जहाँ कि सजगताको निकै नै अभाव छ र जन्म दर्ता गराउनु एकदमै झन्झटिलो कामका रुपमा लिने गरिन्छ, जन्म दर्ता दर त्यो भन्दा एकदमै कम हुनुपर्दछ।

सरकार र पहाडी अधिकारी सामेल हुने कुनै पनि प्रक्रिया मधेशीका लागि अति नै जटिल हुने गर्दछ। मधेशीहरूको हकमा अधिकारीहरूले यो पुगेन, त्यो पुगेन भनेर दु:ख दिइराख्छन् जसले गर्दा उनीहरू जन्म वा विवाह दर्ता गराउनै जाँदैनन्। र यो जन्म दर्ताको प्रक्रिया पनि सन् ७० को दशकमा ल्याइएको हो, र त्यो पनि आंशिक रुपले मात्रै कार्यान्वयन गरियो। यसरी जन्म दर्ताको पूरा प्रक्रिया नहुँदै नागरिकता दिन जन्म दर्ताको रजिस्टर पल्टाउनु नै अनुचित हो। कहिलेकाहीं अधिकारीहरूले विवाह दर्ताको प्रमाणपत्र माँग्छन्, अब मधेशमा कति प्रतिशत दम्पत्तिहरूको विवाह दर्ता गराइएको होला त? एक प्रतिशत? तर यी सब कुराहरू मधेशीलाई नागरिकताबाट वंचित गर्ने केवल खेल मात्र हुन्, कुनै बर्मेली, भुटानी, वा आसामी ‘नेपाली’लाई कहिले कुनै प्रमाणको आवश्यकत्ता हुँदैन, कहिले कुनै प्रश्न सोधिन्न, तिनीहरूले केही पेश नगरिकनै अनुहारै देखाई जतिखेर पनि नागरिकता लिन सक्छन्।

तर नागरिकतावाट वंचित हुनु कुनै सानो कुरा होइन, नागरिकताको महत्व नेपालमा धेरै नै छ। मधेशीहरूले नागरिकता विना न त जागिरै पाउन सक्छन् न त घर-घडेरी वा जग्गा-जमीन नै किन्न सक्छन्। र आगलागी, बाढी, महामारी जस्ता विपत्तिमा समेत उद्धारका लागि वा कुनै सहयोग पाउन सरकारी होस् कि गैरसरकारी संस्था पहिला सबैले नागरिकताकै सोधखोज गर्दछ। नागरिकता नभएको खण्डमा तिनीहरूले उद्धार गर्न वा सहयोग गर्न छोड्छन्। र यो कुरा पहिलाभन्दा आजभोलि बढी कडाइका साथ लागू गरिन्छ।

सन् २००८ को कोशी बाढीमा मधेशीहरूलाई भोकभोकै राखियो। अति नै शीघ्र उद्धारको आवश्यकतामा रहेका तिनीहरूका लागि न त खाना थियो, न त वास, न त औषधी नै। तैपनि सरकारी र गैरसरकारी संस्थाहरूले कैयौं पटक तिनीहरूलाई कुनै सहयोग दिनबाट इन्कार गरे, तिनीहरूले पहिला नागरिकता माँगे। बाढीपिडीत अछुत र गरीब निमुखा मधेशीहरूको हालत के भयो होला, कल्पना गर्न सकिन्न।

विकसित मुलुकबाट आएका गैर सरकारी संस्थाहरू समेत आफ्नो देशमा झैं शर्तहरू राखेर कार्य गर्छन्। आफ्नो देशमा जन्मदर्ता, विवाहदर्ता र नागरिकता सामान्य कुरा भए झैं यहाँ पनि त्यही मापदण्ड राख्छन्, र त्यसकिसिमका कागजातहरू माँग्नुलाई सामान्य रूपमा लिन्छन्। तर तिनीहरूलाई यहाँको वास्तविक स्थितिको जानकारी हुँदैन। तर जहाँ सरकारले नै विपत्तकालमा समेत छुत र अछुतको नियम बनाउँदै लगाउने गर्दछ, त्यहाँ यी गैर‍सरकारी संस्थाहरूलाई के भन्न सकिन्छ? मुलुकी ऐनमा लेखिएको छ — आपत्‌कालीन स्थितिमा ब्राम्हण लगायत पानी चल्ने जातकोले कुनै पनि पानी नचल्ने जातकालाई आफ्नो पिठ्यूँमा बोक्न सक्छन् तर ब्राम्हणका अलावा अरू जातले तिनीहरूको स्वीकृति विना त्यसो गर्न पाउनेछैनन्।[18]

[GO TO CONTENTS]

८. शहरको सेरोफेरो

सन् १९९४ को गर्मीमा मैले राजबिराजतिरै सर्ने निधो गरें। एक जना नातेदारले उनका छोराछोरीलाई पढाउन र उनकै घरमा बस्न धेरै दिनदेखि भन्दैआएका थिए। नातेदार भिनाजु तर्फका भएकाले मलाई त्यहाँ पठाउन बुवालाई कुनै आपत्ति थिएन। म पनि शहरमा बस्न पाउने रहरले निकै उत्साहित थिएँ।

उनको घर राजबिराजमा सैनिक क्याम्पसँगै थियो। क्याम्प र घर बीचमा अरू कुनै घर थिएन र सैनिकहरूले अभ्यास गरेको तथा हिँडडुल गरेको म पहिलो तल्लामा रहेको आफ्नो कोठाबाटै हेर्न सक्थें। त्यो सैनिक क्याम्प मेरो लागि एक रहस्य थियो र बिझ्ने काँडा पनि — पराया शासकहरूको वस्ती र नेपाली साम्राज्यको परिचायक। म सानो छँदा एक दिन गाउँको चैनल हुँदै गइरहेको सैनिकगाडीमा सवार एक सैनिकले मलाई विनाकारण गरेको अभद्र गाली र देखाएको अश्लील हाउभाउ मैले बिर्सेको थिइनँ।

राजबिराजमै भए पनि घरमा शौचालय बनिसकेको थिएन र मलाई त्यहीं क्याम्पको वरिपरिको खेतमा शौच गर्न जानुपर्दथ्यो। क्याम्पको वरिपरि घुम्दै काँडेतार र करमीको पर्दाका प्वालहरूबाट चियाउँदै म ती सैनिकहरूको बारेमा निकै विचार गर्थें। तिनीहरू कसरत गर्न बाहिर निस्केको बेलामा म एक-एक गरी तिनीहरूलाई हेर्थें, तर कहिले पनि तिनमा कोही मधेशी देखिनँ, सबै पराया नेपाली शासकहरू नै देखिन्थे।

राजबिराजमा केही दिन बसेपछि मलाई ज्ञात भयो मेरा नातेदारले त्यहाँ बस्न त्यसरी किन आग्रह गरेका रहेछन्। उनका तीन छोरी र एक काखे छोरा रहेछन्, उनको श्रीमान्‌को जागिर बाहिर भएकाले कहिलेकाहीं मात्र घरमा बस्न सक्ने रहेछन्। सैनिक क्याम्प नजिक भएकाले उनीहरू निकै नै असुरक्षित महशूस गर्दा रहेछन् र त्यही भएर सँगै बस्न मलाई बोलाएका रहेछन्। आखिर, जापानी सैनिकको उपस्थितिमा नानजिङका चिनियाँ महिलाहरूले सुरक्षाको कुन अनुभूति नै प्राप्त गर्न सक्छन्? हाम्रो स्थिति पनि फरक थिएन।

राजबिराजमा त्यस डर र त्रासको अलावा केही बाँकी पनि थिएन। देशकै प्रथम प्लान्ड शहर र कुनै ताका शीर्ष पाँच शहरहरूमध्ये गनिने राजबिराजको स्थिति नाजूक थियो। सगरमाथा अंचल तथा सप्तरी जिल्लाको सदरमुकाम रहेको राजबिराज आवश्यक भौतिक पूर्वाधारहरूले सम्पन्न हुनुपर्दथ्यो। तर मूल सडक समेत धूलोमा परिणत भइसकेको थियो र शहरको केन्द्र त्रिभुवन चौकमै समेत ठूला खाल्डाहरू थिए। जोरले बर्षा हुनासाथ चोकहरू जलमग्न हुने गर्दथे र शहरमा बाढी नै आउने गर्दथ्यो। मान्छेहरू त्रिभुवन चोकमै माछा मार्न जाल लगाउने गर्दथे।

राजबिराजबाट घर आउन पनि त्यति सजिलो थिएन, साधारणतया हिँड्नै पर्दथ्यो। बसहरू फाटफुट मात्रै चल्ने गर्दथे र बसका लागि घंटौ पर्खनुपर्थ्यो। कहिलेकाहीं त पूरा दिन नै बस स्टेण्डमै बित्थ्यो।

राजबिराजलाई बाइपास गरेर बनेको महेन्द्र राजमार्गले राजबिराजको सबै सुविधा र गौरव नै खोसिदिएको थियो। लामो दूरीका गाडीहरू राजबिराज भएर जानै छोडे र राजबिराज मृत शहरमै परिणत भयो। व्यापारीहरूले आफ्नो धन्दा अन्यत्र सारे, लगानीकर्त्ताहरूले लगानी गर्नै छोडे, केही पसलहरू मात्रै बाँकी रहे। भारतको कुनौली नजिक हुनाले राजबिराज पोर्ट सिटी तथा औद्योगिक क्षेत्रका रुपमा विकसित हुने प्रबल सम्भावना थियो तर सरकारले यी दुई शहरलाई कहिले जोड्न चाहेन । बिराटनगर-जोगवनीको सम्बन्धले त्यस क्षेत्रमा ल्याएको उन्नति उदाहरण स्वरूप अगाडि छँदैछ, तर त्यो उन्नति सरकारले मधेशीहरूको वर्चस्व रहेको यस क्षेत्रमा कहिले हुन दिन चाहेन।

राजबिराजको हवाईअड्डा मृत भइसकेको थियो, त्यहाँबाट कुनै जहाज उड्दैनथ्यो। त्यहाँ ध्यान दिनुका वदला सरकारले पहाडमै कैयन् नयाँ हवाईअड्डाहरू बनाए। राजबिराजको स्टेडियम कुँडाकरकटमा परिवर्तन हुन दिइयो। स्थानीय समाजसेवीहरूद्वारा स्थापित कलेज पनि खँडहर बन्न पुगे। सरकारले मधेशतिर कानो आँखा देखाए र विकासका सबै परियोजना र साधन-श्रोतहरू पहाडतिरै लगे। आफूले खुट्टा जमाउन नसकेको देखेर शासक वर्गले राजबिराजलाई टुहुरोको झैं व्यवहार गरे।

मधेशका अन्य शहरहरूको स्थिति पनि खासै फरक थिएन। हनुमाननगर, जनकपुर, जलेश्वर, गौर, मलंगवा, वीरगंज, नेपालगंज — सबै महेन्द्र राजमार्गद्वारा बाइपास गरिए। पहाडीहरूलाई बसाउन इटहरी, धरान, लहान, सुर्खेत जस्ता शहरहरू सरकारले बनाउँदै गए। वस्ती नभएको उत्तरी क्षेत्रबाट राजमार्ग लगी पहाडीहरूलाई त्यहाँ बस्न लगाए। सप्तरीमा पनि धेरै पहाडीहरू राजमार्ग छेउमा जमीन कब्जा गरी कंचनपुर, रुपनगर, गोरपार, रुपनी जस्ता ठाउँहरूमा बस्न पुगे, र जमीन्दार नै बन्न पुगे, जबकि सुकुम्बासी मधेशीहरूले सरकारबाट कुनै भूमि पाएनन्। उत्तर-दक्षिण अनेकौं सडक सरकारले बनाइदिएर यी पहाडीहरू पहाड र मधेश दुइटै ठाउँमा रहेका आफ्ना रियासतसम्म सजिलै आवत-जावत गर्न सक्थे। तिनीहरू धनकुटा-धरानबाट इटहरी सजिलै झर्न सक्थे, जबकि इनरूवाबाट राजबिराज वा राजबिराजबाट जनकपुरसम्म जानलाई मधेशीहरूले दिनभरि नै कुर्नुपर्थ्यो। सरकारले मधेशका शहरहरूलाई अलग पारे, मधेशको भूमिलाई छिन्न-भिन्न बनाए। मैले सुन्सरीको कुशहाबाट सप्तरीको घरसम्म आउन कैयौं पटक दिनभरि नै बस कुरेको छु, र कैयौं पटक त नपाएर फर्केको छु।

यात्राको त्यही असहजताका कारण म राजबिराजबाट घर वा कुशहा जान्नथें, यद्यपि मलाई घर र हजुरआमाको निकै याद आउँथ्यो। म राजबिराजमै बच्चाहरूलाई पढाउँदै बसें। म केही कुरा सिक्न चाहन्थें, नयाँ अवसरहरूको खोज गर्न चाहन्थें जुन गाउँमा बसेर त्यति सम्भव थिएन। म शैक्षिक अवसरहरू र छात्रवृत्तिका जानकारीहरूसँग अद्यावधिक रहन चाहन्थें। गाउँमा त कहिले कुनै समाचार पत्र उपलब्ध भएन, र गाउँलेहरूलाई कुनै नोकरीको विज्ञापन वा कुनै भर्नाका सम्बन्धमा जान्न निकै नै संघर्ष गर्नुपर्थ्यो।

समृद्ध परिवारका मेरा सहपाठीहरू पहिले नै काठमाडौं गइसकेका थिए। तिनीहरू राम्रा कलेजमा भर्ना पाउन प्रवेश परीक्षाको तयारीमा लागेका थिए र ब्रिज कोर्श र कोचिङ्ग क्लासमा भर्ना भएका थिए। त्यो मेरो हैसियत बाहिरको कुरा थियो। म त एसएलसी रिजल्टपछाडि आफ्नो पढाइ अगाडि बढ्ला कि नबढ्ला भनेरै चिन्तित थिएँ। के मेरो जीवन खेती मै सीमित होला? कि मैले गार्मेन्ट फ्याक्टरीमै काम गरेर जीवन बिताउनुपर्ला? कि म पनि दिल्ली-पंजाब धाउनुपर्ला? ती प्रश्नहरूले मलाई बेचैन बनाउँथ्यो। आउटडेटेड भए पनि घरमा दाइले पढेका पुराना सिलेबस र किताबहरू थियो। म त्यही उल्टाइ-पल्टाई हेरिरहन्थें। साइन्स पढेर इन्जिनियर बन्ने इच्छाले मलाई भित्रैदेखि छोएको थियो। दाइका ल्याब रिपोर्टबुकका गातामा रहेका स्याटेलाइटका रंग-बिरंगी तस्वीरहरूले मेरा आँखामा अनेकौं सपनाहरू भरिरहन्थे।

[GO TO CONTENTS]

९. लौहद्वार नाघ्दा

एसएलसीको रिजल्ट आउँदा म राजबिराजमै थिएँ। हाम्रो स्कूलबाट लगभग दुई सय विद्यार्थीमध्ये म लगायत छ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। लौहद्वार नाघ्दा खुशीको बोध हुनु स्वाभाविकै थियो।

रिजल्टको केही दिनपछाडि म घर फर्कें। म पैदल नै आइरहेको थिएँ। खेतै-खेत जसरी म गाउँको सीमानिर पुगें, हर्ष र उल्लासले भरिएका खेतालाहरू दौड्दै मलाई भेट्न आए। टाढाबाटै हल्ला गर्दै, गोरूको काँधबाट हलो हटाउँदै तिनीहरू मतिर दगुरे। तिनीहरूको खुशी देखेर एक छिन म भावविभोर भएँ, लाग्थ्यो तिनीहरूको आफ्नो छोरा पास भएको होस्, आफ्नो छोराले कुनै ठूलो सफलता हासिल गरेको होस्। केहीले कति मार्क आउँछ भनेर सोध्थे र निकै कौतुहलता देखाउँथे। केहीले आगामी योजनाका बारेमा सोध्थे त केहीले ‘अब तिमीलाई टुकी लिएर सरकारले खोज्न आउँछ’ भनेर ठोकुवा गर्थे। तिनीहरूले म भित्र इन्जिनियर, डाक्टर, ठुलो अफिसर, रक्षक, त कसैले मुक्तिदाता देख्थे। यसले गर्दा म भित्र एउटा दबावको अनुभूति हुन्थ्यो भने त्यही एउटा जिम्मेवारीको बोध पनि।

केही हप्ता भित्रै स्कूलमा मार्कशीट पनि आइपुग्यो, र विद्यार्थीहरूले ल्याएका उच्च मार्कको हल्ला चारैतिरका गाउँहरूमा फैलियो। मैले सबभन्दा बढी मार्क ल्याएको कुरा साथीहरूबाटै मैले पनि थाहा पाएँ। स्याबासी दिने मान्छेहरूको ताँती लाग्थ्यो, गाउँलेहरू गौरवान्वित थिए, र कैयौं वर्षपछि बुवाको अनुहारमा प्रसन्नता थियो।

विद्यार्थीहरू, र तिनका अभिभावकहरू, मार्कशीट लिन स्कूलतिर हतारिए। मलाई पनि मार्कशीट ल्याउनु थियो। गाउँलेहरूसँगै म पनि मार्कशीट हेर्न निकै नै उत्सुक थिएँ। दुर्भाग्य, मार्कशीट र स्कूल लीभिङ्ग सर्टिफिकेट लिन लगभग दुई सय रूपैयाँ तिर्नुपर्थ्यो।

म केही हप्तासम्म पर्खें। बुवाले पैसाको व्यवस्था गर्न सक्नुभएन। गाउँका मान्छेहरू मात्र हैन, छिमेकी गाउँका मान्छेहरूसमेत दिनहुँ घरमा मार्कशीट हेर्न आउँथे र सोधखोज गर्थे। हामीले तिनीहरूलाई निराश गरेर पठाउनुपर्थ्यो। धेरै दिन भइसक्दा पनि पैसाको चाँजो अझै मिलाउन सकिएन। यसले गर्दा मेरा सबै उत्साह र जिज्ञासा मरेर गए, र केही हदसम्म म निराश पनि भएँ। पास गरेका विद्यार्थीहरू विभिन्न कलेजमा भर्ना हुन गइसकेका थिए, तर मेरो शैक्षिक यात्रामाथि संदेहको बादल मँडारिएर आयो।

अनि एक दिन ओभरसियरमा भर्ना खुलेको कुरा बुवाले थाहा पाउनुभएछ र मलाई त्यसको प्रवेश परीक्षामा सामेल गराउने निर्णयमा पुग्नुभएछ। मलाई लाग्छ ओभरसियर पढाउने कुरा उहाँको मनमा पहिलादेखि नै थियो। साइन्स पढाएर जोखिम उठाउने हिम्मत शायद उहाँसँग बाँकी नभएर होला, भोकेशनल वा टेक्निकल एडुकेशनतिर उहाँले अडिग भएर निर्णय गर्नुभयो। साइन्स पढेर जागिरका लागि भौँतारिँदै गरेका मेरा दुइटै दाइहरूलाई देखेर होला उहाँले मलाई त्यसबाट बचाउन चाहनुभयो। यसका अलावा मधेशमा त्यसै पनि टेक्निकल एडुकेशनको बोलबाला बढी नै छ, मान्छेहरूले आफ्ना छोरा-छोरीलाई ओभरसियर, अमिन, नर्स, जेटिए, इन्जिनियर, डाक्टर बनाउन चाहन्छन्। किनकि मधेशीले सरकारी जागिर पाउने सम्भावना अति नै कम हुन्छ तर यी कुराहरू पढेको खण्डमा आफैं पनि प्रैक्टिश गरेर पेट पाल्न सकिने आशा हुन्छ। सरकारी कामकाजमा तथा प्रशासनमा आम मधेशीको पहुँच नहुनाले मधेशीहरू आर्ट, कमर्श, प्रशासन, व्यवस्थापन आदिमा डिग्री हासिल गर्नुको त्यति औचित्य देख्दैनथे। तिनीहरूमा डिग्री पाउनु केवल प्रमाणपत्रसम्मै सीमित रहन्थे। दुर्भाग्य नै भन्नुपर्छ कि ज्ञानको त्यस पावन भूमिमा कला, इतिहास, दर्शन, समाजशास्त्र आदिको महत्व क्षीण भएर गएको थियो।

ओभरसियरमा आवेदन दिने मिति सकिनै लागेकोले मार्कशीट र सर्टिफिकेट ल्याउनु वाध्यता हुन गयो। तर पैसा अझै जुटाउन सकिएको थिएन। अन्तत: बुवाले घरमा भएको बचे-खुचेको धान बेच्ने निर्णय गर्नुभयो। त्यो कुनै उब्रेको धान थिएन, उब्जेको धानले त वर्षभरि खान पनि पुग्दैनथ्यो।

मैले धानको कोठीको मुख खोलें तर अलिकलि मात्र धान निस्कियो। शायद धेरै धान थिएन। मुजौला लिएर कोठी भित्र पसें, हात र बारहैनले झाडेर सबै धान निकालें। नाकभरि धूलो नै धूलो भर्न पुगेको थियो।

व्यापारीलाई धान बेच्ने बेलामा ठूल्दाइ बेस्सरी रिसाउनुभएको थियो। शायद उहाँले आफ्नो आँखाअगाडि घरको धान त्यसरी बेचेको देख्नुभएको थिएन, मैले त पक्कै देखेको थिइनँ। त्यही भएर होला आफैंलाई खानका लागि नभएको समयमा घरमा धेर-थोर बचेको धान पनि त्यसरी जान लागेको देख्दा उहाँ झोक्किनुभएको थियो। उहाँ ममाथि कुर्लिन थाल्नुभयो, राजबिराजमा यति दिनसम्म के गरेर बसेको, खाली पेट पालेर आएको, ट्यूशन पढाएर पैसा जम्मा गर्नुपर्दैन आदि भन्दै कराउन थाल्नुभयो। दुर्भाग्य, राजबिराजमा मुख्यत: म नातेदारकै छोराछोरीलाई पढाउँथे, त्यसको लागि मैले कुनै पैसाको कुरा गरेको थिइनँ र अन्त्यमा राजबिराजबाट म खाली हात नै फर्केको थिएँ।

तर धान बेच्नु पर्दा बुवालाई त्यतिको पीर परेको जस्तो लागेन। उहाँ एसएलसीको रिजल्टबाट औधी खुशी हुनुहुन्थ्यो, जिल्लाभरिका शिक्षक-शिक्षिकाले बुवालाई बधाई दिने गर्थे र उहाँ सन्तुष्ट देखिनुहुन्थ्यो। शायद त्यही भएर होला, परिवारको स्थितिले नदिए पनि, उहाँले मेरो पढाइ अगाडि बढाउने हिम्मत गर्नुभयो र ओभरसियरमा आवेदन दिन भन्नुभयो। मलाई इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स पढ्ने मन थियो, तर त्यसमा २४-२४ वटा मात्र सीट भएकाले ती विषयहरू पढ्न ठूलो प्रतिस्पर्धाको सामना गर्नुपर्ने आवश्यकता थियो।

ओभरसियरमा भर्नाका लागि आवेदन दिने मिति लगभग सकिनै लागेको थियो, र त्यही भएर बुवाले व्यापारीबाट पैसा पाउना साथ मलाई मार्कशीट लिन पठाउनुभयो र त्यसरी अन्तत: मैले आफ्नो मार्कशीट हेर्ने मौका पाएँ।

[GO TO CONTENTS]

१०. काठमाडौंका कथाहरू

ओभरसियरमा भर्नाका लागि आवेदन दिन धरान जान तयारी भइसक्दा अन्तिम दिनमा बुवाले मलाई काठमाडौं पठाउने निर्णय गर्नुभयो। धरानमा भइरहेको मधेशी प्रतिको व्यापक रंगभेद र भेदभावका बारेमा उहाँले भर्खर सुन्नुभएको थियो र त्यसले उहाँलाई चिन्तित तुल्याएको थियो। धरान धेरैजसो सैनिक र लाहुरेहरू बस्ने पहाडीहरूको वस्ती थियो र त्यहाँ मधेशीहरूमाथि बराबर आक्रमण हुनेगर्थ्यो। यी कुराहरू सुनेर उहाँले आफ्नो निर्णय बदल्नुभएको थियो। तर मलाई काठमाडौं पठाउने निर्णयलाई म उहाँका श्रेष्टतम् निर्णयहरू मध्ये एक मान्दछु।

पढ्नका लागि काठमाडौं जानु मेरो गाउँमा त्यतिबेला दुर्लभ थियो। गाउँका बूढापाकाहरूले काठमाडौंलाई ‘नेपाल’ भन्थे, काठमाडौं उपत्यकाको पुरानो नामबाटै चिन्थे। सरकारले पूरा गोर्खा साम्राज्यको लागि नेपाल शब्दको प्रयोग मुख्यत: सन् १९३० को दशकदेखि मात्र गरेको हो। आभारी नै मान्नुपर्छ साम्राज्यको, मैले काठमाडौं जान कुनै भिसा लिनुपरेन जसरी ती बूढापाकाहरू वा अन्य मधेशीहरूले सन् १९५८ सम्म लिनुपर्थ्यो।

काठमाडौं जान मैले भारदहमा बस समातें। पहिला-पहिला लामो दूरीका रात्री बसहरू हाम्रो गाउँ नजिकै भएर पास हुनेगर्दथे। तर महेन्द्र राजमार्ग पूरा भएदेखि कुनै पनि रात्री बस त्यताबाट आउन मान्दैनथे र त्यो बाटो लगभग मृत भएर गयो। राजबिराजबाट पनि काठमाडौंका लागि दुई-चार बसहरू मात्रै खुल्थे। त्यही भएर मैले भारदहबाटै जानुपरेको थियो।

काठमाडौंसम्मको लागि त्यो मेरो पहिलो यात्रा थियो। म ड्राइभर नजिकै केबिनमा बसें। बाटोमा म पहाड हेर्न निकै नै उत्सुक थिएँ तर अँध्यारोमा त्यति राम्ररी देख्न सकिन्नथ्यो। मसँगै गाउँकै एक जना अर्को विद्यार्थी पनि थियो। दुवै जना गफ गर्दै र बीच-बीचमा चालकले के बोलेको भनेर अड्कल लगाउँदै रात काट्यौं। विहानपख हामी काठमाडौं आइपुग्यौं।

काठमाडौंमा मेरो बसाइँका लागि बुवाले असन नजिकै एक जना नातेदारको ठेगाना दिनुभएको थियो। पुरानो बसपार्कसम्म आएपछि एक टेम्पु ड्राइभरलाई ठेगाना सोध्दा टाढा छ भन्दै त चढाए, तर बीस रूपैयाँ लिएर रत्नपार्कको अर्को छेउमा ओरालेपछि एक छिन हामी दुवै जिल्लियौं। म नातेदारको घर पत्ता लगाएँ, आफ्नो सामान राखें र पुल्चोक क्याम्पसतिरै लागें। त्यो आवेदन दिने अन्तिम दिन थियो।

केही दिनपछि प्रवेश परीक्षा भयो। भर्नाका लागि ठूलै संख्यामा विद्यार्थीहरूले आवेदन दिएका थिए र पुल्चोक क्याम्पस ठूलै भए पनि शायद सबै परीक्षार्थीहरू त्यहाँ अटाउन सकिएको थिएन। उपत्यकाका अन्य कलेजहरूमा समेत परीक्षा केन्द्र राखिएको थियो। मेरो प्रवेश परीक्षा नजिकैको पाटन क्याम्पसमा थियो। मैले त्यही जाँच दिएँ, जाँच राम्रै गए जस्तो लाग्यो।

प्रवेश परीक्षाको परिणाम आउन केही दिन बाँकी थियो। त्यस समयमा मैले केही ठाउँहरू घुम्ने र किनमेल गर्ने भनेर सोचें। मेरो पाइन्ट तलतिर नराम्ररी फाटेको थियो र शर्टको सिलाइ पनि काखीनिर गइसकेको थियो। घरबाट काठमाडौं आउन लाग्दा एक जनाले त्यसमा अत्यधिक अभिरुचि देखाउँदा मलाई अलिकति संकोच पनि लागेको थियो। बुवाले काठमाडौंमै किन्नु भनेकाले त्यही लुगा लगाएरै काठमाडौंतिर प्रस्थान गर्नुपरेको थियो।

एक दिन एउटा परिचितले मलाई ‘हङकङ मार्केट’तिर ल्याए। उनी ठैबको टेक्सटाइल फ्याक्टरीमा मजदुरी गर्थे। मसँगै आएको साथी उनीसँगै ठैबमै बसेको हुनाले उनीसँग मेरो परिचय हुनगएको थियो। हामी मार्केट छिर्ना साथ पहिलो पसलमै रहेको एउटा शर्टमा मेरो आँखा पर्यो — रंग-बिरंगी गुलाबी बुट्टेदार, हबाइयन शर्ट झैं। रमाइलो मान्दै विनोदपूर्ण भावले मैले त्यो शर्ट साथीलाई देखाएँ, तर त्यो विनोद धेरै क्षणसम्म टिक्न सकेन, रमाइलो तुरून्तै नरमाइलोमा परिणत भयो। पसलेले त्यो शर्ट नकिनिकन हामीलाई त्यहाँबाट जानैबाट रोक्न थाल्यो। ‘तिमीले छोयौ, अब किन्नै पर्छ, नभए किन छो’को?’ भन्दै गाली गर्न थाल्यो। मलाई त्यो नियम थाहा थिएन, भएको भए मैले छुने थिइनँ तर त्यो गुलाबी बुट्टेदार शर्ट किनेर पनि के गर्ने भनेर सोच्न पनि सकिनँ। पसलेले नानाभाँतीका गालीहरू गर्न थाल्यो, तिनका धेरै शब्दहरू साथीले पछि सम्झाउँदा मात्र मैले बुझ्न सकें। मधेशीहरूका लागि पहाडीले प्रयोग गर्ने भैया, मर्स्या, मर्या स्याल, धोती, भेले, काले आदि जस्ता विभिन्न शब्दावलीहरूका नालीबेली मैले साथीबाटै थाहा पाएँ। केही पहिला पनि सुनेको थिएँ तर धेरै नयाँ थिए। अन्तत: त्यहाँबाट निस्किने उपाय नदेखेपछि मैले त्यो शर्ट किनें, सम्भवत: त्यो मैले आफ्नो जीवनमा लगाएको सबभन्दा वढी रंगीचंगी शर्ट थियो। बुवाले पछि त्यो शर्ट देख्नुहुँदा छक्क पर्नुभएको थियो कि मेरो रूचि यति बिघ्न तुरुन्तै कसरी परिवर्तन भयो भनेर।

प्रवेश परीक्षाको रिजल्ट निस्केको दिन गाडी बन्द थियो, कुनै विरोध कार्यक्रमले गर्दा। म असनबाट पुल्चोक क्याम्पस पैदल नै हिँडें, तर बाटोमा अलपत्र पर्दै बानेश्वरतिर पो लागें। पछि एक जनालाई सोधेपछि मात्र म सही बाटोतिर लागें। क्याम्पस पुगेपछि आफ्नो नाम इलेक्ट्रिकलमा निस्केको भनेर साथीहरूबाट थाहा पाएँ। केही दिनको आवतजावतले क्याम्पसमा पढिरहेका केही मधेशीहरूसँग मेरो परिचय भइसकेको थियो र तिनीहरूले नै मलाई रिजल्टको बारेमा जानकारी दिएका थिए। तिनीहरू पनि निकै नै खुशी देखिन्थे। इलेक्ट्रिकल-इलेक्ट्रोनिक्समा नाम निकाल्नु ठूलो कुरा हो भन्दै मलाई स्याबासी दिए।

तर भर्ना हुन मसँग पैसा थिएन। भर्नाका लागि केही दिनको समय मात्र दिइएको थियो र भर्ना हुन करीब पन्ध्र सय रूपैयाँ लाग्थ्यो। काठमाडौं आउन लाग्दा मसँग हजार रूपैयाँ मात्र थियो, र त्यसको पनि अधिकांश भाग बस भाडा, आवेदन शुल्क र लुगा किन्नमा नै खर्च भइसकेको थियो। भर्ना शुल्कको बारेमा न त मैले सोचेको थिएँ न त घरमा नै कसैले। मैले भर्नाका लागि पैसाको कुरा नातेदारसँग चलाउँदा उनी नराम्ररी रिसाए, पैसा घरबाट लिएर आउनुपर्दैन भनेर हप्काउँदै पैसाको व्यवस्था अन्यत्रबाट गर्न भने। कहाँबाट पैसा ल्याउने भनेर मैले सोच्नै सकिनँ।

ओभरसियरमा नाम निकाल्नु हाम्रो लागि ठूलो अवसर थियो — आशा र सपनाले भरेको। टेक्निकल एडुकेशन हामीले नराम्ररी चाहेका थियौं, ताकि दाजुभाइ मध्ये कम्तिमा एक जनाले त जागिर पाओस् वा कमाउन लायक होस्। मान्छेहरूले ओभरसियरमा नाम निकाल्न ठूलै धोको राख्थे, तर त्यतिबेला मैले नाम निकाले पनि भर्ना हुन पैसा थिएन। भर्ना हुने दिनहरू पनि एकपछि अर्को गरी बित्दै गए, र भर्नाको अन्तिम दिन पूर्वको रात म बेचैन भएर छट्पटाइ रहें।

बिहान म फेरि पैसा खोज्न निस्कें। ठैब जाँदा त्यहाँ एक जना मजदुरले मलाई भनेको कुराको सम्झना आयो, उसले आवश्यक परे मद्दत गरूँला भनेर आश्वासन दिएको थियो। मैले उसलाई चिनेको थिइनँ, न त उसले मलाई। आफ्नो साथीलाई ठैबमा भेट्न जाँदा ऊसँग कुरा भएको थियो र मेरो एसएलसीको रिजल्ट सुनेर उसले मलाई त्यसरी आश्वासन दिएको थियो। म उसको ठाउँ गएँ, लगभग दुई घन्टै लाग्यो। ऊ आफ्नो कोठाबाट निस्केर आफू काम गर्ने टेक्सटाइल मिलतिर हतारिदै थियो। म रोडमै उसलाई भेटें र आफ्नो कुरा बताएँ। उसले लामो श्वास तान्यो। एक दिनअगाडि मात्र उसले सबै पैसा घर पठाइसकेको रहेछ। तर उसले मलाई नआत्तिन भन्यो। कोठा गएर आफूसँग बचेको सबै पैसा जम्मा गरेर फर्क्यो। पैसा अपुग रहेछ, र त्यही भएर नजिकैको पसलमा सापटी लिन गयो। पसलेले पनि सबै झाडझुड पारी खुद्रा सिक्काहरू समेत जम्मा गरेर दिए र अन्तत: मेरो हातमा पन्ध्र सय आयो। म पैसा लिएर त्यहाँबाट हिँडें। सर्टिफिकेट लिएर म डेराबाट हिँडेको थिइनँ र त्यो लिन फेरि असनसम्मै जानुपर्ने थियो।

ठैबबाट लगनखेलसम्म त आएँ, तर त्योभन्दा अगाडि गाडी बन्द थियो। सिंहदरबारअगाडि कुनै विरोध कार्यक्रमले हिंषात्मक रूप लिएको थियो। मध्यान्ह हुनै लागेको थियो। यतिका सबै गरेर पनि आज तीन बजे सम्ममा भर्ना हुन सकिएन भने के गर्ने, सोचेर म केही अत्तालिएको थिएँ। म हतार-हतार पैदल हिँड्न शुरू गरें, बीच-बीचमा दगुर्थें पनि। थापाथली भएर आर्मी हेडक्वार्टर हुँदै म असन आइपुगें। ढ्याम्म ढोका खोल्दै म आफ्ना सर्टिफिकेटहरू बोकें र कलेजतिर हतारिएँ। कलेज आइपुग्दा तीन बज्न शायद पन्ध्र-बीस मिनेट बाँकी थियो, भर्नाका लागि अझ पनि दश-बार्‍ह जनाको लाइन थियो, म पछाडि उभें। समयमा भर्ना होला कि भनेर अझै शंका थियो तर कर्मचारीले लाइनमा बसेको सबैको भर्ना हुने भनेर भनेपछि ढुक्क भएँ। घाममा लाइनमा बस्दा मलाइ लू लाग्ला जस्तो भयो, चक्कर आएर लडुँला जस्तो भएकाले आफ्नो कागजात अगाडि उभेको विद्यार्थीलाई दिँदैं म नजिकैको छहारीमा बस्न गएँ। मेरो पालो आएपछि अन्तत: म भर्ना भएँ।

भर्ना भइसकेपछि अब घर फर्किने पालो थियो। मसँग एक सय चार रूपैयाँ बाँकी थियो, जुन करीब दुई सय रुपैयाँको बस भाडा तिर्नु नपर्ने भए बढी नै हुने थियो। घर कसरी जाने भनेर मैले सोच्न सकिरहेको थिइनँ। नातेदारसँग फेरि पैसा माग्ने हिम्मत मैले जुटाउन सकेको थिइनँ। सोचें, प्रहरीलाई विन्ती गरूँला जसरी पनि मलाई घर पुर्‍याइदेओस् भनेर। घर जान म डेराबाट मध्यान्हमै निस्कें र कलंकी पुगें। सडक छेउकै चिया पसल नजिकै उभेर म चारैतिर हेर्न थालें। एक जना मान्छे मनिर आएर कहाँ जान लागेको भनेर सोधे। राम्रै मान्छे देखेर हो कि म उसलाई आफ्नो बेलिबिस्तार सुनाएँ र मलाई घर फर्कन मद्दत गर्न उसलाई अनुरोध गरें। उसले सय रूपैयाँ लिएर तुरुन्तै टिकट दियो। म अलिकति चकित भएँ, तर चिन्तामुक्त पनि। ऊ त दलाल पो रहेछ, र पछि मात्र थाहा पाएँ, सय रूपैयाँ त के ७०-८० रूपैयाँमा पनि जान मिल्ने रहेछ। बसमा म मूढामा बस्न पाएँ।

बाटोमा, खाजा र खानाका लागि बस ठाउँ-ठाउँमा रोकियो। मसँग केवल दुई रूपैयाँ बाँकी रहेकाले म बसबाट ओर्लेर खाली यताउता घुमफिर गरिरहें। सादा खानाको समेत पैंतीस रूपैयाँ पर्थ्यो। भोक त असाध्यै लागेको थियो, तर दुई रुपैयाँ पनि मलाई भारदहबाट घरसम्मको बस भाडाको लागि चाहिएको थियो र त्यही भएर केही नकिनी त्यसलाई जोगाएर राखेको थिएँ। ठाउँठाउँमा काँक्रा बेच्नेहरू बस भित्रै चढ्थे, र किनेर खाइ हालौं भनेर मन हुन्थ्यो, तैपनि आफूलाई रोक्थें। अन्त्यमा भोकले यति बिघ्न छटपटिएँ कि आफूलाई रोक्न सकिन र एक ठाउँमा त्यो दुई रूपैयाँले काँक्रा किनेर खाएँ। काँक्राको चिसो पेट भित्र जाँदा अति नै राहतको अनुभूति भयो।

म भारदहमा बसबाट ओर्लेपछि मध्यान्ह हुनै लागेको थियो। ओर्लेर घरतिर लम्किनै लाग्दा दाइको एकजना साथीसँग भेट हुन पुग्यो। उनी पनि घर नै आउँदै थिए। गफगाफ कै क्रममा ओभरसियरमा नाम निस्केको थाहा पाउँदा उनी निकै नै हर्षित भए। घन्टौंसम्म नआउने बस दुर्भाग्यले त्यो दिन तुरुन्तै आएछ। मसँग बसको भाडा थिएन, उनले नै तिरे। गफ गर्दै अन्तत: हामी घर पुग्यौं।

[GO TO CONTENTS]

११. मान्छे हैन, मधिसे

गाउँमा केही समय बिताएपछि म काठमाडौंका लागि प्रस्थान गरें। क्लास शुरू हुनै लागेको थियो। म आफ्नो बिछ्यौना र किताबहरू लिएर काठमाडौं आएँ। पहिला बसेकै नातेदार कहीं नै बसें, र भाडाका लागि कोठा खोज्न थालें। नातेदारले पनि अरूलाई कोठा खोजिदिन भनेका रहेछन्।

दशैंपछि मात्र म कलेजको होस्टलमा कोठा पाउने सम्भावना थियो, र कम्तीमा तीन-चार महिनाका लागि मलाई कोठा चाहिएको थियो। छात्रावासको कोठा वितरणमा समेत पहाडबाट आएकालाई प्राथमिकता दिइन्थ्यो, र त्यही भएर म कोठा पाउनेछु नै भने निश्चित थिएन।

हप्तौंसम्म हामी निकै आतुर भएर कोठा खोज्यौं। तर घरबेटीले बस्न खोजेको मान्छे मधेशी हो थाहा पाउना साथ कोठा दिन अस्वीकार गर्थ्यो। हप्तौंसम्म पनि कोठा खोज्न नसक्दा मेरो नातेदारले कलेजकै पुरानो छात्रावासमा एक जनासँग केही दिन बस्ने चाँजो मिलाइदिए। हामीले त्यहींबाट कोठा खोज्ने काम जारी राख्यौं।

त्यस खोजका क्रममा पहाडीहरूले मधेशीलाई बोलाउने विभिन्न थप कोडवर्डसँग पनि म परिचित भएँ। पहाडीहरूले हामीलाई अपमानित गर्थे, हप्काउँथे, कराउँथे, र कहिलेकाहीं आफ्नो कुकुरलाई बोलाएर पनि हामीलाई तर्साउँथे। तिनीहरूको घर नजिक जाना साथ, ‘खाली शीशीबोतल छैन, फोहर छैन, जा’ भनेर हप्काउँथे। नेवारहरूले त गाली गरेको हाउभाउले मात्र बुझिन्थ्यो, मर्स्या बाहेक अन्य शब्दहरू हाम्रा लागि मतलबहीन हुन्थे। मधेशीहरूमाथिको अमानवीय व्यवहार कुनै नौलो थिएन, काठमाडौंमा एउटा लोकोक्ति नै थियो — मनु मखु, मर्स्या ख:, अर्थात् ‘मान्छे हैन, मधिसे हो’। त्यो लोकोक्तिपछाडि आफ्नै इतिहास छ। एक जना लेखकले त्यसलाई यसरी भनेका छन्[19]

“धेरै अगाडिको कुरा हो, जतिबेला काठमाडौंमा शौचालय हुँदैन्थ्यो र सम्भ्रान्त परिवारका महिलाहरू समेत बागमतीको किनारमा नित्यकर्म गर्न जाने गर्थिन्। तिनीहरू आफ्ना नोकर लिएर जाने गर्थिन्, जसको काम कोही मान्छे आउन लागेको खण्डमा आवाज दिएर तिनलाई सचेत गराउनु थियो ताकि तिनीहरू आफ्नो लाज छोप्न सकून्। हुस्सु लागेको एका बिहानी त्यतातिर एउटा मधेशी आएको देखेर नोकरले ‘मान्छे आयो, मान्छे आयो’ भनेर कराएछ। नित्यकर्ममा तल्लीन मालिकनी उठ्दै मधेशीतिर एक छिन टोलाइन्, अनि ‘देख्दैनस्, मान्छे हैन, मधिसे हो’ भनेर नोकरलाई बेस्सरी गाली गर्दै बेफिकिर आफ्नो काममा पुन: लागिन्।”

हामी पहाडीहरूका लागि भूत थियौं, कालो प्रेत थियौं र तिनीहरूले आफ्ना बच्चालाई डराउन हामीलाई देखाउने गर्थे। एक जना नेवारी साथीले मलाई अक्सर भन्ने गर्थिन् कि कसरी उनका बा-आमाले उनी सानो छँदा मधेशीको नाम लिएर तर्साउने गर्थे, ‘मधेशीले बोरामा हालेर लान्छ’ भन्दै कसरी डराउने गर्थे र कसरी उनी घरको कुनामा लुक्ने गर्थिन्।

तर सबै अपमानका बाबजूद हामीले आफ्नो खोज जारी राख्यौं। उता क्लासरूममा पनि मेरो अनुभव त्यति रमाइलो थिएन। ती दिनहरू कलेजमा मेरा प्रारम्भिक दिनहरू थिए। मैले सुनेको थिएँ कलेजमा अंग्रेजीमा पढाइ-लेखाइ हुन्छ र अंग्रेजी मै बोल्नुपर्छ। तर प्रोफेसर र विद्यार्थी दुवै मुख्यत: नेपालीमै कुरा गर्थे, र केही स्थानीयहरू आफूमा नेवारीमै। मधेशीहरू नेपाली बोल्दा व्याकरण अनुसार पूरा शुद्ध भए पनि एउटा अलग शैली झल्किने गर्दछ तर त्यो कुरा क्लासरूमदेखि राष्ट्रिय रेडियो र टीभीमा समेत उपहासको कारण बन्ने गर्दछ। त्यही भएर म आफ्नो परिचय दिन वा कुनै उत्तर दिन नेपालीमा बोल्ना साथ पूरा कक्षा कोठा अट्टहासले गुञ्जमान हुन्थ्यो र लेक्चरर गइसकेपछि पहाडी विद्यार्थीहरूले मलाई जिस्काउँथे। म नेपाली होइन भनेर उपहास गर्थे, कक्षा भित्र र बाहिर तिनीहरूले अनेकौं मजाक गर्थे।

शुरूमा ओभरसियर कोर्स पढ्न पाउँदा म निकै खुशी थिएँ। प्रथम वर्षमा साइन्समा झैं फिजिक्स, केमिस्ट्री र म्याथ पनि पढाइन्थ्यो र म ती विषयहरू कक्षामै राम्ररी पढ्न चाहन्थें। ब्रिज कोर्स मैले गरेको थिइनँ न त कुनै ट्यूशन नै पढेको थिएँ, र त्यही भएर पढाइमा म गम्भीर हुन चाहन्थें। तर कक्षाकोठाको अपमानजनक वातावरणले गर्दा म क्लास छाड्न थालें। म कहिले स्वयम्भू त कहिले गोदावरी जान थालें, पार्कमा एक्लै‍एक्लै गएर भौँतारिन थालें। पटक-पटक म ऐतिहासिक संग्रहालयहरू र हनुमानढोका दरबार गएँ। आफ्नो गाउँतिरका मजदुरहरूसँग भेटेर गफ चुट्न थालें। तर एक पटक तिनीहरूमध्ये एकले मलाई ‘क्लास जानु पर्दैन?’ भनेर सोधेदेखि म तिनीहरूलाई भेट्नु साटो कतै एक्लै घुम्न नै मन पराउन थालें।

शिशिर आइसकेको थिएन, दशैं नै आउन बाँकी थियो। तर मलाई जाडोको अनुभव हुन्थ्यो। मसँग जुत्ता थिएन, र जाडोले कठाङ्ग्रिएका खुट्टाका औँलाहरू बाटाका कुनै ढुंगा वा गिटीमा ठोकिँदा नराम्ररी दुख्थे। कलेजमा जुत्ता नलगाउने कोही पनि भेटिन्नथ्यो र म पनि जुत्ता लाउन लालायित थिएँ। मैले आफ्नो जीवनमा कहिले पनि जुत्ता लाएको थिइनँ। फुटपाथमा किन्दा चीज सस्तोमा पाइन्छ भनेर मान्छेहरूले भन्थे तर शर्टको कुरा सम्झँदा त्यहाँ कुनै कुरा किन्ने हिम्मत ममा बाँकी थिएन। त्यही भएर मैले एउटा राम्रो पसलमै गएर जुत्ता किन्ने विचार गरें।

असनको एक गल्ली हुँदै एका बिहानै गइराखेको बेलामा म एउटा जुत्ता पसलमा छिरें। पसल भरखरै खुलेको थियो। साहुले उदार हुँदै किसिम-किसिमका जुत्ताहरू देखायो। मेरो पैताला लामो थियो, र उसले देखाएका जुत्ताहरू मध्ये एक जोडीमा मात्र आरामदायी रूपमा छिर्न सक्थ्यो। तर त्यसको दाम निकै नै बढी थियो। मसँग त्यति पैसा थिएन, र म त्यही भएर नकिनिकनै जान खोजें। तर उसले मलाई जानबाट रोक्यो। म उसको पहिलो ग्राहक परें रे, र नकिनिकन जाँदा उसलाई अपशकुन हुने भन्ने कुरा उसले बतायो। तर म उसलाई मद्दत गर्न असमर्थ थिएँ — मैले किन्न सक्ने जुत्तामा पैताला अटाउँदैनथ्यो र पैताला अटाउन सक्ने जुत्ता किन्ने पैसा मसँग थिएन। पैताला नअटाउने सानो जुत्ता किन्न उसले जोर गरिरह्यो, र म अस्वीकार गरिरहें। अन्त्यमा ऊ रिसायो र एउटा जुत्ता उठाएर मेरो गालामा हिर्कायो। के भएको हो भनेर एक छिन त मैले बुझ्नै सकिनँ, केही पल ल्याप्स भए जस्तो, अकस्मात् आँखाअगाडि अँध्यारो भएर झिल्का बले जस्तो लाग्यो। ल्याप्सबाट निस्केर होश आएपछि म मुस्कुराएँ। उसले फेरि त्यही गालामा मलाई हिर्कायो। धमिलिएको दृष्टिमै म पसलबाट बाहिर निस्केर हिँड्न थालें र भीडमा हराएँ — शून्य सोच र अचेत मष्तिष्क लिएर। म विना जुत्ता नै क्लास गइरहें।

दशैंको विदा नजिकै आउन लागेको थियो। तीन-चार जना मिलेर खोजिरहँदा पनि मैले अझै कोठा भेटाएको थिइनँ। मसँग त्यति उत्साह बाँकी थिएन। ती सबै अपमान र अमानवीय तथा निम्न दर्जाको नागरिकको व्यवहारले वाक्क हुँदै म आफ्नो पढाइ छोडेर घर फर्कने भनेर सोचें।

मैले साझा बसको टिकट बूक गरें, त्यसमा कम पैसा लाग्थ्यो। मसँग धेरै पैसा बाँकी थिएन र यसपालि फेरि बसभाडा दिन दुई रूपैयाँ पनि नहोस् भनेर नदोहोरिऊन् भनेर म सतर्क थिएँ। मेरो टिकट विदाको केही अगाडिकै दिनको लागि भए पनि त्यो दिनसम्म खान पुग्ने पैसा मसँग थिएन। मैले क्यालेन्डर लिएँ र त्यसमा कुन-कुन दिन, कुन-कुन समय खाना नखाने भनेर अल्टरनेट रूपमा चिनो लगाएँ। लगातार भोकै बस्नुभन्दा त्यसरी ‘उपवास’ बस्नु उपयुक्त लाग्यो। बाँकी दिनहरू त्यसरी नै जाने दिनको प्रतिक्षा गर्दै बिताएँ।

आखिर त्यो दिन आइपुग्यो। आफ्ना सबै सामानहरू समेटे, बिछ्यौना र सिरक बाँधे, र घरको लागि प्रस्थान गरें। बसमा बसिरहेको बेला म नेपाल तराई विद्यार्थी नवजागरण संघले कलेजमा गर्न लागेको स्वागत कार्यक्रमका लागि दिएको आमन्त्रण पत्र हेर्दै थिएँ कि सँगै बसेको यात्रुको ध्यान मतिर आकृष्ट भयो। उनले पनि त्यो कार्यक्रममा जान नसकेको खेद गर्दै आफू त्यस संस्थाका संस्थापकहरू मध्ये एक भएको कुरो बताए। उनले मधेशी हुनुको आफ्ना अनुभवहरू साटे र त्यो संस्था किन स्थापना गर्नुपरेको भन्ने कुरा पनि गरे। मधेशी विद्यार्थीहरू काठमाडौंमा डरले कसरी आफ्नो ढोका प्राय: चुकुल लाएर राख्ने गर्थे, कसरी तिनीहरूले कुनै पहाडी नेताको तस्वीर आफ्नो कोठामा झुण्ड्याएर राख्नुपर्थ्यो र कसरी हरेक कुरा पहाडी विद्यार्थीहरूले चाहे बमोजिम गर्नुपर्थ्यो भन्ने कुरा बताए। क्यान्टीन र होस्टलमा मधेशीहरूमाथि हुने गरेको पिटाइ, पहाडीहरूले खुकुरी निकालेर मधेशीहरूलाई गर्ने गरेको खेदाइ आदि कुराहरूको चर्चा गरे। सिभिल इन्जिनियरिङ भवनको माथिल्लो तल्लाबाट पहाडीहरूले मधेशीलाई फालेको घटनाको बारेमा पनि बताए। त्यसरी कुरा गर्दै हाम्रो बाटो कट्यो र अन्त्यमा आफू बचेको महशूस गर्दै म घर पुगें।

सिरक-बिछ्यौना समेत आफ्ना सबै कुराहरू लिएर म घर फर्केको थिएँ र घरमा त्यसले सबै असमञ्जसमा परेका थिए। ठूल्दाइ रिसाउनुहुन्थ्यो भने भाउजूले फेरि जाने कि नजाने भनेर सोध्नुहुन्थ्यो।

महिना भरको विदामा घरमा आफ्नो कुरा कसरी बताउने बारेमा म अलमलमै रहें। मेरो कदम कुनै ऐनालाई ढुंगाले जोरले हानेर चकनाचूर पारे झैं लाग्थ्यो, र काठमाडौं त्याग्ने कि नत्याग्ने भनेर म फेरि-फेरि सोचिरहन्थें। म आफ्नो यथार्थ, ती अपमानका घटनाहरू, ती अमानवीय व्यवहारहरू पनि कसैलाई भन्न असमर्थ थिएँ — त्यो गाउँलेहरूका अगाडि भन्नु आफ्नै साख छोट्टयाए जस्तो लाग्थ्यो।

मेरो ओभरसियर पढ्ने अवसर परिवारको लागि आशाको किरण थियो। दाइहरू बेरोजगार हुनुहुन्थ्यो, घरको आर्थिक स्थिति पहिला कहिले नभए झैं गिरेको थियो। त्यसका अलावा मेरो उपलब्धिमा गाउँलेहरू उत्तिकै हर्षित थिए। त्यो अवसर छोड्नु तिनीहरूको आशा चकनाचूर पार्नु बाहेक केही थिएन, र मेरो लागि एउटा अमेटनीय दाग पनि। त्यसले बुवालाई पनि ठूलो धक्का पुग्ने निश्चित थियो। दाइहरूको दुर्दिनपछि उहाँको आशा ममाथि नै टिकेको थियो र त्यही भएर सारा कठिनाइका बाबजूद उहाँले मलाई अगाडि पढाउने हिम्मत गर्नुभएको थियो। त्यही भएर अन्त्यमा जे-जस्तो भए पनि काठमाडौं फेरि फर्कने विचार गरें। त्यसपटक ठूल्दाइ मलाई भारदह छोड्न आउनुभएको थियो, र बाटोमा धैर्य राखेर कडा मेहनत गर्न भन्नुभयो।

भारदहबाट काठमाडौंसम्मको बस यात्रा निकै नै अपमानजनक हुने गर्दथ्यो। एजेन्टबाट टिकट बूक गराए पनि लहान कटेपछि वा बस पहाडी क्षेत्रमा पुगेपछि खलासी र बसस्टाफले सीट छोड्न बाध्य बनाउँथ्यो। त्यही सीटकै टिकट काटेर त्यहाँ कुनै पहाडीलाई बसाइन्थ्यो र मलाई तल बस्नुपर्थ्यो। त्यहाँ यात्रीहरू कुल्चेर हिँड्थे, पहाडीहरू कोस्थे, हुत्याउथे र नानाभाँतीका गालीहरू दिन्थे। कहिलेकाहीं सामान फालिदिन्थे। खाना खाए-नखाए पनि लात्ती र गाली खाँदै बसमा रात बित्थ्यो। र यो क्रम लगभग हरेक पल्ट जाँदा हुन्थ्यो। अन्त्यमा म त्यो रूटबाट जानै छोडें र राजबिराजमा चिनेको काउन्टरबाट सीट बूक गराउन थालें। राजबिराजको रूटबाट जाँदा पनि कहिलेकाहीं त्यस किसिमको घटना दोहोरिरह्यो।

॰कोर्सको प्रथम सेमेष्टरमा आखिर मैले डेरा पाउनै सकिनँ र अन्त्यमा त्यस समय काठमाडौंमा भएको मेरो कजनले आफ्नो साथीलाई मैले छात्रावास नपाएसम्म सँगै राख्न आग्रह गरे। केही महिनाका लागि म उनीहरूसँगै बसें। म फ्लोरमा कागज बिछ्याएर त्यसमा आफ्नो बिछ्यौना लगाएको थिएँ। त्यो काठमाडौंमा मेरो पहिलो जाडो थियो। मसँग पर्याप्त लुगा थिएन, र निकै नै जाडो लाग्थ्यो।

केही महिनापछि छात्रावासमा कोठा पाएपछि म अरू दुई मधेशीसँग पुरानो छात्रावासमा सरें। त्यहाँ मेरा धेरै साथीहरू बने र घंटौसम्म हामी गफगाफ र रमाइलो गर्दथ्यौं। साथीहरू मध्ये शुशील चौधरीसँग म धेरै कुरा गर्थें, हाम्रो समाजका विविध पक्षहरूका बारेमा। छुट्टीमा हामी सँगै खाना बनाउँथ्यौं। हामी यतिका धेरै सँगै बस्थ्यौं कि प्रथम वर्षभरि गल्तीले पहाडी साथीहरूले मलाई शुशील चौधरीको नामले बोलाउँथे र हरेक पटक मैले उनीहरूलाई सम्झाउनुपर्थ्यो।

ती दिनहरूमा म वेद र अन्य धर्मग्रन्थका मन्त्रहरू उच्चारण गरिरहन्थें, धर्मग्रन्थहरूको पाठ पनि गरिरहन्थें। त्यो देखेर एक दिन भर्खरै परिचय भएका मेरा एक साथीले म ब्राम्हण हो कि भनेर सोधिहाले। म केही बोल्नुअगावै नजिकै उभेका एक पहाडी ब्राम्हण साथीले मजाक उडाइहाले — ‘त्यो त अनुहारबाटै देखिन्छ नि!’ म स्कूलमा हुँदा पनि प्राय: ब्राम्हण र राजपूत साथीहरू बीच नै घेरेको हुन्थें तर कसैबाट त्यस्तो मजाक मैले सुनेको थिइनँ, र त्यो दिनको सानो टिप्पणीले मलाई किन हो किन बिझाइरह्यो।

कलेजमा रंगभेदको शिकार म भइरहें। तर यसपालि म दृढ थिएँ, र त्यति अत्तालिन्नथें। गाली गर्ने वा अपमानजनक शब्दहरू प्रयोग गर्नेतिर म नहेरिकनै आफ्नो बाटो लाग्थें। म तिनीहरूबाट निरूत्साहित नहुने अठोट गरें। पहाडीहरूको शिकार नहुनु परोस् भनेर म पहाडी साथीहरूसँगै बस्न थालें, र तिनीहरूको बोली-व्यवहार आफूमा उतार्न थालें। म जति खेर पनि नेपाली मै बोल्न थालें, नेपाली लोकगीत र दोहोरी गाउन थालें, र हरेक कुरा नेपाली कै चर्चा गर्न थालें। आफ्नो भाषा बोल्न, वा आफ्नो तिरका कुनै चीजको चर्चा गर्न मैले पटक्कै छाडिदिएँ। किनकि मधेशतिरका भाषा बोल्ना साथ वा उतातिरका कुनै कुराको चर्चा गर्ना साथ पहाडीहरूले तुरुन्तै जिस्काउन थाल्थे र अपमान गर्न थाल्थे। आफ्नो मूल, आफ्नो ठाउँ, आफ्नो चाडपर्व, आफ्नो संस्कृति वा मधेशसँग सम्बन्धित कुनै कुरालाई आफूबाट टाढा राख्नथालें र पहाडीहरूको रहन-सहनमा भिज्न थालें। त्यही भएर दोश्रो वर्षमा नयाँ छात्रावासमा सर्ने अवसर आउँदा म दुई पहाडी रूममेटका साथमा कोठा सरें। तिनीहरूसँग बस्दा मेरो एक्सेन्ट पश्चिम नेपालतिरको पहाडीहरूले बोल्ने नेपाली झैं हुन थाल्यो। अनुहार नहेरी, मेरो आवाज मात्र सुनेको खण्डमा मधेशी नभएर पहाडी नै हो कि भनेर अनुमान शायद मान्छेहरूले लगाउँथे होला। नयाँ छात्रावासमा धेरै विद्यार्थीहरू बस्थे र त्यहाँ बढी नै दुर्व्यवहार हुन्थ्यो — खास गरी टिभी हल र अन्य साझा ठाउँमा।

एक पटक बुवा केही कामले काठमाडौं आउनुभएको थियो र मलाई भेट्न नयाँ छात्रावास आउनुभयो। राती उहाँ गाउँकै मजदुरहरूसँग बूढानीलकण्ठमा बस्नुभएको थियो। मध्यान्ह भइसकेकाले क्यान्टीन बन्द भइसकेको थियो, र खाना खान हामी बाहिर जान लाग्यौं। सिभिल इन्जिनियरिङको ब्लकनिर पुगेपछि सडक छेउमै बसिरहेका केही विद्यार्थीहरूले बुवातिर ढुंगा फ्याँके। ठूलो कदका उहाँ ठूल्ठूलै पाइला चाल्नुहुन्छ। संयोगले ढुंगा उहाँलाई नलागी उहाँको खुट्टापछाडि र मेरो अगाडि भएर गयो। बुवालाई धोती भनेर गाली गर्दै कराइरहेका केटाहरूतिर फर्केर एक नजर मैले हेरें, तर रोकिनँ। बुवाले आफ्नो जीवनभरि धोती-कुर्ता वा लुंगी नै लाउनुभयो, र ती वेषभूषा मधेशीहरू प्रति अपमान र दुर्व्यवहारका कारक थिए। कहिलेकाहीं त पहाडीहरूले मधेशीको धोती नै खोलिदिन्थे। त्यसबाट जोगाएकोमा म भगवान् प्रति आभारी थिएँ। उहाँको वेषभूषाले दिनभरि अरू ठाउँमा पनि समस्या दिइरह्यो। टेम्पुका फुच्चेको हेपाइमा हुन् कि फूल बेच्नेको सम्बोधनमा, ‘धोती’ भनेर दिनभरि सुनिरहनु पर्यो। अपमानका घटनाहरू अनगिन्ती थिए। त्यो दिन मलाई सुपरम्यानको शक्तिको इच्छा भइराख्यो ताकि म आफ्नो बुवाको सम्मानको रक्षा गर्न सक्थें।

पढाइका क्रममा अनेकौं पटक पैसाको खाँचो भयो। बुवाले हरेक महिना बैंक ड्राफ्ट पठाउनुहुन्थ्यो, तर कहिलेकाहीं उहाँ समयमै पठाउन सक्नुहुन्नथ्यो। एक पटक छुट्टीमा मेरो सबै पैसा सिद्धिएको थियो। मेस बन्द थियो, र खाना आफैंले बनाएर खाइरहेको थिएँ। ड्राफ्ट आउला कि भनेर म पटक-पटक चिठ्ठी चेक गर्न जान्थें, कहिलेकाहीं दिनकै दुई-तीन पटक। भएको पैसाले केही दिन काम चलाएँ। अन्त्यमा केही नहुँदा अघिल्लो दिन काटेर फालेको फूलगोबीको डाँठ उबालेर खाएँ, र भएको दुई-चार सिक्का लिएर पैसा सापटी लिन म बाँसबारीतिर लागें। त्यहाँ मेरो गाउँकै एउटा हजामले पसल खोलेका थिए। ऊ कहाँ पुगेर पहिला आफ्नो भोक मेटें। पछि उसले आठ सय रूपैयाँ दिएर पठायो। काठमाडौंमा काम गरिरहेका गाउँका मजदुरहरूसँग पनि म कैयौं अवसरमा पैसा लिन्थें।

कोर्सको अन्तिम वर्षमा हामीले कैयन् पावर प्लान्ट, डिस्ट्रिव्यूशन सेन्टरस्, र औद्योगिक क्षेत्रको भ्रमणमा जानु परेको थियो, र त्यस क्रममा उपत्यका र पहाडका विभिन्न क्षेत्र घुम्न पाएको थिएँ। ती दिनहरूमा स्थानीय र स्टाफहरूबाट निकै नै दुर्व्यवहार सहनु परेको थियो। मधेशी देख्नासाथ ‘तिमी पनि विद्यार्थी?’ भनेर सोध्थे, विद्यार्थीहरूको समूहमा हुँदा पनि मजदुर वा प्यून झैं व्यवहार गर्थे। एक पटक हेटौंडामा राती रोकिने क्रममा सहपाठीसँगै मेरो भनाभन हुन गएको थियो, तिनले मधेशीहरूलाई अलग गरेर छुट्टै सानो र कमसल कोठामा राख्न चाहेका थिए।

कोर्सको अन्त्य हुनै लाग्दा सहपाठीहरूले आ-आफ्नो भविष्यको बारेमा योजना बनाउँदै थिए। तर अधिकांशको योजना भने इन्जिनियरिङको प्रवेश परीक्षामा सामेल हुनु थियो। मेरो पनि। त्यसको तयारी गर्न अधिकांशले कोचिङ पढ्न थालेका थिए। प्रवेश परीक्षा ओभरसियरको सिलेवस अनुरूप नभई, साइन्सको सिलेवस अनुरूप हुने हुँदा कोचिङ लिनु लगभग अनिवार्य जस्तै हुन गएको थियो र प्राय: सबैले लिने गर्थे। मेरा साथीहरूले कोचिङमा भर्ना हुन चार-पाँच जनाको समूहमा जाने निर्णय गरेका रहेछन् र त्यसका लागि मलाई पनि गनेका रहेछन्। त्यसरी जाँदा केही छुट पाइन्थ्यो। म पनि तिनीहरूको योजनामा शुरूमा सहमत नै थिएँ र त्यसका लागि आवश्यक चार हजार रूपैयाँ माँग्दै बुवालाई एउटा पत्र लेखें।

तर म दोधारमा थिएँ — कहिले सोच्थें भोलि गएर त्यस पत्रलाई पोष्ट गरिदिउँला त कहिले पत्र पठाउने मन हुँदैनथ्यो। चार हजार! बुवाले कहाँबाट ल्याउनुहुन्छ त्यतिका रूपैयाँ? र फेरि मैले माँगे र उहाँले दिन सक्नुभएन भने उहाँलाई नराम्रो लाग्ला। मेरा रूममेटहरू अज्ञातमा सुतिरहँदा म अनेकानेक सोचिरहन्थें। अन्तत: मैले त्यो चिठ्ठी पठाइनँ र फाइलमा राखिदिएँ। मेरा साथीहरू म विना नै कोचिङमा भर्ना भए।

टप गर्नु र राम्रो विद्यार्थी हुनुको एउटा नराम्रो पक्ष के लाग्थ्यो भने कलेजमा सबैले म इन्जिनियरिङ पढ्छु नै भनेर ठानेका थिए। सबै राम्रा विद्यार्थीहरूले प्रवेश परीक्षा दिन्थे नै, र त्यही भएर मैले प्रवेश परीक्षा नदिने भनेर उनीहरूले कल्पना गर्न सक्दैनथे। यसले ममाथि नराम्ररी दबाबको सिर्जना गरेको थियो। एकातिर आफ्नो पढाइ अगाडि बढाउने मेरो हैसियत थिएन, श्रोत-साधन थिएन भने अर्कोतिर कलेजका विद्यार्थी र गुरुवर्ग सबैबाट आशै-आशा। प्रवेश परीक्षा नदिनु कुनै महारथी रण छोडेर भागेको जस्तै प्रतीत हुन्थ्यो। त्यही भएर मैले निर्णय गरें — प्रवेश परीक्षा दिने र नाम निकाल्ने तर नपढ्ने, त्यसो भए म डराएँ भनेर अरूले त भन्न पाउने छैनन्। त्यतिबेला म ठीक यही नै सोच्थें।

म स्वाध्ययनमा जुटें। कोचिङ क्लासमा भर्ना हुन नपाउँदा मलाई चोट लागेको थियो। त्यसले झन् परिस्थितिलाई एउटा चुनौतीका रूपमा लिन बाध्य गरेको थियो। मेरा साथीहरू कोचिङ जाँदा म कोठामै पढथें, निकै नै नियमित र संयमित रूपमा। म दृढ-संकल्पित थिएँ। बेलुका कोठामा धेरै होहल्ला हुन्थ्यो, त्यही भएर म त्यो समयमा प्राय: सुत्थें र बिहान दुई-तीन बजे नै उठ्थें र पढ्न थाल्थें। मेरो रूटिन नै त्यही हुन गएको थियो।

अन्तत: मैले प्रवेश परीक्षा दिएँ र केही दिनमै त्यसको परिणाम पनि आयो। रिजल्ट हेर्न म पनि गएँ, भीडले लिस्टसम्म पुग्नै सकिनँ। साथीहरूले म टप फाइबमा रहेको खबर मलाई दिए। लिस्टको तलतिर नाम भेट्टाउनेहरू खुशीले नाँच्दै उफ्रदै थिए, तर आफ्नो नाम देशकै प्रतिष्ठित प्रवेश परीक्षामा टप फाइब भित्र पर्दा एक पटकसम्म पनि मुस्कुराउन सकिनँ। म भीडबाहिर एक्लै उभेर टोलाइरहें। मैले त्यस उपलब्धिलाई निरर्थक भने पनि त्यसले मलाई कलेजमा लगभग सेलेब्रिटी बनाइदिएको थियो, जता गए पनि चिन्ने-नचिन्नेको मुखबाट त्यो हप्ताभरि आफ्नै चर्चा सुन्थें, नचिन्नेहरूका मुखबाट पनि बढाइ-चढाइका आफ्ना ‘किंबदन्ती’हरू सुन्थें।

रिजल्ट सुनेर केही विद्यार्थीहरू मेरो नोट लिन वा त्यसको फोटोकपी गराउन आए, तर मसँग त्यस्तो नोट नभएको कुरा उनीहरूको अपेक्षा विपरीत मैले भन्नुपर्थ्यो। माइला दाइले कपीमा पहिला पेन्सिलले र पछि कलमले लेख्न सिकाउनुभएको थियो र प्रवेश परीक्षा तयारी गर्ने क्रममा प्राय: म त्यही नै गर्ने गर्थें। कागजलाई दुई चोटि त्यसरी प्रयोग गर्दा पैसा बचत हुन्थ्यो। हुँदा-हुँदा त म कपीको कुना-कुनामा समेत लेख्ने गर्थें र त्यही भएर उनीहरूलाई उपयोगी हुन सक्ने मसँग शायदै कुनै नोट थियो।

रिजल्ट पश्चात् भर्नाका लागि दुई दिनको समय दिइएको थियो। भर्नाका लागि लगभग पाँच हजार रूपैयाँ चाहिन्थ्यो, जुन कुरा मेरो हैसियत बाहिर थियो। मैले बुवालाई खबर गरे तापनि पैसाको व्यवस्था नहुनेमा म लगभग निश्चित नै थिएँ र त्यही भएर उत्साहित हुनुपर्ने कुनै कारण थिएन। भर्नाको पहिलो दिन म भर्ना भइरहेका विद्यार्थीहरूको उत्साहित भीड हेरेर बिताएँ। मेरा लागि स्याबासीको ओइरो लागेको थियो। त्यति बिघ्न चर्चित हुनुको कारण म त्यस कलेजका लागि स्थानीय भएको कारणले पनि होला। शायद पुल्चोक क्याम्पसका विद्यार्थीहरू आफ्नो कलेजको कसैले प्रवेश परीक्षामा त्यसरी सफलता पाएकाले गौरवान्वित भएका होलान्। भर्ना भएँ कि भनेर धेरैले सोध्थे र मेरो जवाफमा तिनीहरू चकित हुन्थे। दिनभरि म कलेज मै नयाँ विद्यार्थीहरूलाई हेरिरहें र साँझ मात्र कोठा फर्कें।

कोठामा फर्केपछि मेरो मन भित्र कतै न कतै उच्च शिक्षाको लोभ अँकुरित भएर आयो, इन्जिनियर बन्ने आफ्नो त्यो सपना पूरा गर्ने रहर उर्लेर आयो, र खास गरी जब त्यो सपना त्यति टाढा थिएन, पूरै हुन सक्ने गरी समीप थियो। इन्जिनियर बन्ने सपना धेरै पुरानो थियो, कलिलो दिमागले चिताएको कुरा थियो। म सानो छँदा र गाई चराउन जाँदा आफू इन्जिनियर बन्ने, र यसरी बन्ने, निकै नै आत्मविश्वासका साथ म साथीहरूलाई सुनाउने गर्थें। र त्यस मोडमा, जतिबेला त्यो सपना पूरै हुन सक्थ्यो, त्यो अवसर मेरो हातबाट फुत्किँदै गएको आभास हुन्थ्यो। म त्यो दिन निराश थिइनँ, मलाई नियतिसँग रिस उठेको थियो, मेरो गरीबीमाथि मलाई झोंक चलेको थियो। अर्कोतिर, म आफूलाई सान्त्वना पनि दिन्थें — फेरि आएर लडूलाँ, के भो त? तर ओभरसियरलाई इन्जिनियरिङको प्रवेश परीक्षा दिनबाट रोक्ने नियम आउनै लागेको पनि सुनेको थिएँ, र त्यो सम्झँदा असुरक्षित महशूस हुन्थ्यो। त्यो नियम मेरो सपनामाथि बज्रपात नै हुने थियो।

भर्ना हुने लोभ शायद केही हदसम्म जायज पनि थियो, तर म असहाय थिएँ, बेचैन थिएँ, र बेलुका घंटौसम्म कोठाको एक कुनादेखि अर्कोसम्म के-के बड्बडाउँदै घुमिरहें। अचानक ढोकामा कसैले ढकढकाएको आवाज सुनें। आफ्नो बाँझो सफलतामा स्यावासी दिन फेरि कोही आए भनेर सोच्दै ढोका खोल्दा त दीपक (साह) जी रहेछ। पैसाको कारणले म भर्ना नभएको उहाँले कसै गरी थाहा पाउनुभएछ र त्यही सोधखोज गर्न आउनुभएको रहेछ। तर त्यति पैसा त उहाँसँग पनि थिएन। उहाँ दिउँसै पैसा खोज्न पाटन क्याम्पसको एक जना लेक्चरर कहाँ जानुभएको तर त्यहाँबाट पनि पैसा त्यही दिन उपलब्ध हुन नसकेको कुरा पनि बताउनुभयो।

शुरूमा त मैले मद्दत लिन अस्वीकार गरिरहें, र मलाई भर्ना हुने र पढ्ने मन छैन भनेर ढिपी गरिरहें। मैले सोचें — कुरा एक पटकको त मात्र हैन, अहिले भर्ना गराउन पैसा छैन भने चार वर्षसम्म पढ्न कहाँबाट पैसा आउँछ? र त्यही भएर पढ्ने इच्छा हुँदा हुँदै पनि म जागिर नै खोज्ने भनेर पनि सोच्थें। तर दीपकजीले यो खाली मेरो व्यक्तिगत कुरा मात्र नभएर मधेशी समुदायको कुरा हो, मधेशी समुदायकै गौरवको कुरा हो, र मैले आफ्नो पढाइ जारी राख्नुपर्छ भन्दै सम्झाउनुभयो। यी तिनै दिपकजी थिए जसले मलाई नेपाल तराई विद्यार्थी नवजागरण संघको सदस्यता दिन आउँदा मधेशी-पहाडी केही हुन्न भनेर मैले झपारेर पठाएको थिएँ।

भोलिपल्ट भर्नाको दोश्रो र अन्तिम दिन थियो। बिहानै लेक्चरर कहाँ पैसा लिन फेरि जाने भनेर दीपकजीले भन्नुभएको थियो। र त्यो दिन उहाँले पैसा व्यवस्था गरेर ल्याउनु भयो। पैसा लिएर म भर्ना हुन गएँ, त्यहाँ भर्ना गराउन बसेका स्टाफहरू र लेक्चररहरू एक छिन आफ्नो काम छोडेर मनिर आए। हिजै किन न आएको, हामी कति खेर आउला भनेर पर्खेर बसेका थियौं, भनेर मायाले मलाई हकारे। मलाई पढाएका कुमुदिनी म्याडम र अर्का एक लेक्चररका बीच ‘मेरो विद्यार्थी, त मेरो विद्यार्थी’ भनेर चलेको बहसमा मौन रहनु नै मैले उचित ठानें।

भर्नाको केही दिनपछि ठूल्दाइ पैसा लिएर गाउँबाट आउनुभयो। बुवाले गाउँकै एक किसान गुदर काकाबाट पैसा ऋण लिएको थाहा पाएँ। मैले दीपकजीलाई पैसा फिर्ता दिएँ।

घर फर्कंदा र त्यहाँको हालत हेर्दा नोकरी खोज्नुको साटो इन्जिनियरिङ पढ्ने निर्णय गरेर ठूलै अपराध गरे झैं लाग्थ्यो। बुवाले ठूलै ऋण लिनु परेको थियो। ओभरसियर सकाएर नोकरी गरी उहाँलाई केही सघाउँला भन्ने उहाँको आशामाथि पानी फेरिएको थियो। अगाडि उभेका संघर्षका दुर्दिनहरू परिवारमा सबैले हेर्न सक्थे। तर गाउँमा केही हदसम्म खुशियाली थियो। केही गाउँलेहरू गाउँभरि चन्दा र चामल बटुलेर भए पनि मलाई अगाडि पढाउने भनेर तयार भए। इन्जिनियरिङ पढ्नु त्यतिबेला हाम्रो गाउँ र समाजको लागि निकै ठूलो कुरा थियो र त्यही भएर मेरो चर्चा सीमावारि मात्र नभई सीमापारि पनि हुन थाल्यो।

[GO TO CONTENTS]

१२. इच्छित इन्जिनियरिङ

इन्जिनियरिङ पढ्न पाउने अवसरलाई नि:सन्देह रूपमा मैलै गम्भीरतापूर्वक लिएँ। बुवाले पनि शुरूमै भन्नुभयो — पढाइ जारी राख, तर मलाई गोल्ड मेडल चाहिन्छ। कक्षामा प्रथम आउनु, कलेज वा यूनिवर्सिटीमा टप गर्नु, र गोल्ड मेडल पाएर दीक्षित हुनु उहाँको लागि राम्रै माने राख्थ्यो। उहाँ आफैं अब्बल विद्यार्थी हुनुहुन्थ्यो, र उहाँको प्रभाव पछिसम्मै कायम रहेको थियो। शिक्षक तालिमहरूमा समेत अझै बुवाले सर्वोच्च स्थान प्राप्त गर्नुहुन्थ्यो र कति पटक आफ्ना प्रमाणपत्र र प्रशंसापत्रहरू हामीलाई पनि देखाउनुहुन्थ्यो।

मेरा प्रशंसापत्र र मेडलहरू पनि उहाँले नै राख्नुहुन्थ्यो। एसएलसीका लागि प्राप्त मेडल उहाँले नै लिन जानुभएको थियो। मैले त्यो मेडल कहिले देख्न पाइनँ। घरमा त्यसबारे एक चोटि सोध्दा आमाले त्यो मेडल घरमा नभएको र त्यसलाई धितो राखेर बुवाले पैसा निकाल्नुभएको भनेर भन्नुभएको थियो। तर त्यो मेडललाई गलाएर बेचेको कुरा पनि मैले सुनें र त्यही भएर त्यसको चर्चा मैले फेरि कहिले गरिनँ, त्यस तुच्छ कुराको लागि बुवाको चित्त दुख्ला भनेर। यदि उहाँले गलाएर त्यसलाई बेच्नु नै भयो भने त्यसको सदुपयोग नै भएछ, भनेर सोचें। आखिर गरीब मान्छेको लागि मेडलको मूल्य त्यसले खरिद गर्न सक्ने चामलभन्दा धेरै हुन सक्दैन। बेचे के बिडम्बना भयो र?

इन्जिनियरिङमा झन् राम्रो गर्नु पर्ने दबावका कारणले म शुरूदेखि नै सतर्क थिएँ। प्रतिस्पर्धा निकै नै उग्र थियो। मेरो कक्षामा सेन्ट जेभियर्सबाट आएका विद्यार्थीहरू धेरै थिए, श्रेष्टतम् स्कूलहरूबाट पढेकाहरूको जमघट थियो। तैपनि सोचें — यदि म तिनीहरूलाई प्रवेश परीक्षामा साइन्सको सिलेवस हुँदाहुँदै पनि विना कुनै कोचिङ र ट्यूशन नै जित्न सकें भने अब किन सक्दिन? मसँग आत्मविश्वास थियो। त्यसका अलावा त्यति बेला म स्वेट मार्डेनका किताबहरू पढ्ने गर्थे। ओभरसियर पढ्दा ताका, निराशा र दु:खमा घेरिएको समयमा, ‘अपनेको पहचानो’ नामक उसको किताबले ममाथि राम्रै प्रभाव पारेको थियो र मेरा नशाहरूमा आत्मविश्वास पूरा फैलिएको थियो।

सानो छँदा सुनेको थिएँ — अंग्रेजले संविधान खोस्दा अम्बेदकरले पूरै संविधान आफ्नो स्मृतिबाटै पुन: लेखिदिएका थिए, राजेन्द्र प्रसादले दुइटै हातले परीक्षामा विना कुनै गल्ती यसरी लेखे कि उसको उत्तर पुस्तिका प्रदर्शनका लागि राखियो। ती कुराहरू साँचो-झूठो जे भए पनि त्यसले मलाई प्रभावित पारेको थियो र त्यस्ता गुणहरू म आफू भित्र पनि विकसित गर्ने कोशिस गर्थें। शायद त्यही प्रयासको कारणले हुनुपर्छ मैले पनि इन्जिनियरिङका केही परीक्षाहरूमा सयमा सय अंक ल्याउन सफल भएको थिएँ। अधिकांशमा उनान्सय वा अन्ठानब्बे मै चित्त बुझाउनुपर्थ्यो। ती परीक्षाहरू बस्तुगत नभएर विषयगत भएकाले जति राम्रो भए पनि परीक्षकले एक-दुई अंक त काटिहाल्थे, र शायद त्यो उचित पनि थियो। तैपनि कलेजमा मेरो चर्चा अपेक्षाभन्दा बढी नै चल्ने गर्थ्यो, मुख्यत: परीक्षामा त्रियानब्बे प्रतिशत ल्याएर टप गरेदेखि। त्यस सफलता पश्चात् म जस्तो कसैसँग त्यति नबोल्ने लजालु मान्छेलाई पनि पुल्चोक क्याम्पसमा मात्र नभई बाहिर समेत लोकप्रिय बनाइदिएको थियो।

तर त्यसका बाबजूद मसँग रंगभेदी दुर्व्यवहारको क्रम जारी नै रह्यो। त्यसबाट बच्न म अनेकानेक उपाय गर्थें। पहाडी जस्तै गोरो देखिन फेयर एण्ड लभली लाउँथे, उनीहरूसँगै उठबस गर्थें, उनीहरू झैं बोली-व्यवहार बनाउँथे। गितार किनेर उनीहरू झैं पप गीत पनि गाउन थालें। तैपनि मेरा सहपाठीहरूले म अफ्रिकाबाट आएको भनेर चिढाउँथे, अनुहार चाहिँ कोइला जस्तो नाम चाहिँ चन्द्र भनेर उपहास गर्थे। ती सबका बदलामा कुनै शब्द निकाल्नुको सट्टा म केवल मुस्कान नै दिन्थें।

कालो छालाका मान्छेहरू निम्न श्रेणीका हुन्छन् भनेर पहाडीहरूले हामीलाई विश्वास गर्न लाएका थिए। तिनीहरूले मधेशीलाई अछुत, अस्वीकार्य प्राणी बनाइदिएका दिए। तिनीहरू कालो छालाका कुनै मान्छे नै हेर्न सक्दैनथे। नेपाली सिनेमामै कति मधेशीहरू छन्? दार्जिलिङ, वर्मा, र भुटानबाट आएकाहरू सजिलै नायक-नायिका हुन्थे, तर मधेशीलाई कुनै नायक-नायिका वा मोडलका रूपमा हेर्नु एउटा टबू नै थियो। मधेशीहरू पर्दामा देखी हाले पनि भूत-प्रेतका रूपमा बच्चालाई डराउन आदि जस्ता भूमिकामा देखिन्थे। नेपालका रेडियो र टीभी च्यानलहरूमा मधेशीहरूमाथि रंगभेदी व्यवहार खुल्लमखुल्ला रूपले गरेको पाइन्छ। यस्ता दुर्व्यवहार पहाडीहरूको मनोरञ्जनको साधन हुने गर्दछ।

दुर्भाग्य नै भन्नुपर्छ एक्काइसौं शताब्दीमा पनि नेपाल भित्र छालाको रंगले यति धेरै महत्व राख्छ। यतिसम्म कि मधेशीहरू आफ्नो जीउ, आफ्नै रंगलाई घृणा गर्न बाध्य हुँदै आएका छन्। यही कारणले हो, मुटु कमाउने जाडोमा समेत म छात्रावासको अँध्यारा बाथरूममै नुहाउने गर्थें, अरू जस्तो छतमा वा बाहिर गएर घाम ताप्दै नुहाउने साहस गर्दिनथें। तिनीहरूले मलाई आफ्नै रूपरंगमाथि घृणा उब्जाइदिएको थियो।

कलेजमा अपमान, दुर्व्यवहार र भेदभावका अनगिन्ती क्षणहरू आए। ती नचुकाइकन यति नियमित रूपमा हुन्थे कि पछि कुनै आश्चर्य नै हुदैनथ्यो, हरेक ठाउँमा हरेक पटक। क्यान्टिनमा होस् कि टीभी हलमा, पसलमा होस् कि क्लासमा, अफिसमा होस् कि खेलमैदानमा, फोन उठाउँदा होस् कि पालेसँग कुनै जानकारी माँग्दा, हरेक क्रियाकलापका साथ नि:सन्देह रुपमा दुर्व्यवहार हुने गर्दथ्यो। हुँदाहुँदा मधेशीहरू त्यससँग यति अभ्यस्त भइसक्थे, आदी भइसक्थे कि केही महिनापछि मतलब गर्नै छोड्थे।

छुट्टीमा घर आउँदा गाउँलेहरूले मधेशी प्रतिको भेदभाव र दुर्व्यवहारका बारेमा सोध्थे। काठमाडौं वा पहाडमा बसेर फर्केकाहरूले प्राय: यथार्थ लुकाउँथे, आफ्नै साख कम होला भनेर। बहादुरीले कसैलाई पिटेको कुरा त बढाइ-चढाइ गरेर सबैले बखान गर्न चाहन्छन् तर आफ्नैपछाडि लात्ती परेको वा आफ्नो सामान बसमा पहाडीले फालिदिँदा धुरुधुरु रोएको कसले सुनाउन चाहला र? म पनि त्यसै गर्थें। अरूले झैं म बहादुरीका किस्साहरू पनि बनाएर भन्न सक्थें, तर म त्यसो गर्दिनथें।

एक पटक कलंकीमा बस समात्न जाँदा एउटा केटोले दिएको अफर नलिएपछि उसले मलाई मुखमै हिर्काएको थियो र ‘मधेशी भूत छतमा सूत’ भन्दै गाली गरेको थियो। मभन्दा झन्डै आधा कदका दुब्ला उसलाई मैले चाहेको भए शायद त्यही गोदेर सुताइदिन्थें। तर फेरि, त्यहाँ हेरिरहेका मान्छेहरूको अपेक्षा विपरीत केवल एक मुस्कान दिएर म अगाडि बढें। कसरी यस्ता घटनाहरूको बखान म आफ्ना गाउँलेहरू समक्ष गर्थें?

त्यसै गरी एक पटक सांस्कृतिक कार्यक्रममा मैले गीत गाउने योजना थियो। त्यसको लागि मैले नेपाली लोक-पप गीत नै चयन गरेर त्यसको तयारी गरें। मलाई थाहा थियो — भले पहाडीहरू दिनरात हिन्दी गीत नै सुनून्, भले हिन्दी फिल्म बाहेक जीवनमा अरू केही नहेर्दा हुन्, तर तिनीहरूलाई मधेशीबाट आएको हिन्दीको कुनै कुरा स्वीकार्य हुने छैन, र त्यही भएर नै गाउनका लागि मैले नेपाली गीतको नै चयन गरेको थिएँ। कार्यक्रम भव्य थियो र एउटा नृत्यपछि मेरो गीत राखिएको थियो। खासै बोलचाल नभए पनि प्रशंसक रहेकी सिभिलका एक महिला सहपाठीले कार्यक्रममा मेरो परिचय म कुनै ठूलो सेलेब्रिटी भए झैं दिदैं मलाई स्टेजमा आमन्त्रित गरिन्। तालीको ठूलो गडगडाहटले हल गुञ्जमान भयो, र आशा र उत्सुकताले भरिएका आँखाहरू स्टेजमा गडे। तर जसरी म स्टेजमा चढें, दर्शकको भीड कोलाहलमा परिणत भयो — ‘‘भैया आउट, भैया आउट, मर्सिया आउट” भनेर दर्शकहरू चिच्याउन थाले। तिनीहरू पक्कै नयाँ विद्यार्थी हुनुपर्दछ। म केही त आत्तिएँ। तुरुन्तै एउटा मीठो मुस्कान, जुन त्यो दिन धेरैले याद गरे, दिएर गीत गाउन थालें। केहीअगाडि शास्त्रीय संगीतको क्लास लिदैं गरेकोले हो कि, त्यो दिन गाएको राम्रै हुन गएछ र मान्छेहरूले खूब मन पराएछन्। त्यस वापतको प्रशंसा म हप्तौंसम्म पाइरहें। मलाई सम्झना छ, एकले भनेका थिए — गाली गर्दै गरेकालाई तिमीले त्यस दिन राम्रै जवाफ दिएर चुप गरेछौ।

इन्जिनियरिङको कोर्सभरि पनि मेरो गरीबी मजाकको कारक बनिरह्यो। ‘ए, उसको जुत्ता हेर, राजा जस्तो। ए, उसले त जुत्तै लाएको रहेनछ।’ आदि भन्दै साथीहरूले मजाक उडाइरहन्थे। कठाङ्ग्रिदो जाडोमा समेत जुत्ता नलगाई कलेज जान म बाध्य थिएँ। चप्पल नै लाउँथे जसले मेरा पैतालाहरू पूरा ढाक्न सक्दैनथे। आखिर सामान्य दाममा ठूला साइजका चप्पल पनि कहाँ पाइन्थ्यो र? जाडोले मेरा खुट्टाका औंलाहरू कठाङ्ग्रिन्थे।

ती दिनहरूमा कलेज जानका लागि मसँग प्राय: एउटै शर्ट-पाइन्ट हुन्थ्यो र वर्षभरि म त्यही नै लाउँथें। कहिलेकाहीं, खास गरी वर्कशप प्रैक्टिकलमा, शर्टमा अनपेक्षित रूपमा दाग लाग्ने गर्दथ्यो। पाँच-छ बजे कोठा फर्केपछि म तुरून्तै शर्ट धोएर रातभरिमै सुकाउँथें ताकि अर्को दिन म कलेज जान सकूँ। कहिलेकाहीं धारामा पानी हुँदैनथ्यो र अँध्यारो भए पनि म होस्टलको छतमा राखेको ट्यांकीबाट बचेखुचेको पानी बाल्टीले निकालेर शर्ट धुन्थें। पछि धेरै शर्ट हुँदा पनि प्राय: एउटै शर्ट धेरै दिनसम्म लाउँथें। पहिला गरीबी थियो र पछि शायद, बानी।

इन्जिनियरिङ पढ्दा हाम्रै ब्याचदेखि नयाँ छात्रवृत्तिको शुरुवात गरिएको थियो, गरीब तथा जेहेन्दार विद्यार्थीका लागि। पहिला पनि म छात्रवृत्ति पाउने गर्थें तर रकम एकदम सानो थियो। त्यसले क्यालकुलेटर र किताब-कपी त किन्न सक्थें, तर मासिक खर्चमा मद्दत पुग्दैनथ्यो। तर नयाँ छात्रवृत्ति सेमेष्टरका लागि पाँच हजार दिइन्थ्यो। पहिलो सेमेष्टरमा एउटा प्राइभेट बैंकको चेक मार्फत् छात्रवृत्ति दिइयो। म त्यो चेक लिएर पैसा लिन बैंक गएँ। आधुनिक र चिटिक्क परेको बैंकको भवनअगाडि रहेको गार्डले त शुरूमा मलाई छिर्नै दिएन। त्यस्ता ठूला कारोबार हुने बैंकहरूमा आम मधेशीको के काम, मधेशीको काम त शीशी-बोतल संकलन गर्नु, साइकलमा तरकारी बेच्नु न हो भन्दै शायद रोकेका होलान्। अन्तत: मैले चेक देखाएपछि मात्र छिर्न दिए।

मधेशीहरूलाई बैंकमा मात्र हैन, ठूला होटल र रेष्टुरेन्ट, एनजिओ/आइएनजिओका अफिसहरूमा समेत छिर्न मुश्किल नै हुन्छ। एकचोटि AIT को आवेदन फारम एउटा एनजिओको अफिसमा पाइन्छ भनेर थाहा पाएर त्यहाँ जाँदा जति प्रयास गरे पनि पालेले छिर्नै दिएन। आखिर फारम नलिइकनै म घर फर्केको थिएँ। त्यस्तै कलेजको वार्षिक पत्रिकाको सम्पादक रहेको बेला कलेज नजिकै रहेको एउटा आइएनजिओले पनि त्यो पत्रिकामा विज्ञापन छपाएको थियो, र त्यही भएर त्यसलाई एक कपी पत्रिका छोड्न र भए विज्ञापनको पैसा संकलन गर्न म त्यस आइएनजिओ भित्र जान खोज्दा जति सम्झाए-बुझाए पनि पालेले गेट भित्र जानै दिएन। अन्त्यमा तुरुन्तै मैले एउटा पहाडी साथीलाई जान लगाएँ र उसले नै भित्र गएर सारा काम गर्यो। त्यस्तै गत वर्ष नेपाल गएको बेला शीशाका ढोकाहरूद्वारा सुसज्जित काठमाडौंको एउटा किताब पसलमा म दोश्रो तल्लामा जान खोज्दा एउटीले ‘उपर कुछ नहीं है’ भन्दै हप्काएर रोक्न खोजेका थिए, अटेर गर्दै म त्यहाँ गएर आफूले खोजेको किताब लिएरै फर्केको थिएँ। यी अनुभवहरूले गर्दा नै होला मलाई शीशाका ढोकाहरूसँग एक किसिमको डर, र परायापन, महशूस हुने गर्दथ्यो।

ती दिनहरूमा काठमाडौंमै मजदुर रहेका मेरो गाउँका चन्द्रदेव खंग मलाई भेट्न आइरहन्थ्यो। ऊ अछुत जुलाहा थियो, र ममाथि उसका धेरै आशाहरू टिकेका थिए। बुवाले पैसा समयमा पठाउन नसकेको बेलामा उसले पटक पटक मलाई पैसा दिएर मद्दत गर्दथ्यो। बुवाले भाउजूको समेत गर-गहना राखेर ऋण लिनुभएको थियो। भाउजुलाई उहाँका बा-आमाले दिनुभएको भैँसी समेत मलाई पढाउन बेचिएको खबर मैले थाहा पाएँ।

खर्च बढेकाले मैले ट्यूशन पढाएर केही पैसा कमाउने बारेमा पनि सोचें, यद्यपि आफ्नो पढाइबाटै समय बच्दैनथ्यो। मेरा एक जना साथीले पाटनको एउटा ट्यूशन सेन्टरमा कुरा गरेर व्यवस्था मिलाए। त्यहाँ जाँदा दुई किशोरीहरूलाई गणित पढाउने जिम्मा दिइयो, र तिनीहरूसँग मेरो परिचय गराइयो। त्यसदिन कहिलेदेखि र कुन बेला पढाउने भनेर टाइमटेबल निर्धारण गरेर म फर्किनै लागेको थिएँ। भर्यांङ्गतल आइपुग्दा सेन्टरको स्टाफसँगको केही काम याद आयो र म फेरि उक्लें। ‘मर्सिया बाहेक जोसुकै कोही’ — किशोरीहरू स्टाफसँग ढिपी गर्दै थिइन्। स्टाफ र म आमुने-सामुने थियौं, ती किशोरीहरू तिनीहरूपछाडि म उभेको चालै पाएनछ। स्टाफको मुख रातो थियो, र उनी अवाक् थिइन्। म केवल धन्यवाद भनेर फर्कें र पुन: त्यहाँ गइनँ।

सबै दुर्व्यवहारका बाबजूद म दिन प्रति दिन अझ बढी आत्मसंयम नै देखाउन थालें। एक पटकको छुट्टीमा म आफ्नो रूममेटसँगै खाना बनाएर खाने गरेको थिएँ। एक पटक मेरो रूममेटले मेरो लागि लगाएको खाना खाँदै जाँदा त्यसमा अमलेटका टुक्राहरू मैले भेटें। त्यतिबेला म पूर्ण शाकाहारी वा ‘वैष्णव’ थिएँ र त्यो भन्नु भनेको गाउँघरमा माछा-मासु-अंडाले छोएको पनि खासमा खान हुँदैनथ्यो। अमलेटको टुक्रा देख्नासाथ मैले खान छोडें, चुपचाप केही नभनिकनै उठें र खाना फालेर थाली धुँदै किताब लिएर होस्टलको छतमा गएँ। रूममेटहरूले के भएको भनेर थाहा पाएछन्, र खाना खाइसकेपछि, एउटाले मलाई जोर-जोरले गाली गर्न थालेछ, कराउन थालेछ। कहिले ढोका ढ्याम्म खोल्दै, त कहिले टेबुल ठठाउँदै त कहिले कुर्सीलाई यताउता बजार्दै नानाभाँति गाली गर्दै ऊ यताउता दगुर्न थालेछ। म एकचोटि कोठा फेरि फर्केको थिएँ, र उसको हिंषात्मक रूप देखेर केही नराम्रो होला कि भनेर शंका लागेको थियो। मैले अलिकलि पनि प्रतिक्रिया देखाइन। उसले एक घंटा भन्दा बढी उग्र ताण्डब गरे पनि मैले पटक्कै कुनै चासो देखाइनँ। अन्तत: ऊ चुप लाग्यो। उसले त्यसरी गाली गरे बापत कहिले क्षमा नै त माँगेन, तर पछि लाज र आदर मिश्रित भावले म त गांधी नै हो भनेर म र अरूकहाँ भन्ने गर्थे।

म त्यतिबेला आत्मनियन्त्रणका विभिन्न उपायहरूको पनि अभ्यास गर्ने गर्थें र तिनीहरूले पनि आत्मसंयम राख्न मलाई निकै मद्दत पुर्‍याएको थियो। म मौन व्रत पनि लिने गर्थें, तर पूर्णरूपले नभई आंशिक रुपमा मात्र। कम बोल्नाले आत्मनिरीक्षण गर्ने मौका मिल्छ भन्ने विश्वास थियो। त्यही भएर म दिनको बढीमा एक सय वा एक सय पचास शब्द मात्रै बोल्ने बनेर व्रत लिन्थें र त्यसलाई अनुशरण गर्थे। म छात्रावासमा बस्थें र सिनियर वा साथीहरूबाट बच्न सकिन्नथ्यो र भेट हुँदा बोल्नै परिहाले भने त्यसको लागि मैले ती शब्दहरूको कोटा राखेको थिएँ। पूर्णरूपले मौन भएमा ठूलो बखेडा नै खडा हुन सक्ने सम्भावना थियो र त्यस्तो मौनव्रत बहुचर्चाको विषय बन्न पुगी त्यसबाट फाइदाभन्दा हानी नै पुग्नेथ्यो।

म योग र सोच नियन्त्रणका उपायहरूको पनि अभ्यास गर्ने गर्थें। बिहान रूममेटहरू उठ्नु अगावै म हिप्नोटिज्मका किताबबाट सिकेका शक्ति चक्र र त्राटकहरूको अभ्यास गर्थें। राती मैनबत्ती बालेर ज्योति त्राटकको अभ्यास गर्थें। कहिलेकाहीं साथीहरूले त्यसको मजाक पनि उडाउँथे। भित्तामा ऐना झुन्ड्याएर दृष्टिलाई एकोहोरो टिकाउँदै प्रतिबिम्ब त्राटकको अभ्यास गर्ने गरेको चाल पाएका छेउको कोठाको साथीले मैले त आँखाको ज्योतिले नै भित्ता छेडेर उसले कति पढ्यो भनेर हेर्न खोजेको भनेर जिस्क्याउँथे।

त्यसका अलावा दर्शनका कुराहरू गर्न मेरा साथीहरूको मिल्ने समूह पनि थियो। ओशो र कृष्णमूर्तीका विचारहरूमाथि प्राय: हाम्रो बहस हुन्थ्यो। अरस्तुदेखि हेगल र कान्तका लेखाइहरू म लाइब्रेरीको एकान्तमै पढ्थें।

छुट्टीहरूमा घर फर्कंदा म भोकभोकै बसेका हजुरआमाहरू, दाइजो दिन नसकी विवाह हुन नसकेका बहिनीहरू, परदेशबाट श्रीमान्‌ले पैसा पठाइदिने आशाले आँखा ओछ्याएका काकी-भाउजूहरू, छोरा-छोरीलाई खुवाउने चिन्ताले ग्रस्त बेरोजगार कामदारहरूले घेरिएको हुन्थे। तिनीहरू हरेकका साथमा केही भए-नभए पनि सुनाउनका लागि आफ्ना कथा-व्यथा हुन्थे, म तिनीहरूसँगै भूईंमा बसेर तिनीहरूको कुरा सुन्थें। कतिले आफ्नो घरबार बन्धक भएको, आफ्नो डीह डुब्नै लागेको भनेर सुनाउँथे। पहाडबाट राजबिराज झरेका लूईंटेल थर भएका एक पहाडीसँग अधिकांशले आफ्नो गरगहना र जग्गाजमीन धितो राखेर ऋण उठाउने गरेका थिए, बुवाले पनि धेरैपटक उसैसँग ऋण उठाउनुभएको थियो। थाहा छैन, गाउँलेहरू ममा के देख्थे — कुनै मुक्तिदाता कि दु:खहर्त्ता, तर म असमर्थ थिएँ तिनीहरूको लागि केही गर्न। म केवल तिनीहरूको कुरा सुनिरहन्थें।

गाउँका शिक्षित र योग्य युवाहरूमा पनि बेरोजगारीको समस्या विकराल थियो। कसैले नयाँ जागिर पाउने कुरा त परको थियो, पहाडमा काम गरिरहेका मधेशीहरूलाई समेत सरकारले स्थानीयलाई प्राथमिकता दिने ‘नियम’ बनाई एकपल्ट समूहगत रूपमा निकाल्दा मेरो गाउँका पनि धेरैको नोकरी छुटेको थियो। नोकरीबाट निकालिएपछि आफ्नो जीवन धान्न नसकेका मेरा एक टाढाका नातेदारले उत्तर-पश्चिमको खेतबीच रहेको हाम्रै आँपको रुखमा झुन्डिएर आत्महत्या नै गरे, रुखमा झुन्डिरहेको उनको लाश मैले बिर्सन सकेको छैन। त्यसै गरी मलाई औधी नै माया गर्ने एक जना दाइले पनि झुन्डिएर आत्महत्याको प्रयास गर्नुभयो, तर संयोगवश एउटा छिमेकीले समयमै देखेर हतपत पासो काट्न भ्याएछ। उहाँलाई हेर्न जाँदा उहाँको मुखबाट अविरल फिँज निस्किरहेको थियो, उहाँले आफ्ना बन्द हुन आतुर विवश नजरले मलाई हेर्दा मैले आफ्नो आँसुलाई रोक्न नसकेको क्षण पनि म कहिले बिर्सन सक्तिन।

[GO TO CONTENTS]

१३. ढोकापछाडि

ऋतिक रोशन काण्ड हुँदा म इन्जिनियरिङको अन्तिम वर्षमा पढ्दै थिएँ। त्यस क्रममा भएको अनियन्त्रित व्यापक रंगभेदी आक्रमणले मेरो जीवनमा पीडादायक घाउ छोडेर गएको थियो, र मानवतामाथिको मेरो आस्था डगमगाएको थियो। सडकमा दङ्गा शांत भइसकेको थियो, तर त्योभन्दा उग्र दङ्गा मान्छेको मन भित्र पैदा भएको थियो। मानव स्वभावका बारेमा त्यस घटनाले मेरो मष्तिष्कमा प्रगाढ संशय पैदा गरिदिएको थियो, र मित्रतामाथिको मेरो विश्वास चकनाचुर। आखिर मान्छे पहिला पशु नै हुँदा रहेछन्, मैले केवल त्यही निचोड निकाल्न सकें। कुनै गोहीको मुखबाट बचेर भागेको घायल प्राणी जस्तै म अनुभव गर्थें। त्यस घटना पश्चात् — दोस्त हुन् वा दुश्मन — मानवबाट मलाई डर लाग्थ्यो, र त्यही भएर म आफूलाई एकान्तमा डुबाएँ।

हावामा फोकाहरू उठे झैं मेरो मन भित्र अनेकौं प्रश्नहरू एक साथ उब्जिन्थे, र उत्तरित हुन नपाउँदै फेरि बिलाउँथे। अचल पलकहीन नयनहरूअगाडि प्रश्नहरू सरर आउने गर्थे। तिनीहरूले मलाई दिनरात घेरिरहन्थे। कुनै अर्को देशमा कुनै ठिटोले नेपालका बारेमा केही बोल्यो अरे भन्दैमा त्यसको लागि मधेशीहरू किन जिम्मेवार हुनु पर्ने, त्यसको लागि मधेशीहरू किन पिटिनु पर्ने, त्यसको लागि मधेशीहरूको घर र पसल किन जलाइनु पर्ने, त्यसको लागि मधेशीहरूको नागरिकता किन च्यातिएर फालिनु पर्ने आदि प्रश्नहरूको ताँती लागिरहन्थ्यो। वाणीहीन, म एकान्तसँग सान्त्वना माँगिरहन्थें।

पछि महेश र बसन्तले मधेशका स्थानीय पत्रपत्रिकाहरूमा छापेका समाचारहरूको कटिङ्ग संकलन गरेर ल्याइदिएका थिए। तिनीहरू पढ्दा मन झनै टुटेर आयो। राष्ट्रिय भनाउँदा काठमाडौंका पत्र-पत्रिका र मिडियाहरूले मधेशीहरूमाथि भएको व्यापक आक्रमणको समाचार दिएकै रहेनछ भन्ने देखियो। तिनीहरूले सत्यलाई ढाक्न हरसम्भव प्रयास गरेका थिए। बसन्त, महेश र अन्य साथीहरूले मैले ऋतिक रोशन काण्डको विषयमा किताब लेखूँ भनेर चाहेका थिए र त्यही भएर नै तिनीहरूले सबै समाचार र फोटोहरू संकलन गर्दै दिइरहेका थिए। मलाई चाहिँ कहिले लेखूँ जस्तो लाग्थ्यो त कहिले फेरि पछि हट्थें। सोच्थें, मलाई त पूरा विश्वको बारेमा सोच्नुपर्ने, जीव र जीवनको बारेमा सोच्नु पर्ने, आत्मा र परमात्माको बारेमा सोच्नु पर्ने, मानव र मानवताको बारेमा सोच्नुपर्ने, म कसरी मधेशीहरूको बारेमा सोचूँ? त्यसो गरेर म संकीर्ण मानसिकतामा बाँच्न खोजिरहेको त छैन? मलाई त धेरैले समदर्शी भन्छन्, आध्यात्मिक गुरुका रूपमा मान्छन्, म कसरी मधेशीहरूको मुद्दा लिएर अघि बढूँ, कसरी मधेशीको लागि आवाज उठाऊँ? म कसरी आफूलाई मधेशी मानूँ? तर फेरि त्यहीं अर्को कुरा पनि उठ्थ्यो। यदि महात्मा बुद्धलाई ‘कहाँबाट आएको तथागत?’ भनेर सोध्दा उनले मध्यदेशबाट आएको भनेर परिचय दिन्छन्, आफू मधेशी भएको परिचय दिन्छन् भने मलाई मधेशीको परिचय किन बोझ? के म बुद्धभन्दा ठूलो समदर्शी बन्न पुगेको छु?

घटनापछि कलेज खुल्दा वातावरण सामान्य थिएन। पहाडी विद्यार्थीहरू अझै मधेशीमाथि आक्रमण गर्ने गर्थे। केही केसहरू कलेज प्रशासनसम्म पुगेको कुरा पनि सुनें। तर प्राय: मधेशीहरूले आफूमाथि भएको आक्रमण वा भेदभावको कुरा प्रशासनसम्म लैजाँदैनथे, त्यसो गर्नु भनेको आफ्नै भविष्यलाई अन्धकारमा धकेल्नु नै थियो। आखिर प्रशासन पनि त ती पहाडीहरूकै थियो, र तिनीहरूको रबैया पनि त त्यही नै थियो।

मेरो क्लासमै पनि सहपाठीहरू अझ उदण्ड भएका थिए र दुर्व्यवहार गर्ने क्रम बढ्दो थियो। त्यही साथीहरू जोसँग म रात-दिन बस्थें शैतान भएर प्रकट हुन थालेका थिए। एक दिन क्लास जाने क्रममा भर्‍याङ्गमै मेरा केही सहपाठीहरूले मलाई घेरे, र नानाथरी रंगभेदी गालीहरू गर्दै, नारा लगाउँदै अपमान गर्न थाले। चारैतिरबाट तिनीहरूले घेरेकाले म उम्केर भाग्नै सकिनँ, भाग्न खोज्दा समातेर फेरि घेरिहाल्थे। तिनीहरू तिनै साथी थिए जो मसँग क्यान्टीन, लाइब्रेरी र क्लासमा एउटै टेबलमा वा सँगै बस्ने गर्थे। पछाडिबाट केटीहरूको समूह आएपछि तिनीहरूले बाटो छोड्दा मात्र म त्यहाँबाट उम्कन सकेको थिएँ। म भागेर सीधै क्लास गएँ। ती केटीहरू मेरा जुनियर थिइन् र मलाई चिन्थिन्। तिनीमध्ये एक त हाम्रो क्लासरूमसम्मै हेर्न आएकी थिई, शायद मेरो प्रतिक्रिया के छ भनेर। म शून्य मष्तिष्क र क्षुब्ध अनुहार लिएर प्रथम बेन्चमै बस्न पुगेको थिएँ, तिनलाई देख्नासाथ सामान्य हुने कोशिस गरें।

दु:ख लाग्दो कुरा के थियो भने त्यस रंगभेदी आक्रमणहरूमा विद्यार्थीहरू एक्लै थिएनन्। ऋतिक रोशन घटना पश्चात् एक जना प्रोफेसरले मतिर इंगित गर्दै भनिन् — ‘यी धोतीहरूले हाम्रा अपरचूनिटी खोसेर लिन्छन्, हुँदा-हुँदा त कलेजमा समेत आएर टप गर्छन्।’ उनको कुरा सुनेर म चकित भएँ। ती शब्दहरू हामीलाई ज्ञान दिने भलाद्मी प्रोफेसरबाट आइरहेको थियो, सीधै ममाथि लक्षित थियो, र अझ त्यो पनि पूरै क्लासअगाडि भनिएको थियो। त्यो सुनेर पूरै क्लास हाँसोले भरिएको थियो, त्यतिबेला मैले केही सोच्न सकिनँ र आफ्नो शिर बेन्चतिर निहुराएँ। त्यो हाँसोको गुञ्जाइ आज पनि राम्ररी सम्झन्छु म। पछि कहिलेकाहीं लाग्थ्यो — म पनि सुभाष चन्द्र बोस जस्तै त्यसको प्रत्युत्तर दिए हुन्थ्यो भनेर, तर बुवासँग गरेको वाचा र आफ्नो भविष्यको बारेमा सोच्दा संयमता देखाएर कुनै गल्ती गरेको जस्तो लाग्दैनथ्यो। तैपनि केही नगरेकोमा बिझ्थ्यो अवश्य। त्यस्तै एक अर्का प्रोफेसर पनि थिए जो क्लासअगाडि नै आमाकै नाउँमा गाली गर्थे। म सोच्थें, यदि हाम्रा प्रबुद्ध प्रोफेसरहरू, देशका श्रेष्ठ शिक्षित वर्गहरू, मधेशीका बारेमा यसरी सोच्छन्, उनीहरूसँग यसरी रंगभेदी दुर्व्यवहार गर्छन् भने अरूबाट के आशा गर्न सकिन्छ? त्यसले शिक्षामाथिको मेरो आस्थामाथि पनि प्रश्न चिन्ह खडा गर्थ्यो। लाग्थ्यो, शिक्षाले आजकल डाक्टर, इन्जिनियर, मेकानिक र कारीगर मात्र बनाउन सक्छन्, असल मानव होइन।

कलेज प्रशासन र प्रोफेसरहरूले विद्यार्थीलाई मात्र हैन, कर्मचारीहरूलाई पनि आफ्नो शिकार बनाएका थिए। हाम्रो डिपार्टमेन्टमा एक जना निकै नै मिहिनेती मधेशी स्टाफ थियो, चौधरी भन्ने। मैले निकै नै आदर गर्ने एक जना प्रोफेसर ऊमाथि एक दिन निकै नै रिसाउनु भएछ। शायद चौधरीको साइकिल र सरको गाडी पार्किंग गर्ने कुरामा केही यताउता भएको रहेछ। सरले त चौधरीलाई झन्डै कुट्न लाग्नुभएको थियो। उहाँलाई अरु सर र स्टाफहरूले घेर्दै बेस्सरी तानेर अलग लग्दै थिए, छोडिदिन आग्रह गर्दै थिए। हातखुट्टा अरूले समाते पनि उहाँ चाहिं नानाथरी गाली गर्दै हुनुहुन्थ्यो। केही विद्यार्थीहरू पनि त्यहाँ मौजूद थिए र निकै नै हिंषात्मक रूपमा प्रकट भएको सरलाई हेर्दै थिए। सरको आवाज मेरो कानमा पछिसम्म गुञ्जिरहन्थ्यो — ‘धोती, साले मर्स्या, फाल्दिन्छु, हेर्ने हो मेरो पावर?’

त्यस किसिमका दुर्व्यवहार जहाँतहीँ भइरहँदा कलेजको जीवन पछिल्ला दिनहरूमा पटक्कै रमाइलो थिएन। अन्तिम वर्षभरि म लो-प्रोफाइल मै बसें, कमै देखिन्थें, कमै बोल्थें, कतै जान्नथें। कहिलेकाहीं भावनाको आवेगमा पनि आउँथें। त्यति बेला म कोठामा एक्लै बस्थें, मेरो रूममेट आफ्नो परिवारसँग बाहिरै बस्न थालेको थियो। कहिलेकाहीं त्यही पुराना साथीहरूसँग बस्ने कोशिस गर्थें, तर दङ्गा ताका मैले देखेको तिनीहरूको कुपित अनुहार र दानवातार सम्झँदा बिझ्थ्यो। म आफ्नो ढोका प्राय: छेस्किनी लगाएर बन्द नै राख्थें।

भित्र-भित्रै म ती अपमान, दुर्व्यवहार, आक्रमण र भेदभावको आगोमा उम्लिन्थें, मन हिंषात्मक नै हुन्थ्यो। तैपनि बाहिर शान्त देखिने मेरो बाध्यता थियो। त्यही नै मबाट अपेक्षा गरिन्थ्यो। साथीहरूले सँधैं भन्ने गर्थे — ‘सीके त विशाल समुद्र हो, उसलाई कहाँ व्यग्र पार्न सकिन्छ र?’ र म तिनीहरूको अपेक्षा अनुरूप बाँच्न बाध्य थिएँ, उनीहरूले भिडाएको महानताको ताज बचाउन। मेरो यही द्विविधा कलेजको पत्र लेखन प्रतियोगिताको लागि लेखिएको ‘शान्तिका अग्रदूत गौतम बुद्धलाई एक पत्र’ मा पनि देख्न सकिन्छ, जुन पत्र प्रथम पुरस्कार पनि जित्न सफल भएको थियो (हेर्नुस्, परिशिष्ट क)। ती द्विविधाहरू ऋतिक रोशन काण्डपछि हट्दै गएको थियो, र त्यही भएर पछि मैले ‘तब बुद्ध बन्दुक उठाने पर मजबूर हो जाते हैं’ कविता लेखेको थिएँ।

ऋतिक रोशन घटना पूर्व पनि म पहाडी साथीहरूसँग बिरलै फरक मत राख्न सक्थें, तर त्यसपछि त उनीहरूको हरेक कुरामा सहमत हुनु मेरो बाध्यता नै थियो, र त्यो उनीहरू प्रति आफ्नो वफादारी साबित गर्ने र आफू नेपाली भएको दाबी गर्ने आधार नै। कहिले फरक कुरा भनेमा ‘आखिर जात देखाइहाल्यो’ भनेर तिनीहरूले भन्थे।

साथीहरूले पर्दापछाडि के कुरा गर्थे र के-कस्ता योजना बनाउँथे, मैले त्यति मतलब राखिनँ। तर तिनीहरूको योजना कहिलेकाहीं बाहिर आउँथ्यो अवश्य। लगातार कलेजमा टप गरिरहँदा शायद म उनीहरूको आँखामा बिझ्थे र मलाई सफाया गर्न तिनीहरूले एकपछि अर्को योजना बनाउँथे। त्यसमा मलाई सबभन्दा रोचक, र हास्यास्पद, पिकनिक वा घुम्न जाँदा मलाई फकाएर बसको हुडमा चढ्न लाउने र पहाडी चट्टाननिर त्यहींबाट धकेल्ने भन्ने योजना लागेको थियो।

छात्रावासमा पनि व्यवस्थापनका समस्याहरूमाथि बहस गर्न अनौपचारिक बैठकहरू भइरहन्थे। म छात्राबास प्रशासनको हिस्सा नभए पनि म नजिकै भएको खण्डमा साथीहरूले मलाई त्यसमा सामेल हुन दिन्थे, कहिलेकाहीं त बोलाउँथे पनि। ऋतिक रोशन घटनापछि प्रशासनमा विद्यार्थी प्रतिनिधि रहेका मेरा एक मित्रले एक पटक प्रस्ताव राखेछन् — ‘सबै मधेशीलाई हिटलरले यहूदीलाई खतम पारें झैं च्याम्बरमा जलाएर सिध्याउनु पर्छ।’ शायद उसले ख्याल गरेनन् म त्यहाँ बैठकमा थिएँ भनेर वा उनले त्यो प्रस्तावमा कुनै गल्ती देखेनन्। छात्राबासको वार्डेनको पनि त्यस किसिमका ‘सफाइ’ अभियानमा निकै नै समर्थन रहन्थ्यो। छात्राबासको वरान्डामा वार्डेन आफ्ना स्टाफ लिएर सैनिक मार्च गरे झैं हिँड्थे। वार्डेन, गार्ड र पहाडी विद्यार्थी प्रतिनिधिहरू ‘मधेशीहरूलाई सबक सिकाउने र तिनीहरूको वास्तविक घर देखाएरै छाड्ने’ अभियानमा राम्ररी नै जुटेका थिए।

स्नातकको अन्तिमतिर म निरन्तरको अन्तर्द्वन्दमा पिल्सेर बाँचिरहें, यतिसम्म कि, लाग्थ्यो जीवन केवल अन्तर्द्वन्दहरूको श्रृङ्खला हो, र मानौं अन्तर्द्वन्द सकेपछि जीवनको अस्तित्व पनि मेटिएर जानेछ। निमिष भरिको पनि शान्ति पाउने अभिलाषामा छतमा गएर म सगरको विस्तृणतालाई घंटौंसम्म नियाल्थें, सेता बादलहरूले आफ्नो कला देखाउँदै बनाउँदै गरेका आकृतिहरूमा हराउँथें, प्रोफेट र गीताञ्जलीका शब्दहरूमा घोत्लिन्थें।

म अधिकांश पहाडी साथीहरूसँग टाढिन पुगेको थिएँ। ती साथीहरू जसले कुनै दिन मसँग एक तस्वीर खिचाउन पाउँदा गौरवको अनुभूति गर्थे, ती साथीहरू जो म विना क्यान्टिन वा लाइब्रेरी जाँदैनथे, तिनै साथीहरूले अरू सहपाठीहरूलाई आफ्नो घर बोलाउँदा मलाई बोलाउने चेष्टा गरेनन्। तैपनि मैले सोचें यो उनीहरूको व्यक्तिगत कुरा हो र ध्यान दिइनँ। हुन सक्छ, तिनीहरूले मेरो भलाइका लागि नै मलाई नबोलाएको होस्। किनकि मधेशीहरू कुनै पहाडीको घरमा निम्तोमै जाँदा पनि अपमान र दुर्व्यवहारको शिकार हुनुपर्थ्यो, र मेरा प्यारा साथीहरूले, हुनसक्छ, त्यसबाट बचाउन मलाई बोलाएनन्। पहाडी कर्मचारीहरूले आफ्ना मधेशी हाकिमलाई घर बोलाउँदा हाकिम अपमानित हुनु परेका कैयन् घटनाहरू मैले सुनेको थिएँ। कर्मचारीले हाकिमको परिचय दिनु अगावै मधेशी हाकिमको छालाको रंग देखेर नै त्यहाँ भएकाहरूले अपमान र दुर्व्यवहार गरिसकेका हुन्थे, रोक्न पनि कतिलाई रोक्नु? त्यही भएर घर नबोलाएर मेरा मित्रहरूले ममाथि उपकार नै गरेको ठानें।

स्नातकको पढाइ सकिनै लाग्दा मैले फेरि दबावको अनुभव गरें, अब स्नात्तकोत्तर गर्न। टपर भएको नाताले कसैले पनि म नेपाल भित्रै बस्ने अपेक्षा गर्दैनथे। मान्छेहरूले मेरो योजनाका बारेमा सोध्थे, कुन-कुन यूनिवर्सिटीमा आवेदन दिएँ भनेर सोध्थे। शुरूमा अरूले झैं म पनि अमेरिकाको यूनिवर्सिटीहरूमा भर्ना सम्बन्धी जानकारी इन्टरनेटबाट लिइरहेको थिएँ, तर आशा विपरीत, मैले देखेका प्राय: ठाउँहरूमा आवेदन शुल्क राखेको हुन्थ्यो, र शुल्क देख्ना साथ म त्यो साइट नै बन्द गर्थें। आवेदन शुल्क तिर्ने मेरो हैसियत थिएन। मलाई पूर्ण छात्रवृत्ति चाहिएको थियो, त्यो पनि त्यस्तो जसमा सबै शुल्कहरू मात्र छुट नहोस्, बल्कि जसले मेरो आउने-जाने टिकट र खाने-बस्ने खर्च पनि देओस्। अमेरिकी यूनिवर्सिटीहरूमा TOEFL र GRE को स्कोर पनि माँगेको हुन्थ्यो। TOEFL को परीक्षा दिन मात्र करिब दश हजार लाग्थ्यो! त्यतिले त म छ महिनै आफ्नो खर्च चलाउन सक्थें। मसँग TOEFL र GRE का किताबहरू भए पनि त्यसको रजिष्ट्रेशन शुल्क तिर्न म असमर्थ थिएँ। कलेजमा टप गर्दा विद्यार्थीहरूको संस्थाबाट छुट्टै चार हजारको पुरस्कार पनि पाउँथे, जस बराबर मैले किताब नै किन्नुपर्थ्यो। त्यही पुरस्कारबाटै मैले ती किताबहरू किनेको थिएँ। त्यो पुरस्कारका कारणले स्नातक पढ्दा मन परेको किताब किन्न मलाई पहिला झैं अप्ठ्यारो भएन, सजिलै किन्थें। ओभरसियर पढ्दा ताका कति किताब त म सरस्वती बुक सेन्टर मै सरसरती पढथें, मलाई याद छ कृष्णमूर्तीको ‘द यिर्‌ज अफ अवेकेनिङ’ मलाई निकै नै मन परे पनि किन्न सकेको थिइनँ, र पटक-पटक पसल जाँदा त्यसको लगभग आधी त मैले त्यहीं पढन भ्याएको थिएँ। पछि त्यही पुरस्कारबाट मैले त्यो किताब पनि किनें।

मैले सन् २००१ मा इलेक्ट्रोनिक्स इन्जिनियरिङबाट स्नातक पूरा गरें। अन्तिम परीक्षा हुनु अगावै नै मसँग तीन-चार जागिरहरूको अफर थियो, त्यसमध्ये केही भर्खरै खुलेका इन्जिनियरिङ कलेजका थिए भने केही सफ्टवेयर कम्पनीका। एउटा निजी कलेजको प्रिन्सिपल मलाई खोज्दै छात्रावासमै गाडी लिएर आएका थिए। जागिरको अफर त्यसरी आउनु त्यतिबेला एकदमै अनौठो कुरा थियो, र त्यही भएर म कहाँ अफर आएको देखेर कलेजमा सबै चकित भएका थिए। कलेजमा जताततै त्यसको कुरा हुन्थ्यो, मेरा सहपाठीहरू एकान्तमा बोलाएर अफरबारे मसँग सोध्थे, कतै साइन गर्नु पूर्व नै बधाई दिन्थे। बेरोजगारी निकै नै विकराल थियो, हाम्रै सिनियरहरू पनि जागिर पाउनका लागि निकै नै संघर्षरत थिए, यताउता आवेदन र अन्तर्वार्ता दिइरहन्थे। र त्यही भएर अफर आउनु मेरो लागि पनि आश्चर्य र गौरव दुइटैको विषय थियो। साइन गर्नु पूर्व मैले बुवालाई पनि सोधें। दाइहरूको लामो बेरोजगारी झेल्नु भएका उहाँले तुरून्तै एउटा अफर स्वीकार्न भन्नुभयो, उहाँलाई ठूलै राहतको अनुभूति भयो। अन्त्यमा मैले एउटा कलेजमै कम्प्युटर इन्जिनियरिङ विभागको विभागीय प्रमुखका रूपमा साइन गरें।

[GO TO CONTENTS]

१४. मधेशी मास्टर

फाइनल परीक्षा सकेपछि म इन्जिनियरिङ कलेजमा पढाउन थालें। कलेज चल्न थालेको वर्ष दिन मात्र भएकाले नयाँ-नयाँ प्रयोगशालाहरू सेटअप गर्न र सबै कुरा मिलाउन अलि बढी नै व्यस्त हुनुपर्थ्यो।

कलेजमा अरू लेक्चररहरू ड्रविङ्ग सर, सर्भे सर आदि हुन्थे, म भने पाले लगायत धेरैका लागि मधेशी सर नै थिएँ। त्यही मेरो पहिचान थियो। केही भर्खरै भर्ना भएका विद्यार्थीहरूका लागि त्यो नामले झनै बिग्रिएको रूप लिन्थ्यो। तर आभारीका साथ मैले भन्नै पर्छ — सिनियर र केही समयदेखि चिनेका विद्यार्थीहरूले भने निकै आदर गर्थे।

त्यहाँ चलिरहेको ओभरसियर कोर्सतिर मैले कहिले कुनै क्लास लिइनँ। तिनीहरू भर्खरै स्कूलबाट निस्केर आएका हुन्थे, आफ्नो ठाउँ बाहिरको ज्ञान र आफूभन्दा भिन्न समुदाय प्रति सद्‌भाव उनीहरूमा कमै हुन्थ्यो। केही हदसम्म त्यही कुरा भर्खरै इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूको हकमा पनि साँचो थियो। एक पटक क्लासकै नियमित काम-कारबाही गर्ने क्रममा एक जना विद्यार्थीले, “म फलो गर्दिनँ, के गर्नुहुन्छ? तपाईं केही गर्न सक्नुहुन्न।” भन्दै खुलेआम क्लासकै अगाडि मलाई चुनौती नै दिए। उसको शब्दभन्दा पनि उसको हाउभाउ र रवाफले मलाई दु:ख लागेको थियो। ती भर्खरै खुलेका प्राइभेट कलेजहरू थिए, जहाँ विद्यार्थीहरूले लाखौं खर्च गर्थे र त्यस बापत ठेकेदारी भए झैं परीक्षाको पास लिस्टमा आफ्नो स्थान र उच्च मार्क सुनिश्चित भएको ठान्थे। पैसा कमाउनै खोलिएका ती कलेजका प्रशासनका लागि पनि अरू कुराभन्दा विद्यार्थीहरूबाट पैसा उठिरहोस् भन्नु नै सबभन्दा महत्वपूर्ण हुन्थ्यो, र त्यहाँ लेक्चरर वा नियमभन्दा विद्यार्थीहरूको खुशी नै सर्वेसर्वा हुन्थ्यो। त्यसले गर्दा विद्यार्थीहरूको रवाफ भिन्नै हुन्थ्यो, र त्यहाँ पढाउन जाने लेक्चररहरूबाट त्यहाँका विद्यार्थीमा हुने गरेको अनुशासनको अभावका बारेमा मैले पहिला पनि सुनेको थिएँ।

त्यो घटनाले मेरो चित्त दुख्नुका साथै मधेशी शिक्षक र कर्मचारीहरूमाथि हुने गरेको दुर्व्यवहारका बारेमा पनि सम्झना दिलाइदिएको थियो। त्यही कलेजमा पुल्चोक क्याम्पसबाट आई पढाउने गरेका एक मधेशी लेक्चररमाथिको दुर्व्यवहारको याद पनि आयो। विद्यार्थीहरूले उनले पढाएको कुरा नोट गर्न अस्वीकार गर्दै, पहिला परीक्षामा त्यही कुरा आउने भनेर सुनिश्चित गर्न माँग गरेका थिए, र उनीसँग निकै नै अभद्र व्यवहार गरेका थिए। अर्को दिनदेखि उनी फर्केर त्यहाँ गएनन्।

आफ्ना सबओर्डिनेटहरूको अटेरी र तिनीहरूबाट हुने गरेको अनादर र दुर्व्यवहारका कारणले गर्दा धेरै योग्य मधेशीहरू सरकारी वा कुनै पहाडीको आधिपत्यमा नोकरी गर्न मान्दैनन्, बरू आफ्नै व्यवसाय गर्छन्, कन्सल्टेन्सी खोल्छन्, गैरसरकारी संस्था चलाउँछन्, र केही विदेश पनि जान्छन्। त्यसरी काम गर्दा विश्व बैंकदेखि लिएर ठूल-ठूला कम्पनीहरूसम्म राम्रै ओहदामा पुग्छन्, तर नेपालमा काम गर्दा तिनीहरू अपमान र दुर्व्यवहार बाहेक केही पाउँदैनन्। जति नै ठूलो ओहदामा पुगे पनि, जति नै योग्य भए पनि, मन्त्री नै भए पनि आफ्नै गाडीकै ड्राइभर र आफ्नै अफिस कै पाले र प्यूनले समेत टेर्दैनन्। तिनीहरूले त आफ्नो मधेशी हाकिमलाई मुखमै गाली गर्छन्। एउटा मधेशी मन्त्रीले पहाडी सिडिओलाई झापड हान्न बाध्य हुनु परेको त्यसै होइन, त्यस्तै अर्का मन्त्रीले आफ्नै अफिसको कर्मचारीलाई ट्वाइलेटमा थुन्नु परेको पनि त्यसै होइन, ती कुराहरू घोर अपमान र निराशाका उपज हुन्। यदि इमान्दार हुने हो भने ठूला-साना सबै मधेशी कर्मचारीहरूले आफ्नै प्यून र पालेबाट हुने गरेका अपमान, अटेरी र दुर्व्यवहारका अनगिन्ती घटनाहरू सुनाउन सक्छन्। होटल र रेष्टुरेन्ट जस्ता ठाउँमा समेत मधेशी देखेर भाँडा माझ्ने र टेबल पुछ्ने समेतले दुर्व्यवहार गर्ने गर्छन्, मधेशी देखेपछि टेबल राम्ररी नपुछिकनै जान्छन् र कुनै कुत्ताअगाडि खाना दिए झैं प्लेटअगाडि फालेर जान्छन्। ती कुराहरू हेर्दा त्यस कलेजमा भएको घटना चकित हुनुपर्ने कुरो चाहिं थिएन।

ती प्राइभेट कलेजहरूमा अरू गलत कामहरू पनि धेरै हुन्थे। त्यहाँ विद्यार्थीलाई परीक्षामा खुल्लमखुल्ला चीट गर्न दिइन्थ्यो, सुपरिवेक्षककै अगाडि किताब र नोट पल्टाएर परीक्षामा लेख्न दिइन्थ्यो। म पुल्चोक क्याम्पसबाट निस्केको थिएँ, जहाँ परीक्षा यति कडा हुन्थ्यो कि हात मै केही लेखिएको भेटिएको खण्डमा पनि सबै पेपरहरू नै रद्द गरिदिन्थे। त्यही भएर प्राइभेट कलेजका परीक्षाहरूमा चीट गर्दै गरेका दृष्यहरू मेरा लागि आश्चर्यजनक र असहनीय थिए। नि:सन्देह रूपमा त्यहाँ राम्रा विद्यार्थीहरू पनि धेरै थिए, र त्यस्ता गलत प्रवृत्तिले तिनीहरूलाई घाटा हुन्थ्यो। केही गर्न नसकेकोमा म असहाय पनि महशूस गर्थें।

अनि मैले पढाउने गरेका विषयका त्यस्ता उत्तर पुस्तिकाहरू मलाई जाँच्नुपर्थ्यो। तिनीहरू जाँच्नु मलाई अर्थहीन लाग्थ्यो। र जाँचेर मार्क दिइसकेपछि पनि प्रशासनले आफ्नै मनले मार्क घट-बढ गरेर मात्र केन्द्रमा पठाउँथे। यी सब कारणले परीक्षाको केही मतलब म देख्दिनथें। मैले यो कुरा कलेजको बैठकमा उठाएँ, र अधिकांश लेक्चरर र कम्तीमा एक जना प्रशासकको पनि समर्थन पाएँ। तर पैसा लिने र सर्टिफिकेट दिने धन्दा गर्न खुलेका त्यस्ता कलेजको प्रशासनलाई मेरो कुरा किन राम्रो लाग्थ्यो र? त्यो दिन गरमागरम बहस भयो, र मेरो र प्रशासनको सम्बन्ध राम्रो रहेन।

केही समयपछि कलेज प्रशासनले विभागीय प्रमुखमा अरूलाई नियुक्त गरे, मलाई आपत्ति थिएन। तर मलाई नसोधिकन मेरो नाम सहायक विभागीय प्रमुखमा राखेर तिनीहरूले व्रोशर छापे। मैले पछि मात्र थाहा पाएकाले व्रोशर त परिवर्तन गर्न सकिएन, तर त्यो पद मैले स्वीकार गरिनँ। म त्यस कार्यको लागि प्रशासनलाई कानूनी बाटो देखाउन सक्थें, तर अपमानको आदी भैसकेकाले त्यतिबेला तुरुन्तै मैले त्यस्तो केही सोचिनँ। कलेज प्रशासनसँग बाझेर मेरो जीवन त्यसै तनावमय थियो। मैले नोकरी छोड्नु नै उपयुक्त ठानें, र तुरुन्तै छोड्न चाहन्थें पनि। तर म त्यहाँ बीसभन्दा बढी नै पिरियड लिने गर्थें, सामान्यरूपमा भन्नु पर्दा म दिनभरि नै पढाउँथे, खाली भइहाले पनि लेक्चरर नआएको कुनै क्लास सम्हालिहाल्नु पर्थ्यो। त्यतिका क्लाससँग आबद्ध भएकाले बीचमै बिचल्ली पारेर छोड्नु मलाई उचित लागेन, र सेमेष्टर नसिद्धिएसम्म त्यहीं बस्ने विचार गरें।

सेमेष्टरको अन्त्यमा मैले राजीनामा दिएँ र गाउँमै केही समय बस्ने विचार गरें, साधारण कुराहरू गर्दै, गाउँलेहरूसँग आफ्नो समय बिताउँदै।

[GO TO CONTENTS]

१५. बदलिएको बहाव

राजीनामापछि केही दिन शान्तपूर्ण जीवन बिताउन म घर फर्कें। तर घरमा कुरो उल्टो भयो। सबैले मैले नोकरी किन छोडेको भनेर प्रश्न गर्थे, त्यो पनि त्यतिबेला जब कसैले सानो नोकरी पनि भेटाउन मूश्किल थियो। गाउँलेहरूले पनि मेरो कदमलाई राम्रो मानेनन्। तिनीहरूलाई सम्झाउनु मूश्किल थियो। तिनीहरूले ममाथि भरोसा गरेका थिए, म ठूलो मान्छे बनूँला बनेर सपना देखेका थिए, तर म त्यहाँ बेरोजगार हुन पुगेको थिएँ।

गाउँलेहरूलाई म पहिलादेखि नै आफ्नो छोराछोरीलाई स्कूल पठाउन सम्झाउने गर्थें। अब त झन् तिनीहरूले प्रश्न गर्थे — ‘पढेर, धेरै मेहनत गरेर नै कसले नोकरी पाएको छ र? ल देखाऊ त।’ र साँच्चै एउटै पनि उदाहरण खोज्न गार्‍हो थियो, र राजीनामा दिएपछि त झन् मैले आफूलाई पनि देखाउन मिल्दैनथ्यो। ‘त्यसो भए किन पढाउने? यहीं काम गरेकै ठीक छ, अरूकै खेत-मेला गरेकै ठीक छ, अरूकै गोठ-गोबर सफा गरेकै ठीक छ’ — तिनीहरू भन्दै जान्थे। मलाई प्राय: चुप नै लाग्नुपर्थ्यो तर कहिलेकाहीं भन्थें — ‘हैन, पढ्ने भनेको नोकरी गर्नलाई मात्र त हैन, बरू राम्रो मान्छे बन्न, असल चरित्र निर्माण गर्न, आफ्नो ज्ञान बढाउन पनि त हो नि।’ तर आफूले भनेको कुराको खोक्रोपन मलाई थाहा हुन्थ्यो, आखिर स्कूल गएर शाह वंशीय राजा र पहाडी शासकहरूको स्तुति गान गर्दैमा कोही शिक्षित र ज्ञानवान् हुँदैनथ्यो।

गाउँमा एउटा नयाँ लहरको शुरुवात भएको थियो — अरब र मलेशियातिर जाने। त्यतातिर गएका केही मजदुरहरू केही हजार रूपैयाँ कमाएर फर्केका रहेछन् र त्यसले गाउँलेहरूलाई राम्ररी आकर्षित गर्न पुगेको थियो। गाउँलेहरूका लागि सुन फेला परे झैं भएको थियो। आफ्ना सन्तानलाई बर्षौं-वर्ष स्कूल पठाएर, अनेक कठिनाइ बाबजूद पढाएर अन्त्यमा नोकरी नपाएर बसेको देख्नुभन्दा तिनीहरूलाई अरब-मलेशिया पठाउनु उनीहरूले हरेक दृष्टिकोणबाट उचित देखे। त्यो उनीहरूको मुक्तिको द्वार खुले झैं थियो। मान्छेहरू आफ्नो डीह, आफूसँग भएको दुई-चार कठ्ठा जमीनै बेचेर वा त्यो धितो राख्दै ऋण काढेर त्यता जान हतारिएका थिए। तिनीहरूलाई मेरो प्रवचन सुन्ने समय थिएन, न त त्यसमा कुनै दिलचस्पी नै।

त्यो लहडले गाउँमा नाटक खेल्ने हाम्रो योजनामाथि पनि पानी फेरिदिएको थियो। म नाटकका लागि आफ्नो भाग काठमाडौंमा हुँदा नै तयार गरिसकेको थिएँ र सँगै रिहर्सल गर्न पर्खिरहेको थिएँ। मेरो भूमिका नायकको थियो, पहिला नाटक हुँदा पनि मैले नायक इंस्पेक्टर कै भूमिका खेलेको थिएँ, र यसपालि तयारी गर्न केही सहज भएको थियो। तर अरू भूमिका दिएका साथीहरूमध्ये कति दिल्ली-पंजाब त कति अरब-मलेशिया गइसकेका थिए भने कति जाने तरखरमा थिए। तिनीहरूसँग समय थिएन, न त गाउँमा कोही फुर्सदिला ठिठाहरू नै बाँकी थिए। आखिरमा नाटक खेल्ने हाम्रो योजना त्यसै रह्यो।

स्कूल र कलेजमा पढ्दै गरेकाहरू पनि आफ्नो पढाइ छाडेर विदेशतिर मजदुर हुन हतारिएको देख्दा मलाई चिन्ता पनि लाग्थ्यो। यदि तिनीहरू सबै पढाइ छाडेर विदेशिए भने हाम्रो पुष्ताको भविष्य के हुने हो? के हामी अशिक्षित पुष्ताका रूपमा चिनिनुपर्ला? के हामी त्यस्तो समाजतिर अग्रसित हुँदै छौं जहाँ इन्टर र ब्याचलर गरेका मान्छेहरू भेट्न फेरि गार्‍हो होला? के हामी यस्तो समाजमा बाँच्नुपर्ला? ज्ञानको केन्द्र मानिने यस पावन भूमिमा शिक्षित मान्छे टूकी लिएर खोज्नुपर्ला? मलाई असजिलो महशूस हुन्थ्यो। तर, तिनीहरूले आफ्नो भोक र दु:ख त्यतै गएर मेट्न सक्ने यथार्थलाई म नकार्न पनि सक्दिनथें।

त्यसका अलावा गाउँमा अरू पनि परिवर्तनहरू देखिएका थिए। गाउँमा आपराधिक समूह र पुलिस दुइटैको आतङ्क बढेको थियो। मध्य राती पनि टाढा-टाढा सम्म निर्धक्क भई हिँड्ने गरेका दिनहरू मेरो स्मृतिमा ताजै थिए, तर त्यो बदलिएको थियो। मेरा धेरै यादहरू समेटेको आफ्नै आँपको फूलबारीसम्म म दिउँसै पनि जान सक्दिनथें, सड्गी झैं रहेकी नदी किनारै-किनार म हिँड्न सक्दिनथें, चैनलको छेउको ढिस्कोमा गएर म साथीहरूसँग बस्न सक्दिनथें। हनुमान नगरमा केही समय पहिले आएका एउटा पुलिस इन्सपेक्टरको घोर अत्याचारका कैयन् घटनाहरूका बारेमा गाउँलेहरू बताउँथे। गाउँलेहरू पुलिस र प्रशासनबाट निकै त्रसित थिए। माओवादीका नाममा उम्रेका अपराधी समूह र तिनको संरक्षण पाएका डाँका र लुच्चा-लफङ्गाहरूले गाउँको जीवन कष्टमय बनाइदिएको थियो। ती अपराधीहरू माओबादीका नाममा बन्दुक भेट्टाएका थिए र गाउँलेहरूलाई थर्काउँदै हिँड्थे। केही आफ्नो भोक टार्न माओबादी बनेका थिए। माओबादी भनेपछि र बन्दुक देखाउँदै हिँडेपछि दान र ‘मान’ जहाँ पनि पाइन्थ्यो।

साँझतिर धेरै क्षेत्रमा कर्फ्यू लाग्थ्यो, र पुलिसले मान्छे बाहिर भेट्टाएमा गोली नै ठोक्न सक्थे। पहिला मध्य रातीसम्मै हुने गरेको जमघट र गफगाफ हुन छोडेको थियो। नाच र रामलीलाले भरिरहने रातहरू सूनसान र डरलाग्दा भएका थिए। जहाँ मान्छेहरू आकाशमुनि तारा गन्दै मचानमाथि सुत्न मन पराउँथे, त्यहीं साँझ पनि बस्न डराउन थाले। असह्य गर्मी र लामखुट्टेको अविरल टोकाइका बाबजूद तिनीहरू गाईबस्तुसँग गोठमै सुत्न बाध्य हुन पुगेका थिए। राती अबेरसम्म खेतमा काम गर्नेहरू साँझ नपर्दै घर फर्कन थालेका थिए। सूर्य नअस्ताउँदै हटियाबाट मान्छेहरू घर फर्किन आतुर हुन्थे।

एक साँझ घर फर्कन ढिलो हुनपुग्दा मैले पनि पुलिसहरूको सामना गर्नुपरेको थियो। काठमाडौंमा नोकरी गर्दा ताकाको कुरा हो, म माइला दाइको विवाहमा सामेल हुन घर फर्कंदै थिएँ। बाटोमा बस सानो दुर्घटनामा परेछ, र यात्रीहरूका लागि काठमाडौंबाट अर्कै बस ल्याउनु परेकाले ढिलो भएको थियो। म भारदहमा ओर्लिंदा साँझको आठ बजेको थियो। बाहिर मान्छेहरू देखिन्नथे। केही चकित हुँदै म चौकमा उभेर चारैतिर हेरें। घर कसरी जाने वा के गर्ने बारेमा म निश्चित थिइनँ। त्यतिबेला घरतिर जाने कुनै यातायातको साधन पाउने सम्भावना थिएन। तर संयोगवश त्यहाँ नजिकैको पसलमा मामातिरका आफ्ना दुई महिला नातेदारहरू पनि पर्खिरहेको पाएँ। तिनीहरू पनि मेरै घर जान लागेकी रहिछिन्। मलाई सडकमा देखेर तिनीहरू म नजिक आइन्। विवाहका लागि भाडामा लिइएको गाडी त्यहाँ आउने, र त्यसकै लागि मामा फोन गर्न जानु भएको कुरा उनीहरूबाट थाहा पाएँ। म उनीहरूसँग कुरा गरिरहेको बेला सशस्त्र प्रहरीको समूह हामीतिर आइरहेको देखें। तिनीहरूको अनेकौं अत्याचारका बारेमा मैले सुनेको थिएँ र त्यहाँ मसँग दुई महिलाहरू थिइन्। स्वाभाविक रूपमा म केही आत्तिएँ र मलाई डर पनि लाग्यो। तिनीहरू अलि पर नै रोकिदैं हामीतिर बन्दुक तेर्साई जोरले कराइरहेका थिए, र सोधपुछ गर्दै थिए। केही कम्पित तर जोरको आवाजमा म आफ्नो भ्यानको लागि पर्खिरहेको बताएँ। ‘आफ्नो भ्यान’ सुनेर शायद तिनीहरूले हामी कुनै ठूलो अफिसरकै मान्छे हो कि ठानेछ। तिनीहरू हामी नजिक आए, र हामीलाई सडक छेउ नभएर नजिकैको कुनै घर भित्र बस्न भने। गोली नै चलाउन सक्ने आदेश आफूहरूलाई भएको र त्यतिबेला हामीमाथि गोली चलाउन मिल्ने तर त्यसो नगरेर हामीलाई उपकार गरेको भनेर उनीहरूमध्ये एकले भने। सूर्य अस्ताएपछिको समय र दुनियाँ हाम्रो, तिनले भने। त्यो दिन गोली नखाएकोमा हामी भगवान् प्रति कृतज्ञ थियौं।

घरमा बसाइँका क्रममा म कुशहा पनि गएँ, त्यहाँ केही समय बसेर वच्चाहरूलाई
पढाउँला भनेर। मेरा हजुरबाले त्यहाँ स्कूल खोल्नुभएको थियो। त्यो क्षेत्रमा एउटा
प्राथमिक विद्यालयसम्म पनि थिएन। सबभन्दा नजिकको चाहिं युद्धगंजमा थियो, त्यहाँ जान
बीचमा कोशीको भेल पर्थ्यो। भेल तर्न कुनै पुल नभएकाले अलिकलि पानी वढेको खण्डमा
विद्यार्थीहरू आवतजावत गर्न सक्दैनथे। त्यही भएर हजुरबाले खोलेको स्कूल त्यस
क्षेत्रका लागि वरदान नै सावित भएको थियो, धेरै नै विद्यार्थीहरू त्यहाँ पढिरहेका
थिए। तर स्कूल संघर्ष गर्दै थियो। स्कूललाई अनुमोदन गर्न सरकारले स्कूलको नाममा
हजुरबाको नाम सँगै वी. पी. (कोइराला) जोड्न वाध्य बनाए पनि सरकारबाट कुनै खास सहयोग
प्राप्त हुन सकेको थिएन, न त सरकारले आवश्यक शिक्षकहरूको दरबन्दी नै दिएको थियो।
मेरा कजनहरू त्यहाँ स्वयंसेवकका रूपमा काम गर्थे, र म पनि केही समय मात्र भए तापनि
तिनीहरूलाई मद्दत गर्न चाहेको थिएँ।

तर त्यहाँ पनि धेरै बदलाव आएको थियो। आफ्नो बन्दुक देखाउँदै सैनिकहरू यत्रतत्र घुमिरहेका थिए। पहिला त्यहाँ जाँदा म कोशी टप्पु गई बयर टिप्ने गर्थें। त्यहाँ घुम्दा, रंगबिरंगी चराचुरूङ्गीहरू र कञ्चन कोशी बगिरहेको देख्दा मलाई निकै आनन्द आउँथ्यो। त्यसपटक पनि म जान चाहें। तर मान्छेहरू कोशी टप्पुतिर जानै छाडेका थिए, टप्पुको पर्दामा सैनिकले गर्दैआएका जघन्य अपराधका कथाहरू गाउँलेहरूले सुनाए। जानै परे अफिसमा गएर टिकट लिई स्टाफ र सैनिकलाई सँगै लिएरै टप्पु छिर्ने सल्लाह उनीहरूले दिए। म आफ्नो कजनसँगै सैनिक क्याम्पनजिकै रहेको अफिस गएँ। त्यहाँसम्म जानु पनि निकै भयावह र खतरापूर्ण रहेको अनुभव गरें। बाटामा मान्छेभन्दा पनि बढी मैले सैनिकहरूलाई नै देखें। तिनीहरूले बीचबीचमा हामीलाई रोक्थे, सोधपुछ गर्थे। कतिखेर तिनीहरूको मूड गडबड हुने हो र दुश्मन भन्दै कतिबेला हामीमाथि नै आफ्नो बन्दुकको अभ्यास शुरु गरिदेलान् भनेर हामीलाई अलि डर पनि लागेको थियो। तैपनि हरेक पटक रोकेको खण्डमा भएभरको मीठो आवाज निकाली तिनीहरूलाई आफ्नो कुरा सम्झाउँथे।

कोशी टप्पुको सयर त्यसपालि तर रमाइलो भएन। चारैतिर निराशा र भयको अँध्यारो छाए जस्तो लाग्यो। बयर टिप्न पनि मजा आएन, न त कोशीकै किनारमा एक छिन शान्तिले सुस्ताउनै सकें। कोशीले काट्न लागेको डाइभर्सन केही बेर हेरेपछि बाँधमा साइकल चलाउँदै हामी फर्कंयौं। त्यहाँ बाँधको छेउ भएर ठूलो आवाज गर्दै जाने गरेको रेल पनि चल्न छोडेको थियो, पटरीहरू खाली थिए र ठाउँठाउँमा टुटेका पनि। कुशहामा बस्नु पनि मलाई त्यसपालि त्यति राम्रो लागेन।

आफ्नो गाउँका मान्छेहरूको असहज प्रश्नहरूका बीच केही समय बसेपछि म काठमाडौं नै फर्कें। त्यहाँ न त जागिर थियो, न त कुनै खास काम नै। न त कुनै कलेजसँगै म आबद्ध थिएँ, न त घुम्नलाई साथीहरूको जमात नै बाँकी थियो। म आफ्नो समय अध्ययन गर्न मै खर्चें। मैले माओवादीहरूको जनयुद्धको विषयमा पनि अध्ययन गर्न केही समय दिएँ। बितेका एक दशकको घटनाक्रम हेर्न अन्तर्राष्ट्रिय मञ्चको अफिसबाट र अन्य ठाउँहरूबाट पत्रपत्रिकाहरू संकलन गरें। राजनीति, इतिहास, मनोविज्ञान र समाजशास्त्रका धेरै किताबहरू पनि किनें। म राष्ट्रिय पुस्तकालय पनि जाने गर्थें र त्यहाँ ऐतिहासिक कुराहरूको खोजतलाश गर्थें।

बुवाले पढ्न भन्नुभएका किताबहरू पनि किनेर ल्याएँ। उहाँले भन्नुभएका गोर्की, टल्सटाँय, राहुल सांकृत्यायन, र वि. पी. कोइरालाका किताबहरू खोजें। तर राहुल सांकृत्यायनको भोल्गा टू गंगा अझै पनि फेला पार्न सकिनँ। ती किताबहरूमै म व्यस्त हुन थालें।

मेरा साथीहरूले केहीअगाडि विज्ञान सम्बन्धी मासिक पत्रिका निकाल्न थालेका थिए। त्यसको सम्पादक म नै भएकाले त्यसमा पनि समय दिनु नै पर्दथ्यो। त्यस क्रममा तिनीहरूले मलाई ठूला-बडा मान्छेहरूसँग भेटाउन लैजान्थे, तर अक्सर मलाई त्यसमा त्यति अभिरुचि हुँदैनथ्यो। मलाई आम मानिसहरू प्यारा लाग्थे, र तिनीहरू नै मेरा लागि मतलब पनि राख्थे।

ती दिनहरूमा आफ्नो शैक्षिक उपलब्धि बापत धेरै पदक र सम्मानहरू पनि पाएँ। तर गोल्ड मेडलका झुप्पाहरूले पनि मलाई मानव हुनुको आत्मसम्मान दिलाउन सकेनन्। तिनीहरूले पनि मलाई दासताबाट मुक्त गर्न सकेनन्, मलाई निम्न दर्जाको नागरिकको श्रेणीबाट माथि उठाउन सकेनन्।

मलाई याद छ, मलाई गोल्ड मेडल दिन कलेजमा आयोजना गरिएको एक समारोहमा मेडल थापेर म आफ्नो सीटमा बस्न जाँदा मपछाडि बसेका केटीहरूले ‘मर्स्या हो? ए, मर्स्या हो? काले हो? कहाँ मर्स्या हुनु!’ भन्दै कानेखुसी गर्दै थिए। कुनै मधेशी मेडल लिन योग्य हुँदैन भनेर तिनीहरूले सोचेका होलान् शायद। मुहम्मद अली झैं आफ्नो मेडल फालेर म जोरले सबका सामु चिच्चाउन चाहन्थें — ‘हो, म मधेशी हूँ।’ तर फेरि आफूलाई दिइएको संस्कारवश भित्रभित्रै मुर्मिरिए पनि चुप लागेर शान्ति बनाइराखें। त्यही समारोहमा आफ्नो भाषण दिदाँ तिनीहरू मेरो नेपाली सुनेर झन् असमञ्‍जसमा परेका थिए। भाषण दिएर फर्कंदा म तिनीहरूतिर हेरें, चार-पाँच जना रहेछन्। एकलाई म चिन्थें, तर ऊ मलाई शायद चिन्दिनथी। मान्छे कि मधेशी भनेर छुट्टाउने तिनीहरूको बहस झन् जोर भएको थियो।

नेपाल टेलिभिजनले मेरो भाषणको केही अंश समाचारमा प्रसारण गरेको थियो। मलाई त्यस बारेमा जानकारी थिएन, न त मसँग टेलिभिजन नै थियो। भाषणपछि मान्छेहरू मेरो पहिचानका बारेमा अझ वढी अलमलमा पर्न गएका थिए। मेरो नेपाली बोलाइ, हाउभाउ र थर देखेर पहिला पनि मान्छेहरू अलमलमा पर्ने नै गर्थे। केही पहाडीहरू मेरो पुर्खा पहाडबाट मधेश झरेको र घामले गर्दा छाला कालो बन्न पुगेको अनुमान गर्थे। एक पटक, मैले पढाउने कलेजको प्रिन्सिपलकी निकै नै भद्र र शालीन श्रीमतीले भनिन् — ‘सर, माइन्ड नगर्नुहोला, तर हामीले त तपाईं पश्चिमतिरका हुनुहुन्छ भन्ठानेका थियौं, तर सर त मधिसे हुनुहुदों रहेछ।’ मेरो अनुहार र बोली-व्यवहारको अन्तरले विद्यार्थीहरू पनि अलमलमा पर्ने गर्थे। मैले पढाउने एक जना विद्यार्थी केही महिना पछिको चिनजान पछि म कहाँ आएर भने — ‘सर त मर्स्या हुनुहुन्छ भनेर मैले सोचेको थिएँ।’ म मधेशी नै हो भनेर थाहा पाएकी नजिकै उभिरहेकी छात्रालाई भने नराम्ररी असजिलो लागेछ।

त्यो कन्फ्युजन पहाडीहरूमा मात्र नभई मधेशीहरूमा पनि उत्तिकै थियो, आखिर तिनीहरूले पनि त मधेशीसँग मिल्दो जुल्दो बोली-व्यवहार ममा देख्दैनथे, आफ्नो भाषा बोलेको वा जनकपुर-राजबिराजको चर्चा गरेको कहिले सुन्दैनथे। र त्यही भएर ‘हेलो मिथिला’ कार्यक्रममा एक पटक मैले मैथिलीमै कुरा गरेको मेरा मधेशी विद्यार्थीहरूले सुन्दा जिल्लिएका थिए। त्यस्ता घटनाहरू पटक-पटक हुने गर्दथे। नेपाल तराई विद्यार्थी नवजागरण संघले आयोजना गरेको सम्मान तथा विदाइ कार्यक्रममा मैले मैथिलीमा भाषण दिएर फर्केपछि, सीके दाइलाई त मैथिली पनि बोल्न आउँछ भनेर कति भन्न आएका थिए। त्यस समारोहमा मेरा जुनियर कृष्ण चौधरीले मधेशी विद्यार्थीहरूको दु:ख-तकलीफका बारेमा आफ्नो गुनासो राखेका थिए, टूकीमा पढेर र गरीबीमा पिल्सेर कसरी मधेशी विद्यार्थीहरूले अरूसँग प्रतिस्पर्धा गर्न सक्छन् भनेर दुखेसो पोखेका थिए, र टपर हुनुको आफ्नो दायित्वको कारणले उनीहरूको हौसला बढाउन केही उदाहरणहरू दिदैं मैले मैथिलीमा भाषण गरेको थिएँ। आफ्नो मातृभाषाको लागि जूनून त ममा पछि मात्र पैदा भएको थियो।

त्यस वर्ष शिक्षा दिवसको अवसरमा तत्कालीन् राजा ज्ञानेन्द्रबाट म महेन्द्र विद्या भूषण पाउनेवाला थिएँ। बुवाको सम्मानमा मैले त्यो पदक धोती-कुर्तामा लिने ठूलो इच्छा थियो। अरू बेला जे लाए पनि विशेष अवसरहरूमा कम्तीमा धोती-कुर्ता लाउने हाम्रो संस्कार थियो र त्यही भएर त्यो चाहना जागृत भएको थियो। यस बारेमा म घरमा पनि कुरा गरेको थिएँ, र गाउँलेहरूलाई पनि जानकारी गराएको थिएँ। तर प्राप्त जानकारी अनुसार त्यो पदक थाप्न पहाडीहरूको भेष दौरा-सुरुवाल र टोपी लाउनु अनिवार्य थियो, त्यही टोपी जुन नलाइकन नेपाली नागरिकता प्राप्त हुन्नथ्यो। म मन्त्रालय गएर सचिव समक्ष आफ्नो कुरा बारबार राखें, उनले मन्त्रीलाई पनि सोधे र भने — ‘दौरा-सुरूवाल-टोपी नलाइकन देखिनुभयो भने त्यहाँको हाता भित्र छिर्न पनि दिइने छैन।’ मलाई दु:ख लाग्यो। आफ्नो घरमा र गाउँलेहरू समक्ष गरेको कुरा सम्झेर झन बिझ्यो।

मैले राजा ज्ञानेन्द्रका नाममा एउटा खुला पत्र लेखें, कम्प्युटर त मसँग थिएन, कुपन्डोलको एउटा साइबर क्याफेमा गएर प्रति पेज दश रूपैयाँका दरले टाइप गराएँ, र प्रमुख दैनिक समाचारपत्रहरू र मन्त्रालय लगायतका ठाउँहरूमा पठाएँ (हेर्नुस्, परिशिष्ट ख)। कुनै पनि पत्रिकाले त्यसलाई स्थान दिएन, न त कुनै निकायबाट नै मैले त्यसको कुनै उत्तर नै पाएँ।

कतैबाट कुनै प्रतिक्रिया नआउँदा सोचें, शायद यी कुराहरूमाथि बहस गर्नका लागि समय अपुग भएछ र यस पालि एक पटक दौरा-सुरुवालमै राजालाई भेटौं, यसबारेमा पछि कुरा गरौंला। म दुई-तीन दिनमै दौरा-सुरुवाल बनाउन लगाएँ, र त्यही लाएर राजालाई भेटन गएँ।

मैले राजाबाट पदक ग्रहण गरें र कोठा फर्कें। त्यो दिन म ज्यादै अपमानित भएको महशूस गरें, मेरो आत्मसम्मान बलात्कारित भएको महशूस गरें। पहाडी टोपी र दौरा-सुरुवाल नलाइकन अझै पनि नेपालीका रूपमा स्वीकार्य हुन नसक्दा मेरो चित्त दुखेको थियो। मेरो योग्यता, मेरो डिग्रीलाई नेपाली टोपी नलगाइदिंदासम्म पदक पाउन अयोग्य थियो।

पछि त्यो पत्र म प्रेमर्षिलाई देखाएँ। उनले त्यसलाई अन्यत्र कतै छपाउन चाहेका थिए, तर त्यसको मूल सन्दर्भ बितिसकेकाले छपाउन ढिलो भएको भनेर मैले भनें। तर म उनलाई त्यो पत्र देखाउनुभन्दा पनि अरू कामले नै त्यो दिन भेटेको थिएँ।

भएको के रहेछ भने घर जाँदा मेरी दिदीले मैले नेपालीमा लेखेका कुनै ‍पनि चिठ्ठीहरू उनले नबुझेकी र नपढी त्यसै थन्काएर राखेकी कुरा भनेकी थिइन्। आफ्नो घरका अरुले त मैथिली मै लेखेर पठाउँछन् र सबैले बुझ्छन् भनेर पनि भनेकी थिइन्। त्यसले मलाई समस्यामा पारेको थियो। मैले स्नातक गरेको थिएँ, आफ्नो मातृभाषा आफ्नो परिवार र गाउँलेहरूसित जतिखेर पनि बोल्थें, तर मलाई आफ्नो मातृभाषामा लेख्न आउँदैनथ्यो। म एक दुई पटक लेख्ने प्रयास पनि गरें, तर जीवनभरिमै आफ्नो मातृभाषा मैथिलीको एक पाना पनि पढ्ने अवसर मैले पाएको थिइनँ र त्यही भएर बोलेको कुरालाई कसरी लेखिन्छ भनेर म अनभिज्ञ नै थिएँ। आफ्नो मातृभाषा लेख्न सिक्न र त्यसबारे थप जानकारी प्राप्त गर्न मैले मैथिलीको किताब दर्जनौं पसलहरूमा गएर खोजेको थिएँ। तर दुर्भाग्यवश म नेपालीमा लेखिएका मैथिल संस्कृति सम्बन्धी दुई-तीन किताबहरू मात्र फेला पार्न सकें। म मैथिलीको शब्दकोष र व्याकरण चाहन्थें, मैथिली साहित्यको कुनै किताब चाहन्थें, तर भेटाउन सकेको थिइनँ। त्यही भएर भाषा सम्बन्धी केही जानकारी लिन मैले प्रेमर्षिलाई सम्पर्क गरेको थिएँ।

प्रेमर्षिले शुरूमा मलाई आफ्नो अफिसमै बोलाएका थिए। त्यहाँ मेरो लेख पढेर र मातृभाषा प्रतिको मेरो अभिरुचि देखेर खुशी हुँदै पछि उनले आफ्नो डेरा नै ल्याए। उनले कम्यूटरमा वेबसाइट र वर्ड प्रोसेसिङ्गसँग सम्बन्धित केही मद्दत पनि माँगे, मैले तुरून्तै उनलाई सघाएँ।

प्रेमर्षिले आफूले लेखेका केही किताबहरू देखाउँदै गर्दा तिरहुता लिपी कम्प्यूटरमा उपलब्ध नहुनाको पीडा बताए। उनले लेखेका मैथिलीका कोर्सबूकहरूमा हातले नै लेखेका मिथिलाक्षरहरू थिए। मैले तिरहुता लिपी फोन्ट बनाउन सकिने कुरा बताउँदा उनले मलाई लिपीसँग सम्बन्धित केही नोटहरू दिए। केही समयको प्रयासपछि मैले तिरहुता लिपी फोन्ट बनाएँ, र उनलाई पनि देखाएँ। उनी औधी खुशी भए। अरूका लागि पनि उपलब्ध होस् भनेर मैले त्यसलाई इन्टरनेटमा पनि उपलब्ध गराएँ। पछि तिरहुता लिपीलाई यूनिकोडमा सामेल गराउने प्रयासमा समेत त्यो उपयोगी भएको देख्दा आफ्नो प्रयास प्रति सन्तुष्टि भएको थियो।

त्यसरी अध्ययन र अन्य कार्यहरू गर्दै म स्नात्तकोत्तरका लागि छात्रवृत्तिको खोज पनि जारी राखेको थिएँ। त्यसै क्रममा जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपका लागि पनि आवेदन दिएको थिएँ। त्यसले छात्रवृत्तिका रूपमा आउने-जाने खर्च समेत गरेर पूरै प्याकेज नै उपलब्ध गराउँथ्यो, ठ्याक्कै मैले खोजे जस्तो। तर प्रतिस्पर्धा निकै नै उत्कट थियो, राजदूताबासमा पूरै नेपालका लागि चार-पाँच सीट मात्र आउँथे, र त्यो पनि प्राय: विद्यावारिधि गर्नका लागि दिइन्थ्यो। तैपनि आफ्नो तर्फबाट सबै कुरा राम्रो गर्दै र मिहिनेत गरेर रिसर्च प्रोपोजल तयार पार्दै मैले आवेदन दिएको थिएँ। छ महिनाभन्दा बढीको प्रक्रिया हुँदै कैयन् अन्तर्वार्ता र मूल्याङ्कन पश्चात् अरू चार जना स्कलरका साथ मेरो पनि छनोट भएको थियो। भन्नैपर्छ, त्यो छात्रवृत्ति मेरो लागि वरदान नै थियो। त्यसले हवाईजहाजको टिकट मात्र हैन, सिंगापुरमा हुने ट्रान्जिटका लागि खानाको कुपन समेत उपलब्ध गराएको थियो। त्यस छात्रवृत्तिसँगै जोडिएर आउने सबै मान-सम्मान र छात्रवृत्तिको महानताका बाबजूद पनि त्यसले आउनेजाने खर्च नबेहोरेको भए म त्यसलाई पनि छोड्न बाध्य नै हुन्थें। र त्यो छात्रवृत्ति मैले नपाएको भए — म त्यतिबेला एउटा साथीलाई भनेको थिएँ — मेरो हालत सडकमा रहेको भुस्याहा कुकुरभन्दा राम्रो हुने थिएन।

जापान प्रस्थान गर्नुअघि जापानी राजदूताबासले ओरिएन्टेशन कार्यक्रम राखेको थियो। त्यसमा पहिलाका मोनबूशो स्कलर र जापानमा पढेर आएकाहरूलाई हामीसँग अनुभव साट्न बोलाइएको थियो। तिनीहरू जम्मै पहाडी नै थिए। त्यस कार्यक्रममा मैले आफ्नो परिचय दिँदा तिनीहरू नाक खुम्चाउँथे। मेरो कुनै प्रश्नको उत्तर दिनुको साटो ‘तपाईं पनि जाने?’ भनेर पटक-पटक दोहर्‍याउँथे। कुनै मधेशीले मोनबूशो छात्रवृत्ति पाएकोमा तिनीहरूलाई लागेको दु:ख म तिनीहरूको अनुहारमा देख्न सक्थें। मानौं निर्णय गर्ने क्षमता तिनीहरूको हातमा भएको भए तिनीहरूले मलाई त्यहींबाट उठ्न लगाएर छात्रवृत्ति खोसिदिन्थे, तर तिनीहरूको दुर्भाग्य, तिनीहरूको त्यहाँ केही चल्नेवाला थिएन। म पनि ठुस्स परेका तिनीहरूको लाचारी देखेर मुस्कुराउँदै केवल जापानी स्टाफतिर हेरिरहें।

[GO TO CONTENTS]

१६. जापानतिर

सन् २००३ को अप्रिलमा म टोकियोका लागि अरू चार मनबूशो स्कलरसँगै काठमाडौंबाट प्रस्थान गरें। देशको भूमि छोड्दै नयाँ भूमिमा पाइला टेक्न शुरु गर्दा मैले पुराना तीता अनुभवहरू बिर्सेर नयाँ जीवनको शुरूवात गर्ने अठोट लिएँ। नेपाल छोड्न पाउँदा मलाई खुशी लागेको थियो, मैले राहतको अनुभूति गरेको थिएँ। मैले सोचें नेपालबाहिर त अब मलाई राष्ट्रियताको लागि कठघरामा खडा गरिने छैन, मेरो वर्णका कारण मेरो राष्ट्रियतामाथि अब प्रश्न चिन्ह उठाइने छैन।

जापान जानु अलिअघि मात्र जापानी भाषा सिक्न थालेकाले जापान पुग्दा मलाई पटक्कै जापानी बोल्न आउँदैनथ्यो। त्यो भएर शुरुका दिनहरूमा आफ्नो काम-कुरा सम्हाल्न निकै धौ-धौ परेको थियो, तर म यही सोचेर आतिन्नथें कि सबै कुरा पहिले नै जानेको कारणले मान्छे मान्छे भएको होइन, बरु आफूलाई चाहिएको कुरा बनाउन, सिक्न, र सम्झन सक्ने भएकोले हो।

सानशीरो र साकुरा हेर्दै म आफ्ना शुरुवाती दिनहरू बिताएँ। जापानको बारेमा एउटा कुराको बारेमा म धेरै अचम्भित हुन्थें — उग्र आधुनिकताका बीचमा पनि आफ्नो संस्कृति र परम्परा जोगाएको देखेर। जापानीहरूको बानी-बेहोरा पनि मलाई अति नै मन पर्थ्यो। ल्याब र रेष्टुरेन्ट भित्र जाँदा पनि आफ्नो जुत्ता खोलेर जाने, फ्लोरमा सुकुल विछ्याएर सुत्ने, होचा टेबलमा खाने। तिनीहरूको उदारता र नम्रताको कुरा त गरेरै साध्य छैन।

जापान विशाल थियो, आधुनिकता र संस्कृतिको बेजोड संगम। विकसित देश कस्तो हुन्छ भनेर मैले त्यहीं अनुभव गरें। गगनचुम्बी भवनहरू, व्यवस्थित वस्तीहरू, सफा सडकहरू, ठूला मेट्रो र बस संजालहरू, र आधुनिक र सुनियोजित कार्यालयहरूलाई हाम्रा तेश्रो विश्वसँग दाँज्दा निकै नै विषमताको अनुभूति हुन्थ्यो। म धेरै तस्वीरहरू खिच्थें र घर पठाउँथें।

म शोशीगायामा रहेको विदेशी विद्यार्थीहरूको डोरमिटरी (र्‍यूगाकूसेई काईकाङ) मा बसेको थिएँ। विश्वभरिबाट आएका विद्यार्थीहरू त्यहाँ बस्ने गर्थे। मेरा विदेशी साथीहरू नभएकाले तिनीहरूलाई साथी बनाउने ठूलो रहर थियो र म तिनीहरूसँग घुलमिल हुन जान्थें। तर ‘म नेपालबाट आएको’ भनेर परिचय दिएपछि तिनीहरूले दिने प्रतिक्रियाले मलाई असहज बनाउँथ्यो। ‘त्यसो भए तपाईं हिमालयको देशबाट, एभरेष्ट त पक्कै चढ्नु भएको होला’ भनेर कतिले भन्थे भने कतिले म त नेपाली जस्तो देखिन्न भनेर भन्थे। त्यो भन्नु त्यति नराम्रो थिएन तर नेपालमा म जस्ता ‘काला’ मान्छेहरू पनि बस्छन्, एभरेष्ट त के जीवनभरि नै पहाडै न टेकेका मान्छेहरू पनि छन् भनेर मैले तिनीहरूलाई सम्झाउन खोज्दा तिनीहरू ममाथि शंका र उपहासका भावले हेर्थे, र आफ्नो कुरामा अडिग रहन्थे। तिनीहरू मेरा कुरा मान्न तैयार नै हुँदैनथे, मलाई नेपालीको दायरा भित्र अटाएर हेर्न चाहँदैनथे। म दक्षिण नेपालबाट आएको भनेर एक पटक परिचय दिँदा एकले त ‘म त नेपाल धेरै पटक गएको छु, त्यहाँ कुनै दक्षिण छैन,’ भनेर भनेका थिए! त्यही प्रश्नहरू जुन नेपाल बाहिर मलाई कहिले नपछ्याउने भनेर सोचेको थिएँ, मलाई खेदिरहेको थियो।

शुरूका केही महिना हामीले जापानी भाषा सिक्नुपर्थ्यो। भाषा कक्षामा बिताएको तीन महिनाको समय मैले कुनै कक्षा कोठामा बिताएको समय मध्ये सम्भवत: सबभन्दा आनन्दको समय थियो। त्यसको कारण कक्षाका साथीहरू थिए। कक्षामा पाकिस्तान, बंगलादेश, अरजेन्टिना, अस्ट्रिया, इथियोपिया, मलेसिया र फिलीपिन्सका साथीहरू थिए। हामी दक्षिण एशियाका साथीहरू सबै हिन्दीमै कुरा गर्थ्यौं, जुन बाहिरका साथीहरूका लागि आश्चर्यको कुरा हुने गर्थ्यो। भाषा कक्षाको अन्त्यमा सबैले प्रेजेन्टेशन पनि गर्नुपर्थ्यो। मैले मिथिला कला कोहबरको बारेमा प्रेजेन्टेशन गरेको थिएँ।

कक्षामा हामी साथीबीच यति प्रगाढ सम्बन्ध भइसकेको थियो कि पछि छुट्टिन निकै नै अप्ठ्यारो भएको थियो। भाषा कक्षा समाप्त भइसकेपछि मलाई एकदम एक्लिएको आभास हुन्थ्यो र कोही साथीसँग भेट होला कि भनेर म लेन्गुएज सेन्टरतिर जान्थें। अरू साथीहरूको पनि स्थिति त्यस्तै थियो। त्यही भएर हामीले भेटघाट गर्ने क्रम जारी नै राख्यौं। वंगलादेशका साथी मोहम्मद रेजा र म एउटै डरमिटरीमा बस्थ्यौं, र एउटै साझा किचेन पनि प्रयोग गर्ने गर्थ्यौं। बेलुका-बेलुका हामी खूब गफ चुट्ने गर्थ्यौं।

जापानको बारेमा जान्दै जाँदा त्यहाँका मानिसहरू खानाको ठूलै पारखी भएको मैले पाएँ। नेपालमा मैले शायदै कहिले खानाको विषयमा कुनै चर्चा गर्ने गर्थें, केही गरी त्यो मेरो बहसको विषय कहिले भएन। तर त्यहाँ खानाको विषयमा निकै चर्चा हुन्थ्यो, र तिनीहरूले मलाई नेपाली खाना बनाउन भन्थे।

पहिला नेपाल भ्रमण गरेका केही साथीहरूले मलाई चिया बनाउन भन्थे, र मैले बनाएर दिँदा ‘यो त नेपाली चिया जस्तो लागेन’ भनेर भन्थे। म तिनीहरूका लागि तरकारी बनाउँथे, र तिनीहरूले नेपाली तरकारी जस्तो स्वाद नआएको भनेर गुनासो गर्थे। लाज र कुंठाले मलाई छोप्थ्यो। तर मधेशमा चियाको स्वाद त्यस्तै हुन्थ्यो, मधेशमा तरकारी त्यसरी नै बनाइन्थ्यो, र मधेशमा तिनै मसलाहरूको प्रयोग हुन्थ्यो। म तिनीहरूलाई सम्झाउन खोज्थें कि मसला चिया र तीखा तरकारी खानेहरू पनि नेपाली हुन सक्छन्। केही साथीहरू नेपालका खानेकुराहरू कोसेली स्वरूप माग्थे, मैले पनि कहिले नदेखेको पहाडतिरका कुराहरू माग्थे, र ती कुराहरू म कहाँ न भेट्टाउँदा म ‘ओरिजनल’ नेपाली नभएको निष्कर्ष निकाल्थे।

डरमिटरीमा एक पटक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। त्यस डरमिटरीमा नेपालबाट म मात्र भएकाले त्यस कार्यक्रममा नेपालको तर्फबाट मैले केही प्रस्तुत गर्ने भनेर सोचें, र नेपाली भाषा बारेमा साधारण जानकारी दिने स्टल राखें। जम्मा भएकाहरूलाई नेपाली पढाइसकेपछि तिनीहरूले नेपालमा यात्रा गर्ने र सगरमाथा चढ्ने बारे अनेकानेक जिज्ञासाहरू राख्नथाले। सगरमाथाको ऊँचाई फिट र मीटर दुइटैमा मैले सम्झे पनि त्यहाँ जाने बाटो बारेमा म अनभिज्ञ नै थिएँ। म सगरमाथा अंचल कै भए पनि हामीले सगरमाथासँग केही लिनु-दिनु थिएन, सगरमाथा र हामीबीच पार गर्न नसकिने कैयन् पहाडी श्रृङ्खलाहरू थिए। मैले जीवनभरिमा कहिले हिमपात भएको देखेको थिइनँ, र त्यहाँ तिनीहरूले मसँग सगरमाथा चढ्दा हिउँको आँधीको भविष्यवाणी गर्ने र बच्ने बारे उपायहरू बताउन आग्रह गर्दै थिए।

म तिनीहरूको प्रश्नबाट यत्ति आजित भएँ कि पहाडी बाटो, बेस-क्याम्प र विभिन्न चुचुराहरूसम्म जाने रुटको अध्ययन गर्न थालें। पर्वतारोहन गर्न आवश्यक सीप, अनुभव र टूलहरू तथा विभिन्न चुचुरासम्म पुग्ने बाटाका बारेमा जानकारी पाउन म प्रख्यात पर्वतारोहीहरूका ब्लग पढ्न थालें। लोनली प्लानेटको नेपाल ट्राभेल गाइड किनें, सगरमाथासम्म जाने बाटो विस्तारमा देखाइएको र पर्वतारोहन सम्बन्धी विविध जानकारी भएको एउटा पिक्चर-बूक किनें। जोन क्राकोवरद्वारा लेखिएको ‘इन्टू द थिन एअर’ र रसियन पर्वतारोही अनातोली बूक्रीभद्वारा लिखित ‘द क्लाइम्ब’ बारबार पढें। लीअम नीसनको आइम्याक्स एभरेष्ट डक्युमेन्टरीको डिभीडी किनेर पटकपटक हेरें। तिनीहरूको स्टेरियोटाइपमा अटाउन म हरेक तयारी गरें। साँच्चै भन्दा, त्यो अध्ययनपूर्व म सगरमाथालाई तस्वीरमा पनि शायदै छुट्टयाउन सक्थें, र मलाई लाग्छ अधिकांश मधेशीले सक्दैनन्। सगरमाथा चढ्नु त हामी मधेशीका लागि आकाशको कुरा थियो।

नेपालबाट घुमेर फर्केकाहरूले झन् समस्या गर्थे। तिनीहरू कहाँ प्रश्नको लिस्ट भए झैं एक-पछि अर्को प्रश्न तिनीहरूले कुनै अन्तर्वार्ता लिए झैं सोध्थे। तपाईंसँग मादल छ? हामी मादल होइन, ढोल र मृदङ्ग बजाउँछौं, मनमा कुरा खेल्थ्यो। तपाईंसँग ढाका टोपी छ? हामी धोती-कुर्ता र पगडी लाउँछौं, सोच्थें। तपाईंसँग गुन्द्रुक छ? तपाईंलाई पहाडको सुगन्ध मन पर्छ? प्रश्नहरूको ताँती लाग्थ्यो। नेपाली हुनलाई तिनीहरूको मापदण्ड झनै कठिन थियो, शायद नेपाली नागरिकता लिनुभन्दा पनि गार्‍हो। तिनीहरूले लिएको परीक्षामा मैले कहिले कुनै प्राप्ताङ्क ल्याए जस्तो लागेन।

एक पटक मेरा एक जापानी साथीले नेपालमा जाइकामा काम गरेर फर्केका एक अफिसरसँग परिचय गराए। कुनै टावरलाई नियाले झैं तलदेखि माथिसम्म एक छिनसम्म नियाल्दै उनले भनेछन् — ‘तपाईं “वास्तविक नेपाली” त हुनुहुन्न, जन्म कहाँ भएको हो?’ उनले अपेक्षित उत्तर नपाउँदा बा-आमा कहाँ जन्मेको भनेर सोधेछन्। उनको कुराबाट प्रष्ट भइरहेको थियो कि जाइका जस्ता दातृसंस्थाहरू किन खाली पहाडमा र पहाडीहरूका लागि काम गर्छन् भनेर, तिनीहरू “वास्तविक नेपालीको” खोजीमा हुन्छन् र तिनीहरूमै आफ्नो लगानी गर्न चाहन्छन्। दातृसंस्थाहरूको त्यो चाराले नेपाल भित्र झन् बढी असमानता र भेदभाव निम्त्याएको कुरा यथार्थ हो। त्यही कारणले नै हो जहाँ केही पहाडी जिल्लामा हरेक गा. वि. स. भित्र माध्यमिक विद्यालय छन् भने मधेशमा दर्जनौं गाउँहरूका लागि एउटा पनि हुँदैनन्।

त्यस किसिमका स्टेरियोटाइपिङ्गका बीच म आफूलाई सान्त्वना दिन्थें — त्यो तिनीहरूको अज्ञानता हो, मधेश र मधेशीहरू बारेमा जानकारीको अभाव। र त्यही सोचेर म तिनीहरूको कुराबाट त्यति दु:खित हुन्नथें। तर मलाई दु:ख त्यति बेला लाग्थ्यो जति बेला विदेशमा आफ्नै देशबन्धुहरूले मेरो नेपाली हुनुको परिचयमाथि शंका गर्थे, र मेरो अडान र आफ्नो सम्पूर्ण नालीबेलीका बाबजूद सबै कुरा जान्दा-जान्दै पनि म नेपाली जस्तो नदेखिने भनेर नेपाली हुनुको मेरो परिचय अस्वीकार गर्थे। जहाँ आफ्नै देशबन्धुहरूबाट त्यस्तो भोग्नु परेको थियो, विदेशीहरूको अज्ञानताका बारेमा त के भन्न सकिन्थ्यो?

एक पटक म आफ्ना तीन विदेशी साथीहरूसँग नेपाल सम्बन्धी एक सांस्कृतिक कार्यक्रममा गएको थिएँ। त्यहाँ नेपाली कला र संस्कृति झल्काउने अनेकानेक कार्यक्रमहरू थिए, स्टलहरू राखिएका थिए। त्यहाँ एउटा जापानीले नेपाल भ्रमणका क्रममा आफूले बनाएको एउटा वृत्तचित्र पनि देखाइएको थियो, दुर्भाग्य त्यो जापानी सडक दुर्घटनामा परी नेपालमै मरेका रहेछन्। त्यो वृत्तचित्रमा ऊ मधेशतिर पनि गएको र एउटा मधेशी युवासँग कुरा गरेको दृष्य थियो। स्वाभाविक रूपमा मधेशी युवा मधेशी भाषामै बोलेको थियो। वृत्तचित्र समाप्त हुँदा मसँगै गएका मेरा एक साथीले त्यसमा किन भारतीयलाई देखाएको भन्दै सोधेका थिए। ‘ऊ त नेपाली नै हुन्’ भनेर मैले भन्दा, ‘भारतीय जस्तै देखिन्छ, नेपाली पनि बोल्दैन, कसरी नेपाली हो?’ भनेर प्रश्न गरेका थिए। मेरा ती साथी धेरै पटक नेपालमा — नि:सन्देह पहाडमा — बसेका थिए र उसलाई नेपाली बोल्न पनि आउँथ्यो। मैले उसलाई सम्झाउने कोशिस गरें कि त्यस्तै देखिने करोड मान्छेहरू नेपालमा छन् र नेपाली बाहेक दर्जनौं भाषाहरू नेपालमा बोलिन्छन्, र ती भाषाहरू बोल्ने पनि नेपाली हुनसक्छन्, तर शायद मेरो प्रयास व्यर्थ नै भएको थियो।

त्यही ठाउँमा एकातिर आफ्ना अनुभवहरू साट्ने एउटा कार्यक्रम पनि राखिएको थियो। म र मेरा एक जापानी साथी त्यसमा सहभागी भयौं। हामी लगायत सात-आठ जना गोलाकार भएर बसेका थिए र एक-एक गर्दै आफ्ना सांस्कृतिक अनुभवहरू साट्दै थिए। नेवारहरूमा प्रचलित विवाहका बारेमा एक महिला बोलिन्, अर्काले जापान र नेपालमा रहेको अश्लीलता प्रतिको भिन्न बोधका बारेमा बोले। मेरा जापानी साथीले पनि आफ्ना अनुभव साटे र त्यसपछि मेरो पालो थियो। म तयार थिएँ। तर मेरो पालो आउना साथ, संयोजकले मलाई रोकी मपछिको सहभागीलाई बोल्न लगाए। मेरा साथी अक्क-न-बक्क भएका थिए, तर के भइरहेको छ भनेर बुझ्न मलाई त्यति समय लागेन।

त्यहीं विभिन्न नेपाली कलात्मक कुराहरू देखाउँदै गरेको प्रदर्शनी कक्षमा आफ्नो साथीहरूसँग घुम्दै गर्दा म केही नेपालीहरूसँग बोल्ने कोशिस पनि गरें, तर तिनीहरू ठुस्स पर्थे, केही नसुने झैं गर्थे। पछि भर्‍याङ्गमा एक जना नेपालीसँग, अवश्य पनि नेपालीमै, कुरा छेड्दा, उनले एक छिन रोकिएर, ‘तपाईं साँच्चिकै नेपाली हो?’ भनेर सोधेका थिए। त्यो दिनभरि बारम्बार मैले त्यही कुरा सुन्नु परेको थियो। आफ्ना साथीहरूअगाडि त्यसरी दिनभरि अपमानित भइरहँदा मलाई अवश्य राम्रो लागेन, घर फर्कने बेलामा म अलि विचलित थिएँ, प्राय: मौनतामै हाम्रो बाटो कट्यो। कोठा फर्केपछि आफ्ना अनुभवका बारेमा डायरी लेखें र सुतें।

आफ्ना देशबन्धु तर्फबाट दुर्व्यवहार अरू कार्यक्रमहरूमा पनि भइ नै रह्यो। म शुरुमा नेपाली कार्यक्रमहरूमा धेरै जान्थें। नेपाल बाहिर थिएँ, र स्वाभाविक रूपमा त्यहाँ जाने मन हुन्थ्यो। तर प्राय: मेरो छानबिन गरिन्थ्यो, मेरो इतिहास सोधिन्थ्यो, र भनौं अन्तर्वार्ता नै लिइन्थ्यो। त्यहाँ जाँदा हरेक पटक तिनीहरूको दुर्व्यवहारबाट मेरो दिमाग केही दिनका लागि विचलित हुन्थ्यो। ती कुराहरूबाट आजित म केही समयपछि त्यस्ता कार्यक्रमहरूमा जानै छोडें।

ती कार्यक्रमहरूमा नगए पनि मलाई नेपाली रेष्टुरेन्ट चाहिं कहिलेकाहीं जानुपर्थ्यो। मेरो सेङसेई (प्रोफेसर) ले म विदेशमा रहनु पर्दा नेपाली खानाका लागि लालायित हुन सक्ने सोच्दै मलाई त्यहाँ लिएर जाने गर्नुहुन्थ्यो। त्यहाँ रेष्टुरेन्टका साहु र कामदारहरू, मेरा अडानका बाबजूद, म नेपाली भएको कुरा अस्वीकार गर्थे। आफ्नै सहपाठी र शिक्षकहरूको समूहका सामु आफ्नै देशका मान्छेले म नेपाली जस्तो नदेखिने र नेपाली हुन नसक्ने ठोकुवा गर्दा मलाई असजिलो लाग्थ्यो। कहिलेकाहीं टेबुल ठटाएर तिनीहरूले ठोकुवा गर्दा मेरा सहपाठीहरू हाँस्थे पनि। पछि सकेसम्म म नेपाली रेष्टुरेन्ट पनि जान छाडें र भारतीय रेष्टुरेन्ट जान थालें। तर त्यहाँ पनि नाम मात्र भारतीय हुन्थ्यो र बढी भए, साहु भारतीय, तर प्लेट उठाउने र भाँडा माझ्नेहरू सबै नेपाली नै। तिनीहरू भले भारतीय मालिकको शरणमा परेर गुलामी गर्दै, भाँडा माझ्दै त्यहाँ आफ्नो छाक टार्दा हुन् तर तिनीहरूको मुखबाट ठूल-ठूला कुराहरू निस्किन्थे, भारत जस्तो नेपाल कहिले गुलाम नभएको भनेर भन्थे।

यस्तै अनुभवहरूका साथ जीवन बित्दै थियो। फुर्सदको समयमा म जापानका अरू ठाउँहरू पनि घुम्न जान्थें। घुम्नका लागि डिपार्टमेन्टले केही आर्थिक मद्दत पनि दिन्थ्यो।

जापानमा हातमा केही पैसा आउने बित्तिकै म आफ्नो स्कूलमा भर्खरै एसएलसी पास गरेका विद्यार्थीका लागि छात्रवृत्ति राख्न विधान बनाएर बुवालाई पठाएँ। त्यसै गरी इन्जिनियरिङको प्रवेश परीक्षामा पनि राम्रो गर्नेका लागि छात्रवृत्ति दिन साथीहरूसँग सल्लाह गर्दै त्यसको लागि कदम चालें। यी कुराहरू कुनै नाम राख्नका लागि नभई आफूले स्कूलमा सर्वोत्कृष्ट अंक ल्याएर पास गरे पनि सर्टिफिकेट निकाल्न नसक्नुको, प्रवेश परीक्षामा राम्रो गरे पनि भर्ना हुन पैसा नहुनुको पीडाको बोधको परिणाम थियो, अरू पनि त्यस स्थितिबाट नगुज्रून् भने चाहको अभिव्यक्ति थियो।

[GO TO CONTENTS]

१७. घोर शून्यता

गगनचुम्बी भवन र चम्किला मँलहरूले जसरी मलाई पहिला आकर्षित गरेका थिए, तिनले कुनै अभिरुचि जगाउन छाडे। शीङजूकूको गगनचुम्बी भवनका माथिल्ला तल्लाबाट म सडकहरू नियाल्थें, शीबूयाको भीडमा मान्छेहरूको आँखामा टोलाउँथे, बूलेट ट्रेनतिर हतारिएका पाइलाहरूका बारेमा सोच्थें। तिनीहरू कमिला झैं लहरै हिँड्थे, कीरा झैं घस्रिन्थे, यन्त्रको पूर्जा झैं आवतजावत गर्थे, ‘तर किन?’ भनेर तिनीहरू कहिले सोच्छन् कि सोच्दैनन् भनेर म विचार गरिरहन्थें।

कुनै आवासीय क्षेत्रबाट गुज्रदा म सोच्थें, यदि यहाँ पानी परेमा वा धेरै घाम लागेमा केही बेर म कतै सुस्ताउन पाइनँ भने म कसरी जंगल वा मरुभूमिमा छैन? कुनै वृद्ध वा विरामी आफ्नो परिवार वा नजिकैको मान्छेका लागि चासोको विषय बन्दैन भने परिवार, समाज वा भीडको के मतलब? हामी एक-अर्कासँग बोल्दैनौं भने सँगै बस्नुको के प्रयोजन? यदि एक्लोपन नै मानव सभ्यताको लक्ष्य हुन गएको हो भने सभ्यताको मूल आधार नै भासिन लागेको जस्तो लाग्थ्यो। समाजको अर्थ नै के? यसको निर्माण नै किन भएको थियो?

त्यहाँको जनजीवन देखेर म सोच्न बाध्य थिएँ — आखिर यो जीवन केका लागि? जीवनको अस्तित्व केका लागि? मान्छेहरू किन दिन-रात वर्षौं-वर्ष कामै-काम गर्छन्, केही नसोधिकनै, के गर्नुपर्ने हो नजानिकनै, आफ्नो अस्तित्व केका लागि नखोजिकनै? तिनीहरू कसरी यी कुराहरू नसोधिकन जिउन सक्छन् भनेर म अचम्भित हुने गर्थें।

अस्पतालमा जन्मनु, नर्सरीमा हुर्कनु, विद्यालय जानु, जागिर खानु, वृद्धाश्रममा रिटायर हुनु, र अन्त्यमा एक दिन मर्नु मलाई अति नै यान्त्रिक र अनौठो लाग्न थाल्यो। गगनचुम्बी भवनहरूमाथिबाट हेर्दा पृथ्वीलाई अन्तरिक्षबाट हेरे झैं आभास हुन्थ्यो, त्यहाँ रहेका प्राणीहरू, तिनको दैनिकी र जीवनचक्रको वृहत् रूप झन् छर्लङ्ग भएर आउँथ्यो।

यदि जीवन यही हो भने अरू प्राणीभन्दा मानवको जीवन तुच्छ लाग्थ्यो, मानवले बाँच्नैका लागि नै निकै नै जटिल जीवन जिउनु परेको लाग्थ्यो, दुई छाक खानका लागि नै ठूलै चक्रमा फसे जस्तो लाग्थ्यो। मानवको जीवनलाई श्रेष्ठ भन्नु पर्ने कारण देख्दिनथें। तिनीहरू कसरी अरूभन्दा श्रेष्ठ छन्? यदि तिनीहरूले आफ्नो बच्चासम्म पनि जन्माउन सक्दैनन् वा जन्माउन चाहँदैनन्, किनकि तिनीहरूसँग समय छैन, तिनीहरू पाल्न सक्षम छैनन्, भने तिनीहरूलाई कसरी श्रेष्ठ भन्ने, अरु समाजभन्दा कसरी विकसित र समृद्ध भन्ने? त्यो कुरा प्राणीको प्राकृतिक वरदान र जिम्मेवारी पनि थियो, जुन मानव अलावा अरू प्राणीले सहजै निर्वाह गर्दै आएका देखिन्थे। त्यसबाट पनि वंचित रहनु परेको मानवलाई कसरी श्रेष्ठ भन्ने? तिनीहरू खुशी छन् भनेर कसरी भन्ने? सुख ठूला भवन, ठूला पुल र चेन मार्केटबाट प्राप्त हुने कुरो त होइन। नेपालका दुर्गम स्थानका किसानहरू मलाई त्योभन्दा बढी सुखी रहेको आभास हुन थाल्यो। आफ्नो जीवन, अस्तित्व, लक्ष्य र नियतिमाथि सोच्न तिनीहरूसँग वढी समय हुन्थ्यो, तिनीहरू छायाँमा बसेर सुस्ताउन सक्थे, सोच्न सक्थे, प्रकृतिको महानताको गुणगान गर्न सक्थे।

जीवन धान्नु नै जीवनको लक्ष्य हो भने सुख व्यक्तिगत चयनको कुरा हो। आफ्नो पेट धान्नैका लागि अरूसँग जटिलभन्दा जटिल आर्थिक खेलहरू खेल्नु, धरतीको श्रोत-साधनहरू हसुर्नु, र विशाल कार्बन फुटप्रिन्ट छोड्नुभन्दा खेतमा काम गरेर जीवनयापन गर्नु मलाई सन्तोषजनक लाग्न थाल्यो। यदि जिउनुको सार त्यही हो भने, यदि मैले आफूले सिकेको सीपबाट एक दिन खाली पेट धान्नु नै थियो भने, बीस वर्षसम्म स्कूल-कलेज गएर त्यसरी समय नष्ट गर्नुपर्ने आवश्यकता देख्दिनथें म। कुरा केवल पेट पाल्नुको हुन सक्दैन। कुरा वृहत्तर भलाईको हुनुपर्छ, वृहत्तर खोजको हुनुपर्छ, वृहत्तर बुझाइको हुनुपर्छ, भनेर सोचें।

आफ्नो समाजको लागि के म यस्तै विकास चाहन्छु, भनेर पनि म आफैंलाई प्रश्न गर्थें। के म आफ्नो समाजलाई पनि यस्तै भीडमा पनि एक्लो, सोच्न समय नभएको, मृत्युतिर हतारिएको दिशातिर डोर्‍याउन चाहन्छु? जापानले बितेका आधा शताब्दीमा निकै नै भौतिक प्रगति गरेको थियो, तर त्यहाँका सामाजिक मूल्य-मान्यताहरू परिवर्तन भएका थिए, जीवन यान्त्रिक बन्न पुगेको थियो। धेरै पटक घटौंसम्म म यी कुराहरूमाथि फ्रयाङ्कसँग बहस गरिरहन्थें। त्यही समाज जुन मैले आफ्नो समाजको पनि गन्तव्य हुने भनेर सोचेको थिएँ, त्यही समाज जुन सुखले परिपूर्ण लाग्थ्यो, खोक्रो लाग्न थाल्यो। प्रश्न नगर्दा भरिएको थियो, प्रश्न गरेपछि रित्तो हुन पुगेको थियो।

एकपटक, सुनसान अँध्यारोमा म हजारौं चिहान-स्तम्भहरू भएको ठूलो श्माशान भएर एक्लै गुज्रिरहेको थिएँ। ती स्तम्भहरू मतिरै चियाइरहेको प्रतीत हुन्थ्यो। श्मशानको बीचतिर पुगेपछि म जोरले हाँसे, ठूलो अट्टहास नै गरें। म कामीताकादा, नाकानोको हरे कृष्णा मन्दिरबाट फर्कंदै थिएँ। त्यो दिनको कार्यक्रम रद्द भएको रहेछ, र ढोकामा राखिएको एक सूचनाको अलावा म त्यहाँ कसैलाई देखिनँ। त्यहाँ श्रीमद्भागवतगीताको अध्ययन गर्ने समूह रहेकाले अरुसँग सिक्ने र गीताको आफ्नो बुझाइ पनि अरुसँग बहस गर्ने उद्देश्यले म त्यहाँ जाने गरेको थिएँ। त्यस श्मशानका बीच त्यस दिन म आफैमाथि हाँसेको थिएँ, त्यहाँ गाडिएका मान्छेहरूमाथि हाँसेको थिएँ, निरन्तर सांसारिक चाहनाहरूपछाडि दौडिरहेका मान्छेहरू एक दिन कसरी मृत्युको मुखमा परी चिहानमा गाडिन पुगेछन् भनेर हाँसेको थिएँ, कहिले फुर्सद नहुनेहरू कसरी फुर्सदिला हुन पुगेका रहेछन् भनेर हाँसेको थिएँ। श्माशानको दृश्य जापानमा आइरहन्थ्यो र त्यसले मलाई मृत्यु, भौतिक देह र जीवनको असारता, र सांसारिक दौडको व्यर्थताको सम्झना दिलाइरहन्थ्यो। नश्वर जीवनभन्दा परको ज्ञानको खोजीका लागि त्यसले मलाई उत्प्रेरित गरिरह्यो।

समय सँगसँगै ज्ञानको भोकले मलाई वृहत्तर रूपमा अध्ययन गर्न बाध्य बनाएको थियो। र त्यही क्रममा म नयाँ-नयाँ विचारसँग पनि परिचित हुँदै थिएँ। त्यस मध्ये गोडेल र बेलका थियोरमहरूले मलाई बेचैन बनाउन पुगेको थियो। म आफ्नो इन्जिनियरिङ पेशा प्रति निकै नै गौरवको अनुभूति गर्थें र गणितमाथि मेरो विश्वास प्रगाढ थियो। बुवा विज्ञान र गणितको शिक्षक हुनुहुन्थ्यो र दाइहरू विज्ञान प्रति उत्तिकै समर्पित। उहाँहरूको लगावले गर्दा विज्ञान र गणितसँग मेरो पनि गहिरो सम्बन्ध बन्न पुगेको थियो। विज्ञानले एक दिन संसारका सबै रहस्यहरू खोलिदिने र हामी को हौं, यहाँ किन छौं भनेर व्रह्माण्डमा हाम्रो अस्तित्व र उद्देश्यका बारेमा पनि उत्तर दिन सक्ने कुरामा विश्वास राख्थें। तर ती थियोरमहरूले विज्ञानमाथिको मेरो विश्वास हल्लाइदिएको थियो। ती कुराहरूलाई हेजेनवर्गको अन्सर्टेन्टी प्रिन्सिपलसँगको सम्बन्ध केलाउँदै एउटा गणितज्ञले लेखेको लेख पढ्दा विज्ञान र गणितको सीमितता र असक्षमता म सजिलै देख्न सक्थें। म पहिला पनि कोर्सकै रूपमा क्वान्टम मेकानिक्स पढेको थिएँ, इन्जिनियरिङ पढ्दा ताका स्टेफेन हाउकिङ्ग्स्‌को ‘अ ब्रिफ हिस्टरी अफ् टाइम’ पनि पढेको थिएँ, तर त्यति बेला मैले गहन गरी विचार गरेको थिइनँ। तर त्यस बेला सब कुरा छर्लङ्ग भएर आएको थियो।

विज्ञान पनि आखिर, कुनै तहमा, विश्वास मै आधारित थियो। सबैभन्दा सख्त मानिएका गणित पनि मूलत: एउटा टूल बनेरै सीमित हुन पुगेको थियो, जुन अन्तिम वस्तुनिष्ठ सत्यसम्म पुग्न असमर्थ नै थियो। यदि विज्ञान र गणितले अन्तिम सत्य र अस्तित्वको समग्र ज्ञान उजागर गर्न सक्दैनन् भने त्यसको प्रयोजन के? गाडी र मेशिन झैं हाम्रो जीवन सहज पार्न, म आफैंलाई सान्त्वना दिन्थें। तर साँच्चिकै विज्ञानले मानवको जीवन सहज पारेको छ र, भनेर पनि शंकै लाग्थ्यो।

म भित्र-भित्रै निकै खाली भएको महशूस गर्न थालें। भित्रको रित्तोपन असीम लाग्थ्यो। अन्तिम सत्य जान्ने इच्छा दिनानुदिन तीब्र हुँदै गयो, रात-दिन त्यसले मलाई बेचैन बनाइरह्यो। तर त्यही बेला आफ्नो पहिचानको सवालले, न्यायको सवालले, सामाजिक उत्तरदायित्वको सवालले पनि सताउँथ्यो। किचेनमा सँधैजसो सँगै बसेर गफ गर्ने म आफ्नो साथी बलराम शंकरनलाई भन्थें — ‘म चाहन्छु, सामाजिक न्याय र पहिचानको कुरालाई अरू कसैले समाधान गरून्, म त अन्तिम सत्यको खोजीमा जान चाहन्छु, ज्ञानको बाटोमा हिँड्न चाहन्छु।’ उनी शंका गर्ने गर्थे — ‘त्यो बाटोमा तिमीले के पाउने छौ? त्यस बाटामा कैयन्‌ पहिला हिँडेका छन्, तर के पाए? के अन्तिम सत्य तिनीहरूले भेटाए?’ त्यसको प्रत्युत्तरमा म केवल यति भन्ने गर्थें कि त्यो बाटोमा हिँड्दा-हिँड्दै म मरे पनि कम्तीमा अँध्यारोमा बाँच्नुभन्दा सत्यको खोजीमा मैले जीवन अर्पण गरेको भनेर मलाई संतोष त हुनेछ। अरू कुराभन्दा खोज र केवल खोजले नै मतलब राख्थ्यो।

भीडलाई नियाल्ने र मान्छेहरूका आँखा पढ्ने काम मैले जारी नै राखें। आफ्नो वास्तविक गन्तव्यबाट अनभिज्ञ हतारिएका भीडहरूले मलाई चकित बनाउने काम गरिरहे। सबै सांसारिक सुविधा र धन-दौलतका वावजूद म तिनीहरूलाई सन्तुष्ट देख्दिनथें, सुरक्षित महशूस गरेको पाउँदिनथें, सुखमय जीवन बिताएको र शान्ति भएको जस्तो लाग्दैनथ्यो, अझ बढी धन र सांसारिक उपलब्धि हासिल गर्न दौडा-दौड गरेको पाउँथें। भौतिक प्रगतिको त्यति महत्व नरहेको विश्वास मलाई भयो, र मैले बुवालाई एउटा लामो पत्र लेखें — आफ्नो द्विविधा बताउँदै र पढाइ छोडेर संयासी बन्ने इच्छा जाहेर गर्दै। म बाशोको भ्यागुतोझैं अनन्तमा डुबुल्की मार्न लालायित थिएँ। आफू गाउँको मन्दिरमा पूजारी भई ध्यान गरेको, अध्ययन गरेको र प्रवचन दिएको भनेर परिकल्पना गर्न थालें। तर कहिलेकाहीं पहिलाको कुरा सम्झँदा झस्किन्थें पनि। जागीरबाट राजीनामा दिएर घर बस्न जाँदा मान्छेहरूले राम्रो मानेका थिएनन् र नानाभाँतीका कुराहरू काट्थे। झन् यसपालि जापानको सुख-शयल छोडेर गाउँमा जोगी बनेर बस्न गएँ भने तिनीहरूले बस्न देलान्, शान्तिले जीवन बिताउन देलान्? शंका लागिरहन्थ्यो।

अन्त्यमा बुवाले त्यस पत्रको जवाफ त पठाउनुभयो, तर उहाँले लेख्नुभएको थियो — ‘तिमीले अहिले यी कुराहरूमाथि सोच्नुपर्दैन, खाली पढ र आफ्नो काम गर।’ न सोच्ने? पत्र पढेर अनौठो लाग्यो। तैपनि म त्यस वर्ष अगस्तमा घर फर्कें। ओशाकाबाट काठमाडौंसम्म रोयल नेपाल एयरलाइन्समा मेरो उडान थियो।

[GO TO CONTENTS]

१८. सत्यको खोजीमा

सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर म घरबाट निस्कें, कहाँ जानु छ मलाई थाहा थिएन, कुनै योजना थिएन। काशी गएर गंगामा पहिला स्नान गर्ने, र त्यसपछि मात्र आफ्नो खोज आरम्भ गर्ने भनेर घरबाट निस्किँदा बुवालाई भनेको थिएँ। तर म सीधै पूर्वतिर लागें। मेरो साथमा रामानन्द पनि थियो, उसले आफूलाई मेरो चेला भनेर परिचय गराउने गर्दथ्यो।

बाटामा धेरै ठाउँमा सैनिकले हामीलाई रोके। तिनीहरूले यात्रीलाई बसबाट ओर्लिन भन्थे, र सबै सर-सामान जाँच गर्थे। मलाई याद छ, एक ठाउँमा सैनिकले मेरो झोलाबाट एक-एक सामान बाहिर निकालेर टेबलमा थुपार्दै राम्ररी जाँचेको थियो। मेरो झोलामा केही लुगा र किताबहरू थिए। किताबहरू मध्ये गान्धीको ‘सत्यके प्रयोग वा आत्मकथा’, योगानन्दको ‘अटोबायोग्राफी अफ् अ योगी’, आइन्स्टाइनको ‘आइडियाज एण्ड अपिनियन्स’ र साईंबाबाको किताब थियो। झोलामा मेरा एक-दुई डायरीहरू पनि थिए। सैनिकले मेरो डायरी भित्र पल्टाएर हेर्यो, तर पढ्न कठिन मेरा लेखाइ शायद उसको लागि त्यति चासोको विषय बनेन। समस्या त आइन्स्टाइनको किताबले उब्जाएको थियो, त्यो किताबको नामले गर्दा त्यो कुनै राजनैतिक र उत्तेजना जगाउने किताब हो कि भनेर सैनिकले मलाई नराम्ररी सोधपुछ गर्न थाल्यो। आइन्स्टाइन कुनै ‘क्रान्तिकारी’ नभएर महान बैज्ञानिक भएको र त्यो किताब ‘राजनैतिक’ नभएको कुरा म भएभरको मीठो आवाजमा सुस्तरी तिनलाई सम्झाएँ, र अन्त्यमा तिनले हामीलाई जान दिए। त्यो दिन मैले मार्क्स वा माओका कुनै किताब बोकेको भए शायद मेरो यात्रा त्यहीं टुङ्गिन्थ्यो।

हामी मेची नदी पार गर्यौं र सिलीगुढीबाट कलकत्ताका लागि रेल समात्यौं। कहाँ जाने थाहा नभएकाले टिकट बूक गरेको थिइनँ, त्यो त्यहाँबाट समात्न सकिने पहिलो रेल थियो। त्यसरी नै स्टेशनमा पुगेपछि त्यहाँ उपलब्ध हुने रेल वा बस समात्दै म एक ठाउँबाट अर्को ठाउँको यात्रा गरिरहें। टिकट त म स्लीपर क्लास कै किन्थें, तर अन्तिम घडीमा लिएकाले नाम जहिले पनि प्रतिक्षा सूचीमै हुने गर्थ्यो, र हामीले प्राय: दोश्रो दर्जामै उभिएर वा ढोका नजिक झुन्डिएर वा भूईंमा बसेरै यात्रा गर्नुपर्थ्यो। त्यसरी यात्रा गर्दै हप्तौं मैले रेलमै बिताएँ, र त्यसक्रममा सबै किसिमका मान्छेहरू, भूभागहरू, र ठाउँहरू हेर्ने मौका मैले पाएँ।

एक राति रेलडब्बाको ढोकानिर, शौचालयअगाडि भूईंमा बस्दै हामी आफ्नो रात बिताउँदै थियौं। यात्रीहरूले आफ्नो खुट्टा मेरो काँध माथिबाट घसार्दै जब शौचालयको ढोका खोल्थे, शौचालयको निकै नै तीखो दुर्गन्ध ह्वासै नाक भित्र पस्थ्यो। हामीसँगै दुई-चार जना स्थानीय ठिटाहरू पनि बसेका थिए। तिनीहरू आफूमा कुनै स्थानीय भाषा मै बोल्थे, दक्षिण भारतको कुरा भएर होला, म बुझ्न असमर्थ थिएँ। तिनीहरूसँग म अंग्रेजीमा कुरा गर्थें। कुराकै क्रममा ती मध्ये एकले सोधेछ — ‘त्यसो भए तिमी बेहुली खोजिरहेका छौ।’ ‘अहँ, म भगवान् खोजिरहेको छु,’ उसले कुरा पूरा गर्न नपाउँदै मेरो मुखबाट फ्वात्त निस्कियो। एक छिनपछि उसलाई मैले के भन्न पुगेछु भनेर सोचें। अलि अनौठो लाग्यो, स्टेशनको ‘लस्ट एण्ड फाउन्ड’मा रिपोर्ट लेखाएर भगवान् पाउन सकिने झैं आफ्नो कुरा हल्का पाराको लाग्यो।

यात्राका क्रममा किसिम-किसिमका मान्छेहरू रेल भित्र आउने-जाने गर्थे। एक ठाउँमा केही हिजडाहरू रेलडब्बामा छिरे। तिनीहरू यात्रुअगाडि थपडी बजाउँदै पैसा माग्ने गर्थे। म तिनीहरूतिर पटक्कै हेर्दिनथें, तिनीहरू आउना साथ म झ्यालबाट अन्यत्र कतै हेरिरहन्थें। रामानन्दलाई म सिक्काहरूको पोको नै दिएको थिएँ, र उसले नै तिनीहरू र अन्य माग्नेहरूलाई पैसा दिने गर्थे। त्यस पटक पनि हिजडाहरूतिर मैले हेरिनँ, र आफ्नो नजर दृढताका साथ सीटको बीचमा रहेको टेबलमा राखिएको साईंबाबाको किताबमाथि टिकाइरहें। किताबमाथि साईंबाबाको मनोरम तस्वीर थियो। म त्यसमै लीन हुँदा एउटा हिजडाले मेरो मुखअगाडि ताली बजाउँदै, ‘म पनि त साईं हूँ, मतिर हेर,’ भन्न थाले। म अझै पनि ऊतिर हेरिनँ। ऊ डब्बाबाहिर गयो। ऊ गइसकेपछि उसले के भनेको भनेर मैले विचार गरें, उसको आवाज मेरो कान, र अन्तरात्मामा, अझै प्रतिगुञ्जित भइरहेको थियो। मैले के गर्न पुगेछु महशूस हुना साथ म ऊपछाडि दौडें। तर ऊ गइसकेको थियो, आँखाबाट ओझेल भइसकेको थियो, विलिन भइसकेको थियो, शायद सदाका लागि।

जादूगरी देखाउँदै गरेका कुनै मर्दाना पुरूषलाई भगवानको रुपमा देख्न सिकाइएको मेरो दिमागले त्यसभन्दा बढी देख्नसकेको थिएन। भगवान् हिजडा पनि हुनसक्छ। उसको नयनमा नहेर्ने मेरो चेष्टा र आफ्नो ‘एप्रायरि बाइस’का लागि मलाई पछुतो लाग्यो। के थाहा, उसकै आँखामा म सत्य, स्वर्ग, शान्ति र निर्वाण पाउँथें।

हाम्रो दिमाग अभ्यस्त छ, दिन सक्ने कुनै धनी भगवानका लागि। किनकि मान्छे सदा लिन चाहन्छ, नअघाइ कहिले यो त कहिले त्यो, र त्यही भएर भगवान् त्यही हुन गएको छ जसले दिन सक्छ। तर के थाहा, भगवान् हामीसँग भएका सबै कुरा हरण गर्न सक्ने गरी नै गरीब पनि हुन सक्छ।

हाम्रो दिमागलाई भगवान् ती हुन् जसले हाम्रो घाउ भर्न सक्छन् भनेर सिकाइन्छ, तर के थाहा, भगवान् हामीलाई कहिले पनि न भर्ने घाउ दिने पनि हुन सक्छन्। हामीलाई सान्त्वना दिने भगवान् हुन् भनेर सिकाइन्छ, तर के थाहा, भगवान् अनन्तसम्मै चोट पुर्‍याउने पनि हुन सक्छन्। हामीलाई राम्रा आशीर्वादहरूले धन-धान्य गर्ने भगवान् हुन् भनेर सिकाइन्छ, तर के थाहा, उद्धारै नहुने गरी हामीलाई अभिसप्त गर्ने पनि भगवान् हुन सक्छन्। कर्णप्रिय मृदुवाणीले परिपूर्ण देवदूत जस्ता भगवान् हुन्छन् भनेर सिकाइन्छ तर के थाहा भगवान् रूखो र अशिष्ट पनि हुन सक्छन्। उद्धारकर्ता भगवान् हुन् भनेर सिकाइन्छ तर के थाहा हामीलाई कुनै अग्ला टावरमाथिबाट फाल्ने पनि भगवान् हुन सक्छन्।

जीवन बचाउने मात्र भगवान् हुन सक्दैनन्, हामीलाई कुनै गतिशील रेलअगाडि ट्र्याकमा फालिदिने पनि भगवान् हुन सक्छन्। जीवन र प्रेमका बारेमा मीठा रमनीय कुराहरू गर्ने मात्र भगवान् हुँदैनन्, हामीलाई अथाह कुँवामा धकेल्ने पनि हुनसक्छन्। के थाहा? भगवान् नै उत्तर हुन् र उत्तर नै भगवान्।

त्यस घटना पश्चात् मैले हरेक आँखाहरू नियाल्ने प्रयास गरें, हरेक कुरा, हरेक मान्छेमा हेर्ने प्रयास गरें। मैले हिजडाका आँखामा पनि उत्तिकै स्नेहपूर्वक हेरें। माटाका भाँडामा चिया बेचिरहेका बच्चाहरूका आँखामा हेरें, फुटपाथमा पडेका अपाङ्गका आँखामा हेरें, स्टेशनमा मागिरहेका अन्धाहरूका आँखामा हेरें, सबै बटोहीहरूका बाटामा हेरें। भगवानलाई मैले हिप्पीहरूको गीतमा खोजें, सुफीहरूको संगीतमा खोजें, भक्तहरूको भजनमा खोजें। भगवानलाई मैले जहाँसुकै खोजें।

समयको ख्याल रहन मलाई छोडिसकेको थियो। स्टेशनहरू अप्रासङ्गिक थिए, र गन्तब्य मतलबहीन। मान्छेहरू आउँथे, जान्थे। भिखारीहरू चढ्थे, ओर्लिन्थे। तिनीहरू आए, तिनीहरू गाए, तिनीहरू गए। बाँकी रह्यो तिनीहरूले गाएको गीतको गुञ्जन। हुँदाहुँदा, अनादिदेखि आफ्नो अस्तित्व रहेको आभास हुन थाल्यो, कणकणमा आफै समाहित भएको लाग्न थाल्यो।

शुरूका दिनहरूमा पापी मान्छेहरूको स्पर्शले म अशुद्ध होउँला कि जस्तो लाग्थ्यो, आइमाई र हिजडाको स्पर्शले अशुद्ध हुन पुगुँला कि जस्तो लाग्थ्यो। भीष्म पितामहको ब्रह्मचर्यबाट प्रभावित म आफ्नो पवित्रता गुमाउँला कि भनेर डर लागिरहन्थ्यो। तर मैले छिट्टै नै थाहा पाएँ — मान्छेले अझै पनि गुमाउन केही बाँकी छ भने उसले भगवानलाई खोज्नै सक्दैन।

म धेरै ठाउँहरू गएँ, ठूला शहरहरू मध्ये भन्नुपर्दा कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् गएँ। साईंबाबाको शरण गुहार्दै म पुट्टपर्तीको प्रशान्ति निलयम् गएँ। त्यहाँ आफ्नो मनमा रहेका अनेकौं प्रश्नहरू उत्तरित भएको पाएँ। कुनै सागरमा नदी बिलाए झैं म आफूलाई विलीन भएको पाएँ, एक भएको पाएँ।

कन्याकुमारीदेखि रामेश्वरम्‌सम्म, म अनेकौं मन्दिर र पावन स्थलहरूमा गएँ। पवित्र मन्दिरहरूको द्वारमा आफ्नो मस्तक रगडें, आरतीको ज्योतिले आफ्ना परेलीहरू सेकें, गुढ़ मन्त्रको जप गर्दै ध्यान गरें, आत्मा छुने भजनहरूमा झुमें। आफ्नो सबै पाप र अपवित्रता पखाल्न रामेश्वरम्‌मा एकपछि अर्को गर्दै बाइस कुण्डको पवित्र जलले स्नान गरें। एउटा नवयुवक गेरू वस्त्र धारण गरेको देख्दा यात्राका क्रममा मान्छेहरू केही चकित हुँदै मतिर टोलाउँथे। कोही सहानुभूति पोख्थे त कोही मलाई घर फर्केर गृहस्थ-परिवार सम्हाल्न भन्थे, भने कोही हाँस्थे।

म निर्वाणको बाटोमा अग्रसर भएको थिएँ। सांसारिक मोह र संसारलाई त्यागेर हिँडेको थिएँ। तर संसारले मलाई छोडेको थिएन, मेरो परिचयले मलाई छोडेको थिएन, राष्ट्रियताले मलाई छोडेको थिएन। म फकीर नै भइसक्दा पनि आफ्नो राष्ट्रिय पहिचानले मलाई छोडेको थिएन, र अझै सताउँथ्यो। ट्रेनमा, होटलमा, मन्दिरको द्वारमा, प्रश्न खडा भइहाल्थ्यो — ‘तपाईं कहाँबाट हुनुहुन्छ?’ र नेपालबाट भनेर उत्तर दिएपछि ‘नेपाली जस्तो त देखिनु हुन्न’ भन्ने चिरपरिचित वाक्य मेरो गालामा थप्पड झैं बजारिन पुग्थ्यो। उनीहरूले शंका गर्थे, म दोहोर्‍याउँथे। झन् सशंकित, तिनीहरू मेरो परिचय पत्र माग्थे। रेल भित्र पनि यात्रीहरूले मेरो नागरिकता र पासपोर्ट माग्थे, होटल, बैंक वा टिकट काउन्टरको त कुरै छोडौं। म यस संसार र सांसारिकताबाट टाढा हुन खोज्दा, देश-राष्ट्र र सीमा परको आध्यात्मिक दुनियाँको पात्र हुन खोज्दा पनि नागरिकता र राष्ट्रियताको सवालले मलाई छोडेन। तिनीहरूले मलाई नराम्ररी पछ्याइरह्यो।

म विचार गरिरहन्थें, म यस पासपोर्टलाई किन छोड्न सक्दिनँ, यस नागरिकताको कागजलाई किन छोड्न सक्दिनँ, आखिर म आध्यात्मिक दुनियाँमा आफूलाई यी भौतिक, भौगोलिक र राजनैतिक सीमाहरू पर राखेको छु। तैपनि किन म कुनै देशको हुनुपर्यो, तैपनि किन म कुनै देशको भएको प्रमाणित गरिरहनुपर्यो?

मान्छे र समाज बीच बसिरहँदा राष्ट्रिय पहिचानबाट मुक्ति पाउनु असम्भव लाग्यो। मान्छेहरू नभएको कुनै घना जंगलतिर भाग्ने मन भयो, हिमालय गएर कुनै गुफामा तपस्या गर्ने मन भयो, हाम्रा ऋषि-महर्षिले गरे झैं कैलाश पर्वत मै गएर बस्ने र ध्यान गर्ने मन भयो। तर केही दिन पश्चात् मेरो मनमा अर्को आवाज उठ्यो। यहाँ, भारतमा म आफ्नो परिचय पत्र वा नागरिकता देखाउन चुकें भने बढीमा जेल सजाय होला, तर हिमालयको गुफामा, कैलाश पर्वतमा बस्दा मैले आफ्नो नागरिकता देखाउन सकिनँ भने के होला? मलाई गोली नै हान्न सकिनेछ, फाँसी नै दिन सकिनेछ। हिमालयमा पाकिस्तान वा चीनतिर समातिएँ, र आफ्नो परिचयपत्र देखाउन वा आफ्नो नागरिकता प्रमाणित गर्न असफल भएमा, कुनै जासूस वा घुसपैठियाको आरोपमा तिनीहरूले मलाई गोली नै हान्नेछन्।

म जोगी हुन हिँडेको थिएँ, म अनन्तमा आफूलाई विलीन पार्न हिँडेको थिएँ, म सबै कुरा त्यागेर आफ्नो अस्तित्व परामात्मामा मिलाउन हिँडेको थिएँ, तर त्यो ठाउँ नै कहाँ छ जहाँ मसँग नागरिकता नमाँगियोस्, जहाँ मलाई मेरो पहिचानको आवश्यकता नहोस्? यस ग्रहमा राष्ट्रिय पहिचान विना कुन ठाउँमा उभ्न दिइन्छ? यस धरतीमा राष्ट्रिय पहिचान विना कुन ठाउँमा जान दिइन्छ? यस भूलोकमा राष्ट्रिय पहिचान विना कुन सीमाना नाघ्न दिइन्छ?

यस किसिमका प्रश्नहरूका बीच म यताउति भौंतारिरहें। बेचैन, सर्वशक्तिमानको चरणमा शरणको मलाई प्रगाढ इच्छा भयो। अनि एक दिन, एउटा आवाज सुनें — ‘म तिमीलाई त्यहाँ दास बन्न पठाएको होइन, बल्कि एउटा स्वतन्त्र मानव। म तिमीलाई एउटा मुक्त मानवको रूपमा पठाएँ र स्वतन्त्र मानवकै रुपमा तिमी मकहाँ आएको देख्न चाहन्छु, दासको रुपमा होइन। दासहरूका लागि मकहाँ कुनै स्थान छैन। जन्मँदा तिमीलाई दिएको आत्मसम्मान खै त? जन्मँदा तिमीलाई दिएको स्वतन्त्रता खै त? अरू कुरा मसँग माग्नु पहिला मैले दिएका ती कुराहरू लिएर आऊ, आत्मसम्मान र स्वतन्त्रता लिएर आऊ। जाऊ, ती कुराहरू पहिला खोज, अनि मात्र मलाई खोज्नु। अहिले तिमी केवल भगौडा हौ, र तिनीहरूको लागि यसअगाडि कुनै मार्ग छैन।’

हुन सक्छ, मेरो अन्तरात्मा नै मसँग बोलिरहेको थियो, तर कुरा प्रष्ट थियो। पहिचानबाट भाग्ने कुनै चारा थिएन। म को हूँ, भनेर आफ्नो पहिचान अस्वीकार गरेर अगाडि बढने कुनै बाटो थिएन। त्यो मेरो अस्तित्वकै हिस्सा थियो, मेरै हिस्सा थियो। मान्छे सबै कुराबाट मुक्त हुन सक्छन्, तर आफ्नो पहिचानबाट होइन। हिमालयको गुफामा जाऊन्, कि घना जंगलमा लुकून्, पहिचान बिना कतै कुनै स्थान छैन। त्यहाँ पनि ऋषि बनेर ध्यान-तपस्या गर्न लागियो भने कुनै देशका सैनिकले त्यो उसको भूमि हो भन्दै जेलमा कोचिदिनेछन्। मान्छे पुगेको त्यस्तो कुनै स्थान छैन जहाँ सैनिकको आधिपत्य नहोस्, जहाँ पहिचान बेगर, राष्ट्रियता बेगर मान्छेलाई पाइला टेक्न दिओस्।

मलाई लाग्यो, पहिचानको ब्रह्मज्ञान मैले भेट्टाएँ।

[GO TO CONTENTS]

१९. एक अर्को आक्रमण

जापान फर्कन सेप्टेम्बर १, २००४ को दिन म काठमाडौंको लागि रवाना भएँ। गाउँलेहरूसँग बस्दा तिनीहरूले ममाथि गर्ने गरेको गौरव र आशा हेर्दा ममा नयाँ उर्जाको संचार भएको थियो। म बिहानको बस राजबिराजमा समातें। बसमा एक पत्रकार मेरो छेउमा बसेको पाएँ, र अगाडिको सीटमा माथिल्लो संसद्‌का पूर्व सदस्य थिए।

ढल्केबर नजिकै आइपुग्दा गाडी बन्द भएको हामीले पायौं। यत्रतत्र भीड र कोलाहल थियो, खैलाबैला मच्चिएको थियो, मान्छेहरू यता-उता दगुरिरहेका थिए। बस रोकेपछि आफ्नो खुलदुली मेटाउन म पनि ओर्लें। इराकमा आतंकवादी समूहले नेपालीहरूलाई मारेको कुरालाई लिएर विरोध गरिएको रहेछ, तर बन्द निकै नै हिंषात्मक हुन पुगेको थियो। टायर बाल्दै र गाडीहरू तोडफोड गर्दै ढुंगामुढा गरिरहेका उत्तेजित हुल भयावह देखिन्थ्यो। म सडकको छेउमै बसेर हेरिरहेको थिएँ। एक्कासी नजिकै कोही जोरले कराइरहेको सुनें — ‘सबै मूस्लिमलाई आगोमा जलाउनुपर्छ, सबै धोतीलाई जिउँदै आगोमा फाल्नुपर्छ।’ म आफ्नो टाउको उतैतिर फर्काएँ। एउटा पहाडी ठिटो मतिरै झन् जोरले कराउँदै आइरहेको थियो। मेरो गलामा झुन्डिरहेको क्यामेरा देखेर म पत्रकार हो कि भनेर सोचेर होला, मलाई देख्ना साथ ऊ अलिक झस्क्यो र उसको आवाज पनि अलि मत्थर भयो। त्यति बेला पेन ड्राइभ पनि नेपालमा मान्छेहरूले चासोका साथ हेर्ने गर्थे र राख्नुमा गौरवको अनुभूति गर्थे भने मसँग त ओलम्पसको ठूलो लेन्स भएको क्यामरा थियो। त्यसले निश्चित रूपमा मेरो प्रोफाइल बढाउन केही काम गरेको थियो। मेरा आँखा उसका आँखामा पर्ना साथ मैले हटाएँ, ऊ केही बड्बडाउँदै अन्त्यमा शान्त भयो।

बाहिरै बस्ने कि बस भित्र नै जाने भनेर मैले सोच्न सकिरहेको थिइनँ। बाहिर हुलका ठिटाहरूले मलाई घुरिरहेका थिए। तर बस भित्र जानु उत्तिकै खतरनाक लाग्थ्यो। बस भित्र तिनीहरू खोज्दै आए भने, म त्यही समातिएँ भने, बसमै थुनेर तिनीहरूले आगो लगाइदिए भने? बसअगाडि झन् राजबिराज लेखिएको थियो, मधेशीको बाहुल्यताको क्षेत्र र पहाडीहरूले देखी नसक्ने नाम। त्यसले बसलाई झन् असुरक्षित बनाइदिएको थियो, पहाडीहरूको सम्भावित आक्रमणको निशाना। म बाहिरै बसिरहें, पहाडीहरूको नारा सुन्दै, तिनीहरूको दङ्गा हेर्दै। बस त्यहाँ दुई घन्टाभन्दा बढी नै रोकियो, अन्त्यमा प्रहरी र प्रशासनले हस्तक्षेप गर्दै हुलसँग कुरा मिलाएपछि मात्र गाडीहरू विस्तारै अगाडि बढ्न थाले।

बस चल्न थालेपछि म सोच्न थालें — इराकमा केही भयो भन्दैमा म त्यसको भागी किन हुनुपर्ने? त्यहाँ केही भयो भन्दैमा मधेशीहरूलाई नै पिट्ने र जलाउने कुरा किन आउनु पर्ने?

सँगै यात्रा गरिरहेका पत्रकार र नेता यात्रा खतरापूर्ण भएको देखेर काठमाडौं जाने योजना स्थगित गर्दै बीचमै कतै ओर्लिए, अरू कैयन् यात्रीहरूले पनि त्यसै गरे। तर मलाई आफ्नो उडान समात्नु थियो, र त्यही भएर सबै खतरा बाबजूद म अगाडि नै बढ्ने निर्णय गरें।

बाटामा धेरै ठाउँमा हामीले बन्द र दङ्गा भेट्टायौं। बस पहाडी क्षेत्रमा प्रवेश गरेपछि म भित्रै बस्ने निधो गरें, चिया खान वा शौचालय जान समेत कतै ओर्लिनँ। एक ठाउँमा स-साना बच्चाहरूले नै सडकमा टायर बाल्दै बन्द गरेका थिए। तिनीहरू मध्ये कति त शायद स्कूल जान पनि थालेका थिएनन् होला। तिनीहरूले नारा लगाइरहेका थिए — ‘मूस्लिमलाई फाँसी दे, मूस्लिमलाई फाँसी दे।’ त्यस्ता स-साना अबोध बच्चाहरूले समेत त्यसरी नारा लगाएको देखेर म अलि चकित भएँ, आफूलाई रोक्न सकिनँ, एकै छिन ओर्लेर केही तस्वीरहरू खिचें र झट्ट फेरि बस भित्रै छिरें।

बस चाहिं काठमाडौं राती ढिलो नै पुग्यो। त्यहाँ प्रशासनले चारैतिर कडा कर्फ्यू लगाएको रहेछ। हामी बस बाहिर निस्कन सकेनौं। रातभरि म त्यही बस भित्रै बसें, एक चोटि पनि बाहिर ननिस्किकन। लामखुट्टेहरूका लागि ठूलै भोज भएको थियो, म चाहिं रात पनि केही नखाएरै बिताएँ।

मान्छेहरूलाई दैनिक उपभोग्यका अत्यावश्यक सामान किन्न दिन बिहान प्रशासनले केही बेरका लागि कर्फ्यू हटायो। तैपनि कतै कुनै गाडी चलिरहेको देखिनँ। सडक अझै खाली थियो, र दुई-चार पसलहरूको शटर मात्र केही उठाइएको थियो। ती पसलमा आफ्नो घरबाट गाडी पठाइ दिन आग्रह गर्दै मान्छेहरूले फोन गरिरहेका थिए।

म असहाय महशूस गर्दै थिएँ, केही नलागेर दाइको साथीलाई फोन गरें र सबै कुरा बताएँ। उहाँ दाइको डेरानजिकै भक्तपुरमै बस्नुहुन्थ्यो, मैले उहाँलाई मोटरसाइकल लिएर भए पनि आउन अनुरोध गरें। आफ्नो लगेजको चिन्ता गर्नुभन्दा पनि कर्फ्यू फेरि शुरू हुनुअघि नै मलाई त्यहाँबाट उम्कनु थियो। उहाँले बाहिर निस्कनु निकै नै खतरनाक रहेको भन्दै र केही व्यवस्था मिलाउने आशा दिदैं आधा घंटापछि फेरि फोन गर्न भन्नुभयो।

केही बेरपछि केही मान्छेहरू एउटा कार भित्र चढिरहेको देखें। म नजिकै गएँ। संयोगवश, तिनीहरू भक्तपुर नै जान लागेका रहेछन्। मलाई पनि लगिदिन अनुरोध गरें, र त्यसमै पाँच-छ जनासँगै म पनि कोचिएँ। कर्फ्यू पुन: लाग्ने समय हुन लागेकाले हामीहरू अलि आत्तिएका पनि थियौं। तर शहरको भित्री भागबाट हामी सुरक्षित नै निस्कन सफल भयौं। अन्त्यमा तिनीहरूले मलाई सूर्यविनायकमा छोडिदिए। घरबाट आउन लाग्दा बुवाले पाँचसयको नोट मलाई दिनुभएको थियो, म त्यही नै ड्राइभरलाई दिएँ र आफ्नो लगेजको झोला घसार्दै दाइको डेरासम्म पुगें। त्यहाँ दाइ र उहाँको साथी उपायको अभावमा चिन्तित भइरहेको पाएँ। मलाई देखेर उनीहरूले हल्का महशूस गरे।

त्यस दिन काठमाडौंमा ऋतिक रोशन काण्ड झैं ठूलो दङ्गा भएको थियो। पहाडीहरूले मस्जिदमा आगो लगाइदिएका थिए। मधेशीहरूको घर र पसल तोडफोड गर्दै लुटेका थिए, आगो लगाएका थिए, र मधेशी र मूस्लिमहरूमाथि आक्रमण गर्दै हिँडेका थिए। आगोले मस्जिद र घरहरू मात्र जलेका थिएनन्, पहाडीहरूको पर्दा पनि जलेको थियो र तिनीहरूले गर्ने गरेको रंगभेद र घृणा फेरि उदाङ्ग भएको थियो।

[GO TO CONTENTS]

२०. फेरि फर्किंदा

ओशाकासम्मको आफ्नो उडान मैले काठमाडौंमा समातें। जाने दिनमा समेत कर्फ्यू लागेकोले सैनिककै गाडीमा बसेर म हवाईअड्डासम्म पुगेको थिएँ।

जापान फर्केर म आफ्नो पढाइलाई निरन्तरता दिएँ। म अविवाहित थिएँ, मेरो सामाजिक जीवन कमै थियो। यूनिवर्सिटीमा ठूल-ठूला पुस्तकालयहरू थिए, र कोठामा, ब्रोडब्यान्ड इन्टरनेटसँग जोडिएको ल्यापटप। दिनभरि यूनिवर्सिटीमा पढथें, शोधकार्य गर्थें, पुस्तकालय गएर कन्टिनेन्टल फिलोसफी र इपिस्टेमोलोजी अध्ययन गर्थें, नित्सेदेखि सार्त्रेसम्मका विचारहरू पढथें, र राति, कम्प्यूटर प्रोगामिङ्ग गर्थें र रातको तीन बजेतिर मात्र सुत्थें। कहिलेकाहीं अझ ढिलो हुन्थ्यो। त्यही मेरो जीवनशैली हुन गएको थियो। आफ्नो शोधकार्यसँग सम्बन्धित कन्फेरेन्स्‌हरूका लागि विभिन्न देश जानुका साथै विभिन्न ठाउँमा हुने गरेका दर्शन र राजनीति सम्बन्धी कार्यक्रमहरूमा पनि जान्थें। ती मध्ये अमर्त्य सेन र दलाई लामाका प्रवचनहरू मेरा लागि अविस्मरणीय छन्।

त्यस ताका म केही ओपन सोर्स प्रोजेक्टहरूमा पनि आबद्ध हुन पुगें। ग्रामीण जनतासम्म इन्टरनेट र कम्प्यूटर पुर्‍याउनु पर्ने कुरामा मेरो जोड थियो, र त्यसका लागि भाषा पनि बाधक भएको मैले ठानें। त्यही भएर ग्रामीण जनतालाई इन्टरनेट चलाउन शुरू गर्न सजिलो होस् भनेर मैले फायरफक्स ब्राउजरलाई नेपाली भाषामा उपलब्ध गराएँ। नेपालीमै बोलेरै कम्प्यूटर चलाउन मिल्ने बनाउन म प्रयासरत थिएँ, र त्यसका लागि मैले ‘पान एशिया’मा प्रोपोजल समेत बुझाएको थिएँ। तर दुर्भाग्य, हामीले त्यहाँबाट कुनै आर्थिक सहयोग पाउन सकेनौं।

त्यतिबेला म धेरै नै महात्वाकांक्षी प्रोग्रामर थिएँ, कुनै बेला लिन्क्स जस्तै पूरै अपरेटिङ्ग सिस्टम नै बनाउने सोच राखेको थिएँ। कम्प्यूटर ह्याकिङ्ग र भाइरसमा स्नातक पढ्दादेखिकै मेरो विशेष अभिरुचिले मलाई कम्प्यूटर सिस्टमको बारेमा गहन जानकारी राख्न मद्दत गरेको थियो र मेरो आत्मविश्वास पनि प्रबल बनाएको थियो। पछि, र्‍यूगाकूसेई काईकाङबाहिर डेरामा सर्दा र खर्च बढ्न जाँदा म प्रोगामहरू बनाएर अनलाइन बेच्ने पनि गर्थें।

जापानमा सागायामा ल्याबमा काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएको थिएँ। सेङसेई बहुआयामिक व्यक्तित्वका धनी र आफ्नो क्षेत्रमा निकै नै पारंगत हुनुहुन्थ्यो। उहाँले शोधकार्य गर्न, लेख लेख्न र समग्रमा जीवन नै बिताउन आवश्यक अनेकानेक कुराहरू सिकाउनुभयो। रिपोर्ट लेख्न हामीले प्रयोग गर्ने गरेको ‘ल्याटेख़’ प्रोगामको सही उच्चारण मलाई सिकाउन उहाँले गरेको अनवरत प्रयासलाई म बारम्बार सम्झिने गर्दछु। उहाँ जस्तो सेङसेई पाएकोमा म जहिले पनि गौरवको अनुभूति गर्छु।

उता नेपालमा माइला दाइ अझै पनि कुनै सही र पेट पाल्न सकिने नोकरीको खोजमा हुनुहुन्थ्यो। उहाँका सबै पहाडी सहपाठीहरू राम्रा स्थानमा पुगेका थिए, तर उहाँको जीवन निकै नै संघर्षमय थियो। कलेजमा उहाँ निकै नै राम्रो विद्यार्थी हुनुहुन्थ्यो र उहाँको नोट सहपाठीहरू माझ धेरै नै लोकप्रिय हुने गरेको मैले सुनेको थिएँ। उहाँका बारेमा निकै उदाहरणीय कुराहरू उहाँको साथीबाट सुन्ने मौका पाएको थिएँ। तर जीवन धान्न उपयुक्त नोकरीको अभावमा उहाँ निकै नै निराशिनु भएको थियो। उहाँले कुनै ठूलो कठिनाइ सामना गर्नु नपरोस् भनेर छात्रवृत्तिबाट बचेको केही पैसा म उहाँलाई पठाउने गर्थें। पढेलेखेका राम्रा युवाहरू बेरोजगार हुनु पर्दाको परिणाम मैले आफ्नै गाउँमा देखेको थिएँ र अनपेक्षितको डरले म अलि चिन्तित पनि हुन्थें। र त्यही भएर, हरेक पटक गाउँ जाँदा म भिनाजु र दिदीलाई पनि केही पैसा दिएर आउँथे, कहिलेकाहीं मसँग भएको पैसा सिद्धिँदा बुवासँग माँगेर भए पनि।

बेरोजगार हुँदा, उहाँले आफ्ना केही साथीहरूको अनुरोधमा मैले पहिला खोलेको IT कम्पनी ‘इक्यूब’लाई पुन: जगाउन मलाई दबाव दिइरहनुभएको थियो। त्यस कम्पनीको CEO को हैसियतमा मैले लेखेको एक आलेख पढेर उहाँका साथीहरू अलि बढी नै प्रभावित भएका रहेछन्, र त्यही भएर त्यही ब्राण्डलाई जगाउन जोर दिएका रहेछन्। कम्पनीलाई अन्तत: ब्यूँताइयो पनि। उहाँहरूको इच्छा र सोच अनुसार मैले केही सफ्टवेयर बनाएर पठाएँ र तिनीहरूले त्यसलाई मार्केटिङ्ग पनि गरे। तर नेपालमा मान्छेहरूलाई सोफ्टवेयर किन्ने बानी परेको थिएन, चाहेको सफ्टवेयरको सीडी फुटपाथमा दश रूपैयाँमा छयाप्छयाप्ती पाइन्थ्यो। कपी गर्ने विरूद्ध कडा नियम पनि थिएन। त्यो भएर त्यसबाट उनीहरूले धेरै दिन आफ्नो जीवन चलाउन सकेनन्। अन्त्यमा दाइ झन् बढी निराशिनु हुन्छ कि भन्ने डरले उहाँलाई जापान नै ल्याउने विचार गरें। केही समयपछि उहाँ जापान नै आउनुभयो, विभिन्न यूनिवर्सिटीका प्रोफेसरहरूलाई भेट्नुभयो र अन्त्यमा चीबा यूनिवर्सिटीमा विद्यावारिधि गर्ने निर्णय गर्नुभयो।

त्यस ताका म ह्याकिङ्ग कल्चरका बारेमा अझ बढी जान्ने र त्यससँग नजिकिने अवसर पाएँ। त्यससँगै कम्यूटिङ्ग क्षेत्रका मेधावी हस्तीहरूका बारेमा जान्न पाएँ, लिनस टोरभाल्ड्स, रिचार्ड स्टलम्यान, टीम बर्नर ली जस्ता हस्तीहरूको जीवनले मलाई अनेकौं रुपमा प्रेरित गर्ने गर्थे। तिनीहरूले मलाई विनम्र हुन सिकाए।

म त्यसै पनि लो प्रोफाइल राखेर बाँचिरहेको थिएँ, झन्डै अदृश्य भएर आफ्नो काम गरिरहेको थिएँ, तर ह्याकिङ्ग कल्चरसँगको समीपताले अझ वढी बेनामी जिन्दगी बिताउन मलाई उत्प्रेरित गरिरह्यो। आवश्यक नभए म आफ्नो वास्तविक नाम कतै लेख्न नै छाडें। मेरो त्यही सोचाइले नै हुनुपर्छ, केही आपत्तिजनक कुरा भए-नभए पनि, म छद्मनामबाट नै लेखहरू लेख्न थालें। गुमनामीले मेरो पहिचानका लागि पर्दाको पनि काम गर्थ्यो, वा भनौं मेरो अर्को अस्तित्व जन्माउँथ्यो। पहिचानबाट भाग्नै नसके पनि, केही छिनकै लागि र अस्थायी भए तापनि, आफ्नो राष्ट्रियता र छालाको रंगबारे केही क्षण म सोच्न मुक्त भई केही राहतको महशूस गर्थें।

साइबर दुनियाँले मेरो जीवनमाथि धेरै हदसम्म कब्जा जमाउन पुगेको थियो। वास्तविक मान्छेहरूलाई भेट्नु र तिनीहरूको मूर्खतापूर्ण दिक्कलाग्दो कुराहरूबाट सताइनुको साटो साइबर दुनियाँ नै मलाई रमाइलो लाग्न थाल्यो। कहिलेकाहीं एक्लोपन महशूस हुँदा म ‘बोट’हरूसँग कुरा गर्थें। स्नातक गर्दा ताका रोजेरियन मनोचिकित्सकको भूमिका खेल्ने गरी विकास गरिएको प्रख्यात प्रोगाम एलिजाबाट प्रेरित भई आफ्नो प्रोजेक्टको रुपमा मैले पनि एउटा साधारण ‘बोट’ प्रोगामिङ्ग गरेको थिएँ। तर बितेका वर्षहरूमा ‘बोट’हरू धेरै नै जटिल बनिसकेको थियो। म पनि अर्को ‘बोट’ बनाउने विचारमा थिएँ, र त्यसका लागि उपलब्ध ‘बोट’हरूको कार्यशैली र तिनीहरूले उत्तर दिने र संवाद जारी राख्ने क्षमता जाँचिरहेको थिएँ। तिनीहरूमा प्रयोग हुने डिडक्टिभ लजिकले गर्दा बोटहरूले कहिलेकाहीं अनौठो जवाफ फर्काउने गर्थे। तिनीहरू कहिलेकाहीं प्रश्नकर्ताकै शब्दहरूलाई घुमाएर-फिराएर प्रतिप्रश्न गर्दै काम गरिरहेको भान पार्थे। उदाहरणका लागि ‘तिमी कति सुन्दर छौ’ भन्दा ‘म सुन्दर छु भनेर कसरी थाहा पायौं’ वा ‘म सुन्दर छु भनेर के कुराले सोच्न बाध्य बनायो’ भन्ने जस्ता उत्तरहरू दिने गर्दथे। आफूले नबुझ्ने कुनै शब्द आएमा त्यसैलाई घुमाएर चलाकी पूर्वक प्रतिप्रश्न गर्थे वा त्यो शब्दलाई सम्झाउन भन्थे। एकपटक ‘बोट’लाई ‘तिमी भगवान् हौ’ भनेर भन्दा भगवानको अर्थ नबुझेर हो कि ‘तिमी पनि’ भनेर जवाफ दिएछ। अर्को शायद अति साधारण ‘बोट’लाई ‘जीवन निकै जटिल छ’ भनेर भन्दा ‘जीवन के हो?’ भनेर प्रतिप्रश्न गरे। त्यस्तै, भगवान् के हो, समय के हो, अस्तित्व हुनु भनेको के हो, तिमी जे गर्छौ त्यो किन गर्छौ जस्ता प्रश्नहरू तिनले गर्ने गर्थे।

बुद्धिहीन ‘बोट’का ती अबोध प्रश्नहरूले बेला-बेलामा एक छिन रोकेर मलाई सोच्न बाध्य बनाउँथ्यो। तिनको कुराले पहिला सहज रूपमा स्वीकारेका कुराहरूलाई पनि फेरि परिभाषित गर्नुपर्थ्यो, सबै पूर्वाग्रहहरू हटाएर फेरि आदिबाटै बुझ्नुपर्थ्यो। ती निर्जीव कम्प्यूटर प्रोग्रामहरूले समेत मलाई जीवन, अस्तित्व, समय र उद्देश्यका बारेमा सोच्न बाध्य बनाउँथे। के समयको कुनै अस्तित्व छ? कि यो गणितीय सहजताका लागि जन्मेको केवल काल्पनिक आयाम मात्र हो? अस्तित्व हुनु भनेको के हो? के सबै माया हो, सबै सपना हो, दिमागमा विद्युतीय सिगनलहरूको असर हो? आखिर सपनामा पनि त कुनै कुरा छाम्दा उत्तिकै ठोस लाग्दछ, उत्तिकै प्रामाणिक लाग्दछ। जीवन के हो? आदिदेखि अन्तसम्म हो कि जन्मदेखि मृत्युसम्मको अस्तित्व हो? कि जीवन मृत्युपछि मात्र ब्यूँझिने महान सपना हो? ईश्वर के हो? मानवीय मुखडा धारण गरेका कुनै सर्वशक्तिमान अधिनायक वा अर्को ग्रहमा बस्दै गरेको एलियन, कि आगोको गोला वा परमाणु भित्र रहे झैं शक्तिको निराकार श्रोत, कि प्रकृतिकै अदृश्य नियमहरू? यस्तै विचारमा घेरिरहँदा म एक त्यस्तो ‘बुद्ध बोट’ को परिकल्पना गर्थें जसले मेरा सबै प्रश्नहरूको उत्तर दिन सकून, मेरा सबै द्विविधाहरू मेटाउन सकून्।

जापानमा कोर्सको अन्तिमतिर मैले स्वास्थ्य सम्बन्धी समस्या सामना गर्नुपर्यो, त्यसले मेरो जीवनमा भिन्दै दु:ख, अनुभव र दृष्टिकोण ल्यायो। म तीन हप्तासम्म अस्पतालमै बसें। अस्पतालमै मैले आफ्नो थेसिस लेखें, थेसिसको डिफेन्स गर्न मेरा एक जना जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म मलाई ह्ववीलचेयरमा ल्याए। अस्पतालबाट निस्केपछि मेरो जीवन निकै नै पीडादायक थियो। यतिसम्म कि म त्यही प्रश्न गर्थें जुन नाचुमे सोसेकीले ‘कोकोरो’मा गरेका थिए — आखिर म अहिलेसम्म किन बाँचिरहेको छु, केका लागि? यदि जीवन दु:ख भोगाइ नै हो भने, जीउनुको आवश्यकता नै के? मृत्युलाई अँगाल्नु किन न्यायसंगत छैन? यतिका दु:ख भोग्दा-भोग्दै म किन बाँचिरहेको छु?

म आफूलाई सम्झाउने गर्थें — जति भए पनि दु:ख त मैले भोगी नै सकें, के अब मैले जीवनलाई वृहत्तर भलाइका लागि लगाउनुपर्दैन? मैले त दु:ख काटें, अब मैले अरुका लागि आफ्नो जीवन समर्पण गर्नुपर्दैन? अरूको लागि बाँच्नु, वृहत्तर भलाइका लागि समर्पित हुनु नै मेरो दु:ख झेल्नुको सदुपयोग हो, मेरो जीवनको सार्थकता हो। त्यसका अलावा, मानव जीवनको एक मात्र लक्ष्य ज्ञानको खोजी हो, र त्यसको लागि हरेक दु:ख उठाउनु उचित छ।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि विद्यावारिधि गर्ने विचार थियो। वास्तवमा त्यो योजना भनौं वा सपना धेरै नै पुरानो थियो। धेरै वर्षअगाडि मेरो डायरीमा आफ्नो शैक्षिक यात्रा सम्बन्धी मैले बनाएको फ्लोचार्टमा मास्टर्स डिग्रीपछि क्यामब्रिज यूनिवर्सिटीबाट आफूले विद्यावारिधि गर्ने भन्ने कुरा कोरिएको थियो।

मैले क्यामब्रिज यूनिवर्सिटीमा आवेदन दिएँ। छात्रवृत्तिका लागि वेबसाइटमा जनाइएको अन्तिम म्याद समाप्त भइसकेको थियो। तैपनि मैले त्यस बारेमा सोधखोज गरें। डिपार्टमेन्टको सेक्रेटरीले ‘तिमीले गुमाउनु पर्ने केही छैन, आफ्नो आवेदन पठाऊ’ भनेर भनेकी थिइन् र त्यही भएर ढिलै भए पनि मैले आफ्नो सबै कागजात सहित आवेदन दिन पुगेको थिएँ। जे भए पनि मैले अन्तर्वार्ता दिने मौका पाएँ, अरू पनि मूल्याङ्कनहरू भए र अन्त्यमा मैले त्यो छात्रवृत्तिका साथ मेरो शोधकार्यको क्षेत्रमा उत्कृष्ट मानिने क्यामब्रिज यूनिवर्सिटीको प्रख्यात प्रयोगशालामा आफ्नो विद्यावारिधि गर्ने अवसर पाएँ।

जापानका अन्तिम दिनहरू म ओजेकीसानसँग मन्दिर र गुम्बाहरू घुम्दै बिताएँ। उनले के माँगिन्, मलाई थाहा छैन, तर त्यतिबेला पनि म ज्ञान र निर्वाणकै लागि प्रार्थना गर्थें, बोधिसत्वका लागि आफ्नो माथा टेक्थें, र आफ्नो अशान्त आत्माको शान्तिका लागि नै भाकल गर्थें।

[GO TO CONTENTS]

२१. क्यामब्रिजको काखमा

सन् २००६ को अप्रिलको अन्त्यमा म त्यहाँ पाइला टेकें जसका लागि वर्षौं-वर्ष लालायित थिएँ — बेलायतको क्यामब्रिज यूनिवर्सिटीमा। क्यामब्रिज शहर आफैंमा निर्मल र स्निग्ध थियो, र यसले जिउनका लागि आरामदायी जीवनशैली, सुस्ताउनका लागि सुन्दर बगैंचाहरू, साथमा हिँड्न मुस्कुराउँदै गरेका परिचित अनुहारहरू, सोच्नका लागि पर्याप्त समय, बहस गर्नका लागि विद्वानहरूको मण्डली र सुन्नका लागि अनुभवी वक्ताहरू दिन्थ्यो। ती बगैंचाहरू जहाँ जोन मिल्टन र बरट्रान्ड रसेल घुम्ने गर्थे, कलेजका आँगनहरू जहाँ न्यूटन र डार्विन बस्ने गर्थे, त्यहाँ हिँड्न पाउनु आफैंमा प्रेरणादायी थियो। कैयन् प्रकाण्ड विद्वान र वैज्ञानिकहरूको पसिना बगेको त्यो भूमिमा आफूलाई पाउँदा नि:सन्देह म गौरवान्वित भएको महशूस गर्थें। सबैभन्दा बढी नोबेल पुरस्कार पाएकाहरूको स्थान रहेको त्यो विश्वविद्यालय स्टेफेन हाउकिङ्गस्‌को पनि कर्मथलो थियो। सन् २०१० सम्ममा त्यस विश्वविद्यालयसँग सम्बद्ध ८८ जनाले नोबेल पुरस्कार पाएका थिए।[20] विश्वास गर्न गार्‍हो हुन्थ्यो, म तिनीहरूमध्ये केहीसँग गफ गर्न सक्थें, तिनीहरूको कुरा प्रत्यक्ष सुन्न सक्थें।

शुरुका दिनहरूमा क्याम नदीको तीरैतीर घुम्न जाँदा त्यहाँका प्राकृतिक दृश्यले मधेशको झल्झली सम्झना दिलाउँथे। नदी, समतल भूभाग, हरिया खेतहरूले मधेशको याद दिलाउँथे। त्यस्तै समतल भूभागको बीचमा क्यामब्रिज शहर थियो र यूनिवर्सिटी पनि। म यूनिवर्सिटीमा इम्यानुएल कलेजसँग आबद्ध थिएँ, जुन कलेज अमेरिकाको हार्वड यूनिवर्सिटी स्थापना गर्ने जँन हार्वड जस्ता हस्तीका लागि प्रख्यात छ। महान् आत्माहरूको भूमिले महान् प्रेरणा पनि दिन्छ । पहिला जँन हार्वड बस्ने गरेको कोठा जाँदा गम्भिर रूपमै एउटा स्तरीय विश्वविद्यालय मधेशमा स्थापना गर्ने सोच आयो, एउटा विश्वविख्यात विश्वविद्यालय जहाँ संसारभरिका विद्यार्थीहरू ज्ञान आर्जन गर्न आऊन्। प्राचीन्‌कालमा ज्ञानको पावन भूमि रहेको मधेशको त्यो पुरातन पहिचान पुनरूत्थान गर्ने रहर जागेर आयो।

तर नेपाल सरकार र प्रशासनको कुरा सम्झेर मलाई नैराश्यतातिर नै डोर्‍याउँथ्यो। कुशहामा हजुरबाले स्थापना गर्नुभएको प्राथमिक विद्यालय चलाउन हामीले प्रशासनबाट निकै कष्ट भोगेका थियौं। गाउँकै प्राथमिक विद्यालयलाई निम्न माध्यमिक वा माध्यमिक बनाउन वर्षौदेखिको हाम्रो प्रयासलाई प्रशासनले सफल हुन दिएको थिएन। नेपाल सरकारले त आफैं केही गर्दैनथे, तर समाजसेवीहरूले आफ्नै बलबूतामा गर्न खोजेको राम्रै काममा पनि खुट्टा अडाउँथे। मधेशमा कुनै विद्यालय, अस्पताल वा वृद्धाश्रम खोल्न लाग्दा त्यसको सट्टा पहाडमा खोल्न दबाब दिन्थे, पहाडमा लगानी गर्न दबाब दिन्थे। मधेशमा कुनै कुरा खोल्न पटक्कै सहयोग गर्दैनथे, उल्टा रोक लगाउँथे।

राजबिराजमा साईं कृष्णा मेडिकल कलेज ठूलो लगानी र मेहनतका साथ खोलिएको थियो, तर सरकारले त्यसलाई कहिले यो त कहिले त्यो भनेर चलाउन दिएन। तर त्यही मान्छेहरूले पहाडको कुनै ठाउँमा त्यही कलेज खोलेको भए आज त्यो देशकै उत्कृष्ट मेडिकल कलेजहरू मध्ये हुनसक्थ्यो। धरान र भरतपुरमा खोलिएका मेडिकल कलेजहरू यसका प्रमाण हुन्। पहाडीहरूको बाहुल्य क्षेत्रमा खोलिएकाले तिनीहरू देशकै उत्कृष्ट मेडिकल कलेज हुन पुगे भने मधेशका एक ताका नामी रहेका अस्पतालहरू सरकारको नीतिका कारण जीर्ण हुँदै गए, लोप नै हुन लागे। त्यही भएर मेरो नैराश्यता आधारहीन भने थिएन।

क्यामब्रिजको शिक्षा पद्धति अरू ठाउँभन्दा मलाई भिन्न लाग्यो जहाँ ‘वन-टू-वन’को जोडदार पर्यवेक्षणमाथि बढी जोड दिइन्थ्यो। विद्यार्थीहरू कलेज र डिपार्टमेन्ट/ल्याबसँग छुट्टा-छुट्टै रुपमा आबद्ध हुन्थे। कलेज खाने, बस्ने र घुल-मिल हुने ठाउँ हुन्थ्यो भने डिपार्टमेन्ट वा ल्याब शोधकार्य गर्ने। कलेज विभिन्न विधाका विद्यार्थीहरू, शोधकर्ता र फेलोहरूलाई एउटै स्थानमा राखेर बहस गराउने ठाउँ हुन्थ्यो। अरू ठाउँमा पढ्दा म एउटै विधाका विद्यार्थीहरू माझ हुन्थें तर त्यहाँ चिकित्सा शास्त्रदेखि समाज शास्त्रसम्म, मनोविज्ञानदेखि भौतिक विज्ञानसम्म, दर्शनशास्त्रदेखि इतिहाससम्म सबै विधाका विद्वान र विद्यार्थीहरू माझ आफूलाई पाएँ। दर्शनशास्त्रमा मेरो अभिरुचिले फस्टाउन त्यहाँ नर्सरी पाएको थियो।

कलेजमा औपचारिक भोजहरू पनि नियमित रूपमा हुने गर्थे, त्यसको लागि ‘गाउन’ सहितको ड्रेस कोड हुन्थ्यो, सीट प्लान हुन्थ्यो। हरेक पटक म फरक-फरक पृष्टभूमिका नयाँ-नयाँ स्कलरको बीच पर्दथें, र तिनीहरूसँग मेरो गफसफ हुन्थ्यो। तर दुर्भाग्य, म त्यहाँ पनि त्यही चिरपरिचित प्रश्नहरूले घेरिएको हुन्थें। हरेक पटक मैले सम्झाउनुपर्थ्यो, त्यही कुरा बारम्बार भन्नुपर्थ्यो। त्यहाँ पनि त्यही शंकाहरू उब्जिन्थे, त्यही प्रमाणहरूको आवश्यकता हुन्थ्यो। त्यहाँ पनि मैले नदेखेको सगरमाथा र गोर्खालीहरूको वीरताको कथा मैले सुनाउनुपर्थ्यो। तर तिनीहरूको गल्ती नै के, आखिर नेपाललाई विश्वभरि त्यही भनेरै त चिनाइएको थियो।

केही पटक त्यहाँ गए पश्चात् त्यही कुरा फेरि-फेरि सम्झाउनु पर्ने कारणले मलाई दिक्क लाग्यो। पछि मेरो परिचय यस्तो हुन्थ्यो — ‘म नेपालबाट आएको हूँ, तर उत्तरी पहाडी भागबाट हैन, ज्यादै गर्मी हुने दक्षिणी समतल भागबाट। मैले सगरमाथा देखेको छैन, यदि त्यसबारे तपाईंलाई जान्नु छ भने। गोर्खाहरूको सैनिक रेकर्डबारे मलाई त्यति थाहा छैन किनकि हामीलाई त्यस भित्र बिरलै प्रवेश गर्न दिइन्छ।’ धारा प्रवाह रूपमा सबै कुरा भन्दा कोही कोही चकित हुन्थे भने कहिलेकाहीं हाम्रो कुरा विनोदमा परिणत हुन्थ्यो। जुन भोजहरूमा जान म धेरै लालायित हुन्थें, पछि त्यहाँ जान त्यति मन लाग्दैनथ्यो।

क्यामब्रिजमा, तैपनि, कहिलेकाहीं नेपालको राजनीति र मधेशीको बारेमा निकै नै जानकारी राखेको मान्छेहरू भेटाउँथे। नेपालको राजनीतिका बारेमा कलेजको मास्टरसँग गहकिलो बहस भएको थियो, जतिबेला उनले मलाई हाइ‍-टेबलमा खानका लागि निम्तो दिएका थिए। त्यसै गरी कलेजका प्रेलेक्टरले एक दिन मकहाँ मधेशीहरूको समस्याका बारेमा निकै नै राम्रो विश्लेषण गरेका थिए।

तैपनि बेलायतमा अधिकांशले नेपाललाई गोर्खाली र गोर्खालीलाई नै नेपाल मानेका भेटिन्थे। त्यहाँका नेताहरूले गोर्खालीलाई नेपालसँग यसरी गाँसेर हेर्थे कि लाग्थ्यो नेपालमा गोर्खालीका अलावा अरु कसैको अस्तित्व नै हुन सक्दैन।

यी स्टेरियोटाइपिङ्गका पछाडि जानकारी र प्रचारको अभाव भएको भनेरै मैले मूल रुपमा ठान्थें। आखिर आधुनिक मधेशको कुनै इतिहास पनि त लेखिएको छैन, लेखून् पनि कसरी? इतिहास त विजेताहरूले लेख्छन् भनेर भनाई नै छ। इतिहास त शासकवर्गद्वारा लेखिने शासकवर्गको स्तुतिगान हो। शासितवर्ग त आफ्नो अस्तित्व नै संकटमा भएको पाउँछ।

इन्टरनेटमा समेत मधेश र मधेशीबारे कुनै जानकारी नभएको कुरा मलाई नराम्ररी खट्केको थियो। त्यही भएर जापान मै हुँदा मैले मधेश डट् कम साइट खोलेको थिएँ। शुरुमा त्यो साइट मधेश डिजिटल लाइब्रेरी प्रोजेक्ट (MDLP) को लागि थियो, जहाँ मैले किताब, लेख, तस्वीर र भिडियोहरू संकलन गरेर उपलब्ध गराउने भनेर सोचेको थिएँ, र केही उपलब्ध पनि गराएको थिएँ। पछि त्यो साइट ब्लग, फोरम र समाचार संकलकका रूपमा विकसित भएको थियो। त्यसै गरी मधेशी बारेमा विकीपेडियामा समेत कुनै इन्ट्री नभएकाले मैले मधेश र मधेशीका बारेमा पानाहरू बनाएँ, केही जानकारी राखें र अरुलाई पनि मद्दत गर्न भनें।

नेपाल बारेमा कसैको स्टेरियोटाइप हटाउन र तिनलाई मधेश र मधेशीसँग परिचय गराउन मलाई जहिले पनि लामै समय लाग्थ्यो। तिनीहरूलाई हेर्न भन्नका लागि न त कुनै फिल्म वा वृत्तचित्र नै उपलब्ध थियो न त कुनै भिडियो नै। त्यसैले मैले मुख्यत: इन्टरनेटबाट संकलन गरेका तस्वीरहरू मिलाएर सबटाइटल राख्दै एउटा भिडियो तयार गरें र त्यसलाई यूट्यूबको साइटमा अपलोड गरें, ताकि मधेशका बारेमा परिचय गराउनु पर्ने आवश्यक भए म अरूलाई त्यो हेर्न भन्न सकूँ। स्वाभाविक रुपमा यी सबै कामहरू म छद्मनामबाट गर्थें। त्यो भिडियो मेरो लागि निकै नै उपयोगी भएको थियो, र इन्टरनेटमा लोकप्रिय पनि। पछि धेरै मधेशवादी कार्यकर्ताहरूले त्यस भिडियोलाई प्रयोग गर्ने गर्थे, शायद यस कारणले हैन कि त्यो एकदम स्तरीय थियो, बल्कि त्यतिबेला त्यसको कुनै विकल्प थिएन।

क्यामब्रिजमा बस्दा ताका नितान्त व्यक्तिगत रूपमा भन्नु पर्ने हो भने म संसार र सांसारिक तत्वहरूबाट विरक्त नै थिएँ। बारम्बारको स्वास्थ्य समस्याले मृत्युको सम्झना सधैं दिलाइरहन्थ्यो, हरेक कुरामा हल्बेनको खप्तड झैं मृत्यु प्रतिबिम्बित हुन्थ्यो, जीवन अति नै असार लाग्थ्यो, क्षणिक लाग्थ्यो, अति नै परिवर्तनशील लाग्थ्यो। यतिसम्म कि म आफ्नो कोठालाई अलिकति पनि सजाउने चेष्टा गर्दिनथें। त्यस घरमा बसेका अन्य साथीहरूको कोठा निकै नै सुसज्जित हुन्थ्यो, राम्रा फर्निचर राखेका हुन्थे, भित्तामा चारैतिर तस्वीर नै तस्वीर हुन्थ्यो, सरसज्जाका सामानहरू चारैतिर लगाइएका हुन्थे। मेरो कोठाको भित्ताभरिमा चाहिं ठूलो सादा कागजमा सानो अक्षरले ‘ब्रह्म सत्य जगत् मिथ्या’ लेखिएको बाहेक अरू केही थिएन। लाग्थ्यो, केही घण्टापछि म फेरि अन्यत्र जानेछु। एन्सो अंकित टीशर्ट लाउँथे। ‘हरे राम’ लेखिएको चादर मसँग थियो, त्यो ओढेर बस्थें र आकाश र चलायमान मेघलाई झ्यालबाट टोलाइरहन्थें, प्रकृतिको अनन्तताको बारेमा अचम्भित भइरहन्थें।

म बस्ने घरपछाडि सुन्दर बगैंचा थियो, त्यहाँ स्याउका रूख थिए, छिमेकीको नासपातीका रुखका केही हाँगाहरू पनि हाम्रो हाता भित्र आएका थिए। स्याउ त लटरम्म फल्ने गर्थ्यो तर त्यति मीठो थिएन, नासपाती चाहिं धेरै नै खाने गर्थें। स्याउको बोटमुनि घाँसमा बस्दै घंटौसम्म प्रकृतिमाथि ध्यान गर्थें, केही कविताहरू पनि लेख्थें। धेरै वर्षसम्म खाली की-बोर्डमा रगडिएका औंलाहरू घाँसको स्पर्शले जीवन्त हुन पुगेका थिए, ठूला शहरको रमझम र कोलाहलले थाकेका कानहरू चराचुरूङ्गीका गीत सुनेर रम्न पुगेका थिए। म क्याम नदीको तीरमा शयर गर्न जान्थें, कलेजका बगैंचाहरूमा घुम्थें, कलेजको पोखरीमा माछा पौडी खेलेको हेरिरहन्थें, र चौरमा हाँसहरू लखेटिरहन्थें। प्रकृतिसँग फेरि नजिकिदाँ र तिनका अनन्त अचरजहरूमा रमाउन पाउँदा जीवन धन्य भएको लाग्थ्यो।

[GO TO CONTENTS]

२२. स्थूल समाज

सन् २००६ को अगस्तमा म फेरि घर फर्कें। गाउँलेहरूले मेरो आगमन ढोल-पिपही बजाउँदै ठूलो धुमधाम गरेर मनाए। बुवाले मन्दिरमा एक मन लड्डु चढाउनुभयो, मेरा नातेदारहरू टाढा-टाढाबाट भेट्न आए, र तिनीहरूसँग बस्न पाउँदा म निकै नै हर्षित थिएँ।

तर समाज र गाउँको यथास्थिति देखेर म क्लान्तित हुन्थें। त्यो एक स्थूल समाज झैं लाग्थ्यो, मृत समाज झैं लाग्थ्यो।

भौतिक रूपमा भन्नु पर्दा मान्छे र पशुको जीवनमा त्यति अन्तर थिएन। कहीं कतै विकासको नामोनिशान थिएन, कतै कुनै भौतिक पूर्वाधार थिएन, र दशकौंसम्म भूदृष्यमा कुनै परिवर्तन भएको थिएन।

गाउँलेहरू फोहर र अस्वस्थ अवस्थामा जीवन बिताइरहेका थिए। घुँडासम्मै आउने हिलो भएर हिँड्थे, हेलेर नदी तर्थे, टाउकोमाथि दिनभरि भारी उठाउँथे, लीधले ढाकिएको पोखरीको फोहर पानीमा नुहाउँथे, भनभनाउँदा झिँगासँगै पोषणरहित खाना खान्थे, आङमा मैलो झुत्रा लपेट्दै भूइँमा सुत्थे, गाईबस्तुसँगै घूरमा आफ्नो नितम्ब सेक्थे, बाटामा फोहर फाल्थे, घरअगाडि पिसाब फेर्थे, खुला खेतमा त कहिले बाटामा गालामा हात राख्दै हग्थे। र त्यसका बाबजूद, आफू त स्वर्गमै बसेको, विश्वमै त्यति राम्रो जीवनशैली कतै नभेट्ने भनेर ठोकुवा गर्थे, पश्चिमका देशहरूमा त्यो मोज कहाँ भनेर चुनौती नै दिन्थे।

कहिलेकाहीं त झोंकले त्यो समाज सभ्यताको प्रक्रिया भएर नै नगुज्रेको जस्तो लाग्थ्यो। वा भनौं सभ्यताले उल्टो दिशा समातेको आभास हुन्थ्यो। मान्छेहरूले कुनै काम राम्ररी गर्ने, वा कुनै काम गर्ने सरल वा सक्षम तरिका अपनाउने बारेमा किन सोच्दैनन् भनेर म चकित भइरहन्थें। गुहु र गोबरै-गोबर भएको हिलो भएर दिनहुँ हिँड्दा आनन्द आए झैं तिनीहरू किन मुस्कुराइरहन्छन्? किन सबै गाउँलेहरू मिलेर आफ्नो बाटो माटोले भर्न सक्दैनन्, र त्यहाँ हग्न रोक्न सक्दैनन्? बच्चाहरू डुब्ने गरी र महिलाहरूले आफ्नो साडी तिघ्रासम्मै उठाएर नदी तर्नुभन्दा बाँसकै भए पनि तिनीहरूले एउटा पुल नदीमा किन बनाउन सक्दैनन्? हग्नका लागि दिनहुँ नयाँ-नयाँ ठाउँ खोज्नुभन्दा घरमा एउटा शौचालय किन बनाउन चाहँदैनन्? बाटो तिनीहरूकै हो भनेर त्यहाँ फोहर र परेवाको गुहु फाल्नुहुन्न भनेर तिनीहरू किन बुझ्दैनन्? महिनौं-महिना नाङ्गो पैताला हिँडेर दु:ख काट्नुभन्दा एक दिन काम गरेर एक जोड चप्पल किन किन्दैनन्?

तर म तिनीहरूलाई कुनै परिवर्तनको बारेमा मनाउन खोज्दा तिनीहरू स्वीकार गर्न मान्दैनथे। केहीले ममाथि अधिक पश्चिमेली प्रभाव परेको भनेर भन्थे। तिनीहरूले आफूले गर्ने गरेको कुरो सही भएको दाबी गर्थे। तिनीहरूले आफ्नो संस्कृति र परम्पराको जगेर्ना गरेको भन्ने तर्कलाई कहिलेकाहीं ढाल बनाउँथे। त्यही भएर एउटा ट्यूबवेल गडाउनुको साटो इनारको पानी खाने गरेको भनेर भन्थे, त्यही इनार जसमा हजारौं भ्यागुता र सडेगलेका पात-पतिङ्गरहरू हुने गर्थ्यो, जसमा फोहर पानी मिसिने गर्थ्यो। म सोच्थें, यदि यो परम्परा र संस्कृतिको जगेर्ना गर्नु नै हो भने र त्यो त्यति नै महत्वपूर्ण छ भने हामीले इनारबाट नै किन पानी खाने? हाम्रा पूर्बजहरूले त नदी र तालको पानी खाने गर्थे, हामीले त्यही गर्नुपर्ने होइन? इनार किन? हाम्रा पूर्खाहरू पनि हामीले झै ‘आफ्नो परम्परा र संस्कृतिको जगेर्ना’ गर्नेतिर लागेका भए हामी अझै पनि जंगलमा नाङ्गै घुमिरहेका हुने थियौं, शिकार गर्दै काँचो मासुले आफ्नो भोक मेटाइरहेका हुने थियौं।

केही मान्छेहरू दु:ख काटेकोमा गौरव गर्ने गर्दथे, र बडो दिलचस्पीका साथ रमाइ-रमाइ अरूलाई सुनाउने गर्थे। महिनौंसम्म नाङ्गै खुट्टा कसरी हिँडे, कसरी झूल विना नै लामखुट्टेको टोकाइ सहँदै पूरै वर्ष नै काटे आदि आदि। मान्छेहरूले यस्ता कथा भन्न र सुन्न रूचाउँथे। म पनि त्यस्ता अधिकांश भोगाइबाट गुज्रेको छु, र तिनीहरूले मेरा पनि कथाहरू कुनै परी कथा सुनाए झैं अरूलाई सुनाउने गर्थे। तर त्यतिबेला म त्यो व्यवहारमाथि प्रश्न उठाउँथें। आखिर दु:ख भोग्नुमा त्यस्तो कुन पुण्य छ? वर्षभरि खाली खुट्टा हिँडेर दु:ख काट्नुमा कुन महानता छ, जब एक दिन मेला-पाखा गरेर तीन जोड चप्पल किन्न सकिन्छ? समस्याहरूको समाधान गरिनुपर्छ, भोगिनुहुन्न। समस्या झेल्नुमा कुनै महानता छैन, वीरता छ त समस्या समाधान गर्नुमा।

केही समस्याहरूको समाधान तिनीहरूको हात वा क्षमताबाहिर थियो भनेर म मान्दछु, तर सबै समस्याहरूको समाधान चाहिं होइन। सरकारी, गैर-सरकारी र दातृ संस्थाले उनीहरूको समस्यामा रति भर चासो नराखे पनि तिनीहरू आफैंले पनि केही समस्याहरू अवश्य समाधान गर्न सक्थे। र कसैले तिनीहरूको बाटोमा अवरोध उत्पन्न गरेको लाग्थ्यो भने तिनीहरूले पहिला त्यो अवरोध हटाउने चेष्टा गर्नुपर्थ्यो। तर तिनीहरू मौनता साधेर दु:ख झेलिराखेका थिए। समाज यतिका मृत र शिथिल भएको लाग्थ्यो कि कुनै दु:ख, कुनै अपमान, कुनै चोटले त्यसलाई केही फरक पारेको अनुभूति हुँदैनथ्यो। ती जिउँदै मृत भीडलाई सबै कुरा स्वीकार्य थियो। त्यहाँको स्थिति देखेर अलिखितले के अन्याय गर्यो जस्तो लाग्थ्यो।

विश्वास गर्न गार्‍हो हुन्थ्यो कि त्यो त्यही भूमि थियो जहाँ बुद्ध जन्मेका थिए। उनले रोपेको परिवर्तनको बीउ किन कहिले अंकुरित हुन सकेन भन्ने कुरा म त्यतिबेला देख्न सक्थें। परिवर्तनलाई अस्वीकार गर्दा तिनीहरू दु:ख काटिरहे।

समाजमा अनेकौं कुरीतिहरूले खुट्टा जमाएकै थिए। सही दिशामा प्रगति गर्नुको साटो, जातिवाद-छुवाछुत र दाइजो प्रथा झन् प्रबल भएको थियो। पढेलेखेका मान्छेहरू पनि सही बाटोमा रहेको जस्तो लाग्दैनथ्यो। भगवान् श्रीरामले अछुत सबरीको बयर खाएको कुरामा मान्छेहरूले ठूल्ठूला प्रबचनहरू दिन्थे, तर वास्तविक जीवनमा अछुतदेखि परै बस्थे। तिनीहरू भगवान् श्रीरामले आफ्नो बुवाको जंगल-जाने आदेश पनि सहर्ष स्वीकारेको उदाहरण दिँदै आफ्ना छोरा-छोरीबाट पनि त्यस्तै आज्ञाकारीता र सेवाको अपेक्षा गर्थे तर आफ्ना वृद्ध बा-आमालाई पिट्थे। दाइजो प्रथाको विरोधमा ठूल्ठूला भाषणहरू गर्थे, तर आफ्नो समय आउँदा तिनले कसैले अहिलेसम्म नलिएको उच्च रकम दुलही पक्षसँग माग्थे। घर-घरमा झैं-झगडा र हिंषा पनि भइरहन्थ्यो।

त्यस पटकको बसाइँमा म निकै नै खुला रूपले आफूले मन नपराउने विभिन्न कुरा र व्यवहारहरूको आलोचना गरें। त्यो गाउँलेहरूका लागि अलि आश्चर्यकै विषय थियो। परिवारमा सबभन्दा कान्छोका रुपमा हुर्किएको म पहिला बिरलै कसैसँग बाझ्थें, बिरलै ठूलासँग बहस गर्थें, बिरलै कसैको मुख फर्काउँथें। अझै पनि गाउँ भएर जाँदा छिन-छिनमै मलाई चरणस्पर्श गर्न निहुरिरहनुपर्थ्यो, चाहे अनपढ हुन् कि शिक्षित, किसान हुन् कि शिक्षक, आफूभन्दा ठूला सबैका अगाडि। गाउँलेहरूले त्यसरी कुरा गरेको मलाई पहिले कहिले देखेका थिएनन् तर म यति बिघ्न हतास हुन पुगेको थिएँ कि ‘आदर्श पुरुष’को आफ्नो त्यो प्रतिरूपका बारेमा त्यसपालि हेक्का राख्न सकिनँ। म जुनसुकै कुरीतिका बारेमा आवाज उठाउन थालें, विरोध गर्न थालें, र परिवर्तनका लागि आह्वान गर्न थालें। बदलामा, धेरै नै आलोचना पाएँ। तैपनि रोकिनँ।

म त्यहाँ शिक्षित मान्छेहरूलाई पनि सम्झाउने प्रयास गरिरहें। तिनीहरू मध्ये पनि धेरैले परिवर्तनको विरोध गर्थे, अरूले आलोचना गर्ला भनेर धेरैले परिवर्तनतिर पाइला चाल्ने प्रयास गर्दैनथे। म सोध्थें, यदि एउटा शिक्षित मान्छेले समाजमा परिवर्तन ल्याउँदैन भन्ने परिवर्तन कसले ल्याउने? यदि एउटा शिक्षक, एउटा प्रोफेसरले समाजका कुरीतिहरूलाई रोक्ने प्रयास गर्दैन भन्ने कसले रोक्ने? शिक्षाको अर्थ नै के, शिक्षित हुनुको मतलब नै के? यदि खिया लागेको एउटा किलाले कान छेडेको देख्दा एउटा डाक्टरले त्यो रोक्दैन र चुपचाप हेरिराख्छ भने उसको चिकित्साशास्त्र सम्बन्धी ज्ञानको प्रयोजन के? हो, ऊमाथि शुरुमा आरोपहरू लाग्ला, उसको आलोचना होला, उसलाई पश्चिमेली सभ्यताबाट प्रभावित भनिएला, अन्य कुनै नामहरू दिइएला, तर परिवर्तन आलोचनासँगै आउँछ। समाजमा परिवर्तन चाहनेले आलोचना सहनैपर्छ, आखिर सबैलाई खुशी पनि त पार्न सकिन्न।

त्यस पटक त्यसरी नै धेरै तर्क-वितर्क र बहसहरू बीच अल्झिदैं गाउँमा समय बिताएपछि म क्यामब्रिज फर्कें। फर्केपछि बुवा र दाइहरूको नाममा परिवर्तन आफ्नो घरबाटै शुरू गर्नुपर्ने अभिप्रायले एउटा लामो पत्र लेखें।

[GO TO CONTENTS]

२३. नेपालगंजको आक्रमण

सन् २००६ को अन्त्यतिर नेपालगंजमा मधेशीमाथि भएको आक्रमणका बारेमा सुन्दा मलाई निकै नै झोंक उठ्यो। सन् २००० र २००४ का आक्रमणहरू मेरो स्मृतिमा ताजै थियो, त्यसका घाउहरू अझै भरेका थिएनन्, र पनि मधेशीमाथि फेरि आक्रमण भएको थियो।

ती सबै कुराको शुरूवात मधेशीद्वारा गरिएको अन्तरिम संविधानको विरोधबाट शुरू भएको थियो। अप्रिलमा भएको जनआन्दोलनमा मधेशीहरू निकै नै उत्साह र ऊर्जाका साथ लोकतन्त्र ल्याउन लडेका थिए। यसपालि त आफ्नो समुचित अधिकार अवश्य पाइएला भनेर उनीहरू ढुक्क थिए। मधेशीहरूले दिएको योगदान र गरेको प्रयास स्वरूप जनआन्दोलन सफल पनि भयो, राजालाई सत्ताच्युत गरियो र लोकतन्त्रको घोषणा भयो। तर आन्दोलन पश्चात् शक्ति पहाडी नेताहरूका हातमा आउने बित्तिकै तिनीहरूले मधेशीलाई अपहेलना गर्न थाले, मधेशीका समस्याहरूलाई नदेखे झैं गर्न थाले, अधिकार दिन पहिला गरेका वाचाहरूबाट पछि हट्न थाले। लोकतन्त्र त आयो, तर मधेशीहरूका लागि हैन। संविधान त जारी भयो, तर मधेशीहरूलाई समोचित अधिकार पाउनबाट पुन: वंचित गरियो। मधेशीहरू आफू ठगिएको अनुभव गर्न थाले र देशभरि तिनीहरूले विरोध गर्न थाले। मधेशीहरू आफ्नो अधिकार चाहन्थे, रंगभेद र भेदभावको अन्त्य चाहन्थे।

तर पहाडीहरूसँग छुट्टै योजना थियो। राजाबाट शासनको बागडोर आफ्नो हातमा आएपछि तिनीहरूले मधेशीलाई गुलाम बनाएरै राखिराख्न चाहे, निम्न दर्जाका नागरिक बनाएरै राखिराख्न चाहे। त्यही अनुरूप अधिकारका लागि मधेशीले कदाचित् उठाएको आवाजलाई तिनीहरू सदाका लागि बन्द गर्न चाहे र त्यही सिलसिलामा नेपालगंजमा मधेशीहरूमाथि पहाडीहरूले आक्रमण गरेका थिए। पहाडी त्यहाँ थोरै संख्यामा भए पनि तिनीहरूपछाडि पुलिस र प्रशासनको समर्थन थियो। तिनीहरूले ठूलो दङ्गा गरे, मधेशीहरूको पसल र घर जलाउँदै, मधेशीहरूलाई खोज्दै र पिट्दै ठूलो उपद्रो मचाए। त्यहाँ एकदमै घृणाजनक रंगभेदी आक्रमण भएको थियो। पुलिस र प्रशासनले पहाडी हुल्याहाहरूलाई समर्थन मात्र गरेनन्, पुलिसहरू आफैं पनि त्यस दङ्गामा उपद्रो मचाउनमा सामेल भए। पुलिसले एक जना मधेशीलाई गोली हानेर मार्नुका साथै दर्जनौंलाई घाइते बनाए।

पहिला मैले साथीहरूबाट नै त्यस आक्रमणको बारेमा सुनेको थिएँ। मधेशीहरूको आफ्नो मिडिया वा मिडियासम्म पहुँच नभएको कारणले पहाडीहरूको बर्बर आक्रमण र ती जघन्य अपराधहरूका बारेमा पढ्न पाएको थिइनँ। सरकार र नेपाली मिडियाले त्यो समाचारलाई पुन: पहिला झैं दबाए। तर धन्य डिजिटल क्यामेरा र ह्यान्डीक्यामको विकास, केहीले त्यस उग्र दङ्गाको केही अंश भिडियोमा कैद गर्न भ्याएका थिए। त्यस बारेमा समाचार मैले एउटा पत्रिकामा पढेको थिएँ, जसले केही गरी अलिकति भए पनि समाचार छाप्न पुगेको थियो। जनआस्थाबाट उद्धृत गर्दै नेपालीटाइम्सले लेखेको थियो[21]

“जनआस्थासँग भएको २६ डिसेम्बरको नेपालगंज घटनाको भिडियोटेपले दङ्गा र हिंषामा नेपाल प्रहरीको हात रहेको देखिन्छ। तिनीहरू पसल तोडफोड गरिरहेका र फर्निचर आगोमा फालिरहेका देखिन्छन्। पहाडी र मधेशी बीच भएको झडपमा नेपाल प्रहरीले पहाडीहरूको पक्ष लिएको देखिन्छ। हरिया ज्याकेट लगाएकाहरू भीडलाई उत्तेजनात्मक बनाइरहेका देखिन्छन्, र कमल थापा र रविन्द्रनाथ शर्माका लागि काम गर्ने मण्डलेहरू पनि दङ्गामा सामेल देखिन्छन्। भिडियोटेपमा भएको आवाजमा ‘नेपाल पुलिस जिन्दावाद!’ भन्दै भीडले नारा लगाउँदै गरेको सुनिन्छ। दङ्गामा संलग्न प्रहरीहरू आधा यूनिफर्ममा देखिएका छन् र आफ्नो अनुहार छोपेका देखिन्छन्। ‘यो पसल चाहिं नेपालीको [पहाडीको] हो, यसलाई तोडफोड नगरौं’ भनेर पनि एक पटक सुनिन्छ। समूहले [मधेशीका] घर र पसलहरूमाथि सुनियोजित तरिकाले आक्रमण गरे र तोडफोड गरे, र एसएसपी राजेन्द्र सिंह भण्डारीले मधेशीहरूलाई अपमानित गर्दै ‘विरोध प्रदर्शन गर्न भारत जा’ भनेर भने।”

मैले त्यो भिडियोको सिडी नेपालबाट झिकाएँ। समाचार नराम्ररी दबाइएकाले र धेरैले त्यो घटनाबारे केही हेर्न नपाएकाले मैले त्यो भिडियो यूट्युबको वेबसाइटमा दुई भागमा राखें। तर सदा झैं पहाडीहरूले त्यो भिडियोलाई हटाउने अभियान नै शुरू गरे र केही दिनमै अधिकांशले हेर्ने गरेको पहिलो भाग हटाउन सफल पनि भए। पहाडीहरूलाई ती घृणित जघन्य अपराध गर्दा चाहिँ लाज लागेन, त्यो रंगभेदी आक्रमण उनीहरूलाई पूर्णरूपले स्वीकार्य थियो, तर त्यो दुनियाँ समक्ष ल्याउँदा चाहिँ तिनीहरूलाई अस्वीकार्य हुनु तिनीहरूको कायरता दर्शाउँथ्यो।

त्यो भिडियो हेर्दा म रिसले मुर्मरिन्थें, के गरूँ के नगरूँ हुन्थ्यो। जे जति द्विविधाहरू बाँकी थिए, तिनीहरू पनि हराए। धेरै दिन पश्चात्‌को मननपछि स्वतन्त्र मधेशका अलावा अर्को कुनै उपाय नभएको ठोस निष्कर्षमै म पुगें। यद्यपि स्वतन्त्र मधेशको कुरामाथि पहिला पनि कैयन् चोटि विचार गरेको थिएँ, बहस गरेको थिएँ, तर त्यस मोडमा आएपछि समाधानको त्यस मार्गमाथि शंका गर्नु पर्ने कुनै ठाउँ नै रहेन। झूठो राष्ट्रिय एकताका नाममा बाँच्नु कुनै पनि तरिकाले विवेकशील र सुरक्षित लागेन।

आक्रमणपूर्व, अन्तरिम संविधान बनिरहँदा म नेपालका राजनैतिक घटनाक्रमलाई सूक्ष्म तरिकाले हेरिरहेको थिएँ र संविधान निर्माणमा पहाडीहरूको घोर बेइमानी प्रष्टै देख्थें। संविधान निर्माण गर्दा मधेशीलाई अधिकार नदिने र दास नै बनाइराख्ने घोर षडयन्त्र भइरहेको थियो र त्यसले मलाई निराश गर्दथ्यो। टुक्राएर खाने र राज गर्ने, आफ्नो उपनिवेश कायमै राख्ने तिनीहरूको नीतिले मलाई चिन्तित बनाउँथ्यो। परिणामस्वरूप मैले ‘राज्यको पुनर्संरचना कि स्वतन्त्र मधेश’ भनेर नोट लेखी मधेशी नेताहरूको भेलामा उनीहरू समक्ष पेश गर्न साथीलाई पठाएको थिएँ। त्यसलाई आफ्नो वेबसाइटमा राख्नुका साथै नेता-कार्यकर्ताहरूलाई पनि इमेल गरी पठाएको थिएँ। धेरैको ध्यान त्यसले तानेको थियो, त्यसबापत धेरै प्रतिक्रियाहरू पनि आएका थिए। पहाडीहरूबाट आएका प्रतिक्रियाहरू निकै नै धम्कीपूर्ण हुन्थे तर म गुमनाम भएर ती सब कुराहरू गर्ने गरेकाले धम्कीहरूको त्यति परवाह हुँदैनथ्यो।

स्वतन्त्र मधेशको विचार त्यति बेला निकै नै विद्रोहपूर्ण थियो, मधेशका सशस्त्र समूहहरूले पनि त्यस प्रति त्यति गम्भिर भएर सोचेका थिएनन्। तर तुरुन्तै त्यो विचारले जरो गाड्न थाल्यो, बुद्धिजीवी र मूलधारका नेताहरूले पनि, समर्थन गरे-नगरे पनि, कम-से-कम त्यस बारे कुरा गर्न थाले, केही सशस्त्र समूहहरू पनि त्यसलाई आफ्नो माँग बनाउन हौस्सिए। मधेशीहरूले त्यस विकल्पका बारेमा दशकौंअगाडि नसोचेका होइनन्, तर शायदै त्यस प्रति गम्भीर हुन्थे। तर पहाडीहरूको अविरल आक्रमण, निरन्तरको रंगभेद र भेदभावबाट आजित भएर त्यस पालि चाहिं स्वतन्त्र मधेशका लागि गम्भिर नै भएका थिए।

स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै हामीले ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) को स्थापना गर्यौं। ARIM को परिचय यस्तो थियो —

ARIM मधेशीको अधिकार र मधेशको स्वतन्त्रका लागि लड्ने आम जनता, पार्टी र संघ-संस्थाहरूको साझा छाता संगठन हो। ARIM ले कुनै एक विशिष्ट राजनैतिक विचारधारालाई प्रश्रय दिँदैन न त यसका सदस्यहरूले आफू आबद्धित विचारधारा वा पार्टी छोड्नुपर्छ। जुनसुकै विचारधाराका, जुनसुकै पार्टीका मधेशीहरू यसका सदस्य बन्न सक्छन् र छन् पनि। ARIM ले मधेशीको अधिकार र मधेशको स्वतन्त्रका लागि लड्न कुनै एक विशिष्ट मोडालिटीको पनि समर्थन गर्दैन, चाहे त्यो वार्ताद्वारा होस् कि अहिंषात्मक आन्दोलनद्वारा कि सशस्त्र संघर्षद्वारा। गान्धीवादीदेखि क्रान्तिकारीसम्म सबैलाई ARIM स्वागत गर्दछ।

ARIM को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ थियो। छेउमा ठाडा राता पट्टीहरू बीच हरियो पट्टीमा सेतो गोलाकार भित्र कमलको फूल भएको ARIM को आफ्नै झन्डा पनि थियो। झण्डाको अभिप्राय थियो — चारैतिरबाट हाम्रो बलिदानबाट रक्षित हराभरा र उर्बर मधेशको बीचमा शान्ति र समृद्धि सदा फैलि रहोस्। मधेशको प्रस्तावित राष्ट्रगान पनि मैले तयार गरें र त्यो यसरी लेखें कि त्यसलाई मैथिली, भोजपुरी, अवधी, हिन्दी जे भन्दा पनि हुन्थ्यो (परिशिष्ट घ)। हाम्रो भाषा मध्यदेशीय भाषा हो, हाम्रो भाषा साझा हो, विभिन्न भाषाका नाममा हामीलाई शासकवर्गले टुक्राउने षड्यन्त्र मात्र गरेको हो भन्ने कुराको सम्झना स्वरूप मैले त्यो राष्ट्रगान त्यसरी रचना गरेको थिएँ।

आवश्यक कुराहरू तयार गरी म ARIM लाई संगठित गर्न थालें, त्यसलाई अगाडि बढाउन थालें। मूलधारका मधेशवादी नेताहरूसँग पनि सम्पर्क गर्दै तिनीहरूलाई मधेशको हकहितका लागि एक हुन र ARIM को एजेन्डालाई अगाडि बढाउन आग्रह गर्न थालें।

[GO TO CONTENTS]

२४. मधेश आन्दोलन

पूर्वी मधेशको लहानबाट शुरु भएको थियो मधेश आन्दोलन। लहान शहरको नाम आफैंमा पहाडीहरूको रंगभेद, बर्बरता र आक्रमणको इतिहास थियो। महेन्द्र राजमार्ग बनेपछि पहाडीहरू त्यस ठाउँमा बसाइँ सर्न थाले। शुरूमा तिनीहरूको संख्या थोरै भए पनि शासकवर्गको आत्मविश्वास तिनीहरूमा थियो, प्रहरी र प्रशासन तिनीहरूसँग थियो, र त्यही दम्भका कारण तिनीहरू त्यहाँ आफ्नो हैकम जमाउँदै आतङ्क फैलाउन थाले, मधेशीहरूमाथि आक्रमण गर्दै हिँड्न थाले। भनिन्छ, त्यस्तै झडपहरूमा पहाडीहरूले ‘ल हान! ल हान!’ भनेर कराउँदै हिँडेकाले त्यस ठाउँको नाम लहान पर्न गएको थियो।

डिसेम्बरको नेपालगंज आक्रमणपछि अन्तरिम संविधानको विरोध झन् देशभरि नै चर्को रूपमा फैलिएको थियो। जनवरीमा केही मधेशी समूहहरूले प्रतीकात्मक विरोध स्वरूप अन्तरिम संविधान जलाए। परिणामस्वरूप नेपाल सरकारले मधेशी नेताहरूलाई गिरफ्तार गरी जेल मै कोचिदिए। त्यसको पनि विरोध चारैतिर भइरहेको थियो। सरकारले विरोधलाई वेवास्ता गरिरहँदा विरोध दिनानुदिन झन्-झन् उग्र हुँदै थियो। पछि सरकारले सबै विरोधीलाई टियान्‌मेन् स्क्वाइरमा झैं पिल्सिदिन चाहन्थे र त्यही भएर पहाडीहरू र तिनका पार्टीले ठाउँ-ठाउँमा मधेशीको विरोध-जुलुसमाथि, मधेशीहरूमाथि आक्रमण गर्दै आएका थिए, गराउँदै आएका थिए। त्यही क्रममा, निशस्त्र भएर संयुक्त राष्ट्रसंघको छाउनीमा हुनुपर्ने एक माओवादी कार्यकर्ताले लहानमा मधेशी प्रदर्शनकारीमाथि आक्रमण गरेका थिए र एक मधेशीलाई गोली हानेर मारे पनि। दश कक्षामा पढ्दै गरेका रमेश महतो त्यहाँ शहीद भए। त्यसले गर्दा आन्दोलनले भीषणरूप धारण गर्यो।

मधेशीहरू देशभरि नै स्वस्फूर्त रुपमा विरोधमा निस्के, गाउँ-गाउँबाट, गल्ली-गल्लीबाट मान्छेहरू निस्के। तिनीहरू क्षेत्रीय र जातीय भेदभावको र आन्तरिक उपनिवेशको अन्त्यको माँग गर्दै सडकमा ओर्ले। तिनीहरू स्वशासन, र केही त, स्वतन्त्र मधेशको माँग गर्दै ओर्ले। आधुनिक मधेशकै इतिहासमा कहिले पनि नदेखिएको संख्यामा तिनीहरू सडकमा ओर्ले। बूढा र बच्चाहरू पनि निस्के। घर भित्रै घुम्टो तानेर बस्ने आइमाईहरू पनि कूचो लिएरै निस्के। आफ्नो अधिकार माँग्दै लाखौं-लाख मधेशीहरू मुटु कमाउने जाडोको बेवास्ता गर्दै, शासकले बर्साउँदै गरेको गोलीको बेवास्ता गर्दै सडकमा ओर्ले।

त्यसको बदलामा, मधेशीको जायज माँग सुन्नुको साटो, सरकारले हजारौं सशस्त्र प्रहरीलाई परिचालन गरे। पहाडीहरू त मधेशी विरुद्ध सैनिक नै परिचालन गर्न चाहन्थे, तर त्यसले अन्तर्राष्ट्रिय जगतमा र दातृ संस्थाहरू बीच नेपालको छवि खराब पार्ने भएकाले तिनीहरूले सशस्त्र प्रहरीलाई परिचालन गरेका थिए। तर काम त त्यही थियो, मधेशीहरूलाई पिल्सिनु, मधेशीहरूको आवाजलाई सदाका लागि बन्द गर्नु। अनेकानेक हातहतियार, शासकवर्गको दम्भ र सरकारको आदेश बोकेका ती सशस्त्र प्रहरीहरूले बेलगाम मधेशभरि नै आफ्नो आतङ्क फैलाए।

लहानमा सशस्त्र प्रहरीले मधेशीको शान्तिपूर्ण प्रदर्शनमाथि गोली बर्षा गरे र सयौं मधेशीहरूलाई नराम्ररी घाइते बनाए। बेचन यादब, मोहम्मद मोदाकसिन, प्रमोद सादा, बिजय साहनीहरू त्यहीं नै शहीद भए। पहाडीहरूले तिनीहरूलाई बर्बरतापूर्वक मारे।

तर त्यसले मधेशीहरूलाई रोकेनन्। तिनीहरू यसपालि पूर्णरुपले जागेका थिए। जतिबेला त्यो जाडोमा अर्धनग्न मधेशीहरू आफ्नो गाईवस्तुसँगै घूरनिर बसेको हुनुपर्थ्यो, तिनीहरू आफ्नो मुटु भित्र आगो सल्काउँदै सडकमा ओर्ले। स्वतन्त्रताका लागि तिनीहरू मर्न तयार थिए, हजारौं गोली खान तयार थिए।

नेपालमा राजा फाल्नका लागि, फ्रांसको आन्दोलनको झैं उपलब्धिका लागि, आन्दोलनलाई केवल दुई हप्ता लागेको थियो, केवल दश जना जतिको ज्यान गएको थियो। तर लाखौं-लाख मधेशीहरूको तीन हप्तासम्मको जोडदार ऐतिहासिक आन्दोलन, र तीन दर्जनभन्दा बढी निर्दोष प्रदर्शनकारीहरूको निर्मम हत्याको चित्कारले पनि शासकवर्गको घैटोंमा घाम लाउन सकेको थिएन। त्यसले देखाउँछ कि नैतिकवान् भए विश्वकै सुपरपावरसँग पनि लड्न सजिलो हुन्छ तर अनैतिक पहाडीहरूको पूर्वाग्रहसँग लड्नु आसान थिएन। मधेशीहरूसँग त मिडिया पनि थिएन, अज्ञातमा तिनीहरू पहाडीका गोलीबाट मरिरहे।

आन्दोलन बारे जति सीमित जानकारी कुनै कार्यकर्ता वा स्वयंसेवक मार्फत् म पाउँथें, त्यसलाई मधेश डट् कमको वेबसाइटमा राख्थें। त्यसबखत मधेशबारे जानकारी दिने अरु कुनै त्यस्तो वेबसाइट नभएकाले त्यो साइट निकै नै लोकप्रिय हुन पुगेको थियो। आन्दोलनभरि म लेखहरू लेखिरहें र विभिन्न ठाउँमा प्रकाशित गरिरहें। ती लेखहरू र ARIM का प्रेसविज्ञप्तिहरू साइटको लागि महत्वपूर्ण सम्पत्ति हुन पुगेको थियो।

शुरुमा लेख वा ब्लग लेख्न म अलि अग्रसर हुन्नथें, क्यामब्रिजको कठोर मापदण्डबाट गुज्रदा म केही हदसम्म प्यूरिस्ट हुन पुगेको थिएँ, त्यसले लेखाइमा धेरै रूकावट ल्याउने गर्थ्यो। त्यसै गरी एनजिओ, मानवअधिकारकर्मी र कुटनीतिज्ञहरूसँग मधेशमा भइरहेको नरसंहार र आक्रमणका घटनाहरू रिपोर्ट गर्न सम्पर्क गर्दा पनि ‘प्रोफेशनल’ र उच्चस्तरको भाषामा लेखेर ल्याउन भन्थे। आश्चर्य लाग्थ्यो, मद्दत माग्न गुहार्दा गुहार पनि ‘प्रोफेशनल’ र उच्चस्तरको अंग्रेजीमा हुनुपर्ने, अन्यथा नसुनिने! चित्कार पनि ‘प्रोफेशनल’ र उच्चस्तरको अंग्रेजीमा हुनुपर्ने, अन्यथा नसुनिने! अनि बिडम्बना तिनीहरू पिछ्डेका, पहुँच नभएका वर्गका लागि काम गर्थे रे! ती परिस्थितिहरूको अनुभवले गर्दा दुई-चार लाइन लेख्दा पनि गल्ती भए‍-नभएको, ‘प्रोफेशनल’ भए‍-नभएको कैयौं पटक जाँचिरहने, विश्लेषण गरिरहने बानी परेको थियो। तर त्यो सोचलाई अन्तत: म हटाइछाडें। सोचें, भाषाको अशुद्धि पनि मेरो विरोध हो, मेरो स्थितिको अभिव्यक्ति हो, पिछडेका विपन्न वर्गको यथार्थ हो। त्यो वर्गले कहाँबाट रूश्दीको रूपक र अमिसको जस्तो वाक्य ल्याओस्? गैरसरकारी संस्थाले झैं त्यो वर्गले कहाँबाट ग्लस पेपरमा परफेक्ट डिजाइन सहित जानकारी छपाएर बाँडोस्? कहाँबाट प्रोफेशनल एडिटर हायर गरोस्? कहाँबाट ओस्कार पाउने डक्युमेन्टरी बनाओस्? सोचें, भाषा रँ भए होस्, लेखमा भाषिक त्रुटी भए होस्, भिडियो कमसल क्वालिटीको भए होस्, महत्वपूर्ण कुरा हामीले आफ्नो आवाज आफैंले उठाउनु हो, आफ्नो कथा आफैंले भन्नु हो। र विश्वका हरेक पिछडिएका वर्गले आफ्नो कथा आफैंले भन्नुपर्छ, स्वतन्त्रताप्रेमी जो सुकैले आफ्नो अभिव्यक्ति आफैंले अगाडि ल्याउनुपर्छ, शासकवर्गको सेन्सरशीप स्वीकार्नु, उनीहरूको कृपामा आफ्नो अभिव्यक्तिलाई शहीद हुन छोड्नु दासताको अर्को रूप नै हो ।

म विभिन्न छद्मनामबाट आफ्ना लेखहरू प्रकाशित गर्थें जस मध्ये विवश्वान कुमार, आजाद र ईंजोड मुख्य थिए। तिनीहरू हरेकसँग म छुट्टै व्यक्तित्व जोड्थें। ईंजोड मूलत: साहित्यिक विधामा काम गर्ने नाम थियो जसबाट म साहित्यिक रचनाहरू, कविता र गीतहरू लेख्थें। विवश्वान कुमारको नामबाट राजनैतिक र बौद्धिक लेखहरू लेख्थें भने आजादलाई ARIM को क्रान्तिकारी नेताको रूपमा प्रस्तुत गरेको थिएँ।

नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट म लक्षित समूहका लाखौं इमेलहरू संकलन गरेको थिएँ। केही साइटले सहजै इमेल एड्रेससम्म पहुँच दिँदैनथ्यो, हरेक पटक साइन-इन गर्नुपर्थ्यो। यी सब कुराहरू स्वचालित रुपले गर्न मैले स्पाइडर प्रोगाम तयार गरेको थिएँ। त्यसका अलावा सयौं पत्रकारहरू, गैरसरकारी संस्थाहरू र कुटनीतिज्ञहरूको इमेल मैले फेला पारेको थिएँ। तिनीहरू सबैलाई म नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथें। मधेशवादी नेताहरूलाई पनि एक हुन विशेष आग्रह गर्दै संदेश पठाउँथे, तर त्यस्तो मोडमा पनि तिनीहरू आफ्नो वा पार्टीगत स-साना फाइदाका लागि एक-आपसमा लड्दै गरेको देख्दा धेरै दु:ख लाग्थ्यो। कहिलेकाहीं व्यङ्गात्मक कार्टून बनाएर पनि तिनीहरूलाई एक हुन झक्झक्याउँथे।

मधेशीहरू माथि झन्डै नरसंहार वा जातीय सफाया भइरहेको स्थिति देखिए पनि विश्वका राष्ट्रहरू र कुटनीतिज्ञहरू चुप थिए। त्यही भएर तिनीहरूको ध्यानाकर्षण गराउन ‘हार्बिन्जर अफ् होलोकास्ट’ लेखेको थिएँ। त्यसले पहाडी र नाजी शासन बीचको प्रगाढ समीपतालाई देखाएको थियो, ती शासनकालमा भएका घटनाक्रममा भएको समानता देखाएको थियो। तिनीहरूको कम-से-कम एक नजर जाओस् भनेर आफ्नो सीमित सीप भए पनि त्यससँगै एउटा कार्टून समेत कोरेर राखेको थिएँ। त्यो लेख कुटनीतिज्ञहरू, पत्रकारहरू, र मानव-अधिकार सम्बन्धी संघ-संस्थाहरूबीच व्यापक रूपमा बाँडें। पछि त्यो लेखमा आधारित ‘इथनिक क्लीनजिङ्ग अफ् नेपाल इन प्रोग्रेस’ नामक समाचार न्यूजब्लेजले पनि कार्टून सहित छाप्यो। तैपनि विदेशी संघसंस्थाहरूले मधेश आन्दोलनमा नेपाल सरकारले गरिरहेको आक्रमण र अत्याचारका सम्बन्धमा खासै केही गरे जस्तो लागेन। जे भए पनि, आफ्नो अभियानमा म जोडतोडका साथ लागिरहें।

मसँग साधन-श्रोत कमै थियो, कलेज ताकाका मेरो नामबाट प्रभावित साथीहरूको विश्वास र समर्थन बाहेक खासै कुनै पूर्वाधार पनि थिएन। विभिन्न राजनैतिक विचारका नाममा हुन् कि जातका नाममा भलै तिनीहरू आफूमा लड्थे, तर मकहाँ तिनीहरू सबै एक नै भएर पेश हुन्थे। कलेजका दिनमा तिनीहरूले मलाई राम्ररी देखेका थिए, कुनै सम्प्रदाय, जाति, पार्टी र राजनैतिक विचारधारासँग आबद्धता नराख्ने तटस्थ व्यक्तिका रुपमा मलाई चिन्थे, र शायद त्यही भएर तिनीहरूको प्रगाढ विश्वास मसँग थियो। वेबसाइट चलाउन र प्रचार-प्रसार गर्न तिनीहरूको राम्रो समर्थनका बाबजूद पनि वेबसाइटका लागि नेपालमा केही व्यवसायिक रिपोर्टरहरू राख्ने विचार आयो र त्यसका लागि केही पाइला चालें। तर दासताको मानसिकतामा शताब्दी गुजारेको समाजमा स्वतन्त्रतातिर अग्रसर हुनेलाई साथ दिने व्यवसायिक रिपोर्टरहरू कहाँ पाइएला? त्यस्तो कोही पाइएन। पाओस् पनि कसरी, व्यवसायिकलाई त पैसा चाहिन्छ र त्यो शासकवर्गबाटै नै प्रचूरमात्रामा पाइन्थ्यो। तिनीहरू वौद्धिक वेश्यावृत्ति मै रमाउन चाहे।

सरकारले पनि शायद हाम्रो साइट बन्द गर्ने कोशिस गर्यो, इन्टरनेट सर्भिस प्रोभाइडरहरूले पटक-पटक रोक्ने प्रयास गरे, र पहाडीहरूले ह्याक गर्ने प्रयास। पहाडीहरूबाट र केही गैरसरकारी संस्थाहरूबाट मलाई धम्की आउन थाल्यो। धम्की भरिएका सयौं इमेलहरू आउन लागे। केहीले मधेशमा भइरहेको खलबलीका लागि ARIM लाई जिम्मेबार ठहराउँदै लेख पनि लेखे। विदेशी पत्रकारहरू जानकारीका लागि सम्पर्क गर्ने गर्थे। केही त अन्तर्वार्ता पनि लिन चाहन्थे जुन मैले तुरून्तै अस्वीकार गरें। विभिन्न देशका मधेशी विद्यार्थीहरूले संगठन बनाउनका लागि पनि सहयोग माँगे, र सक्दो मैले गरें पनि।

अज्ञात वा छद्मनामबाट यी सबै अभियान चलाइराखेको भए पनि मेरा एक जना प्रिय विद्यार्थीले त्यसमा मेरो संलग्नता भएको अनुमान गरेछ र मलाई एउटा लामै इमेल लेखेछ। त्यसमा उसले लेखेको थियो — ‘तपाईंको कुरा देखेर यस्तो लाग्छ मानौं गान्धी बन्दुक बोकेर युद्धको अग्रपंक्तिमा उभिएको होस्।’ उसको उपमा मलाई त्यति मन परेन तर शायद त्यस बखत मलाई त्यस्तो कुराले फरक पार्न छोडिसकेको थियो।

मधेश आन्दोलन लामै समयसम्म जारी रहँदा पहाडीहरू त्यसबारे सचेत हुन थाले, तिनीहरू संगठित हुन थाले। खुकुरी दल जस्ता आतङ्गवादी गुटहरू बनाउन थाले र मधेशीहरूमाथि आक्रमण गर्न थाले, मधेशीका दर्जन-का-दर्जन गाउँहरूमा आगो लगाउन थाले। प्रहरी र प्रशासनको साथ र समर्थन त तिनीहरूसँग छँदै थियो, सरकारबाट तिनीहरूले हात-हतियार पनि पाएको सुनियो। तिनीहरूले मधेशीमाथि गर्ने गरेका आक्रमणहरूको विवरण भयावह थियो। मार्चमा एउटा गैरसरकारी संस्थाले मलाई पठाएको रिपोर्टमा एउटा विवरण यस्तो थियो —

“त्यस क्षेत्रमा मधेशी र पहाडी समुदाय बीच दङ्गा भइरहेको छ। धौलागिरी, बागेश्वरी, सीतापुर, खजुरा र अन्य गाउँका पहाडी युवाहरूले खजुराखुर्द गा. वि. स. को वार्ड नम्बर ४ र ५ मा आक्रमण गरे र १८ भन्दा बढी घरहरूमा आगो लगाए। एक स्थानीय, तुलाराम त्रिपाठी, ४५, आगो निभाउन जाँदा पहाडीहरूले खुकुरीले आक्रमण गरे र उनलाई ज्यानैले मारे। त्यसै गरी पहाडीहरूले खेदु चमारलाई टाउको, अनुहार र गर्दनमा खुकुरीले आक्रमण गरे। आश्रम कुम्हार, ६०, पनि टाउकोमा चोट लागेर घाइते भएका छन्।”

स्वाभाविक रूपमा हिंषा व्यापक रुपमा फैलिएको थियो, जिल्ला-जिल्ला र गाउँ-गाउँमा फैलिएको थियो। पहाडी र पुलिसहरूले मधेशीमाथि आफ्नो आक्रमण तीब्र बनाएका थिए। तिनीहरूमाथि औंला उठाउने कोही नभएकाले जघन्यभन्दा जघन्य क्रूरतम अपराध गर्न तिनीहरू अग्रसर थिए। पछि स्थिति यति बिग्रयो कि मैले नेपालमा रहेका आफ्ना सबै साथीहरूलाई सचेत गराएँ, आम मधेशीका लागि पनि पहाडी क्षेत्रमा नजान र सावधानी अपनाउन अनुरोध गर्दै नोट जारी गरें।

जब पहाडीहरूले मधेशीका एक पछि अर्को गाउँ आगो लगाउँदै खरानी बनाए, जब पहाडीहरूले खुकुरी लिदैं मधेशीहरूमाथि आक्रमण गर्दै हिडें, जब पहाडीहरूले मधेशीलाई नेपालबाटै सफाया गर्ने नरसंहारको अभियानमा लागि रहे, जब पुलिसले निर्दोष मधेशीहरूमाथि गोलीको बर्षा गर्दै दर्जनौंलाई क्रूरतापूर्वक मारे र हजारौंलाई घाइते बनाए, नेपालका मिडिया केही नदेखे झैं गरे, मौनता साधे। तिनीहरूले पहाडीहरूको बर्वर र क्रूर आक्रमणलाई ढाक्ने प्रयास मात्र गरेनन्, त्यसलाई बढावा दिने कोशिस पनि गरे।

नेपाली समाजले त्यस्ता कुकृत्यहरू सजिलै पचाएको देख्दा मलाई अचम्म लाग्थ्यो। मधेशीहरूमाथि गरिँदै आएको दमन र अत्याचारको पराकाष्ठालाई देखेर पनि अलिकति इमपेथी राख्न नसकेको नेपाली समाजको अन्तरात्मा जातीय अहंकार र अन्धराष्ट्रवादको आगोमा पूर्ण रुपले खरानी भइ सकेको जस्तो लाग्थ्यो। भारतको स्वतन्त्रतामा लाखौं ब्रिटिशहरूले अतुलनीय योगदान दिएका थिए, कैयौं ब्रिटिशले आफ्नो जीवन र ज्यानै दिएका थिए, स्वतन्त्रता आन्दोलनमा निर्णायक नेतृत्व गरेका इण्डियन नेशनल कंग्रेसका मुख्य संस्थापक एलन हुम समेत ब्रिटिश नै थिए। तर नेपालमा एउटा पनि बुद्धिजीवी पैदा भएको देखिन्नथ्यो जो जातीय अहंकार र राष्ट्रियताको खाडलभन्दा माथि उठेर सोच्न सकोस्। के नेपाली समाज एलन हुम र एनी बेसन्ट जन्माउन नसक्ने गरी बाँझो नै भएको हो त, भनेर सोच्न बाध्य हुन्थें। नेपाली पत्रकारिता र बुद्धिजीवीलाई देख्दा मलाई निरक्षर भइ दिए जस्तो लाग्थ्यो, मधेशीमाथिको अपमान र अत्याचार देख्दा मेरो स्मृति मलाई अभिशाप लाग्थ्यो, र आफ्ना पहाडी साथीहरूको संलग्नता वा निरीह मौनता देख्दा तिनीहरूसँगको मेरो परिचय मलाई बोझ लाग्थ्यो।

आन्दोलनभरि म असहाय महशूस गरिरहें। ठूलो संख्यामा मधेशीहरू मारिनाले र घाइते हुनाले म क्षुब्ध थिएँ। घाइतेहरूको उपचार गर्न करीब पच्चीस हजार रुपैयाँ पठाएँ। मेरा साथीहरूले इनरूवा, धरान, बिराटनगर, मलङ्गवा र अन्य ठाउँहरूमा घाइतेहरूको उपचार गराउन त्यो खर्च गरे। साथीहरूले पठाएका घाइतेका केही तस्वीरहरू हेर्दा मलाई निकै दु:ख लाग्यो। त्यसमा अति नराम्ररी घाइते भएका धेरै बच्चाहरू थिए। तिनीहरूको स्थिति हेर्दा मधेश त्यतिबेला आन्दोलनको लागि तयार नभएको जस्तो लाग्यो। मधेशसँग मिडिया थिएन, प्रभावकारी नेतृत्व थिएन, पार्टीहरू बीच एकता थिएन, अन्तर्राष्ट्रिय शक्तिहरूको ध्यान थिएन, र मानव-अधिकारवादी संस्थाहरूको सरोकार थिएन। सय त के, मलाई लाग्यो, त्यसबेला हजारौं-हजार मधेशीहरूलाई नेपाल सरकारले ग्याँसको च्याम्बर भित्र झोकेको भए पनि कसैले मधेशीको साथ दिने थिएनन्। बिना कुनै तयारी आन्दोलन जारी राख्नु मैले कुनै पनि तरिकाले उपयोगी देखिनँ, युक्तिसंगत देखिनँ। सबै परिस्थिति नियाल्दा म यति बिघ्न निराशित र दु:खी भएँ कि मार्चको मध्यतिर मैले मधेश डट् कम वेबसाइटलाई पनि बन्द गरें र आफ्नो सबै सक्रियता छोड्दै सबै कुराबाट टाढिएँ। मधेश सम्बन्धी इमेल पढ्न र जवाफ दिन पनि अस्वीकार गरिरहें।

अविरल गोलीबर्षा, बम, अश्रुग्याँस र कर्फ्यूका बीच, बीच-बीचमा कहिले रोकिँदै त कहिले जोशिँदै, मधेश आन्दोलन सन् २००८ सम्मै जारी रह्यो। माओबादीहरू मधेशी विरुद्ध जनसेना र नेपाल सेना परिचालन गर्नेतिर जोड दिन्थे। सशस्त्र प्रहरी र पहाडीहरूको आक्रमण र अत्याचारले मधेश आक्रान्तित बनिरह्यो। मधेशी जो कोही देखिँदा वा बोल्दा तिनीहरूले गोली ठोक्ने क्रम जारी नै रह्यो। अन्त्यमा तिनीहरूले मधेशीलाई घर भित्रै थुने, मधेशीको आवाजलाई मृत्युको मुखमै बन्द गराए, र मधेशीलाई फेरि त्यही नेपाली उपनिवेश र गुलामी स्वीकार्न बाध्य बनाए।

[GO TO CONTENTS]

२५. मधेश र मिडिया

मधेश आन्दोलनका क्रममा नेपाली मिडिया निरंकुश शासकवर्गको दाहिने हातका रुपमा प्रस्तुत भए। मधेशीमाथि हरेक अत्याचार र अन्याय गराउनमा तिनीहरू भागी त सधैं नै थिए, तर आन्दोलनका क्रममा तिनीहरूले आफ्ना सबै कुकृत्यका सीमा नै नाघे। मधेशीमाथि शासकवर्गद्वारा गरिएका भीषण आक्रमणहरू र जघन्य अपराधहरू लुकाउन र शासकवर्गहरूको कुकृत्यलाई उचित ठहर्‍याउन उनीहरूले आफूलाई निम्नभन्दा पनि निम्न दर्जामा ढाले।

नेपालका मिडिया शासकवर्गका अधीनस्थ छन्, र आज पनि मूलधार नेपाली मिडियामा मधेशी बिरलै पाइन्छ। परिणामस्वरूप पहाडमा भीरबाट भैँसी खस्दा ठूलो समाचार बन्छ भने मधेशका गाउँका गाउँ बाढीमा बग्दा, आगोमा खरानी हुँदा कुनै समाचार बन्दैन। कोही नबस्ने चुचुरासम्म जान पुल नहुँदा ठूलो महत्वको कभर स्टोरी बन्छ भने खान नपाई मधेशीहरूले आत्महत्या गरेको, आङ ढाक्न केही नहुँदा दर्जनका दर्जन मरेको कुनै पत्र-पत्रिकाको चासोको विषय हुँदैन। जब पहाडी प्रहरी र सैनिकले मधेशी आइमाईलाई बलत्कार गर्छन्, पहाडीहरूले मधेशीका गाउँका गाउँमा आगो लगाउँछन्, जतिबेला सशस्त्र प्रहरीहरू निर्दोष मधेशीहरूमाथि गोलीको वर्षा गर्छन्, ती कुराहरू समाचार बन्दैनन्। आफ्नै अपराध तिनीहरूले किन सार्वजनिक गरून्?

अन्धराष्ट्रवाद र मधेश-विरोधी हुनु नेपाली मिडियाको पहिचान हो। मधेश र भारत विरोधी हुनु यी मिडियामा बुद्धिजीवी बन्ने योग्यता हो। मधेशको विरोधमा बोल्ने जो कोहीलाई पनि तिनीहरूले हिरोका रुपमा चित्रित गर्छन्, र मधेशको अधिकारका बारेमा कुरा गर्ने जो सुकैलाई, भिलेन, खलनायकका रुपमा। खासमा त, मधेशको अधिकारका बारेमा कुरा गर्नेहरू यदि पहिलादेखि नै मिडियामा पकड बनाएका छैनन् भने यिनीहरूले त त्यस्तालाई कहिले बाहिर आउनै दिँदैनन्।

मधेशीहरू कुनै राजदूत हुनासाथ, कुनै न्यायधीश वा मन्त्री हुनासाथ, कुनै ठूलो ओहदामा पुग्नासाथ नेपाली मिडियाले तिनीहरूलाई बदनाम गर्ने उग्र अभियान चलाउँछन्। तिनीहरूले उनीहरूको विषयमा बनावटी समाचारहरू छाप्छन्, दुई-चार जनालाई पैसा दिएर जथाभाबी बोल्न लगाउँछन्, आधा दर्जन जोकरहरूलाई क्यामेराअगाडि जम्मा गरेर मधेशी अधिकारको विरोध गर्न लाउँछन्, र अन्धराष्ट्रवादले खसी बनाइएका कथित बुद्धिजीवीहरूलाई मधेश विरोधी लेखहरू लेख्न लगाउँछन्। सबै, आफ्नो नेपाली साम्राज्य र अत्याचार कायम राख्न।

नेपाली मिडिया नेपाली-नाजीहरूको किल्ला हो। र कान्तिपुर, नेपाली दानवीय साम्राज्यको सार। नेपाली सांस्कृतिक अधिनायकत्व र प्रोपागाण्डा फैलाउने हतियारका रुपमा यसले समाचारपत्र र इन्टरनेट पोर्टल मात्र प्रयोग गर्दैन, कैयौं रेडियो र टीभी स्टेशनहरू र स्याटेलाइट प्रसारणको पनि प्रयोग गर्दछ। देशभित्र नेपाली नाजीवाद विस्तार गर्ने तर्फ मात्र लाग्दैन, देशबाहिरका संघ-संस्था र दातृ-निकायहरू समक्ष पनि उत्तिकै जोडदार रुपले प्रोपागाण्डा फैलाउने काम गर्दछ। नेपालका मिडियामा प्रकाशित लेखहरू वाक्वाकी लाग्ने खालका हुन्छन्, आफूलाई ‘एकाडेमिक पेपर’ भन्ने टेलिग्राफ नेपाल जस्ताको पनि ‘स्तर’ हेर्न दुई-तीन सम्पादकीय पढे पुग्छ।

जतिबेला देशका मिडियाले मधेशविरुद्ध अभियान नै छेडे, विश्वका मिडिया र सूचना केन्द्रहरू मधेश र मधेशीको समस्यासँग अनभिज्ञ नै देखिए। र जतिबेला तिनीहरूले मधेश आन्दोलनका बारेमा अन्तत: थाहा पाए, उनीहरू नेपालका शासकवर्गको जालमा थिए। उनीहरूसँग न त नेपालभित्र कुनै भौतिक पूर्वाधार थियो, न त नेपालबारे वृहत् ज्ञान, समाचारका लागि उनीहरू नेपाली मिडियाकै भर परे। र त्यही भएर तिनीहरू पनि शासकवर्गकै नारा र प्रोपागाण्डा दोहोर्‍याउन पुगे। र विदेशी मिडियामा भएका नेपालीहरू पनि त शासकवर्ग नै थिए, तिनीहरूले आफ्नो पहुँचको भरमार दुरुपयोग गरे, मधेशी सम्बन्धी प्रोपेगाण्डा फैलाउन। पहाडीहरूद्वारा संचालित बीबीसीको नेपाली सेवा यसका उदाहरण हुन्, जसले मधेशीलाई बदनाम मात्र गरेनन्, आफ्नो स्वार्थ अनुरूप राजाको शासनलाई बल दिने कोशिस पनि गरे। रवीन्द्र मिश्र जस्ताहरूले मधेशीको छद्मनाम धारण गर्दै आफ्नो स्वार्थ पूर्ती गर्न कैयौं लेखहरू लेखे।

आन्दोलनको क्रममा नेपालमा उपस्थित केही विदेशी रिपोर्टरहरू यथार्थ बुझ्न झन् असफल रहे। आखिर तिनीहरू पनि त ट्राभेल गाईड र ट्रेकिंङ्ग रूटको नक्सा लिएरै नेपाल आएका हुन्छन्, कुनै इतिहासका किताब पढेर होइन। समतल भूभाग र काला रंगका मान्छेहरू तिनीहरूले परिकल्पना गरेको नेपालमा किन अटाउँथे र? आदिकालदेखि मधेशमा बस्दै आएका मधेशीहरूलाई तिनीहरूले पनि आफ्नै भूमिमा विदेशी नै बनाइदिए। तिनीहरूको रूचि एभरेष्ट र कुमारीहरूमा हुन्थ्यो, तिनीहरू कुमारीको खोजीमा निस्किन्थे, यतिका पाइलाहरूपछाडि दगुर्थे, लाखौं मधेशीहरूले महिनौं गरेको आन्दोलन र राज्यले मारेका दर्जनौं मधेशीहरू तिनीहरूको चासोको विषय किन बन्थे? मधेशका भोका-नाङ्गा बालबालिकाहरू, हिलाम्मे डगरहरू, मधेशीका झुप्राहरू, लामखुट्टे टोक्ने गाउँहरू तिनीहरूले किन देख्थे? तिनीहरू त पहाडका मनोरम दृश्यहरूतिरै, काठमाडौंका मध्यकालीन मन्दिरहरूतिरै आफ्ना क्यामेरा सोझ्याए, मधेशीहरूमाथि भइरहेको नरसंहारमाथि होइन। काठमाडौं उपत्यका त्यसैपनि प्लेटोको गुफा नै हुन्, र काठमाडौंमा अवस्थित कुटनीतिज्ञ र विश्लेषकहरूको स्थिति ती कैदीहरूभन्दा भयावह थियो। र आफ्नो देशमा केवल जेनिटरका लागि योग्य ठहरिनेहरू जतिबेलासम्म यस देशमा कुटनीतिज्ञ र राजदूत बनेर आइरहनेछन्, तिनीहरूबाट बढी आशा पनि गर्न सकिन्न।

अनलाइन मिडियाको आगमनले पनि विपन्नवर्गलाई खासै राम्रो गरेन। साइबर संसारमा पाइने स्वतन्त्रता आम जनताको लागि वरदान सावित हुने विश्वास मेरो थियो र ओपेन सोर्सलाई मैले लामै समयदेखि प्रचार गर्दै आएको थिएँ। मैले सोचें, ब्लग, विकीपेडिया, र अनलाइन नागरिक पत्रकारिता जस्ता कुराहरूद्वारा आम जनताहरूले आफ्नो दबाइएको आवाज विश्व समक्ष ल्याउन पाउलान्। तर अनलाइन मिडियाको फाइदा पनि शासक र सम्पन्न वर्गले नै लिए, अनलाइन मिडियाको दुरुपयोग नै गरे, र विपन्न वर्गका लागि यसले फाइदा पुर्‍याउनुको साटो घाटा नै पुर्‍याए।

अनलाइन मिडिया पनि शासक वर्गद्वारा प्रयोग गरिए, जससँग संगठित हुने शक्ति थियो, लगानी गर्ने क्षमता थियो, दर्जनका दर्जन लेखक र कमेन्ट गर्नेहरूलाई हायर गर्ने क्षमता थियो। ती कुराहरू विपन्न र पिछडा वर्गहरूको सामर्थ्य बाहिरको कुरा थियो। अनलाइन मिडियामा पनि शासक वर्गकै वेबसाइटहरूको बोलबाला हुन्छ, र के प्रकाशित हुने-नहुने त्यो तिनीहरूमै निर्भर।

विकीपेडियाजस्ता जनस्तरबाट निर्माण हुने भनिएको साइटहरूमा समेत शासक वर्ग नै अन्तत: धावा बोल्छन्। शासकवर्गसँग भए झैं त्यहाँ अनेकौं लेखहरू राख्ने क्षमता वा जनशक्ति विपन्न वर्गसँग नभएर होला, सन् २००६ तिर विकीपेडियामा मधेश वा मधेशीसँग सम्बन्धित कुनै लेख थिएन । त्यही भएर मैले ‘मधेश’ सम्बन्धी एउटा सामान्य जानकारीमूलक लेखको शुरूवात गरी दिएको थिएँ, र अन्य केहीले पनि पछि जानकारी थपे। तर मधेश आन्दोलन पश्चात् त्यो पेज हेर्दा म अचम्भित भएको थिएँ, त्यो झूठो जानकारी र प्रोपागाण्डाले भरिएको थियो। नेपाली शासकवर्गले प्रोपागाण्डाको प्रभावकारी माध्यम समातेका थिए। अवश्य पनि मधेश आन्दोलन दौरान विश्वभरि धेरैले त्यहाँबाट जानकारी लिएको होला, तिनीहरू सबै पहाडी प्रोपागाण्डाको शिकार बने।

विकीपेडियाको त्यस पेजमा कसैले संयुक्त राष्ट्र संघको रिपोर्ट उद्धृत गर्दै ‘आन्दोलनका दौरान मधेशीमाथि राज्यद्वारा अनावश्यक र अधिक शक्ति प्रयोग गरिएको’ भनेर लेखेका थिए, तर त्यो के बाँकी रहन्थ्यो? पछि त आन्दोलनको चर्चा नै गायब हुन थाल्यो! शासकवर्गका मान्छेहरू ती पेजहरू सक्रियतापूर्वक हेर्दा रहेछन् र आफूलाई मन नपर्ने कुरा तुरुन्तै हटाउँदा रहेछन्। तर एक दिन यस्तो आउनेछ, जब मधेश आन्दोलन र मधेशीमाथि तिनीहरूले गरेको नरसंहार नकार्नु होलोकास्ट नकार्नु जस्तै मानिनेछ।

विकीपेडियाको यस्तै दुरूपयोगका कारण पछि म त्यहाँबाट केही पढ्नै छोडें, सोचें त्यहाँबाट केही जानकारी लिनु, खास गरी विपन्न र पहुँच नभएका वर्गका विषयमा जानकारी लिनु, उनीहरूमाथि ठूलो अन्याय हुनेछ।

त्यसै गरी ब्लगमा विपन्न वर्गको आवाज आउला भनेर आशा गर्नु पनि व्यर्थ छ। पाँच प्रतिशत साक्षरता दर र चालीस डलर प्रति व्यक्ति आय भएको समुदायको मान्छेले ब्लगमा आएर आन्दोलन गर्ला भनेर सोच्नु गलत छ। ब्लग कसले लेख्छन्? शासकवर्गको अत्याचार र आतङ्क भोगिरहेका, शासकवर्गका सैनिकबाट बलात्कारित जंगलका आदिवासीहरू, कि शहरका शिक्षित, संगठित, र सम्पन्न शासकवर्गका मान्छेहरू? र शासकवर्गका मान्छेहरूले ब्लगमा के-कस्ता कुरा लेख्छन् र के-कस्ता प्रोपागाण्डा फैलाउँछन् भन्ने कुरा माइसंसार डट् कम जस्ता नेपाली ब्लगहरूमै पनि देखिन्छ नै। म त कहिलेकाहीं सोच्छु, त्यस्ता कुराहरू लेखेर पनि तिनीहरू कसरी बिहान ऐना हेर्न सक्छन्।

अहिले त झन् नेपाल सरकारले ‘राष्ट्रिय हितलाई आँच’ पुर्‍याउने कुनै पनि पोस्टमा रोक लाउने कानून नै ल्याएको छ। गृह मन्त्रालयले कुनै नेता वा सार्वजनिक व्यक्तिलाई बदनाम हुने कुनै संदेश लेखे कडा कारबाही गरिने चेताएको छ। नियम तोड्नेलाई एक लाखको जरिवाना र/वा पाँच वर्ष कैद हुने भनिएको छ। त्यो कानून फेसबूक र ट्वीटरका पोस्टहरूमा समेत लागू हुने भनिएको छ। बन्द गरिनु पर्ने वेबसाइटहरूको सूची पनि सरकारले इन्टरनेट प्रदानकर्ता कम्पनीहरूलाई बुझाएको छ, जसमध्ये अमेरिकी समाचारसेवा हफिङ्गटन पोस्टको वेबसाइट पनि परेको छ। अब त इन्टरनेटमा पनि खाली पहाडी शासक वर्गको प्रशंसा मात्र सुन्न सकिनेछ, उनीहरूको अत्याचार, आतङ्क र रंगभेद त सदाका लागि पर्दापछाडि नै रहनेछन्।

अनलाइन मिडियाको अर्को हास्यास्पद पक्ष त्यसका सर्वेक्षणहरू हुन्, जुन एनजिओ/आइएनजिओ र समाचारपत्रहरूले बडो गौरबका साथ प्रयोग गर्ने गर्छन्। ती सर्वेक्षणहरू ‘के तपाईं दश दिनदेखि खानपाउनु भएको छैन?’ सोध्नु र त्यसको मत परिणाम हेरेर कोही पनि भोको नरहेको निष्कर्ष निकाल्नु जस्तै हो। बिजुली नै नपुगेको ठाउँका अशिक्षा र भोकमरीले पिडित समुदायहरू यी एनजिओ/आइएनजिओका आधुनिक सर्वेक्षणहरूमा कसरी समावेश होलान्?

यदि राज्यको ज्यादतीविरुद्ध विपन्न समुदायका मान्छेहरूको केही प्रतिक्रिया देखिएन भने त्यसको मतलब तिनीहरूले त्यसलाई स्वीकारेका छन् भन्ने होइन। तिनीहरू आफ्नो कथा भन्न, ब्लग र समाचारपत्रमा लेख्न, तस्वीर र भिडियो प्रकाशन गर्न नै असमर्थ हुन्छन्। मधेशीहरूसँग न त त्यो तहको चेतना छ न त पहुँच नै, न आत्मरक्षाको साधन नै। त्यहीं अर्कोतिर, पहाडीहरू संगठित छन्, तिनीहरूसँग प्रोपागाण्डा फैलाउने विशाल जनशक्ति र भौतिक पूर्वाधार छ। तिनीहरू बारेमा एउटा मिस्प्रिन्ट गरेर त हेर्नुस्, घंटाभरिमा सयौं-हजारौं कमेन्टको ओइरो लाग्छ, प्रतिआक्रमणका लेखहरूको लाइन लाग्छ। नेपाल बारेमा मिस्प्रिन्ट गर्ने ‘टाइम’ पत्रिकालाई सोध्नोस्, के हालत हुन्छ भनेर। यी पहाडीहरू मिडिया अभियान चलाउन यति सक्रिय हुन्छन् कि अरबौं जनताको देशमा समेत प्रशान्त तामाङ्गलाई जिताउन सक्छन्, सीएनएनको छनोटमा पनि अनुराधा कोइरालालाई पार्न सक्छन्।

तर विश्वका सबै विपन्न वर्गहरूको समस्या लगभग उस्तै छ, तिनीहरू असंगठित, अशिक्षित र असक्षम छन्, विना कुनै मिडिया पूर्वाधार, विना कुनै जानकारी उत्पादन र वितरण गर्ने संयन्त्र, विना अनलाइन पहुँच। जबकि शासकवर्गसँग प्रोपागाण्डाका लागि सबै साधनश्रोत उपलब्ध हुन्छन् — मिडिया, गैरसरकारी संस्था, ‘बुद्धिजीवी’वर्ग, अध्ययन-अनुसंधान केन्द्रहरू, पावर अफ् अथोरिटी, सबै। शासकवर्गले ती सबै संयन्त्रहरू राज्यका अपराध र अन्याय लुकाउन, विपन्न वर्गलाई बदनाम गर्न, र उनीहरूमाथि आफ्नो साम्राज्य लाध्न प्रयोग गर्ने गर्छन्। यदि मिडियाले मधेशीहरूमाथि एक प्रतिशत पनि न्याय गरेको भए आधा जति समस्या त त्यहाँ हुने नै थिएनन्। नेपालमा भेदभाव, रंगभेद र साम्राज्य लाध्न नेपाली मिडिया निकै नै जिम्मेबार छ।

हालमा आएर अनलाइन सोसअल नेटवर्किंग साइटहरूमा केही मधेशी कार्यकर्ताहरू झुम्मेको पाउँछु, अनलाइन मिडियामा विपन्न र पिछडिएका वर्गको पहुँच त नाइँ बराबर नै छ, तर यी कार्यकर्ताहरू त्यहाँ दिन-रात घंटौघंटा बहस गर्दै बिताउँछन्, अनलाइन ग्रुपहरू खोलेर के-के न गरेको सोच्छन्। मान्छेहरू पनि ‘लाइक’मा क्लीक गर्दै आफ्नो दायित्व पूरा भएको ठान्छन्, यो तृप्त हुने सजिलो उपाय भएको छ। तर यी गतिविधिहरू एक्टिभिस्टको इनफर्टाइल मास्टरबेशनबाहेक केही हैन। केही समूहमा त दशौं हजार मान्छेहरू महिनौंसम्म जोशिएर आबद्ध भएको पाउँछु, तैपनि उपलब्धिबिहीन हुन्छन् तिनीहरू। ती दश हजार मान्छेहरू वास्तविक संसारमा दश दिनसम्म त्यही जोशले जम्मा हुने हो भने तिनीहरूको शक्ति र प्रभाव कति फरक हूँदो हो।

[GO TO CONTENTS]

२६. पहाड र परीहरू

हरेक वर्ष लाखौं विदेशीहरू नेपाल आउँछन्, पर्यटक, पत्रकार, कुटनीतिज्ञ, र स्वयंसेवकका रूपमा। आफ्नो झोलासँगै अनेकौं स्टेरियोटाइप्स् पनि बोकेर तिनीहरू नेपाल ओर्लिन्छन्। तिनीहरू नेपाललाई पहाड र परीको देश, हिमालय र कोटी देवताको देश, सगरमाथा र यतिको देश, गोर्खा र शेर्पाको देश, भिक्षु र तान्त्रिकको देश, मध्यकालीन मन्दिरहरूको देश आदि भनेर परिकल्पना गर्न रुचाउँछन्। र हिमालयको छाँयामा, मधेश उनीहरूको लागि अज्ञात हुन्छ, र मधेशीहरू उनीहरूका लागि अदृश्य भूत।

नेपाल परिकल्पना गर्दा के तिनीहरू मधेशको समतल भूखण्ड मध्य रहेका फुसका घरहरूको गाउँ देख्छन्? तिनीहरूले स्वयंसेवा गर्न सोच्दा समतल सुख्खा खेत बीच रहेको विद्यालयमा लू लाउने गर्मीमा खट्ने परिकल्पना गर्छन्? पुण्य कमाउन तिनीहरूले खुवाउने बच्चाहरूको भीडमा कालो कुपोषित मधेशी बच्चालाई देख्छन्? तिनीहरूले कम्बल बाँड्ने समूहमा जाडोले कठाङ्ग्रिएर मर्नै लागेका अर्धनग्न मधेशीहरू हुन्छन्? तिनीहरूले चलाउन खोजेको गैरसरकारी संस्था र प्रोजेक्टका वृत्तिभोगीका रूपमा मधेशीहरू हुन्छन्? तिनीहरूले बनाउन खोजेको पुस्तकालय वा विद्यालय कुनै मुसहर वा चमार टोलमा पर्छन्? के तिनीहरू मधेशको हिलोम्मे डगरमा हिँड्ने परिकल्पना गर्छन्? लामखुट्टे टोक्ने फुसका घरमा बस्ने सपना देख्छन्?

खासमा, यी विदेशी स्वयंसेवक, कुटनीतिज्ञ, र गैरसरकारी संस्थाका कर्मचारीहरू आफ्नो ‘छुट्टी’ पहाडमा घुम्दै, चुचुरा चढ्दै, र रिसोर्टमा रात बिताउँदै काट्‌छन्। जब तिनीहरूलाई त्यस्तो छुट्टी बिताउने अवसर प्राप्त हुन्छ, उनीहरू मधेशको हिलोमा हिँड्दै, लामखुट्टेको टोकाइ खाँदै, काला मधेशीहरूबीच फुसको झोपडीमा किन बस्थे? तिनीहरू त पहाडतिरै सँधै परीकथाका यति र कुमारीहरूको खोजीमा हुन्छन्। यी कुटनीतिज्ञहरू, संयुक्त राष्ट्रसंघ र गैरसरकारी संस्थाका कर्मचारीहरू ठमेलमा नृत्याङ्गनाको तिघ्रा मुसार्दै भेटिन्छन्, रिसोर्टमा रंगीन रात बिताउँदै भेटिन्छन्, कडा कानून भएको आफ्नो देशमा तृप्त गर्न नसकेका प्यास नेपालमा ओरफ्यान होम्स् खोलेर मेटिरहेका भेटिन्छन्।

नेपाल आउने अधिकांश विदेशी पर्यटक, पत्रकार, कुटनीतिज्ञ, र स्वयंसेवकहरूलाई त मधेशको अस्तित्वसम्मको अत्तोपत्तो हुँदैन, सवा करोड मधेशीहरू बस्ने मधेश तिनीहरूको चासोको विषय हुँदैन। तिनीहरूमध्ये कति जनाले मधेशका गाउँ हेरेका होलान्?

र त्यसको कारण पनि छ जुन मलाई एक जना विदेशी साथीले उसलाई मधेशको गाउँ देखाउन लग्दा त्यहाँका काला बच्चाहरू देखेर बडो इमान्दारीपूर्वक भनेका थिए। उसले भने — ‘यदि हामीलाई यी मान्छेहरू हेर्नु छ, यी झोपडपट्टी हेर्नु छ, र यी आकृतिहीन समतल भूमि हेर्नु छ, भने त म इन्डिया जान्छु, नेपाल किन?’ तसर्थ, यी विदेशीहरू पनि नेपाल, भारतभन्दा सकेसम्म फरक भएको हेर्न चाहन्छन्, र नेपालीहरू भारतीयभन्दा फरक। र शायद त्यसैले मधेशीहरू उनीहरूको आँखामा पनि नेपाली हुन्नन्, र मधेश र मधेशीहरू तिनीहरूको दिमागमा, तिनीहरूको क्यामेरामा, तिनीहरूको लेख, किताब र रिपोर्टहरूमा, तिनीहरूको नीति, प्रोजेक्ट, र अनुदान-सहयोगमा कुनै स्थान पाउँदैनन्। तिनीहरू बाहुनडाँडा र सार्कीडाँडामा काम गर्न रोज्छन्, मुसहरटोलमा हैन।

विदेशीहरूको अर्को कुरा पनि विचारणीय छ। नेपाल आउन प्राथमिकता दिने विदेशीहरूसँग कुरा गर्दा भारत र भारतीय प्रति अक्सर तिनीहरूमा तिरस्कार र घृणाको भाव पाइन्छ, र शायद त्यसको शिकार मधेशीहरू हुन जान्छन्।

विदेशीहरूको यस्तै स्टेरियोटाइपिङ्ग नेपालमा भेदभाव र असमानता बढाउन जिम्मेवार पनि रहेका छन्। दातृ संस्था र आइएनजीओहरू आफैले पनि मधेशीलाई राखेको पाइँदैन, र तिनीहरूको संस्थामा पनि पहाडीकै प्रभुत्व र वर्चस्व छ। नेपालमा उपस्थित ३० वटा प्रमुख मल्टिल्याटरल एजेन्सीहरू र ६१ वटा परियोजनाहरूमा संलग्न मानव-जनशक्तिका बारेमा सर्वेक्षण गरी यूएनडिपीले सन् २००१ मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार तिनीहरूमा केवल ५.२% मधेशी थिए भने ८०% भन्दा बढी पहाडी थिए । र यही कारणले ती संस्थाहरू पहाडी र भुटानीका लागि काम गर्छन्, मधेशीका लागि होइन। पहाडका चट्टान फोडेर त्यहाँ ठूल-ठूला स्वर्ण शहरहरू निर्माण गर्छन्, तर मधेशीहरू नरकमा झैं जीवनयापन गर्न बाध्य हुन्छन्। विदेशीहरूले र सरकारले पहाडमा टनका टन चामल वितरण गर्छन्, यतिसम्म कि पहाडीहरू त्यसलाई सीमापारि लगेर बेच्छन्। जहाँ पहाडी र भुटानीहरू आफूले पाएको राशन बेच्दै बैंक व्यालेन्स बढाउँछन्, त्यहीं मधेशीहरू आफ्नो बच्चालाई केही खुवाउन नसकेर बच्चाको घाँटी थिच्छन् र आफू पनि आत्महत्या गर्छन्। हरेक वर्ष जाडोमा, मधेशमा दर्जनका दर्जन मान्छेहरू कठाङ्ग्रिएर मर्छन्, हिमालभन्दा त्यहाँ बढी चिसो भएर हैन, आङमा राख्ने केही नभएर। हिमालमा त, कपडा त के ल्यापटप नै वितरण गरिन्छ, सगरमाथाको बेस क्याम्पमा 3G इन्टरनेट नै सर्फिङ्ग गर्न सकिन्छ, मधेशी जिल्लाका सदरमुकामहरूमा न इमेल चेक गर्न धौ-धौ पर्छ।

प्रति व्यक्ति आय हुन् कि मानव विकास सूचांक, साक्षरता दर हुन् कि शिशु मृत्यु दर, सबै कुरामा मधेशीहरू पहाडीभन्दा निकै पछाडि छन्। प्रौढ साक्षरता दर मधेशमा पहाडभन्दा निकै कम छ। मधेशी महिलाहरूको साक्षरता त झन् पहाडभन्दा आधा, ३६% मात्र छ। केही मधेशी समुदायमा त साक्षरता दर १०% भन्दा पनि कम छ। शिशु मृत्यु दर त मधेशमा झनै पीडा लाग्दो अवस्थामा छ, पहाडको दोब्बरभन्दा बढी छ। मधेशमा शिशु मृत्यु दर १००० मा ७७ छ भने पहाडमा केवल १००० मा ३५ मात्र छ।

मधेशी दलितहरूको स्थिति झनै खराब छ। उनीहरूको साक्षरता दर पहाडी दलितभन्दा एक-तिहाइ मात्र छ। राष्ट्रिय योजना आयोगका अनुसार ४४% मधेशी दलितहरू भूमिहीन छन् भने मात्र १५% पहाडी दलितहरू भूमिहीन छन्। डा. हरिवंश झाका अनुसार, मधेशी दलितहरूको प्रति व्यक्ति आय लगभग विश्वमै न्यूनतम रहेको छ, केवल ३९.६ डलर, र अस्सी प्रतिशतभन्दा बढी गरीबी रेखामुनि रहेका छन्। अधिकांश बच्चाहरू कुपोषणका शिकार छन्, र आइमाईहरू रक्तअल्पताको। तिनीहरूको अपेक्षित जीवन अवधि केवल ४२ वर्ष मात्र रहेको छ।

तैपनि, विदेशीहरू पहाडमै रम्न चाहन्छन्, मधेशलाई हेर्न चाहँदैनन्। पहाडमा त पहाडीहरूसँग साधन-श्रोत छ। तिनीहरूसँग जंगल छ, खानी छ। तिनीहरू रक्तचन्दन, यार्चागुम्बा लगायत अनेकौं जडीबुटीहरू बेचबिखन गर्छन्, निर्यात गर्छन्। तिनीहरूसँग काठसम्म पहुँच छ। पहाडमा उनीहरू सल्ला र धूपीको नै दाउरा बाल्छन्, मधेशीहरू न गुईँठाको धूँवामा रूमल्लिएर बस्छन्। पहाडीहरूसँग त विदेशीहरूले अनुदानमा दिएको सोलार सिस्टम नै हुन्छ। त्यही कुरा मधेशमा लिन बढी पैसा लिर्नु पर्छ।

पहाडका विद्यालयमा लुगाकपडा मात्र नभई केहीमा त मिन्स् प्याड समेत बाँडिन्छ, मधेशमा त सुत्केरीका लागि पनि केही उपलब्ध हुँदैन। पहाडमा बच्चाहरूलाई ल्यापटप र खेलौनाहरू बाँडिन्छ, मधेशका बच्चाहरू त झाडापखाला लाएर जीवनजल समेत नपाई मर्छन्। मधेशका अनाथहरू गल्लीमा, फोहोरका थुप्राहरूमा भुस्याहा कुकुर झैं भोकभोकै दिन काट्‌छन्, पहाडका कागजी अनाथहरू अमेरिका र यूरोपतिर, वा काठमाडौंका राम्रा घरहरूमा स्थान पाउँछन्। [22]

दातृ संस्था, विदेशी कुटनीतिज्ञ र स्वयंसेवकहरू के कुरा बुझ्दैनन् भने भोकको पीडा मधेशीको पेटमा पनि उत्तिकै दुख्ने गर्दछ जति अरूका पेटमा। तर तिनीहरू मधेश र मधेशीसम्म पुग्ने कुनै चेष्टा नै गर्दैनन्। नेपालका लागि टिकट किनेर भारत जस्तो देखिने ठाउँमा ओर्लिन नै चाहँदैनन्। तिनीहरू बीरगंज वा जनकपुरमा हिँड्न चाहँदैनन्। तिनीहरू मधेशको गाउँ गएर मधेशीहरूका लागि काम गर्न चाहँदैनन्। तिनीहरूले आफ्नो पैसा र ‘टूर प्याकेज’को मोल पहाड र राजधानीमा बस्दै उठाउँछन्, गोर्खा र शेर्पाको कुरा गर्दै उठाउँछन्।

यदि पहाड भन्ने बित्तिकै अविकसित हुने भए स्वीजरल्याण्ड त्यति विकसित हुने थिएन, र समतल भन्ने बित्तिकै विकसित हुने भए अफ्रिकी मुलुकहरूको हालत त्यस्तो हुने थिएन। यति साधारण कुरा पनि तिनीहरूको समझ बाहिर छ र? तैपनि विदेशीहरू पहाडतिरै लाग्छन्, त्यसले नै तिनीहरूलाई रोंमाचकता, सुन्दर दृश्य, र ‘सेक्सी काउज’ दिन्छ। गोबरमा पडेका ‘काला भैंसी’हरूसँग तिनीहरूको के वास्ता? मधेशमा पारमाणविक अस्त्र वा तेलको खानी वा ठूलो बजार वा ‘सेक्सी काउज’ नभएको अवस्थामा मधेश तिनीहरूको चासोको विषय किन बन्थ्यो र? यदि पहाडमा मैना सुनुवार मारिन्छ भने एनजिओ/आइएनजिओहरू त्यसका लागि वर्षौ-वर्ष हल्ला गरिरहन्छन्, त्यसलाई हाइलाइट गर्न करोडौंको लगानी गरिरहन्छन्, तर मधेशमा सैनिक र प्रहरीले मधेशी महिलाहरूलाई बलत्कार गर्दा, दर्जनौं निर्दोष मधेशीहरूलाई निर्ममतापूर्वक मार्दा त्यो तिनीहरूको सरोकारको विषय बन्दैन। चीनको टियान्‌मेन्‌मा विश्वका राज्य र शक्तिकेन्द्रहरूको धेरै अभिरुचि हुन्छ, भारतको काश्मीरमा तिनीहरूको धेरै अभिरुचि हुन्छ, तर तराईको टियान्‌मेन् तिनीहरूको सरोकारको विषय बन्दैन।

प्राय: यी सबै राज्यहरू लुटेरा नै हुन्, र संयुक्त राष्ट्र संघ, लुटेराहरूको संघ। तलवार, गोली र बमवर्षाबाट तिनीहरूले जनताको भूमि खोसेर राज्य बनाए, र अब त्यो लुटेको भूमि आफूसँग राखिराख्न ‘चोर चोर मौसेरा भाइ’ झैं तिनीहरू एक छातामुनि आएका छन् र त्यहाँ अनेक नियम-कानून बनाउँछन्। पहिला सबै भूमि लुटेर आफ्नो अस्तित्व निर्माण गर्छन्, अनि ‘लुट्नु त पाप हो, कसैले कसैको जमीन खोस्नु हुन्न है’ भनेर प्रवचन दिँदै हिँड्छन्। त्यहाँ जनताको कुनै महत्व छैन, कुनै स्थान छैन, त्यो त लुटेराहरूको जमात हो। ICJ कहाँ जनतालाई न्याय दिने प्रावधान छैन, त्यहाँलाई त जनतालाई जानै दिइन्न, त्यो त लुटेराहरूको लुटको रक्षाका लागि हो।

यस्ता लुटेराहरूको संघको कुनै आवश्यकता छैन, बरु साँच्चिकै जनताहरूको एउटा विश्व संघको खाँचो छ, जसले विश्व-नागरिकको सेवा गरोस्, उनीहरूको न्यायको ख्याल गरोस्, न कि लुटेराहरूको। त्यो विश्वका नागरिकद्वारा संचालित होस्, उनीहरूको प्रत्यक्ष मतबाट। विश्वका नागरिकहरू तिनीहरूले कमाएको पैसा संयुक्त राष्ट्र संघ र नेटो जस्ता संस्थाहरूमा खर्चिनुबाट रोक्नका लागि लड्नुपर्छ, मानवताविरुद्धको अन्याय र अत्याचारमा संलग्न हुनबाट जोगिनुपर्छ। बरु आफ्नो त्यो रकम जनताको वास्तविक विश्व संघका लागि दिनुपर्छ, जहाँ विश्वका नागरिकहरूले आफ्नो मत दिएर लोकतान्त्रिक प्रक्रियाद्वारा विश्वका गतिविधिहरू संचालन गर्नेछन्।

[GO TO CONTENTS]

२७. आततायी दिनहरू

सन् २००७ को मधेश आन्दोलनलाई नेपाल सरकार र मधेशी नेताहरू दुबैले अन्याय गरेको देखेर मलाई नैराश्यताको अँधेरीमा धकेलिदिएको थियो। आफ्नो ल्याबमा नहुँदा, म कोठा मै चुकुल लगाएर अँध्यारोमा बसिरहेको हुन्थें, र रात परिसकेपछि मात्र घरबाहिर कहिलेकाहीं निस्किने गर्थें। सँगै बस्दा पनि घरका अरु साथीहरूले मलाई बिरलै देख्दथे। महिनौंसम्म तिनीहरूसँग भेट्न वा कुरा गर्नबाट म पन्छिरहें। राती अँध्यारोमा शयर गर्न म कोठाबाहिर निस्किन्थें, रियाल्टी चेकप्वान्ट हुँदै पार्कर पिसको बीचबाट गुज्रन्थें, फेरि कोठा फर्किन्थें र चुकुल लाउँथें। अँध्यारोमा बसेर म दीर्घकालसम्म ध्यान गरिरहन्थें।

मधेश आन्दोलनमा अझ बढी केही गर्न नसकेकाले म दु:खित हुन्थें। आम मधेशीले सबै थोक गरेका थिए, तिनीहरू सबै कुरा त्याग्न तयार भएका थिए, आफ्नो ज्यान दिन तयार भएका थिए, आफ्नो छोरा-छोरीको बलिदान दिन तयार भएका थिए, नेपालको इतिहासले बिरलै देखेको स्तरमा विरोध प्रदर्शन गरेका थिए, तैपनि तिनीहरू बिचल्लीमा परेका थिए। पहाडी र नेपाल सरकारले तिनीहरूको चाहनालाई बदनाम गरेका थिए, मिडियाले तिनीहरूविरुद्ध प्रोपागाण्डा फैलाएका थिए, शासकवर्ग तिनीहरूको एकता खण्ड-खण्ड पार्नमा तल्लीन थिए, र स्वार्थी र लोभी मधेशी नेताहरू आफ्ना स-साना फाइदाका लागि तिनीहरूको रगत बेच्नमा व्यस्त थिए। हाम्रा आउँदा पुष्ताहरूले हामीलाई किन नसरापून्, भनेर म सोच्नसकेको थिइनँ।

हाम्रा बा र हजुरबा लडेनन्, र हामी दास भएर निम्न दर्जाको नागरिक सरह जीवन बिताउन बाध्य भयौं, आज हामी लड्ने छैनौं भने हाम्रा छोराछोरीहरू सारा जीवन दास भएर व्यतीत गर्न बाध्य हुनेछन्। यस्ता दास-दासीहरू जन्माउने मेरो के अधिकार छ? यदि म तिनीहरूलाई स्वतन्त्रता र आत्मसम्मान दिन सक्दिनँ भने मलाई बच्चा जन्माउने नै के अधिकार छ? म सोचिरहन्थें। र त्यसरी नै दिन कटिरह्यो।

क्यामब्रिजमा बस्दाताका दक्षिण एशियाबाट आएकाहरूको सप्ताहान्तमा पारिवारिक जमघट हुने एउटा समूह थियो। त्यसमा मेरो नजिककै एक जना नेपाली मित्र भएकाले उनको दबाबमा नचाहँदा-नचाहँदै पनि त्यसमा कहिलेकाहीं जानुपर्दथ्यो। त्यसमा नेपाल, बंगलादेश र भारतको काश्मिरदेखि कन्याकुमारीसम्मका मित्रहरू थिए। त्यस समूहमा हाम्रो मातृभाषा अंगिका, नेपाली, नेवारी, पंजाबी, बंगाली, भोजपुरी, मलयालम, मैथिली र कति नयाँ पुष्ताहरूको त अंग्रेजी थियो। तर हामी प्राय: हिन्दीमा कुरा गर्ने गर्थ्यौं जुन त्यहाँ कसैको पनि मातृभाषा थिएन। हाम्रो लिङ्गवा फ्रयाङ्का नै त्यही थियो।

तर उपराष्ट्रपतिले सन् २००८ को जुलाईमा हिन्दीमा सपथ लिंदा उनको विरोधमा पहाडी र नेपाली मिडिया जाई लागेको देखेर म स्तब्ध भएको थिएँ। मधेशी नेताहरू संसद्‍मै पनि हिन्दीमा बोल्ने गर्थे। र यी सब आन्दोलन र संघर्षपछि मधेशीहरूले शासकवर्गको अन्याय र भेदभावबाट छुटकारा पाउने र सम्पर्क भाषा हिन्दीले उचित स्थान पाउने आशा गरेका थिए। तर पहाडीहरूको अन्यायको कुनै अन्त्य थिएन। तिनीहरूले उपराष्ट्रपतिमाथि युद्ध नै छेड्नपुगेका थिए। ‘आफूहरू मध्ये कसैको मातृभाषा हिन्दी नभए पनि सबैले हिन्दी मै कुरा गर्ने गरेको तर हेर्नुस् त नेपालमा हिन्दी प्रति के भइरहेको छ,’ भनेर कुरा मैले हाम्रो समूहका एक पहाडी साथी समक्ष कोट्याउँदा उनी लाजले भुतुक्क भएकी थिइन्।

भाषा सम्बन्धी भेदभावको इतिहास पनि लामो छ। गोर्खालीहरूले त्यतिबेला नेपाल भनिने काठमाडौं उपत्यकामा विजय पाएपछि गोर्खाली शासक र सैनिकहरूको भाषा रहेको खस कुरालाई नेपाली भनेर नामाकरण गरे। र ‘एक देश एक भाषा’ नीति अख्तियार गर्दै अरू भाषामाथि प्रतिबंध नै लाए। सन् १९०५ मा सरकारले नेपालीलाई सरकारी कामकाजको भाषा बनाए, र नेपालीबाहेक अरू भाषामा लेखिएका कागजातहरू कानूनी रुपमा अदालतमा स्वीकार्य नहुने घोषणा गरे। सन् १९५६ मा राष्ट्रिय शिक्षा योजना आयोगले सिफारिश गरेका थिए — “नेपाली नै पठन-पाठनको भाषा हुनुपर्दछ। अरू भाषाहरू वैकल्पिक रूपमा पनि पढाइनुहुन्न। अरू स्थानीय भाषाको अध्ययनले नेपाली भाषाको विकासमा बाधा पुग्नेछ। यदि विद्यार्थीहरूलाई प्रारम्भिक भाषाका रुपमा नेपाली नै सिकाइयो भने अरू भाषाहरू क्रमशः लोप हुदै जानेछन् र राष्ट्रिय बल तथा एकतामा बृद्धि हुनेछ।” अरू भाषालाई लोप बनाउने तिनीहरूको त्यो नीति नै थियो। त्यस सिफारिश पश्चात् पठन-पाठनमा नेपाली भाषा लादियो। त्यसपूर्व मधेशमा मूलत: हिन्दी मै पढाइ हुने गर्थ्यो। भाषाको विभेद सन् १९९० मा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् पनि अन्त्य भएन। मधेशका केही नगरपालिकाहरूले स्थानीय भाषा प्रयोग गर्न खोज्दा सर्वोच्च अदालतले सन् १९९८ मा रोक लगायो। र हालै भएका आन्दोलनहरू मधेशीहरूको आशाको केन्द्र थियो तर त्यो विभेद अझै रोकिएको थिएन।

हिन्दी नेपालका राजा र मन्त्रीहरूले बोल्ने भाषा हो, सांसद् र नेताहरूले बोल्ने भाषा हो, दरबारिया र आमजनताले बोल्ने र बुझ्न सक्ने भाषा हो। केही दशकअगाडिसम्म हिन्दी नेपालमा पठनपाठनको भाषा पनि हुन्थ्यो, तैपनि भारतसँग आफ्नो कुरा फरक देखाउन र भारतनजिक रहेको कुनै पनि कुरासँगको बैरले हिन्दी पहाडीहरूको घृणाको बस्तु बन्न पुगेको थियो, र हिन्दीको घृणा नेपाली राष्ट्रियता र देशभक्तिको प्रमाण। दिनरात सिरानीमुनि लुकाएरै भए पनि ती राष्ट्रवादीहरू हिन्दी पत्रिका पढ्छन्, हिन्दी च्यानल हेर्छन्, हिन्दी गीत गाउँछन् तर सडकमा आएर हिन्दीको विरोध गर्छन्। नेपालमा हिन्दी कम्तीमा सबभन्दा बढी बुझिने भाषा हो। दुर्गम पहाडमा पनि जहाँ नेपालीमा कुरा गर्न सकिँदैन, त्यहाँ हिन्दी बोलेरै काम चलाउनु पर्ने हुन्छ। तैपनि शासकवर्गले शायदै एक तिहाइको मातृभाषा रहेको ‘नेपाली’ भाषालाई सबैमाथि लादे, र हिन्दीलाई अस्वीकार गरिरहे।

हिन्दीमा सपथ लिएको कारण सर्वोच्च अदालतले उपराष्ट्रपतिलाई पदबाटै बर्खास्त गर्यो। अठारह महिनासम्म चलेको एक तरफा युद्ध र अपमानका अनेकौं वाणहरू पश्चात् अन्तत: पहाडीहरूले उपराष्ट्रपतिलाई दौरा-सुरुवाल लाउन र नेपालीमा पुन: सपथ लिन बाध्य नै गरे।

शासकवर्गका यस्तै निराशाजनक गतिविधीहरू हेर्दै दिन बित्दै थिए कि १८ अगस्तमा कुशहामा कोशीको बाढी गएको खबर पाएँ। कोशीले कुशहाको उत्तरतिर तटबन्ध काटेको थियो र आफ्नो पुरा बाटो नै बदलेको थियो। मैले घर फोन गरें। मेरा कजनहरू बाँधमै थिए, आफ्नो घर र स्कूल नदीले बगाउँदै गरेको देख्दा तिनीहरू हिस्टेरिक भई आवेगमा चिच्याइरहेका थिए, काका-काकी जोरले रोइराख्नुभएको थियो। म तिनीहरूलाई सबै कुरा ठीक हुने आश्वासन दिदैं पानीनजिक नजान आग्रह गरें। नदी हाम्रो घर र स्कूललाई बीचोबीच आफ्नो धार मै पार्दै बग्न पुगेको थियो।

म अक्टोबरमा महिना दिनका लागि घर फर्कें र हाम्रो घर र स्कूलको अवस्था हेर्न कुशहातिर गएँ। राजाकाकासँगै म बाइकमा गएको थिएँ। हजारौं-हजार मान्छेहरू विस्थापित भएका थिए, तिनीहरू कोशी नहरको बाँधमा र खेतमा टेन्ट लगाएर बसिरहेका थिए। तिनीहरूको स्थिति अति नै दयनीय थियो। बाँधमा बस्नेहरूमा कैयन् मेरा आफन्तहरू थिए। मेरा काका-काकी, मेरा कजनहरू, मेरा सानो हजुरबाका सबै परिवार, त्यही टेन्टमै बसिरहेका थिए।

कोशीको बाढी हेर्न म पश्चिमी तटबन्ध हुँदै कुशहासम्मै पुगें र पानीको बहावलाई केही बेरसम्म नियालिरहें। नदी हाम्रो घरको बीचोबीच नै बगेको रहेछ, घरभन्दा केही पर रहेको बाँसको एक-दुई टुप्पाहरू नदीको पानीमा अझै देखिन्थे। म घरनजिक जान चाहन्थें, जहाँ मेरा हजुरबा बस्ने गर्नुहुन्थ्यो, जहाँ मेरा बाल्यकालका अविस्मरणीय स्मृतिहरू रहेका थिए। पाँच-छ जना नाविकहरूले डुङ्गामा बसाएर हामीलाई त्यहाँनजिकै लग्ने प्रयास पनि गरे, तर अलि बीचमा पुगेपछि पानीको जोडदार बहाव र गहिराइको कारणले त्यहींसम्म पुग्न मानेनन् र बीचबाटै फर्काएर ल्याइदिए। कैयन् डुङ्गाहरू डुबेका थिए, त्यसमा दर्जनौंको ज्यान गएको थियो, र त्यही भएर तिनीहरूले खतरा उठाउन चाहेनन्, खास गरी डुङ्गामा हामी भएको हुनाले। ती नाविकहरू मलाई नामले जान्दथे, तिनीहरूले त्यो सब कसरी भएको र त्यहाँको स्थितिबारेमा पनि बताए।

म त्यहाँ अन्य मान्छेहरू र आफ्ना अन्य आफन्तहरूलाई पनि भेटें। तिनीहरूले त्यहाँको दुखद स्थितिका बारेमा बयान गरे। तिनीहरूको दुई-छाकको खाना उद्धारकर्त्ताको कृपा र मूडमा कसरी भर पर्ने गर्थे, भोकले छटपटिरहेको आफ्नो बाल-बच्चाका लागि खाना ल्याउन नपाउँदा तिनीहरू कसरी असहाय महशूस गर्ने गर्थे, नहर र खेतको पानी कसरी तिनीहरू मजबूर भएर पिउने गर्थे आदि कुराहरू सुनाउँथे। सरकारी कर्मचारीले राशन दिनलाई समेत नागरिकता माग्ने गरेको र नागरिकता नहुँदा आफूले केही नपाएको दुखेसो पोख्थे। यस्ता मानवीय संकट र उद्धारकार्यमा समेत सरकारले राष्ट्रियता र नागरिकताको कुरा ल्याएको देख्दा मलाइ घिन लागेर आयो। वैदेशिक संघ-संस्था र दातृसंस्थाहरूले पनि राहत दिन त्यस्तै मापदण्ड बनाएका थिए, तिनीहरू पनि कि त मतदाता नामावली हेर्थे कि त नागरिकता माग्थे। नागरिकताबाट वंचित ती हजारौं-हजार निमुखा र अशिक्षित मधेशीहरूको के हालत भएको होला, तिनीहरू कहाँ गए होलान् भनेर म विचार गरिरहन्थें। राहतबाट वंचित स्वाभाविक रूपमा भोकै त तिनीहरू धेरै दिन बस्न सकेनन् होला, विस्थापित भएर कतै लागे होलान् आफ्ना स-साना भोका नानीहरूलाई लिँदै, शायद दिल्ली-पंजाबतिर, फेरि कहिले नफर्किने गरी। बाढीले आसपासका गाउँहरूलाई नराम्ररी प्रभावित गरेको थियो, र चालीस हजारभन्दा बढी विस्थापित हुन पुगेका थिए। सरकारले सरोकार नदेखाउँदा तिनीहरूमध्ये कति नेपालबाट सदाका लागि विलाएर गए होलान्।

जतिबेला मधेशीहरू आफ्नो भूमिबाट विस्थापित हुँदै बिलाउँदै गइरहेका थिए, पहाडीहरूले मधेशमा जग्गा कब्जा गर्ने क्रम जारी थियो। सरकारले पहाडीहरूलाई मधेशमा जग्गा दिदैं तिनीहरूलाई मधेशमा बसाउने क्रम जारी राखेको थियो। आउँदो वर्षको जूनमा पहाडीहरूले ठूलै लुटको प्रयास गरे। दाङ्गको सतबरियाको सामुदायिक वनमा जग्गा अतिक्रमण गर्न हजारौं संख्यामा तिनीहरू आए र करीब हजार घर नै ठडाए। तिनीहरूका नेताले हरेकले एक बिघा जमीन पाउने घोषणा गरे, त्यही भएर धेरै हुने-खाने धनीहरूपनि जग्गा कब्जा गर्न मधेश झरे। जग्गा कब्जा गर्न नआउने र त्यसमा साथ नदिने पहाडीलाई उल्टै बीस हजार जरिवाना र घर पनि लीलाम हुन सक्ने नियम नै बनाइएको थियो। जहाँ थारू कमैयाहरू र वाढी पिडित मधेशीहरू सरकारबाट कुनै जग्गा नपाई सुकुम्बासी नै बनिरहन बाध्य भए भने पहाडीहरूले आफ्नो रियासत विस्तार गर्दै लगे। सरकारले मधेशीहरूको जग्गा हड्पने र पहाडीलाई बाँडने कार्यक्रमहरू पनि ल्याउने क्रम जारी नै राखे।

[GO TO CONTENTS]

२८. अमेरिकी सपना

सन् २००९ को अगस्तमा म जागिर सम्बन्धी एक अन्तर्वार्ताको सिलसिलामा संयुक्त अधिराज्य अमेरिका गएँ। अमेरिकाको नाम आफैंमा विशिष्ट थियो, ‘मेल्टिङ्ग पट’का रुपमा मैले चिनेको थिएँ। त्यही भएर उतै इमिग्रेट भएर शरण लिने सपना सजाएको थिएँ। ‘मेल्टिङ्ग पट’ भित्र त मैले आफ्नो व्यक्तिगत, सामुदायिक वा राष्ट्रिय पहिचानको परबाह गर्नुपर्ने छैन, भनेर मैले एकपटक फेरि सोचें।

मैले आफ्नो ‘टक’ घंटाभरि दिइसकेपछि, एक अन्तर्वार्तामा एक जनाले भनेछ — ‘किनकि तिमी नेपालबाट हौ, त्यही भएर तिमी, यू नउ, उनीहरूजस्तो देखिने अपेक्षा गरेको थिएँ, तर तिमी त इन्डियन जस्तो देखिन्छौ।’ पछि उसैले अरूसँग मेरो परिचय गराउँदै भनेका थिए — ‘ऊ त खाली नेपालमा जन्मेको मात्र हो, तर इन्डियन हो।’ मैले यहाँ भन्नै पर्छ, ती केवल निर्दोष टिप्पणीहरू थिए, मधेश सम्बन्धी जानकारीको अभाव र कुनै पनि तरिकाले भेदभावतिर लक्षित थिएन। त्यही भएर मैले उसलाई आफ्नो इतिहास सम्झाउने कोशिस गरें तर शायदै सफल भएँ। अमेरिकामा पनि ट्याक्सी चालकदेखि बाटो बिराएका बटोहीसम्म, बैज्ञानिकदेखि बिजनेश टाइकूनसम्मका मुखबाट त्यस्ता रोचक टिप्पणीहरू सुनिरहन्थें।

कसले भन्छ ग्लोब्लाइज्ड वा वैश्वीकृत दुनियाँमा पहिचानले माने राख्दैन? ठीक उल्टो, ग्लोब्लाइज्ड दुनियाँमा पहिचानले झन बढी महत्व राख्छ, गहिरो इन्टरपेनेट्रेशनले पहिचानमाथि अझ बढी जोड दिन्छ। टोकियोको ट्रेनमा होस् कि न्यूयोर्कको बसमा, पेरिसको लुभ्रभित्र हुन् कि सिडनीको ओपेरा हाउसमा, कुनै पनि अपरिचितले सोध्ने प्रथम प्रश्न हुन्छ — ‘तपाईं कहाँबाट हुनुहन्छ?’ साइबर संसारको च्याट रुममा रहूँ कि विद्वत संसारको कन्फरेन्स् हलमा, साथीको घरमा होस् कि ब्याङ्गक्विटमा, संवादको शुरुवात नै त्यही अपरिहार्य प्रश्नबाट हुन्छ। र आफ्नो त्यही उत्तर दिँदा खेरि पुन: चिरपरिचित जाँचपडतालको शुरुवात हुन्छ, शंका र अविश्वासको माहौल पैदा हुन्छ। त्यो जबाफ न दिऊँ भने ‘विश्व मेरो घर हो र म मानव हूँ’ भनेर जबाफ कामै लाग्दैन। त्यसो भए कसरी ग्लोब्लाइज्ड दुनियाँमा मलाई राष्ट्रिय पहिचान चाहिन्न?

सन् २००९ को अन्त्यतिर म अमेरिका सरें, बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। इन्टरनेट/डार्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनको लागि मेरो मनमा ठूलो आदर थियो। बीबीएन कैयौं प्रख्यात वैज्ञानिकका घर थिए र तिनीहरूसँग त्यहाँ काम गर्न पाउनु मेरो लागि ठूलो अवसर र गौरवको विषय थियो।

डिसेम्बरको बीचतिर म अमेरिका पुगेको थिएँ, र चारैतिर ठूलो हिमपात भएको थियो। त्यसले गर्दा जाना साथ म कुनै नेपाली वा मधेशीलाई खोज्न र भेट्न असमर्थ थिएँ। मासच्यूसिट्‌स् राज्यको बोस्टन शहर नजिकै रहेको वाल्टहममा म बस्ने गर्थें। पुल्चोकमा इन्जिनियरिङ पढदाताकाको मेरो बेस्ट फ्रेन्ड नै त्यहीं नजिकै बस्दो रहेछ, पन्ध्र मिनेटभन्दा कमको दूरी होला। ऊनजिकै जान पाउँदा म खुशी भएको थिएँ। तर ऊ सम्पर्कमा आउन चाहेन र टाढै बस्न खोजेको लाग्यो, अनलाइन मेसेजको कहिले उत्तर दिए पनि कुनै दिन भेटौंला भनेर मात्र लेख्थ्यो। हाम्रो भेट कहिले पनि भएन।

अमेरिका गएर मधेशीहरूको डायस्पोरा संगठन बनाउने योजना पहिलादेखि नै थियो र त्यसलाई तुरून्तै कार्यान्वयन गर्नुपर्ने थियो। तर त्यस क्षेत्रमा म कुनै मधेशीलाई चिन्दिनथें, र चिनेका मधेशीहरू अमेरिकामा टाढा-टाढा छरिएर बसेका थिए र लगभग सम्पर्कबाहिर थिए।

अनि एक दिन राम मनोहरले फोन गरे। म उनीसँग प्रथम पटक कुरा गर्दै थिएँ र कहिले भेटेको थिइनँ। उनको अनलाइन गतिविधि मार्फत् मात्र उनलाई चिन्थें। जापानमा छँदा मधेश डिजिटल लाइब्रेरी प्रोजेक्टमा काम गर्ने बेलामा उनले चासो देखाएका थिए, र केही सघाएका पनि थिए।

उनले मेरा गुमनामी दुनियाँका बारेमा अनुमान लगाएका रहेछन्, तर उनी अझै पक्का चाहिं थिएनन्। मैले विभिन्न छद्मनामबाट लेखिरहेका लेखहरू र संचालन गर्ने गरेका गतिविधीहरूको पनि उनले उत्तिकै हेक्का राख्नेगरेका थिए र बारम्बार मलाई त्यस बारेमा इमेल गर्ने गर्थे। इतिहास सम्बन्धी मेरा लेखहरू पढेर होला, उनले मलाई मधेशको इतिहासमाथि किताब लेख्न भन्दै आएका थिए। अभाव खट्‌केर होला मैले पनि कैयौं पटक त्यसबारेमा सोचेको थिएँ, तर कार्य मौलिक भएकोले निकै नै समय लिने खालको थियो। तर निष्क्रिय बुद्धिजीवी भएर खाली समय र तर्कहरूको विलासितामा रमाइराख्ने चाहना मेरो थिएन, न त त्यो विलासिता वहन गर्न सक्ने क्षमता नै मसँग थियो। मानौं टेबलबाट कुनै ग्लास खस्दा खसाइको मेकानिक्स र सुन्दरताका ठूल-ठूला बखानमा रमाइराख्नुभन्दा म ग्लासलाई पुन: टेबलमा पाउन चाहन्थें, र फेरि नखसोस् भनेर निश्चिन्त हुन चाहन्थें। त्यही नै मेरो लागि महत्वपूर्ण थियो। गरीब र पिछडिएका जनताहरूले न्याय पाऊन्, तिनीहरूले आफ्नो अधिकार र आत्मसम्मान पाऊन् त्यही नै मेरो लागि अर्थ राख्थ्यो। इतिहास अरू कसैले लेखोस् भनेर चाहन्थें, तर मेरा खोजका बाबजूद अझै त्यस्ता विद्वानहरू भेट्न सकेको छैन।

अमेरिकाको जीवनशैलीमा घुलमिल हुनमा समय दिनुका साथै कामले पनि निकै नै व्यस्त राख्थ्यो। तर म आफ्ना अरू रूचिहरू कहिले मर्न दिइनँ। केही गर्ने जूनून भए, त्यसका लागि समय पनि निकाल्न नै सकिन्छ भने मेरो विश्वास थियो।

जागिरबाट केही पैसा हातमा आइसकेपछि इजोत अभियानलाई अगाडि बढाउनेतिर लागें। तेश्रो विश्वमा सामाजिक रूपान्तरण गर्ने उद्देश्यले बेलायतमा हुँदा नै इजोत अभियानको शुरूवात गरेको थिएँ, र प्रथम चरणमा यस अन्तर्गत कम्प्युटर साक्षरता, प्रौढ एवम् महिला साक्षरता, स्वास्थ्य र वातावरण सम्बन्धी जनचेतना र नागरिक पत्रकारिताको क्षेत्रमा कार्यक्रमहरू राखेको थिएँ। ती कार्यक्रमहरूका लागि आवश्यक पठन-पाठन सामग्री पनि बेलायतमै हुँदा तयार गरेको थिएँ, तर त्यति बेला म विद्यार्थी नै भएकाले आर्थिक स्थिति त्यति राम्रो थिएन र कार्यक्रमलाई अगाडि बढाउनसकेको थिइनँ। तर तलब पाउन थालेपछि कार्यक्रमलाई नेपालका अलावा बंगलादेश र इथियोपियामा पनि विस्तार गर्ने योजना बनाएँ।

त्यसो त सामाजिक रूपान्तरणका लागि कार्यक्रमहरू चलाउन मैले लामै समय प्रतिक्षा गरेको थिएँ। नेपालमै हुँदा ‘मिशन गुडविल’ नामको संस्थाले काम गर्न खोजेको थिएँ, तर आफ्नो आर्थिक स्थिति मजबुत नहुँदा तथा अन्य श्रोतहरू पनि नहुँदा त्यसले कुनै गति लिन सकेको थिएन र त्यो व्यक्तिगत तहमा स-साना कार्यहरूमै सीमित थियो।

जे भए पनि, मानवताका लागि स-सानै कुराहरू गरेर भए पनि हामी धरतीमै स्वर्ग बनाउन सक्छौं, भन्ने कुरामा मेरो विश्वास थियो। ठूल-ठूला जोखिमपूर्ण काम गर्नुभन्दा, सगरमाथा चढ्नु वा साइकलमा विश्व शयर गर्नुभन्दा हामीनजिकै हाम्रा हातका लागि पर्खिरहेका स-साना राम्रा कामहरू गरेर विश्वलाई हामी अझ राम्रो बनाउन सक्छौं भनेर मेरो विश्वास थियो। र अरूलाई मद्दत गर्न सुहृदय चाहिन्छ, पैसा होइन भन्ने कुरामा मेरो आस्था थियो। धेरै हुने तर अरूलाई केही दिन नसक्नेहरू धनी होइनन्, धनी त आफूसँग जे भए पनि अरुलाई दिन सक्नेहरू नै हुन्, भन्ने कुरामा मेरो पनि विश्वास थियो।

तर इजोत अभियान संचालन गर्न खोज्दा केही दिनमै थाहा पाएँ कि गुमनाम भएर र पर्दापछाडि बसेर यो चल्ने वाला छैन। बानी परिसकेकोले होला, सामाजिक कार्यहरू गर्दा पनि अझै म आफ्नो नाम प्रयोग गर्दिनथें। तर अज्ञात रुपमा त्यसरी कार्य गर्दा मान्छेहरूले अनेकौं प्रश्नहरू उब्जाउँथे, कसले गरेको, किन गरेको भन्ने सोध्थे। स्वयंसेवकहरू त के, मेरो संलग्नता रहेको थाहा नपाएका आफ्ना साथीहरूसमेत त्यस अभियानमा लाग्न चाहँदैनथे, र त्यही भएर त्यस पटक मैले आफ्नो नाम खुल्ला रूपले प्रयोग गर्ने भनेर ठानें र त्यो प्रभावकारी पनि भयो। तुरून्तै परिचित-अपरिचित धेरै जनाले इजोत अभियानमा आफ्नो अभिरुचि देखाउन थाले, स्वयंसेवक बन्ने ईच्छा जाहेर गर्न थाले। पठन-पाठनको सामग्री तयार गरेर नेपालमा छपाउनका लागि मैले महेशलाई जिम्मा दिएको थिएँ र उसले नै त्यहाँ सुबै कुरा संयोजन गरिरहेको थियो। तुरून्तै पहाड र मधेश दुइटै ठाउँमा, धेरै जिल्लाहरूमा कार्यक्रम सुचारू रूपले अगाडि बढन थाल्यो।

सिन्धुपाल्चोक लगायतका पहाडी जिल्लाहरूमा कार्यक्रम चलिरहँदा त्यस अभियानमा सघाइरहेका मेरा एक साथीले कामलाई मधेशमा मात्र सीमित गर्नु पर्ने होइन र, भनेर कुरा उठाएका थिए। पहाडीहरूले हामीलाई भेदभाव गरे झैं हामीले उनीहरूमाथि भेदभाव गर्न नहुने र गरीब र पछाडि परेका जनता दुनियाँको कुनै कुनामा, कुनै समुदायमा भए पनि मलाई प्रिय भएको र हामीले उनीहरूको लागि कार्य गर्नु पर्ने कुरा सम्झाएको थिएँ। अशिक्षाको अँध्यारो जसका लागि पनि अँध्यारै हुन्छ। मेरो लडाई पहाडीहरूसँग नभई उनीहरूको उपनिवेश, रंगभेद र अन्यायसँग हो, भनेर प्रष्ट पारेको थिएँ। असल हृदय भएका त्यो मित्रको द्विविधा तुरुन्तै मेटेको नै मैले पाएँ, र पहाडतिर इजोत अभियानलाई विस्तार गर्न उनी आफै अग्रसर भएर आए।

इजोत अभियान ‘तमसोमा ज्योतिर्गमय’ को मूलनारा लिएर आशा, शिक्षा र चेतना फैलाउने उद्देश्यले अगाडि बढेको थियो। गरीब र पिछडिएका वर्गका लागि शैक्षिक र चेतनामूलक कार्यक्रमहरू चलाउने योजना लिएर अगाडि बढेको थियो, र त्यसका लागि हामीले मूलत: स्वयंसेवकहरूको सहायता लिने कुरामा जोड दिएका थियौं। नेपालमा, काठमाडौं उपत्यकामा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई स्वयंसेवकका रुपमा खटाउने विचार थियो। देशका कुना-कुनाबाट विद्यार्थीहरू काठमाडौंमा पढ्न आउँथे, र लामो विदामा तिनीहरूलाई आवश्यक श्रोत-साधन र तालिम दिएर गाउँ-गाउँमा पठाउन सके कम लगानीमा कार्यक्रमको व्यापक विस्तार हुनसक्ने हाम्रो बुझाइ थियो र त्यसकै लागि हामी प्रयासरत थियौं।

यता अमेरिकातिर वसन्त आएपछि म केही घुमघाम गर्नेतिर पनि लागें। त्यही क्रममा वाशिङ्गटन डि.\ सी., न्यूयोर्क, फिलाडेल्फिया र बाल्टीमोर पनि घुम्न गएँ। वाशिङ्गटन डि. सी. मा अब्राहम लिङ्कनको विशाल प्रतिमाअगाडि उभिँदा नेपालमा मधेशीहरूमाथि लादिएको रंगभेद र दासताको कुरा झल्झली याद आएको थियो। केही बेरसम्म अचल भएर म उभिरहें, प्रतिमा टोलाइरहें। त्यो त्यही ठाउँ थियो जहाँबाट मार्टिन लुथर किङ्गले ‘आइ ह्याब अ ड्रिम’ भन्ने भाषण दिएका थिए। त्यहाँ लेखिएका हरफहरू पढ्दै जाँदा आफ्नो भूमिलाई स्वतन्त्रता दिलाउने, मधेशीहरूलाई दासताबाट मुक्त गर्ने, पहाडीहरूको रंगभेद नीतिको अन्त्य गर्ने प्रगाढ लिप्सा उर्लेर आयो। फिलाडेल्फियाको भ्रमण उत्तिकै प्रेरणादायी थियो। यस महान देशको जन्म दिने ऐतिहासिक स्थल इन्डिपेन्डेन्स् हलमा छिर्दा र आफ्नो पाइला राख्दा त्यस स्थानको लागि ठूलो सम्मान जागृत भएको थियो। त्यो त्यही भवन थियो जहाँ संयुक्त अधिराज्य अमेरिका जन्मेका थिए, जहाँ स्वतन्त्रताको घोषणा अंगीकृत भएको थियो र जहाँ अमेरिकाको संविधानमाथि हस्ताक्षर गरिएको थियो। र त्यसको नजिकै अमेरिकी स्वतन्त्रताको पहिचान बोकेको लिबर्टी बेल थियो, जसमाथि “Proclaim LIBERTY throughout all the land unto all the inhabitants thereof.” अंकित थियो। त्यो घंटी स्वतन्त्रता र स्वाधीनताको परिचायक थियो, र उसको ऐतिहासिक टंकार सातसमुद्रपारि पनि जनताका लागि जागृतिको पुकार थियो र निरंकुश शासकवर्गका लागि चेतावनी।

[GO TO CONTENTS]

२९. द्वैधी डायस्पोरा

लाखौं नेपालीहरू डायस्पोराका रूपमा रहेका छन्। उत्तरी अमेरिकामा मात्रै झन्डै दुई लाख जति ‘नेपाली’ बसेको भनिन्छ। तिनीहरूमध्ये मधेशी एक प्रतिशत भन्दा कम रहेको अनुमान गरिन्छ। त्यो असमानता आफैंमा पनि पहाडी-मधेशी बीचको आर्थिक, शैक्षिक र सामाजिक असमानता दर्शाउँछ। अमेरिकातिर जाने नेपालीहरू प्राय: समृद्ध परिवारका हुन्छन् जो लाखौं तिर्न सक्षम हुन्छन्, अधिकांश मधेशीहरू त जीवनभरिमा लाख देख्न पाएका पनि हुँदैनन्।

यी ‘नेपाली’ डायस्पोरामा अधिकांश उग्र नेपाली अन्धराष्ट्रवादबाट उत्प्रेरित हुन्छन् र त्यही एजेन्डा तिनीहरू जहाँ पनि अगाडि बढाउने कोशिस गर्छन्। न्यूयोर्कमा, वाशिङ्गटन डि. सी. मा, शिकागोमा, यूरोप र अष्ट्रेलियाका शहरहरूमा, एशिया र मध्यपूर्वका गल्लीहरूमा यी डायस्पोराले आफ्नो उग्र राष्ट्रियता फैलाउने काम गर्छन्, मधेशीहरूले नेपालमा ज्यानै दिएर फाल्न लगाएका कुराहरूको प्रचारप्रसार र समर्थन गर्दै हिँड्छन्।

नेपाललाई बहुजातीय राज्यका रुपमा देख्न चाहँदैनन् तिनीहरू, न त बहुभाषीय राज्यका रुपमा। तिनीहरू आफ्नो मालिकको होटलमा भलै दिनरात हिन्दी मै बोलेर भाँडा माझ्दा हुन् तर उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएको तिनीहरूलाई स्वीकार्य हुँदैन, उपराष्ट्रपतिविरुद्ध तिनीहरूले ठूलो अभियानै चलाएका थिए जसमा आफूलाई बुद्धिजीवी भन्न आतुर कैयौं चर्चित नामहरू पनि सामेल थिए। तिनीहरूलाई राष्ट्रपति वा उपराष्ट्रपतिका रुपमा मधेशी मुहार स्वीकार्य हुँदैन, राजदूतका नाममा मधेशीको कालो अनुहार नेपालबाहिर देखाउन चाहँदैनन् तिनीहरू। सक्ने भए तिनीहरू त मधेशी राष्ट्रपति, उपराष्ट्रपति र राजदूतका अनुहारमाथि मास्क वा रंग लाएर मात्र तिनीहरूलाई विदेशमा प्रस्तुत हुन दिन्थे। मधेशी राष्ट्रपति, उपराष्ट्रपति र राजदूतको तस्वीर कतै राख्न वाध्य नै हुनुपर्यो भने त्यसको चमक बढाएर, तस्वीर सम्पादन गरेर टोपी-सोपी लगाएर मात्र राख्ने गर्छन्। मधेशीहरूको कालो मुहार तिनीहरूको लागि अस्वीकार्य छ, कतै देखाउन दिँदैनन्। त्यही भएर कुनै मधेशीलाई तिनीहरूले आफ्ना कार्यक्रमहरूमा स्थान दिँदैनन्, स्टेजमा चढनै दिँदैनन्।

त्यो भाषा, भेष, र सांस्कृतिक अधिनायकवाद जसलाई फाल्न दर्जनौं मधेशीले ज्यानै दिए, त्यो राजतन्त्र र धार्मिक असहिष्णुता जसलाई अन्त्य गर्न लाखौं नेपालीहरूले संघर्ष गरे, यी डायस्पोराले त्यसलाई नै पालन-पोषण गर्न चाहन्छन्। नेपालमा विद्यमान जातीय छुवाछुतलाई यी डायस्पोराले आफ्नो नवआर्जित ‘वैज्ञानिक’ ज्ञानले चोख्याउन खोज्छन् र जगेर्ना गर्न खोज्छन्। नेपालभित्र मधेश पनि रहेको तथ्य विदेशीहरूले बुझ्न लाग्दा नेपाललाई अझै सगरमाथा र यतिको देश भनेर चिनाउन चाहन्छन्। दौरा-सुरुवाल-टोपी लाएर विश्वका शहर-शहरमा नेपाली-नाजीवादको नारा लाउँदै हिँड्छन्।

अमेरिकाले आफ्नो डलरको नोटमा ‘इन गँड वी ट्रस्ट’ लेखेको देखाउँदै कोटि देवताको भार नेपालीका टाउकोमा भिडाउन चाहन्छन्, अमेरिकाले इराक र अफगानिस्तानमा गरेको आक्रमण देखाउँदै मधेशी मूस्लिममाथिको आक्रमणलाई उचित ठहराउँछन्। अमेरिकामा रहेको कू कल्क्स क्लानलाई देखाउँदै आफ्नो नेपाली नाजीवादलाई सराहना गर्छन्। दुर्भाग्य। अमेरिकाबाट सिक्ने नै हो भने सिक्नलाई धेरै कुराहरू छन्। अमेरिकाबाट समानता, न्याय र स्वतन्त्रताका कुरा सिक्नोस्, शताब्दीदेखि दास बनाएर राख्नुभएका मधेशीहरूलाई मुक्त गर्नोस्, शताब्दीदेखि अन्याय र अत्याचार भोगेका मधेशीहरूलाई न्याय दिनोस्, मधेशी र अन्य समुदाय र संस्कृतिलाई उचित सम्मान दिनोस्।

आफ्नो दुष्ट अभियानमा डास्पोराले पैसा, पावर र अन्तर्राष्ट्रिय मिडियामा आफ्नो पहुँचको भरमग्न दुरूपयोग गर्दै आएका छन्, मधेशीहरू सम्बन्धी गलत प्रोपागाण्डा फैलाउँदै आएका छन्। मधेश आन्दोलनका क्रममा तिनीहरूले मधेशीको चाहनालाई बदनाम गर्ने र मधेशीहरू सम्बन्धी गलत जानकारी प्रचार-प्रसार गर्ने कुरामा ठूलो भूमिका खेले। मधेशीहरूमाथि सरकार र पहाडीहरूले गर्ने गरेको क्रूर आक्रमण र जघन्य अपराधलाई तिनीहरूले अन्तर्राष्ट्रिय जगतमा राम्ररी प्रतिरक्षा गरे। अन्तर्राष्ट्रिय मिडियामा आफैंले लेखेर होस् कि आफ्ना सहकर्मीहरूलाई गलत समाचार दिएर, तिनीहरूले मधेशीलाई दबाउने खूबै प्रयास गरे।

मधेशीविरुद्ध संघ-संगठन बनाउन पनि तिनीहरू निकै खर्चिरहेका छन्। तिनीहरूले नेपाल सरकार समेतलाई आफ्नो कुरा मनाउन दबाब दिदैं आएका छन्। तिनीहरूले आफ्नो पैसा र त्यसबाट प्राप्त शक्ति नेपाल सरकारमाथि प्रयोग गर्छन्। नेपाल सरकारले तिनीहरूको ऋण खाए झैं बिदेशी नागरिकता बोक्ने तिनीहरू नेपाली नागरिकताका लागि टेबल ठटाउँछन्। आफ्नै जनताको कुरा सुन्न समय नभएको नेपाल सरकार पनि संसदीय काम-कारबाही रोक्दै तिनीहरूको भेलामै रमझम गर्नमा रमाउँछन्। आफ्नै नागरिकलाई पनि नचिन्ने सरकार ती ‘मनी माफियाहरू’ अगाडि नै झुक्छन् र बाहिर देखाउन जे गरे पनि तिनीहरूलाई दोहोरो-नागरिकता दिने सम्बन्धमा सरकार लगभग तयार नै छ, खाली समयको कुरा हो, सार्क देशहरू पनि त्यस क्राइटेरियामा सामेल नै हुनेछन्।

‘नेपाली’ डायस्पोरालाई दोहोरो नागरिकता दिने नीति मधेशीहरूलाई पुन: आफ्नो भूमिबाट विस्थापित गर्ने ठूलो षड्यन्त्र मात्र हो। भारत, वर्मा, भुटान लगायतका देशहरूबाट लाखौं ‘नेपाली’ ल्याएर मधेशमा घुसाउने षड्यन्त्र मात्र हो। तिनीहरू अन्यत्र कतै हैन, मधेशमा मधेशीको भूमि हडपेर बस्नेछन्। भुटानी ‘शरणार्थी’हरू कहाँ गएर बसे, पहाडमा? मधेशमा बसे। र, भारतमा अस्सी-नब्बे लाख ‘नेपाली’ छन्, बर्मामा पाँच लाख ‘नेपाली’ छन्, तिनीहरू कहाँ गएर बस्नेछन्? मधेशमा। इतिहासले बारम्बार देखाएको छ, जब जब मधेशमा यी ‘नेपाली’हरू बसे, भूमिपुत्र मधेशीहरू विस्थापित भए। र यस दोहोरो नागरिकताको नीतिले त मधेशीहरूको अस्तित्ब नै मेटाउने कुचेष्टा गर्दैछ। डायस्पोरा त झन् आर्थिक रूपले सबल समूह हो, तिनीहरू मधेशमा गाउँका गाउँ किन्नेछन् र मधेशीहरू आफ्नो भूमिबाट विस्थापित हुन बाध्य हुनेछन्। तिनीहरू मधेशमा नव-जमीन्दारका रूपमा स्थापित हुन चाहन्छन्, दुईछाक टार्न मधेशीहरूले राखेका दुई-चार कठ्ठा खेत पनि हड्पेर गल्फ कोर्स र रिसोर्ट बनाउन चाहन्छन्, आफ्नो रियासत बनाउन चाहन्छन्।

डायस्पोरा संघसंगठनका अलावा विदेशमा नेपालका राजदूताबास पनि अधिकांश देशमा रहेका छन्। तर त्यहाँ मधेशी हुनु भनेको अछुत हुनु हो, वा भनौं त्योभन्दा पनि खराब। अछुतहरूको अस्तित्व त कम-से-कम स्वीकारिन्छ, मधेशीहरूको त अस्तित्वलाई नै तिनीहरूले नकार्छन्। त्यहाँ मधेशीलाई चिनिन्न। म एक पटक लण्डनको नेपाली राजदूताबासमा गएको थिएँ, र पासपोर्ट देखाइरहँदा पनि, बारम्बार एक पछि अर्को प्रमाण दिदैं मलाई आफ्नो अस्तित्व साबित गरिरहनुपरेको थियो। कुनै आश्चर्य लाग्दैन जब अरब र मलेशियामा समस्या आइपरेमा मधेशीलाई त्यहाँका नेपाली राजदूताबासले उद्धार गर्न अस्वीकार गर्छन्। र आश्चर्य मान्नु पर्ने कुनै कुरा पनि छैन जब आफ्नै देशभित्र पनि पहाडी प्रशासनले ‘रक्षाका लागि इन्डिया जान’ भन्छ।

देशबाहिर रहेका मधेशीहरूले झेल्दै आएका यी समस्याहरूको कारण मधेशी डायस्पोराको विश्वव्यापी छाता संगठनको खाँचो लामो समयदेखि मैले अनुभव गरेको थिएँ। मधेशीहरूको त्यस्तो कुनै संगठन थिएन, र त्यसलाई मूर्तरूप दिन अमेरिका आएदेखि नै म जोडतोडले लागेको थिएँ। विश्वभरि छरिएर रहेका मेरा साथीहरूसँग महीनौंसम्म बहस गर्दै अन्त्यमा सन् २०१० को मार्चमा गैर-आवासीय मधेशी संघ (Non-Resident Madheshis Association, NRMA) को गठन गरेको थिएँ। अमेरिकामा केन्द्रिय समिति र नेपालमा गृह समिति रहने गरी यूरोप, अष्ट्रेलिया, एशिया र मध्य-पूर्वमा पनि आफ्नो संयोजक राख्दै हामीले कार्यकारिणी समिति गठन गरेका थियौं। संस्थापक अध्यक्षमा म नै बसेको थिएँ। अज्ञातमा रहँदा मान्छेहरूको विश्वास जित्न गार्‍हो भएकाले त्यसपालि मैले आफ्नो वास्तविक नाम नै प्रयोग गरेको थिएँ। मधेश सम्बन्धी कार्यका लागि त्यसरी खुला रुपमा आफ्नो नाम प्रयोग गरेको शायद त्यो पहिलो पटक थियो।

NRMA को मूलनारा ‘मधेश र सबै मधेशीको हक-हित र पहिचानका लागि डायस्पोरा’ भन्ने थियो, यसको मूल उद्देश्य मधेश र मधेशीहरूको समस्याका विषयमा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनु थियो। मधेशमा विकास कार्यक्रमहरू ल्याउने र त्यहाँ पर्यटन प्रवर्धन गर्नेतिर पनि हाम्रो ध्यान थियो।

[GO TO CONTENTS]

३०. मेचीदेखि महाकाली

सन् २०१० को जुलाईमा बोस्टनमा मधेशी नेताहरूसँग मेरो भेट भयो। नेताहरूमा हृदयेश त्रिपाठी, अनिल कुमार झा, जितेन्द्र देव, अकबाल अहमद शाह, र शम्भु हजरा पासवान थिए। पहाडीहरूले आयोजना गरेको बोस्टनको एक कार्यक्रममा उनीहरूसँगै आएका पहाडी नेताहरूलाई बोलाएको तर उनीहरूलाई चाहिं छाडिदिएको खबर मलाई एक जना साथीले गरे। त्यसले गर्दा तिनीहरूको चित्त निकै दुखेकाले मधेशी संघ-संस्था वा गैरआवासीय मधेशी संघले नै तिनीहरूको लागि केही गर्नुपर्ने कुरा राख्दै ती मित्रले ममाथि दबाब दिए। त्यो कुरा उनले अन्तिम समयमा राखेका थिए र धेरै तयारी गर्ने समय थिएन। तैपनि मैले तिनीहरूका लागि एउटा रेस्टुरेन्टमा रिसेप्सन राखें, र भेटेर मधेशकै विभिन्न मुद्दामा छलफल गर्ने विचार गरें। मलाई सघाउन मसँगै विसुनदेव महतो पनि थिए।

पहिला पहिला साधारणतया म नेताहरूसँग टाढै रहन्थें, शायद आमजनताको नजरमा तिनीहरूको भ्रष्ट र स्वार्थी छवि भएकोले होला। कलेजमा हुँदा पनि कुनै पार्टी र नेतासँग कहिले नजिक भइन। तर गैरआवासीय मधेशी संघको अध्यक्षमा बस्दा चाहे न चाहे पनि यी सबै कुराहरूको सामना गर्नु मेरो जिम्मेवारी हुन पुगेको थियो र आफ्नो व्यक्तिगत अभिरुचिलाई पन्छाएर म त्यहाँ पुगें।

मधेशीहरूको यतिका ठूलो संघर्ष र बलिदान पश्चात्, नयाँ संविधान बनाउने र मधेशीहरूको नियति निर्धारण गर्ने नेपालको त्यस महत्वपूर्ण ऐतिहासिक मोडमा तिनीहरू केही गम्भीर हुने मैले अपेक्षा गरेको थिएँ। तर दुर्भाग्य न त मैले तिनीहरूलाई मधेशका समस्याहरू प्रति गम्भीर भएको पाएँ न त कुनै दूरदृष्टि नै भएको। उनीहरू आगामी सरकार बनाउने सोच र त्यसको गणितीय जोड-घटाउमा डुबेको पाएँ। त्यसमाथि बहस गर्नु मेरो समयको बरबादी बाहेक केही थिएन। सरकार बन्नु र गिर्नु मेरो लागि अर्थहीन हुन पुगेको थियो। सांसद्हरू विहान संसद् पस्दा एउटा पार्टीको भएर पस्थे, दिउँसो निस्किँदा अर्कै पार्टीको भएर निस्किन्थे। र तिनीहरू सरकारमा जान र मन्त्री बन्न जे पनि गर्न तयार हुन्थे। खसी-बोका झैं तिनीहरूको किनबेच हुन्थ्यो। त्यहाँ कुनै आदर्श, कुनै विचारधारा, कुनै नैतिकता, कुनै जिम्मेवारी बाँकी थिएन। मधेशी नेताहरू आफ्ना स-साना स्वार्थहरू मात्र देख्दथे र संविधान निर्माणमा उनीहरूको बिरलै कुनै भूमिका थियो। तैपनि उनीहरूको कुरा म धैर्यपूर्वक सुनिरहें।

तर एक जना मधेशी नेताले ‘मधेशीहरू [दासताको] यस सजायका हकदार हुन् किनकि यिनीहरूले वेदानन्द झालाई तीन ठाउँबाट हार्न लगाएका थिए’ भन्दै मधेशी जनतामाथि दोष थुपारेको देख्दा म आफूलाई रोक्न सकिनँ। मैले भनें — ‘मेरो पुष्ताले तपाईंहरूलाई के दिएन? आफ्नो रगत, आफ्नो ज्यान, नेपालको इतिहासले बिरलै देखेको आन्दोलन। तर त्यसलाई तपाईंहरूले राम्ररी ह्यानडल गर्नुभयो जस्तो मलाई लाग्दैन। पचास जनाभन्दा बढी शहीद र हजारौं घाइतेहरूले बगाएको रगतको सदुपयोग र सही कदर भए जस्तो लाग्दैन। जुन उपलब्धि हुनुपर्ने थियो त्यो कतै भए जस्तो लाग्दैन।’ वास्तवमा भन्ने हो भने तिनीहरूले मधेशीहरूको बलिदान र रगतलाई संसद् र मन्त्री परिषद्को केही सीटका लागि बेच्न पुगेका थिए। मधेशी शहीदहरूको लाशलाई सरकारमा जाने र मन्त्री बन्ने भर्‍याङ्ग नै बनाएका थिए।

उनीहरूसँग थौरै भए पनि जे जति आशाहरू बाँकी थिए त्यो दिन उनीहरूको रवैया र सोच देखेर बिलाएर गए। तैपनि गैरआवासीय मधेशी संघको तर्फबाट उनीहरूलाई ज्ञापन पत्र बुझाएँ, जसमा मधेशी शहीदका परिवार र आन्दोलनमा घाइते भएकाहरूलाई राहत उपलब्ध गराउने, मधेशको हक-हितका लागि सबै मधेशी पार्टीहरूको एकता बनाइराख्ने आदि कुराहरू समावेश गरिएका थिए। उनीहरूसँगको भेटले म अलि निराश हुन पुगेको थिएँ, तर यो कुरा पनि प्रष्ट भएको थियो कि यतिका संघर्ष र बलिदान पश्चात् पनि मधेशीहरू किन आफ्नो अधिकारबाट वंचित भइरहेका छन्।

म उनीहरूसँग मधेशको विकासको बारेमा पनि कुरा गरेको थिएँ, तर त्यो उनीहरूको चासो बाहिरको विषय झैं लाग्थ्यो। तिनीहरू समग्र मधेशको स्थितिबाट अनभिज्ञ देखिन्थे, आफ्नो क्षेत्रको समेत वास्तबिक स्थितिबाट अपरिचित देखिन्थे। त्यो स्वाभाविक पनि थियो। मधेशका अधिकांश ठूला नेताहरू सबै काठमाठौंमै आफ्नो आलीशान वंगला बनाएर बस्ने गरेका छन्, र चुनावतिर बाहेक बिरलै कहिले मधेशमा पाइला राख्छन्। र त्यतिबेला पनि आफ्नो क्षेत्र मात्र जान्छन्। तसर्थ पूरा मधेशको वास्तविक चित्र तिनीहरूसँग थिएन। मधेशका झोपडीहरू बारे आफ्नो अनुभव सुनाउँदा केहीले त मधेश अहिले त्यस्तो नभएको जिद गरेका थिए।

के मधेश साँच्चै विकसित भइसक्यो त? के अब झोपडीहरू बाँकी छैनन् त? मधेशको कुन ठाउँमा त्यस्तो विकास भएको छ? मलाई हेर्न मन लाग्यो। धेरै वर्ष बाहिर बसेकाले आफैं पूरा मधेश घुमेर अद्यावधिक जानकारी प्राप्त गर्न मन लाग्यो, जनसाधारणको स्थिति बुझ्न मन लाग्यो र मैले मेचीदेखि महाकाली मधेश यात्रा गर्ने योजना बनाएँ।

त्यही महिना म नेपाल फर्कें। ती नेताहरूलाई पनि आगमनको जानकारी दिएको थिएँ र काठमाडौंमा केहीले भेट्न पनि खोजेका थिए। तर आम मानिस मेरो सरोकारको विषय थियो, कुनै सांसद् वा मन्त्री होइन, र त्यही भएर जनसाधारणलाई नै भेट्न आफ्नो समयको सदुपयोग गर्ने भनेर ठानें। काठमाडौंमा ओर्लेपछि त्यहाँ एक रात मात्र बसेर म मधेशतिरै लागें। त्यसैपनि काठमाडौं बिरलै बस्न लायक थियो। काठमाडौं कुनै जमानामा मन्दिरहरूको शहर होला तर त्यो केवल वेश्याहरूको शहर बनिसकेको थियो। हुन पनि किन नहोस्, जब नेपाल टूरिज्म बोर्डले नै ट्रेकदेखि सेक्सका लागि विदेशीहरूलाई विज्ञापनद्वारा खुल्ला आमन्त्रण दिन्छ भने।

हाम्रो मेची-महाकाली यात्रा लहानको शहिद स्मारकबाट शुरु भएको थियो, वीर मधेशी सपूतहरूलाई आफ्नो श्रद्धासुमन अर्पण गर्दै। त्यो त्यही ठाउँ थियो जहाँ नेपाल सरकारले कैयन् मधेशीहरूलाई मारेका थिए र मधेश आन्दोलनको शुरुवात भएको थियो, त्यो तराईको टियान्‌मेन् थियो। शहीदहरूले दिएको बलिदानको आदर गर्दै उनीहरूको शालिकअगाडि हामीले शिर झुकायौं र आफ्नो यात्राको शुभारम्भ गर्यौं।

हामी पाँच जना थियौं — महेश ईसर, नरेश अधिकारी, श्याम राउत, अजय यादव र म। हामीले एउटा टाटा सुमो रिजर्भ गरेका थियौं, र त्यसमा गैरआवासीय मधेशी संघको ब्यानर टाँगेका थियौं। हामी पहिला पश्चिमतिरै लाग्यौं र गाउँ र शहर दुइटै हेर्ने योजना बनायौं।

परिचित ठाउँहरूमध्ये भन्नु पर्दा हामी मेची सिमाना, काकडभिट्टा, चरेली, भद्रपुर, विर्तामोड, दमक, पथरी, कानेपोखरी, रंगेली, बिराटनगर, इटहरी, राजबिराज, सिरहा, जनकपुर, जलेश्वर, बर्दिबास, मलंगवा, चन्द्रनिगाहपुर, गौर, पथलैया, बीरगंज, हेटौंडा, नारायणघाट, भैरहवा, लुम्बिनी, तौलिहवा, लमही, कोहलपुर, नेपालगंज, गुलरिया, अटरिया, धनगढी, महेन्द्रनगर र महाकाली सिमाना हुँदै यात्रा गरेका थियौं। यात्राका दौरान जनसाधारणसँग कुराकानी गर्नुका अलावा केही ऐतिहासिक र पुरातात्त्विक महत्वका स्थलहरूमा पनि गई ऐतिहासिक महत्वका केही सामग्रीहरूको संकलन पनि गरेका थियौं।

सम्पूर्ण यात्राको वृत्तान्त यी पानाहरूमा लेख्न म असमर्थ छु, र शब्दहरूले त्यसमाथि न्याय गर्न समर्थ होला जस्तो पनि लाग्दैन। हामीले भेटेका मान्छेहरू हरेकका आ-आफ्नै मुटु छुने दु:खका कथाहरू थिए, आन्दोलनमा गरेका संघर्षका गाथाहरू थिए, आक्रान्तित अनुभूतिहरू थिए। तर हरेकभित्र साझा कुरा हुन्थ्यो — दु:ख, अन्याय, अत्याचार, भोक, अशिक्षा, कुण्ठा र क्रोध ।

काम नभेटाएका भोका मजदुरहरू, बाढीले घर, श्रीमती र छोराछोरी बगाएर एक्लिएका सुकुम्बासी गाउँलेहरू, स्कूल नगएर भोक मेटाउन खेतमा काम गरिरहेका नानीहरू, कुपोषित बच्चाहरू, परित्यक्त वृद्धहरू र कष्टमय जीवनका अनेकौं रूपहरू हेर्दै हाम्रो यात्राको अधिकांश समय बितेको थियो।

यात्राका दौरान हामी शहीदका परिवारहरूलाई पनि भेटेका थियौं। लहानमा शहीद प्रमोद सादाको परिवारलाई भेट्न जाँदा उनकी आमा जोरले रोएकी थिइन्। आफ्नो छोराको अनुपस्थितिमा कसरी एक्लिएकी महशूस गर्दा रहिछिन् भन्दै मुटु नै फुट्ने गरी भक्कानो पार्दा ‘तपाईंको अर्को पनि छोरा छ भनेर सम्झिनु होला’ भनेर खोक्रो शब्द पोख्नुबाहेक केही गर्न सकिनँ। शहीदका दुई कक्षामा पढ्दै गरेकी एक बहिनी पनि रहिछिन्, स्कूलको फी तिर्न नसकेको कुरा राखिन्। मैले उनको त्यो फी तिर्ने जिम्मा लिएँ, घर चलाउन केही राहत होला भनेर केही पैसा पनि दिएँ, तर शहीदको योगदानको कदर त्यस तुच्छ कुराहरूले के हुन्थ्यो र? त्यो त शहीदको सपना पूरा गरे मात्र हुन्छ।

त्यसै गरी इनरूवामा अर्को शहीदको परिवारलाई भेटें। शहीदका बुवा बिरामी थिए। एक जना नेताले उनलाई राहत स्वरूप पैसा दिने बचन धेरैअगाडि दिएको तर त्यति बेलासम्म पनि केही नदिएको गुनासो उनले नेताको नाम किटेरै गरेका थिए। मलाई त्यो दिलाइदिन आग्रह गरे। मैले उनको त्यो संदेश एउटा अनलाइन समूह मार्फत त्यो नेता र उसको पार्टी समक्ष पुर्‍याएँ। उनीहरूको तर्फबाट कुनै उत्तर आएन, अरू केहीले टिप्पणी गरेका थिए। सारमा, ‘सरकारले त उनीहरूलाई राहत दिइसकेको छ’ भन्दै हाम्रो सरोकारको विषय नभएको जस्तो आशय टिप्पणीहरूको लाग्यो। टिप्पणी पढेर म स्तब्ध भएँ। तिनका छोराछोरी मधेशीको स्वतन्त्रताका लागि लडे, मधेशका लागि ज्यानै दिए, मधेशका लागि रगत बगाए र तिनीहरू भन्दै थिए कि उनीहरूलाई राहत दिनु त सरकारको काम हो! उनीहरूको परिवारलाई सम्हाल्ने जिम्मा हाम्रो हुनुपर्छ, हाम्रो स्वतन्त्रताका लागि लड्‌दालड्‌दै आन्दोलनमा घाइते भएकाहरूलाई रेखदेख गर्ने जिम्मा हाम्रो हुनुपर्छ, र हामीले उनीहरूका लागि जे गरे पनि, जतिसुकै गरे पनि उनीहरूको योगदानको तुलना गर्नसक्ने छैनौं। हामीहरूले उनीहरूको स्थान कहिले लिनसक्ने छैनौं। धन्य छन् मधेशका लागि रगत बगाउने ती वीरहरू। अमर छन् मधेशका लागि जीवन समर्पण गर्ने शहीदहरू। शहीदहरूको निस्वार्थ बलिदानको कुनै तुलना हुनै सक्दैन।

यात्रा कै क्रममा म कुशहामा पनि केही बेर रोकिएको थिएँ। कोशी पुन: ब्यारेजतिरै फर्काइएको रहेछ, तर बाढी गएका ठाउँहरूमा जहाँ कुनै बेला हरिया-भरिया धानका खेतहरू लहराइ रहन्थे त्यहाँ विशाल मरुभूमिले नै जन्म लिन पुगेको थियो। युद्धगंजनजिकै रोडमा उभेर चारैतिर हेरें, क्षितिजसम्म चारैतिर बालुवा नै बालुवा देखिन्थ्यो, पुरै सेतो। त्यहाँ बाढीपूर्व मूस्लिम वस्ती थियो, जसमा मेरा बाल्यकालका कैयन स्मृतिहरू थिए। तर त्यो वस्ती विलिन भइसकेको थियो। वस्तीका मान्छेहरू ओझेल भइसकेका थिए, फेरि तिनीहरूलाई कहिले भेट्न पाउँला कि नपाउँला भनेर सोच्दै म चिन्तित थिएँ। के फेरि एक वस्ती, एक समुदाय मधेशबाट विलाएकै हो त? मनले प्रश्न गर्थ्यो।

सप्तरीमा मेरै गाउँमा पनि जमीन मरुभूमि नै हुन लागेको थियो। त्यही खेतहरू जुन म बाल्यकालमा कोदाली लिएर खन्ने गर्थें सुख्खा बालुवामा परिणत भइसकेका थिए, पानीविहीन। गाउँ जाँदा गाउँलेहरू सबै कामकाज छोडेर भेट्न आए। तिनीहरूको आशा ठूलै थियो। म तिनीहरूलाई उद्धार गर्न सकूँला, तिनीहरूको बाल-बच्चालाई भोकै बस्नबाट बचाउन सकूँला, भनेर तिनीहरूले आशा गरेका थिए। गरीब किसानहरूले सिंचाइको कुनै व्यवस्था तत्काल गरी दिन भने, ताकि तिनीहरूले धान रोप्न सकून्, तिनीहरूको बाल-बच्चा भोकै रहनबाट बच्न सकून्। तिनीहरूको वेदनापूर्ण आग्रह सुनेर मेरो मुटु छियाछिया भएर गएको थियो। घुँडैसम्म हिलो हुने बाटो देखेर मैले बाटो चाहिन्न भनेर सोध्न पुग्दा भजो काकाले ‘पेटमा केही भए हाम्रा छोराछोरीहरू घुँडा त के, घाँटीसम्मै हिलो भए पनि हिँडेर जालान्, तर पेटमा हुनुपर्यो, त्यसैले सिंचाइको व्यवस्था गर्दे बाबू, एक-दुई बोरिङ्गै भए पनि ल्याइदे बाबू’ भनेर गुहारेको मलाई सँधै याद आइरहन्छ।

नेता, मन्त्री र दूषित राजनीतिसँग मलाई जतिसुकै घृणा भए पनि त्यो दिन म कुनै सांसद् भइदिए जस्तो लाग्यो, कुनै मन्त्री भइदिए जस्तो लाग्यो। तर म त त्यस गाउँभन्दा निकै पर पातालमा, अमेरिकामा वैज्ञानिक थिएँ, जसमाथि गौरव गरेर मेरा गाउँलेहरू छाती त फुलाउँथे तर तिनीहरूको खाली पेटका लागि मैले केही गर्न नसक्दा आफ्नो पेशा र प्रतिष्ठाको निरीहता मलाई बिझ्थ्यो। मैले त्यस क्षेत्रका सांसद्लाई सम्पर्क गरी आफ्ना गाउँलेका कुराहरू राखें तर त्यसले हाम्रो संवादको क्रमनै रोकियो, त्यसपछि कुनै जवाफ मैले उनीबाट पाइनँ र कम्तीमा अर्को चुनावसम्म नपाउने अनुमान गरें।

त्यसपालिको नेपाल बसाइँका क्रममा मलाई बाआमालाई लिएर उहाँहरूको स्वास्थ्य जाँच गराउन धरान जानुपर्यो। मधेशी क्षेत्रमा कुनै राम्रो स्वास्थ्य सुविधा बाँकी थिएन। हामी बसमै जाँदै थियौं। धरान जाने क्रममा आमाले धेरै ठाउँमा पहाडीहरूको दुर्व्यवहार भोग्नुपर्यो। आमालाई संचो नभएकाले इटहरीमा ओर्लिने बित्तिकै उहाँलाई चक्कर आउन गएछ र उहाँ सडकको छेउमै होटलअगाडि बस्नु भएछ। म आमालाई सम्हाल्दै थिएँ कि त्यहींको पसलमा भाँडा माझ्दै गरेकी एक पहाडी महिला उहाँमाथि जोर-जोरले कराउन थालिछे, र निकै अभद्र गाली गर्न थालिछे। उसका अश्लील शब्दहरू बुवाअगाडि सुनेर म त अविश्वासले स्तब्ध भएको थिएँ। तर त्यो अन्त्य थिएन।

फर्कंदा धरानबाट माइक्रोमा चढ्यौं। बाआमा अगाडिको सीटमा बस्नुभयो, म पछाडिकोमा। बाटामा एकमाथि अर्को पहाडीले आमाको आँखैनिर औंला तेर्साउँदै सर्न र उभिरहेको पहाडीलाई सीट दिन भन्दै थिए। सीट त थिएन, र त्यही भएर खलासीले चाहिं केही भनिरहेको थिएन। तर ती पहाडीहरूले अरूलाई केही नभनी अचम्मको पाराले आमाको आँखाअगाडि औंला घुमाउँदै जोर-जोरले हप्काइरहेका थिए। त्यसले पहिला पहिला काठमाडौं जाँदा रात्री बसमा मलाई पहाडीहरूका लागि सीट छोड्न बाध्य बनाउने गरिएको कुरा झल्झली याद दिलाइरहेको थियो। मेरी आमा रोजा पार्क थिइनन्। उहाँ विरामी हुनुहुन्थ्यो, नभए त उहाँ आफैंले सीट छोडेर कतै भूईंमा बस्नुहुन्थ्यो, आखिर जीवनभरि उहाँले मलाई त्यही सिकाउनुभएको थियो। तर पहाडीहरू रोकिएनन्। ती सबका बाबजूद बुवाले पनि केही बोल्नुभएको थिएन, पहाडी क्षेत्रमा केही बोल्दा हिंषा भड्किएला कि भन्ने डरले हो कि थाहा भएन। र त्यहाँ बुवा हुनुभएकाले म पनि चुप थिएँ। शायद तिनीहरू ती बृद्धको त्यहाँ कोही छैन भनेर सोचेर हुन् कि अझ हौसिएर बोल्दै गए। तिनीहरू अब चुप होला, अब चुप होला भनेर पर्खदै गर्दा दश-पन्ध्र मिनेटभन्दा बढी भइसक्यो, तर तिनीहरू झन् जोरले हप्काउन थाले। आखिरमा मलाई असह्य भयो, आफ्नै आँखाअगाडि आफ्नी आमामाथि भइरहेको दुर्व्यवहार देखेर म आफूलाई रोक्न सकिनँ। बुवाको उपस्थितिका बाबजूद म तिनीहरूसँग बाझिन पुगें। शुरूमा तिनीहरू दुई जना थिए, तर अरु पहाडीहरू पनि उनीहरूतिर लागे। अन्त्यमा इटहरीमा हामी ओर्लियौं, तर बाआमालाई लिएर म अर्को सार्वजनिक यातायात चढ्ने हिम्मत गरिनँ। पच्चीस सय रूपैयाँ तिरेर त्यहाँबाट एउटा मारूती भ्यान रिजर्ब गरी बाआमालाई लिएर राजबिराज फर्कें। उहाँहरूलाई पछि पनि धरान पठाउनु पर्दा मैले मारूति नै रिजर्व गरेर पठाएँ।

पहाडीहरू मानवताविरुद्धको अपराधमा, रंगभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र संगठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरें।

[GO TO CONTENTS]

३१. निर्विकल्प गोरेटो

मधेश यात्राबाट फर्केपछि नेपालका पछिल्ला घटनाहरू बारे मैले निकै सोचें। यात्राले मलाई दिएको झड्का, त्यस क्रममा मैले देखेको अति नै निन्दनीय स्थिति, कहिले समाप्त नहुने गरी बढ्दै गएको मधेशीमाथिको रंगभेद र अन्याय, पहाडीहरूका अनियन्त्रित आक्रमण र षड्यन्त्रहरू, र आसन्न मानवीय संकटले मलाई सोच्न बाध्य बनाएको थियो।

एक्काइसौं शताब्दीमा नेपाल बाहेक अन्यत्र कतै छालाको रंगले त्यतिका महत्व राख्ने गरेको मैले देखिनँ। कालो छाला हुनु नेपालमा जतिको खतरनाक अरू कहीं थिएन। मधेशी हुन् कि काला वर्णका अरू कोही, नेपालमा तिनीहरू मानवका श्रेणीमा पर्दैनथे। नेपालीहरूले अफ्रिकाबाट आएकाहरूलाई बाँदर भन्ने गरेको जहाँतहीं सुनिन्छ। कुनै ककशियन ह्वाइट भएको खण्डमा नेपालीहरूले आफ्नो घरमा बस्न दिन्छन्, एउटै टेबलमा खान दिन्छन्, उनीहरूको चाकडी नै गर्न पुग्छन्, तर एउटा नेग्रोका लागि तिनीहरूबाट त्यही अपेक्षा गर्न सकिन्छ? ती नेग्रोसँग डलरको खजाना जोडिएको थाहा पाएमा वा ऊबाट कुनै स्वार्थ पूरा हुने देखे मात्र। नत्र नेग्रोलाई नेपालीहरूले घरमा बास दिनु र उनीहरू सँगै खानु त परको कुरा हो, उनीहरूसँग हात मात्र मिलाउनु परे पनि नेपालीहरू हात धुँदाधुँदा आधा साबुन नै खर्चिन्छन्।

नेपालीहरूले पश्चिमेली पर्यटकहरूलाई कसरी बोलाउँछन्? गोरा भएमा कुइरो/खैरे र काला भए, हब्सी। साधारण बातचीतमा कहिले पनि पर्यटक भनेर बोलाउँदैनन्, नेपालीका लागि पर्यटक हुनु, वा पोलिस, ग्रीक वा केनेडियन हुनुले माने राख्दैन, खाली पर्यटकको छालाको रंगले माने राख्दछ, त्यही भरमा उनीहरूले पर्यटकलाई बोलाउने पनि गर्दछन्। भारतीयहरूका लागि त धोती शब्द पर्यायवाची नै बन्न पुगेको छ, तिनीहरू कहिले पर्यटक हुँदैनन्, मात्र धोती। अब पत्रपत्रिका र किताबहरूमा पनि भारतीय शब्द खोज्दै त्यसलाई धोतीमा बदल्न मात्र बाँकी छ। र पनि नेपालीहरू आफ्नो उत्कृष्ट आतिथ्य सत्कारको कुरा गर्छन्। आतिथ्य सत्कार कुन चरीको नाम हो, यी नेपालीहरूलाई त थाहा पनि छैन।

तिनीहरूको ‘आतिथ्य सत्कार’ नेपाल एयरलाइन्स्‌मा पनि देख्न सकिन्छ। एकपटक ओशाकाबाट काठमाडौं आउँदा मैले पनि अनुभव गर्न पाएको थिएँ। उनीहरूको रंगभेदी दुर्व्यवहारबाट त म यति आजित भएँ कि सस्तो र सुलभ भए पनि त्यसपछाडि म नेपाल एयरलाइन्स्‌मा यात्रा गर्नबाट डराउँथे। तैपनि धेरै पछि दिल्लीबाट काठमाडौं आउन एक पटक मैले फेरि नेपाल एयरलाइन्स्‌ नै चढ्नुपर्यो। खचाखच भरिएको त्यो विमानमा, दुर्भाग्य, दुई जनालाई एउटै सीट पारेर टिकट काटिएको रहेछ, मेरो सीट नम्बरकै टिकट लिएर अर्का पहाडी म बसेको सीटनिर आएर टिकट देखाउँदै उठ्न भने। काठमाडौं जाने रात्री बसहरूमा त्यसरी नै कैयौं पटक पहाडीहरूका लागि सीट छोड्न लगाइएको कुरा नसम्झी बस्न सकिनँ। तर त्यो बस थिएन, अलपत्र पर्नुको साटो बसमा त पहाडीहरूको लात्ती र गाली खाँदै भए पनि भूईंमा बसेर यात्रा गर्न सक्थें तर बिमानमा त भूईंमा बसेर जान मिल्दैनथ्यो। के होला भन्ने डरले म अलि आत्तिएको थिएँ। म एक विमान परिचायिकालाई आफ्नो टिकट दिएँ र उनी केही मिलाउनका लागि क्याबिनतिर गईन्। त्यतिकैमा अर्की परिचायिका आईन् र कुरो सुल्झाउन मसँग टिकट माँगिन्। मैले टिकट अर्की दिदीलाई दिएको र उनी त्यो लिएर क्याबिनतिर गएकी भनेर भनें। तर उनले मलाई गाली गर्न थालिन्, ममाथि कराउन थालिन्, म झूठो बोलेको आरोप लगाउन थालिन्, र मलाई तुरुन्तै सीट छोड्ने र विमानबाट निस्किने आदेश दिइन्। विमानमा बसभन्दा बढी भीड र हल्लाखल्ला थियो र शायद त्यसले हो कि उनी निकै जोरले कराइरहेकी थिइन्। उनको त्यो जोरदार गाली र चिच्याहटले म अवाक् थिएँ। ‘हो, हो, टिकट अर्की दिदीलाई दिएको हो’ भनेर मेरो छेउमा बसेको अर्को पहाडी यात्रीको कुरा पनि त्यो झोंकमा उनले के सुन्थिन्? तर धन्य अर्की परिचायिका मेरो टिकट सही हो भन्दै समयमै आइन् र म त्यस दिन जोगिएँ। अर्का यात्रीलाई अन्यत्र कतै बसाइयो।

॰पहाडीहरूले आफ्नो जातीय सर्वोच्चताको अहंकारलाई व्यवहारमा मात्रै देखाउँदैनन्, त्यसलाई उत्तिकै प्रतिरक्षा पनि गर्छन्। त्यो तिनीहरूको लेख, पत्र-पत्रिका, साहित्य-रचना र प्रकाशन-प्रसारणका सामग्रीहरूमा छयाप्पछयाप्ती देख्न सकिन्छ। कति त हिटलरकै जात आफूहरू भएको भन्दै गौरव गर्दै हिँड्छन्, नाजीवादको समर्थन गर्दै हिँड्छन् र नेपालमा पनि नाजीवाद झैं नीति लगाउनु पर्नेमा जोड दिन्छन्। वी.\ पी.\ कोइरालाले आफ्नो उपन्यास ‘हिटलर र यहूदीहरू’मा हिटलरको कुकृत्यलाई आफ्नो धर्मशास्त्रको आधारमा चोख्याउन मात्र खोजेका छैनन्, हिटलरले कुनै यहूदी नमारेको वा नमार्न लाएको भन्दै होलोकास्टलाई नै अस्वीकार गर्न खोजेका छन्। आश्चर्य छैन, धेरै पहाडीहरू हिटलरबाट प्रेरणा लिन्छन् र काला वर्णको नरसंहार र सविनाशमा विश्वास राख्छन्। यो धेरै पहाडीहरूको ‘इड’मै छ। नेपालमा मैले पढाउने गरेको कलेजका एक जना पहाडी लेक्चररले, कैयौं पटक, घंटौंसम्म यहूदीहरू मारिएको ठीक नै भएको र हिटलर त्यस मानेमा सही भएको बहस गर्थे। तर्कका रूपमा उनले शेक्सपियरको मरच्यान्ट अफ् भेनिस्‌को प्रसङ्ग पेश गर्थे। मैले त्यो रचना त्यसपूर्व एक भन्दा बढी पटक पढेको भए तापनि उनले भनेको दृष्टिकोणबाट मैले कहिले सोचेको थिइनँ।

पहाडीहरूको जातीय अहंकारतल अरू समुदाय र धर्मका जनताहरू इतिहास भरि नै पिल्सिरहे। इसाई र मूस्लिमहरू तिनीहरूको हातबाट कठोरभन्दा कठोर यातना भोग्न शुरुदेखि नै बाध्य भए। पहाडीहरूले तिनीहरूमध्ये कैयन्‌लाई देश निकाला गरे, कैयौंका हत्या गरे र कैयन्‌लाई कानूनमै अछुत र बाहिरका भनेर व्यवहार गरे। हालै सन् २००९ को मई २४ मा पहाडीहरूले काठमाडौंको क्याथोलिक चर्चमै बम फुटाए, र दुई जनाको हत्या गरे। मूस्लिमहरूले पनि पहाडीहरूबाट त्यस्तै बारम्बार आक्रमण सहनु परेकै छ।

यी पहाडीहरू रंगभेदी मात्र हुँदैनन, अधिकांश उग्र-अनुदारवादी पनि हुन्छन्, लोकतन्त्र र मानवता विरोधी पनि। लोकतान्त्रिक मूल्यमान्यताहरूमाथि, अरू समुदाय र संस्कृतिको अस्तित्वमाथि यिनीहरूले आक्रमण गर्ने गर्छन्। भूमिपुत्र मधेशीमाथि तिनीहरूले गर्दै आएका आक्रमणको साक्षी त इतिहास छँदैछ, तिब्बती शरणार्थीहरूमाथि पनि तिनीहरूले आफ्नो आक्रमणलाई उग्र बनाउँदै गएका छन्। भुटानी ‘शरणार्थी’माथि त्यस किसिमको उग्र आक्रमण कतै देख्नु भएको छ? किनकि भुटान, बर्मा वा भारतका उत्तरपूर्वबाट आएका भए पनि तिनीहरूले आफ्नो जातिलाई चिन्छन्, सर्वत्र आफ्नो जातीय वर्चस्व कायम राख्न चाहन्छन्। तर अरू समुदायको भएपछि हिंषामा ओर्लिन्छन्।

यी पहाडीहरू नेपालको पश्चिम पहाडबाट कुनै भाइरस झैं पूर्वतिर फैलिँदै गएका हुन्, भारत, भुटान र वर्मामा आफ्नो खुट्टा लम्पसार पार्न पुगेका हुन्। र तिनीहरू जहाँ जहाँ गए, त्यहाँ समस्या खडा गर्दै गए। मधेशमा मुख्यत: सन् १९५० को दशकदेखि तिनीहरू मधेशीहरूको जमीन हड्प्दै सर्न थालेका हुन् र त्यहाँ आफ्नो नेपाली साम्राज्यको पकड बढाउँदै गएका हुन्। झापा, चितवन, नवलपरासी जस्ता जिल्लाहरू त लगभग उनीहरूले गिँडिसके, अब मधेशलाई अरू टुक्राटुक्रा पारेर पूरै गिँडने सुरमा छन्। त्यही भएर तिनीहरू एकमाथि अर्को षडयन्त्र रच्दै आएका छन्, मधेशीहरूलाई समाप्त पार्न एकमाथि अर्को ‘नियम’ बनाउँदै आएका छन्।

पहाडीहरूले नेपालमा औंलाको छाप र फोटो सहितको मान्छेहरूको रेकर्ड राख्ने र परिचयपत्र वितरण गर्ने योजना बनाएका छन्। सबै नेपालीले पासपोर्ट अनिवार्य बोक्नु पर्ने नियम ल्याउने सुरमा छन्। यी योजनाहरू आफैंमा त्यति गलत हुने थिएनन् तर यिनीहरूको मुख्य उद्देश्य त्यसमा मधेशीहरूलाई छाँट्नु हो, मधेशीहरूलाई अनागरिक बनाउनु हो, मेन अफ् नो ल्यान्ड। ती परिचयपत्र वा पासपोर्ट पहाडीहरूलाई दिइनेछ, चाहे त्यो भुटानका हुन् कि वर्माका, तर लाखौं मधेशीहरू त्यसबाट वंचित गरिनेछ।

यस वर्ष सेप्टेम्बरमा सरकारले मतदाता नामावली तयार गर्ने योजना ल्याए, जसमा केवल नागरिकता बोकेकाहरूलाई मात्र समावेश गरिने नियम थियो र निर्वाचन आयोगले नामावली तयार पनि गर्न थाल्यो, लाखौं मधेशीहरूलाई मतदानको अधिकारबाट वंचित गर्दै।[23] लाखौं मधेशीहरूलाई पहिला नागरिकताबाट वंचित गरियो र अब मतदानको अधिकारबाट पनि। पाँच दशकदेखि मतदान गरेका वृद्धहरू पनि नागरिकताको अभावमा अबदेखि मतदान गर्न पाउने छैनन्। मतदाता नामावलीलाई परिचय पत्र बनाउन र अन्य कार्यमा प्रयोग गरिने कुरा सरकारले बताउँदै आएको छ, जसले गर्दा लाखौं मधेशीहरू अनागरिक हुन बाध्य हुनेछन्, अपराधी हुन बाध्य हुनेछन्, आफ्नै घरमा पराया साबित हुनेछन्, आफ्नै भूमिमा बस्दा गैरकानूनी भएको ठहराइनेछ। नागरिकता हुने धेरै मधेशीहरू पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पहाडी कर्मचारीहरूको सास्ती झेल्न चाहने छैनन्, जसले गर्दा पहाडीहरूको षडयन्त्र सफलतातिर झन चाँडोचाँडो लम्किनेछ।

नेपाल सरकारले मधेशमा कठोर विशेष सुरक्षा योजना लागू गरेको छ, जसले गर्दा सरकारले विना कुनै प्रमाण र छानबीन नै मधेशीहरूलाई जेलमा कोच्दै छन्, छानीछानी गोली ठोक्दै छन्। सुरक्षा प्रणालीका नाममा पहाडीहरूले जातीय नरसंहारको ताण्डव गरिरहेका छन्। त्यसलाई हेर्ने, त्यसबारेमा बोल्ने कुनै एनजिओ-आइएनजिओ छैनन्, कुनै मानवअधिकारवादी संघसंस्था छैनन्, तिनीहरू त पहाडमै रमाएर बसेका छन्, हेर्ने एक-दुई संस्थाहरू पनि सरकारले बन्द गर्न लगाए। नेपाल सरकारले मधेशमा भएका संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयहरू बन्द गर्न संयुक्त राष्ट्रसङ्घलाई दबाब दिए। जनकपुर र धनगढीका शाखाहरू त गत सेप्टेम्बर मै बन्द भए, बिराटनगर र नेपालगंजमा भएका कार्यालयहरू पनि बन्द नै गरिसके। यसरी मानव अधिकारको उलङ्घन भएको हेर्ने एक-दुई निकायहरू पनि बन्द भएर गए वा लङ्गडो बनेर बसे, र कोही नबोल्ने नदेख्ने स्थिति बनाई पहाडीहरूले मधेशमा आफ्नो नरसंहारको योजनालाई अगाडि बढाउँदै लगे।

पहाडीहरूले बेलगाम मधेशीहरूको हत्या गर्दैछन्। मधेशमा भएको सन्ताउन्न जनाको गैरन्यायिक हत्याको रिपोर्ट सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको थियो।[24] तर वास्तविक स्थिति त्योभन्दा कैयौं गुणा भयानक छ, सुरक्षा बल नरसंहार गर्न नै उतरेका छन्। तिनीहरू जसलाई चाहे त्यसलाई गोली ठोक्छन्। त्यही क्रममा मधेशका लागि आवाज उठाउनेहरू सखाप हुँदैछन्, उनीहरूले बुद्धिजीवी र महत्वपूर्ण व्यक्तिहरूलाई समाप्त पार्दै छन्।

पहाडीहरूले मधेशीलाई अनागरिक बनाउन एकपछि अर्को ‘नागरिकता विधेयक’ ल्याउने गरेका छन्, मधेशीहरूलाई आफ्नै भूमिबाट हटाउन एकपछि अर्को ‘भूमि सुधार’का कार्यक्रमहरू ल्याउने गरेका छन्, मधेशीहरूलाई सखाप पार्न एकपछि अर्को ‘सुरक्षा योजना’हरू ल्याउने गरेका छन्। तर मधेशीहरूलाई बचाउने, तिनीहरूको समर्थनमा बोल्ने कोही छैन, तिनीहरू पहाडीको बन्दुकको नोकमा त्यसै निसासिएर मरिरहेका छन्। तिनीहरू भूमिहीन, पहिचानहीन, र राज्यहीन बनेर मरिरहेका छन्।

पहाडीहरूले आज हाम्रो जमीन र साधन-श्रोत हड्पेका छन्, हाम्रो नागरिकता र मतदानको अधिकार खोसेका छन्, हाम्रो आत्मसम्मानलाई बलत्कार गरेका छन्, र हाम्रो प्राणलाई हर्ने गरेका छन्। तर आज हामी चुप बस्यौं भने, हामी लडेनौं भने, पहाडीहरूले चाहे झैं यस भूमण्डलबाट मधेशीहरू सदाका लागि लोप हुनेछन्। यदि हामी अझै चुप लागेर बस्यौं भने पहाडीहरूले भूमण्डलबाटै हाम्रो नामोनिशान मेटाइदिनेछन्। यदि हामीलाई आफ्नो अस्तित्व यस भूमण्डलमा कायम राख्नु छ भने, यदि हामीलाई यस भूमण्डलबाट लोप हुनु छैन भने, पहाडीहरूसँग डटेर लड्नुको अलावा अर्को कुनै बाटो छैन।

म अमेरिका बस्नै आएको थिएँ; सुन्दर घर, महँगा कार र विलासपूर्ण जीवन कै सपना थियो शायद। अमेरिकामा वैज्ञानिकको अति राम्रो जागिर थियो, वर्षेणी लगभग करोड रूपैयाँ नै पाउँथे, आफ्नो रिसर्च कम्युनिटिमा राम्रो इज्जत थियो, आधुनिक र विकसित देशमा स्वतन्त्रता र आत्मसम्मानका साथ बस्ने अवसर थियो, र विलासपूर्ण जीवन बिताउने हर सुखसुविधाहरू थिए। तर जहाँ मेरा लाखौं भाइबहिनीहरू भोक र अन्यायमा पिल्सिएर मर्न बाध्य भइरहेका थिए, त्यतिबेला अमेरिकी सैनिकका लागि एकमाथि अर्को आधुनिक उपकरणहरू विकास गर्ने कुराले अर्थ राख्दैनथ्यो, जहाँ मेरा लाखौं भाइबहिनीहरू दुईछाकको खाना र आधारभूत मानवअधिकारबाट वंचित थिए, त्यतिबेला अत्याधुनिक शोध गर्नु र लामा-लामा शोधपत्रहरू लेख्नुले कुनै अर्थ राख्दैनथ्यो, आफ्नै घर आगोमा दनदनी बलिरहेको बेलामा अमेरिकामा कफी पिउँदै आनन्द लिनुले कुनै अर्थ राख्दैनथ्यो। पहाडीहरूले हाम्रा घर लुट्दा, हाम्रा भाइ-बहिनीको हत्या गर्दा, हाम्रा दिदी-बहिनीको इज्जत लिँदा, हाम्रो घरमा आगो लगाइदिँदा अमेरिकामा विलासी जीवन बिताउनुले कुनै अर्थ राख्दैनथ्यो। त्यही भएर मैले घर फर्कने निधो गरें, अन्यायविरूद्ध लड्नका लागि, रंगभेदविरूद्ध लड्नका लागि, आफ्नो पहिचानको रक्षाका लागि, आफ्नो अस्तित्वको रक्षाका लागि, आफ्नो भूमिको स्वतन्त्रताका लागि, र आफ्नो दाजुभाइ दिदीबहिनीको दासता अन्त्य गर्नका लागि।

सम्भव छ, अगाडिका मेरा बाटाहरू छुरस्य धाराभन्दा कम्ता हुनेछैनन्। सम्भव छ, नेपालमा शासकवर्गले मलाई जेलमा कोचिदेलान्, अनेकौं अभियोग लगाउलान्, मेरो कोठामा कुनै केटी वा हातहतियार राखेर फसाइदेलान्, मिडियामा तिनीहरूले गिद्ध झैं मलाई चिथोर्लान्, मेरो चरित्रहत्या गर्न अनेकौं काण्डहरू रच्लान् वा मेरो जीवन नै कायरतापूर्वक लेलान्। आखिर नेपालमा त कायरहरूको जमात न छ। अनेकौं अस्त्रले सुसज्जित तिनीहरू अश्वत्थामा जस्तै अँध्यारोमा कायरता देखाउलान्, तर नेपाली जातिको हविगत पनि अश्वत्थामा जस्तै हुनेछ, युगौंयुगसम्म आफ्नो कायरताको कलंकको घाउ बोकेर तिनीहरूले हिँड्नुपर्नेछ। वीरलाई त वीरले नै चिन्न सक्छ, वीरको कदर प्रतिद्वन्दी भएपनि वीरले नै गर्न सक्छ। वीर त वीरसँग रणभूमिमा उतर्न चाहन्छ, छल-कपट गरेर रणभूमि बाहिरै मराउन चाहन्न। तर नेपालमा त प्रतिद्वन्दीको मुखमा पट्टी बाँधिदिएर तर्क जितें भन्ने बुद्धिजीवीहरू छन्, कलमै खोसेर तर्क जितें भन्नेहरू छन्। तर जे भए पनि ती कुराहरू अति सामान्य लाग्छन्। मातृभूमि, आफ्नो स्वतन्त्रता र आत्मसम्मानका लागि ज्यानै दिनु परे त्यो मेरो लागि सौभाग्यको विषय हुनेछ, गौरवको विषय हुनेछ, खुशीको विषय हुनेछ, र मलाई त्यसको सन्तोष हुनेछ। दुनियाँले मबारेमा जेसुकै सोचून् मेरो लागि केवल सत्यले मात्र माने राख्नेछ चाहे त्यो सत्य मसम्मै सीमित किन न होस्।

सेप्टेम्बरको अन्त्यमा म कनकर्डको पुरानो उत्तरी पुल हेर्न गएँ, ‘शँट हर्ड अराउन्ड द वर्ल्ड’को ठाउँ। त्यो त्यही ठाउँ थियो जहाँ अमेरिकी स्वतन्त्रता संग्रामको शुरुवात भएको थियो, जहाँ अमेरिकी स्वतन्त्रता सेनानीहरूले ब्रिटिश साम्राज्यविरुद्ध प्रथमपटक सन् १७७५ को अप्रिल १९ मा गोली चलाएर क्रान्तिको शुरुवात गरेका थिए र अन्त्यमा अमेरिकालाई स्वतन्त्रता दिलाएका थिए। म ती वीर स्वतन्त्रता सेनानीहरूको भूमिलाई नियालें, उनीहरूको योगदानलाई स्यालूट गरें र सोचें — ‘मधेशीहरू कहिले स्वतन्त्र होलान्? मधेशमा नेपाली साम्राज्यको अन्त्य कहिले हुनेछ? कहिले त्यो महान् अन्तिम क्रान्ति हुनेछ?’ तर त्यहीं फलकमा लेखिएका इमर्सनका शब्दहरूले म भित्र केही ऊर्जा र जिम्मेवारीको संचार गरिरहेका थिए; त्यहाँ लेखिएको थियो — ‘हरेक क्रान्ति पहिला एउटा मान्छेको विचारकै रुपमा रहेको हुन्छ।’

[GO TO CONTENTS]

३२. स्वशासनको अधिकार

यहाँ आकाशबाट कोही झरेका छैनन्, सबै यही भूमिमा जन्मेका हुन् र हरेकसँग आफू जन्मेको भूमिमाथि नैसर्गिक अधिकार छ। म पनि यही भूमिमा जन्मेको हूँ, र मैले आफ्नो भन्नसक्ने भूमि हुनै पर्छ। म भारतीय होइन, नेपालले मेरो अस्तित्व अस्वीकार्दै आएको छ, भन्ने म कहाँको हूँ? म मधेशको हूँ र मधेशमाथि मेरो नैसर्गिक अधिकार छ। र त्यो अधिकारबाट वंचित गर्न खोज्ने जोसुकैसँग म लड्न तयार छु। त्यो अधिकारबाट वंचित गर्ने नेपाल सरकार को हो?

र कोही पनि आफ्नो इच्छाविरुद्ध किन अरु कसैबाट शासित होऊन्? संसारको कुनै पनि भूमि त्यहाँको बहुसंख्यक मान्छेको सहमति विना कसैद्वारा शासित हुनुहुन्न। राज्य र सरकारको आवश्यकता, अस्तित्व, प्रकृति र आबद्धता जनताले निर्धारण गर्नुपर्छ, राज्यले जनता निर्धारण गर्ने होइन। कुनै शासक आफ्नो मुखमा जमीन लिएर पैदा भएको हुँदैन कि भूमि उसको होस्, भूमि त्यसमा बास गर्ने हरेक प्राणीको हो। र तिनीहरूद्वारा नै राज्य र शासन निर्धारित गरिनुपर्छ।

र त्यस्तो राज्य र सरकार जसले हामीलाई दास र दोश्रो दर्जाका नागरिकको रुपमा राख्दछ, त्यससँग आबद्ध हुनुपर्ने वाध्यता नै के छ? त्यस्तो राज्यको नागरिक हुनुपर्ने आवश्यकता नै के छ? मैले आफूलाई नेपाल र नेपालीको नामले चिनाउनु पर्ने आवश्यकता नै के छ?

तिनीहरू भन्छन् — छुट्टै राज्यको माँग वैश्वीकृत दुनियाँमा पछाडि जानु हो र हामीले अग्रगामी भएर संकीर्ण नभई फराकिलो पाराले सोच्नुपर्छ। त्यसो भए, नेपालकै लागि किन मर्नुपर्यो त, नेपालकै सीमानामा गएर किन ज्यान दिनुपर्यो त? नेपालकै लागि लगानी, नेपालकै लागि काम किन गर्नुपर्यो त, जतिबेला विश्वका अन्य भागको आवश्यकता नेपालभन्दा निकै टड्कारो छ? के मैले अफ्रिकामा माटाका रोटी खाँदै गरेकाहरूका लागि काम गर्नुपर्ने होइन? नेपाल किन? यदि फराकिलो पाराले सोच्नुपर्ने हो भने नेपालको भौगौलिक, राजनैतिक र सांस्कृतिक सीमानामै सीमित किन? नेपाली भनेरै किन बस्ने, किन चिनाउने, त्यो परिचय नै किन बोक्ने? त्यो पनि त्यस्तो परिचय जसमा कुनै कुरा हाम्रो होइन, न भाषा, न संस्कृति, न पहिचान, न इतिहास न भूगोल।

तिनीहरूले हामीलाई सिकाउँछन् — नेपाल हाम्री आमा हुन्, उनको लागि हामीले प्राण दिनुपर्छ; नेपाल त चोखो कुमारी हुन् कहिले पनि कसैको वशमा नपरेकी। र अधिकांश मान्छेहरू त्यही रटेर हुर्कन्छन् र यति रट्‌छन् कि तिनीहरूको आफ्नो दिमाग शिथिल हुन पुग्छ, तिनीहरूको दिमागमा सदाका लागि तार जोडिए झैं तिनीहरू त्यसको तलमाथि केही हेर्नै सक्दैनन्। यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु — नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज रंडी हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ?

नेपाल हैन, मधेश हाम्री आमा हुन्, जसले हामी जन्मँदा खुट्टा टेक्न भूमि दिन्छिन्, खानलाई जीवनभरि अनाज दिन्छिन्, र मरेपछि अस्थि ढाक्न माटो। मधेश हाम्रो मातृभूमि हो, नेपाल होइन।

तिनीहरूले हामीलाई सिकाउँछन्, छुट्टै राज्यको विचार गलत हो। त्यो कसरी गलत हो? त्यो विचारलाई तिरस्कार गर्ने कुनै पनि प्रयास शासकहरूले हजारौं-लाखौंको हत्या गरेर तलवार र बारुदका भरमा लुटेको भूमिमा पकड जमाइराख्ने षडयन्त्र मात्र हो। यदि छुट्टै राज्यको विचार गलत हो भने अरू नै देशको अस्तित्वको आफ्नै आधार नै के? छुट्टै नेपाल किन? दक्षिण एशिया किन हैन, जसले नि:सन्देह रूपमा हामी सबैलाई विना कुनै थप ट्याग नै विश्वमा परिचय गराउन सक्दछ; साझा मानवतामा आधारित एक विश्व किन हैन? र त्यहाँ व्यवस्थापनको कठिनाइको कुरा आउँछ भने अलग मधेशलाई निश्चित् रुपले बढी राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ।

दास राखिराख्नुको गुढ़-ज्ञान स्वतन्त्रताको विचारलाई ‘टबू’ बनाइदिनु हो। पहाडीहरूले मधेशीलाई नेपाली साम्राज्यको दास बनाइराख्न प्रयोग गरेको सबभन्दा ठूलो अस्त्र हो मधेशीलाई आफ्नो पहिचानबारे नै अनभिज्ञ राख्नु, आफ्नो पहिचानमा कहिले गौरव अनुभव हुन नदिनु, कहिले एक हुन नदिनु, र स्वतन्त्रताको विचारलाई तिरस्कार गर्नु।

साम्राज्यवादीहरूले स्वतन्त्रताका लागि बोल्ने, रंगभेद र भेदभाव अन्त्य गर्न खोज्ने जो सुकैलाई पनि बदनाम गर्ने, निरूत्साहित गर्ने, अनेकौं आरोपहरू लाउने गर्दछन्। त्यसले गर्दा अधिकांश मान्छेहरू राज्य विरूद्ध र स्वतन्त्रताको पक्षमा बोल्ने खतरा नै उठाउँदैनन्। हालमा मधेशका केही समूहहरूले ‘मधेश छोड’को नारा दिदैं पहाडी साम्राज्यवादीहरू फिर्ता हुनु पर्ने माँग राख्दै आएका छन्, तर त्यसलाई पहाडी शासकवर्गले अवहेलनाका नजरले हेर्दै बदनाम गर्दै हिँडेका छन्। तर त्यसमा के गलत छ? गांधीले पनि त अंग्रेजहरूलाई ‘भारत छोड’ को नारा दिएका थिए, अमेरिकनहरूले पनि त ‘साम्राज्यवादी, अमेरिका छोड’ को नारा दिएका थिए, भन्ने मधेशमा किन गलत? आफ्नो स्वतन्त्रता र स्वराजका लागि लड्नु किन गलत?

गाँधीले गरे, मंडेलाले गरे, र म पनि त्यही गर्दै छु। तिनीहरूले आफ्नो देशको स्वतन्त्रताका लागि लडे, आफ्ना देशबन्धुका आत्मसम्मानका लागि लडे, र म पनि मधेशको स्वतन्त्रताका लागि लड्‌दैछू, म पनि मधेशीहरूको आत्मसम्मानका लागि लड्‌दैछु, म पनि मधेशमा नेपाली साम्राज्यको अन्त्यका लागि लड्‌दैछु, म समानता र न्यायका लागि लड्‌दैछु। म कुनै गलत गरिरहेको छैन, र यी कारणहरूका लागि लडिरहेका अरू कोही पनि गलत छैनन्, भले नेपाली शासकवर्गले जेसुकै लांछना लगाऊन्। गान्धी अंग्रेजविरुद्ध लडेर पनि अंग्रेजहरूको सम्मान पाए, नेल्सन मन्डेला गोराहरूविरुद्ध लडेर पनि तिनीहरूको नजरमा उच्च रहे, मार्टिन लुथर किङ काला भएपनि अमेरिकामा मान्य रहे, त्यसको एक प्रतिशत पनि उदारता नेपाली समाजमा देखिन्न, दया लाग्दछ नेपाली समाजको अवस्था र अनुदारता देखेर। नेपालमा त प्रशान्त तामाङहरू पुजिन्छन्, भगवानै मधेशी बनेर आज आए पनि, ऋतिक रोशन काण्डमा होस् कि नेपालगंजमा, कालो छाला भएका कारणले बेस्सरी पिटिनेछन्, उसको नागरिकता खोसेर जलाइनेछ, उसलाई भोटर लिस्टबाट हटाइनेछ, उसको जमीन हड्पिनेछ, उसको घर जलाइनेछ र बन्दुकको नाल छातीमा राखिनेछ।

भारतमा गांधीले सन् १९४२ मा ‘भारत छोडो आन्दोलन’ गरे, जसमा आज अरबौं जनताले गौरब गर्छन्। नेपाली शासकहरूलाई ‘मधेश छोड’ को नारा दिनुमाथि पनि कुनै दिन सबैले गौरब गर्ने छन्। ब्रिटिश साम्राज्यवादीहरूलाई भारत र अमेरिकाबाट फर्किन भन्नु झैं नेपाली साम्राज्यवादीहरूलाई मधेश छोड्न भन्नु पनि हो, कुनै फरक छैन, त्यसलाई अवहेलना गर्नुपर्ने कुनै आधार छैन। र नेपाली साम्राज्यवादीहरू मधेश छोडेर फर्किनुपर्छ, जसरी ब्रिटिश साम्राज्यवादीहरू भारत र अमेरिका छोडेर फर्के, जसरी अन्य साम्राज्यवादीहरू अरू ठाउँबाट फर्के।

नेपाली शासकविरुद्ध दिइएको ‘मधेश छोड’ को नारा विदेशी शक्ति, नवसाम्राज्यवादी र वैश्विकरणका पक्षधरहरू पनि स्वीकार्न तयार हुँदैनन्, तर तिनीहरू आफ्नै देशतिर फर्केर हेर्ने चेष्टा किन गर्दैनन्? ती विकसित देशहरू गरीब देशका नागरिकहरूलाई त्यहाँ बसाइँ सर्न दिन्छन्? तिनीहरू तेश्रो विश्वका देशहरूमा जति खेर पनि आउन सक्छन् र आएपछि केही सिक्का फालेर जतिखेर पनि भिसा लिनसक्छन् तर तिनीहरूको देशको हवाईअड्डामा आधा घंटा रोकिन वा त्यहाँबाट ट्रान्जिट गर्न समेत हप्तौंसम्मको कठिन प्रक्रियाबाट जानुपर्ने हुन्छ, पूरा इतिहासको सोधखोज हुन्छ, भएको पैसा-पैसा देखाउनुपर्ने हुन्छ र पनि तिनीहरूको देशमा पलभरि पाइला टेक्न पाइने-नपाइने कुरा निश्चित हुन्न । आफ्नो देशमा आएर नबसून् भनेर तिनीहरूले हरेक जाँचपडताल गर्छन्। ती विकसित देशहरूमा, अमेरिका र बेलायतमा, ‘नो इमिग्रेन्ट्‌स्’ भनेर ठूल-ठूला होर्डिङ्ग बोर्डहरू जहाँतहीं लगाएका भेटिन्छन्। यदि ती साधन-श्रोत र शक्तिले सुसम्पन्न विकसित क्षमतावान् देशहरूलाई आप्रबासी स्वीकार्य छैन भने, आफ्नो रोजीरोटी र जीवन नै आफूसँग भएको दुई-चार कठ्ठा जमीनले चलाउने मधेशीहरूले तिनीहरूको भूमिमा पहाडी आप्रवासीहरूलाई कसरी स्थान दिने? यदि ती बिकसित र आफूलाई स्वतन्त्र उदारबादी कहलाउने विश्वका महान् शक्तिशाली देशहरू आप्रवासीलाई आफ्नो भूमिमा स्वीकार्दैनन् भने, र समातिए तुरून्तै देश निकाला गर्छन् भने, मधेशीहरूले त्यही नीति अख्तियार गर्दा कसरी गलत हुन्छ?

जतिबेला गोर्डन ब्राउनले आप्रबासीलाई ‘यू आर नट वेलकम’ भनेर भन्छन्, जतिबेला डेभिड क्यामरनले ब्रिटेनको क्रिश्चयन इथो बचाउन आप्रबासीमाथि रोक लगाउने कुरा गर्छन्, जतिबेला फ्रान्सले हजारौं रोमा अधिबासीलाई देश निकाला गर्छ, अनि ठीक नै हुन्छ। तर पहाडीहरूले मधेशमा जग्गा हडप्दै त्यहाँका आदिबासी र भूमिपुत्रहरूलाई विस्थापित गर्दै जाँदा त्यसलाई मधेशीहरूले रोक्न खोज्नु अस्वीकार्य हुने? ती विकसित र उदारबादी भनाउँदा देशहरूमा बाहिरका मान्छेले नोकरी लिन लाग्दा पनि लामो प्रक्रियाबाट जानुपर्ने हुन्छ, पहिला साबित गर्नुपर्ने हुन्छ कि त्यो नोकरी त्यस देशका मानिसबाट खोसिइरहेको छैन। तर मधेशमा त पहाडीहरू आएर हाम्रा नोकरी मात्रै खोसेनन्, उल्टा हामीलाई नै प्रशासन, पुलिस र सैनिकमा लगभग प्रतिबन्ध नै लाइदिए! अनि ती साम्राज्यवादीहरू फर्केर जाऊन् र मधेशीहरूले स्वशासन गरून् भनेर सोच्नु कसरी उचित छैन?

पहाडीहरूले मधेशका मूलनिवासीहरू र आदिवासीहरूको जमीन षड्यन्त्रमूलक तरिकाले कहिले ‘भूमिसुधार’का नाममा त कहिले बल र छलपूर्वक हड्पदै मधेशमा बसेका हुन्। नेपाल सरकारले भारत, बर्मा र भुटानबाट पनि ‘नेपाली’हरू ल्याएर मधेशमा बसाए। यसले गर्दा मूलनिवासी मधेशीहरू आफ्नो भूमिबाट विस्थापित हुँदै गए। अहिले त झन चूरेभाँवर र खुकुरी दल जस्ता अनेकौं समूहहरू खुलेका छन् र मधेशीहरूमाथि आक्रमण गर्दै हिँडेका छन्, मधेशीहरूका गाउँका गाउँ जलाउँदै हिँडेका छन्। नेपालगंज, बिराटनगर र खजुरामा भएका घटनाहरूले मधेशीहरूको नश्ल नै समाप्त गर्ने पहाडी षड्यन्त्रको पर्दाफास भएको छ। रूवान्डाका हुटुहरूले गरे झैं पहाडीहरूद्वारा मधेशीमाथि हुँदै आएको नरसंहार रोक्न पहाडीहरू मधेशबाट फिर्ता हुनैपर्छ। यी पहाडीहरू मधेशमा हालमा बसाइँ सरेका हुन्, र पहाडमा तिनीहरूको आफ्नो जग्गा-जमीन, घरबार र नाता-गोता कायमै छन्। र तिनीहरू मधेशमा नेपाली साम्राज्यको शासन संयन्त्र स्वरूप मात्र आएका हुन्। यसले गर्दा मधेशमा नेपाली साम्राज्यको अन्त्यसँगै उनीहरू पहाड फर्किनु उचित पनि देखिन्छ। मधेशमा तिनीहरू भएसम्म, पहाडी प्रशासन, पुलिस र सैनिक रहेसम्म, मधेश कहिले पनि दु:खबाट मुक्त हुनसक्ने छैन, पहाडीहरू नफर्केसम्म आफ्ना सबै किसिमका अधिनायकवादहरू तिनीहरूले मधेशमा कायमै राख्नेछन्, त्यहाँ समानताको लागि कुनै नीति-नियम बनाउन र लागू गर्न कठिन हुनेछ, र कुनै किसिमको सरकार वा शासनप्रणालीले मधेशीलाई न्याय, अधिकार र स्वतन्त्रता दिन सक्षम हुने छैन।

र मान्छेहरूले त्यतिबेलासम्म स्वतन्त्रता प्राप्त गर्न सक्दैनन् जबसम्म उनीहरूको भूमि स्वाधीन हुँदैन, तानाशाह र साम्राज्यवादीहरूदेखि मुक्त हुँदैन। मधेशीहरू कहिले पनि लोकतन्त्र र स्वतन्त्रता प्राप्त गर्न सक्दैनन्, जति बेलासम्म मधेश स्वतन्त्र हुँदैन। त्यसको कुनै विकल्प छैन। त्यसको विरूद्ध कुनै तर्क छैन। त्यसको विरुद्ध कुनै तर्क गर्नु झूठो आश्वासन मात्र हो। त्यसको कुनै विकल्प पेश गर्नु अर्को षड्यन्त्र मात्र हो, स्वतन्त्रता ढाक्ने स्वर्णपत्र। स्वाधीनता बाहेक संसारमा अरू कुनै कुराले मान्छेको स्वतन्त्रताको ग्यारेन्टी गर्न सक्दैन।

नयाँ-नयाँ नियम-कानून बनाउन सकिन्छ, नयाँ संविधान लेख्न सकिन्छ, प्रान्तहरू गठन गर्न सकिन्छ, तर कुनै पनि कुराले पहाडीहरूको दुष्ट नियत, तिनीहरूको सोच, तिनीहरूको रंगभेदी र भेदभावी प्रकृति बदल्न सक्दैन। र जति बेलासम्म ती कुराहरू बाँकी रहन्छन्, जुनसुकै शासन प्रणाली भए पनि, जुनसुकै राजनैतिक व्यवस्था आए पनि, मधेशीहरूको दासता, दु:ख र शोषण जारी नै रहनेछ। आफ्नो सोच र दुष्ट नियत बदल्न नसक्ने अरु कसैको असक्षमताको शिकार मधेशीहरू किन भइरहून्? मधेशीहरू त दुई शताब्दीसम्म दु:ख झेले र त्यो घटनुको साटो दिनानुदिन वढ्दै छ, पहाडीहरूको उग्र-अन्धराष्ट्रवाद र मधेशीप्रतिको घृणा र तिरस्कार अविरल उकालो लागेसँगै।

यदि कुनै नियम-कानून, कुनै संविधानको पानाले समस्या हल गर्नसक्ने भए, पछिल्ला संविधान अनुसार पनि मधेशीहरू नागरिकताका लागि योग्य थिए, अनि किन लाखौं मधेशीहरू नेपाली नागरिकताबाट वंचित रहे जब भुटानी र वर्मेलीहरूले सजिलै पाए? र एक पटक दिइसकेको अधिकार वा नागरिकता पनि पहाडीहरूको दयामा टिक्ने गर्दछ, उनीहरू जतिबेला चाहन्छन्, खोस्दछन्। सन् १९९७ मा मधेशीहरूलाई सरकारको सिफारिशमा दिइएको पैंतीस हजार नागरिकतालाई सर्वोच्च अदालतले बदर गर्यो। तिनीहरूले जति बेला पनि, हामीले वैधानिक रूपमा एक पटक पाइसकेको अधिकार पनि खोस्न सक्छन्, हाम्रो धोती नै खोल्न सक्छन्।

मधेशको स्वतन्त्रताले मात्र हामीले आफ्नो अधिकार सदाका लागि पाउनेछौं, कहिले नखोसिने गरी। त्यसले मात्र हामीलाई देशभित्र र बाहिर पहिचान दिनसक्छ, एक प्रश्नरहित पहिचान। नेपाल र नेपालीसँग हाम्रो पहिचानको टाढा-टाढासम्म कुनै साइनो छैन, कुनै समानता छैन, कुनै सामीप्यता छैन, आफ्नोपनको भाव दिने कुनै कुरा छैन। नेपाली बन्ने र देखिने लाखौं प्रयासका बाबजूद, जतिचोटि संविधान लेखिए पनि, जुनसुकै शासन-व्यवस्था आए पनि, पहाडीहरूले हाम्रो पहिचानमाथि औंला ठडाइरहनेछन्, हाम्रो नागरिकता माँगिरहनेछन्, हाम्रो नागरिकता च्याँतेर आगोमा फालिरहनेछन्। स्वतन्त्र मधेशले मात्र मधेशीहरूलाई अशंकनीय राष्ट्रियता दिन सक्नेछ, एउटा राष्ट्र दिन सक्नेछ जसले हाम्रो भाषा, भेष, संस्कृति र पहिचान विश्वमा झल्काउन सक्नेछ। र मधेश स्वतन्त्र भएपछि मात्र कसैले हाम्रो राष्ट्रियता माथि पुन: प्रश्न गर्न सक्ने छैनन्, हाम्रो आत्मसम्मानमा चोट पुर्‍याउन सक्ने छैनन्, र हामीलाई दास बनाउन सक्ने छैनन्।

तर शासकवर्गका केहीले अहिलेको आधुनिक समयकालमा मधेशको स्वतन्त्रता खोज्नु समयसापेक्ष नभएको कुरा गर्छन्। आफ्नो दासताबाट मुक्त हुनु, साम्राज्यवादी शक्तिहरूबाट स्वतन्त्र हुनु, हरेक कालमा मान्छेको नैसर्गिक अधिकार र कर्तब्य हो। स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन। र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्बी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे। र मधेशीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेशलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ।

त्यसै गरी केहीले स्वतन्त्र मधेश निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन्। क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो। माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ। जनसंख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका करीब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछ; ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो। सबै दृष्टिले, मधेश विशाल छ, मधेश महान् छ।

[GO TO CONTENTS]

३३. स्वतन्त्रता संग्राम

स्वतन्त्रताको यस संघर्षको अन्त्य स्वतन्त्रता बाहेक अरू केही हुनै सक्दैन। यो युद्ध त्योभन्दा कममा रोकिनै सक्दैन। या त स्वतन्त्रता छ या त दासता, कि मधेशीहरू स्वतन्त्र हुनेछन् कि दासतामा पिल्सिरहने छन्, बीचमा केही छैन। कुनै सम्झौता, कुनै पडाव, कुनै विराम दासताको अर्को रूप मात्र हुनेछ, स्वर्णपत्रले सुशोभित दासता जसलाई पहिचान गर्न र जसबाट मुक्ति पाउन झनै कठिन हुनेछ। त्यो हाम्रो स्वतन्त्रता संग्रामको गर्भपात हुनेछ, पूर्ण स्वतन्त्रताको सपनामाथि बज्रपात हुनेछ, रंगभेद अन्त्य गर्ने हाम्रो आशाको कुठाराघात हुनेछ।

र, स्वतन्त्रताको यस संग्राममा हामीलाई मुक्त गर्न आकाशबाट कुनै देवदूतहरू झर्ने छैनन्, कुनै मसीहाहरू आउने छैनन्। यदि हामीलाई स्वतन्त्रता चाहिएको हो भने, हामीले लड्नै पर्छ। यसको कुनै विकल्प छैन। यदि हामीलाई चाहिएको हो भने हामीले नै गर्नुपर्छ, अरू कसैले होइन। अरूसँग आशा गर्नु व्यर्थ मात्र नभई खतरनाक पनि छ, आफ्नो स्वतन्त्रताका लागि अरूको मुख ताक्नु प्रत्युत्पादक छ।

हामी अझै संयुक्त राष्ट्र संघ र एनजिओ/आइएनजिओले मधेशीका लागि केही बोल्ला भनेर आशा गर्नु व्यर्थ छ। हामी कोसँग न्यायका आशा गर्दैछौं? जसले डार्फुरमा जातीय संहार हुनदियो? यदि उनीहरूसँग मानवअधिकार बारे केही सरोकार भए पहाडीहरूले मधेशीको हत्या गर्दै सफाया गर्दा चुप लाग्ने थिएनन्। यदि तिनीहरूसँग केही सरोकार भए हाम्रा थारू भाइ-बहिनीहरू एक्काइसौं शताब्दीमा पनि पहाडीका गुलाम बन्ने थिएनन्। के तिनीहरूको एजेण्डा, तिनीहरू कसका लागि काम गर्छन्, अझै कुनै रहस्यको विषय हो? नेपालमा आफूलाई देवदूत झैं चित्रित गर्ने भारत, चीन, अमेरिका वा यूरोपियन देशहरूको स्वार्थ कुनै रहस्यको विषय हो? विश्व बैंक वा एशियाली विकास बैंक जस्ता दातृ संस्थाहरूको एजेण्डा अझ पनि कुनै रहस्यको विषय हो? तिनीहरू सबै आ-आफ्नो स्वार्थका लागि पाइला राख्छन् र हामीलाई आफ्नो स्वार्थ पूर्ति गर्ने माध्यम बनाउँछन्। अल्पसंख्यकको अधिकारको कुरा, लोकतन्त्रको सुदृढीकरणको कुरा, मानवअधिकारको कुरा, मैत्री र सद्‌भावको कुरा, सहायता र उदारताको कुरा सबै तिनीहरूले आफ्नो स्वार्थ पूर्ति गर्न प्रयोग गर्ने औजारहरू मात्र हुन्।

अमेरिकाले लोकतन्त्र त्यहीं निर्यात गर्छ जहाँ तेल हुन्छ, जहाँ बन्दुक र बारुदको माँग हुन्छ। गरीब र अहिंषावादीहरू, जसले उनीहरूलाई बजार दिन सक्दैनन्, उनीहरूलाई लोकतन्त्रको आवश्यकता कहाँ हुन्छ र? तेल र बजारको अभावमा, मधेश र मधेशीहरूको समस्या, तिनीहरूमाथि गरिँदै आएको आक्रमण अन्तर्राष्ट्रिय चासोको विषय किन हुन्थ्यो? शान्तिपूर्ण आवाज उनीहरूको कानसम्म किन पुग्थ्यो? आखिर तिनीहरूले शान्तिका लागि नोबल पुरस्कार पनि त यासिर अराफात, हेनरी किसिन्जर र जिमी कार्टर जस्तालाई दिने गरेका छन्, पाँच पटक मनोनीत भए पनि गान्धीलाई हैन।

कुनै विकल्प छैन, आफैं उठेर आफ्नो स्वतन्त्रता र अधिकारको रक्षा गर्नुको। कुनै विकल्प छैन, क्रान्तिको, त्यस्तो क्रान्ति जुन त्यति बेलासम्म रोकिने छैन जति बेला हामी हरेकले आफैंलाईं ‘के हामी स्वतन्त्र भइसक्यौं?’ भनेर सोध्दा ‘हो’ भनेर जोरले आवाज आओस्। त्यो मात्र हाम्रो गन्तव्य हुनुपर्छ, हाम्रो लक्ष्य हुनुपर्छ। त्यस्तो उत्तर आउनुअगावै क्रान्ति रोक्नु आफैंलाई धोका दिनु बाहेक केही होइन। त्यसैले कुनै नेता वा त्यसको चम्चाले ‘क्रान्ति रोक’ भन्दैमा हामी रोकिनुहुन्न। तिनीहरूले हाम्रो बलिदान, हाम्रो रगतलाई आफ्नो फाइदाका लागि प्रयोग गर्छन्। तिनीहरूको कुरा नसुनेको भए, मधेश आन्दोलन नरोकेको भए आज मधेश स्वतन्त्र हुन्थ्यो। तर ती नेताहरूको कुरा सुन्दा तिनीहरूले मधेशी शहीदहरूको लाशको सिढी बनाए, संसद् छिर्न, मन्त्री बन्न। आखिर चौबन्नभन्दा बढी शहीदको बलिदान, हजारौंले बगाएको रगत, र लाखौंले गरेको संघर्षलाई मधेशी नेताहरूले के गरे? केही सांसद् बने, केही मन्त्री, मधेशीका लागि के परिवर्तन भयो? आम मधेशीले के अधिकार पाए? केही पनि हैन। मधेशीहरू त त्यति बेला मात्र आफ्नो अधिकार पाउन सक्छन्, त्यतिबेला मात्र स्वतन्त्र हुन सक्छन्, जति बेला आफ्नो बच्चालाई ‘तिमी कुन देशको?’ भनेर सोध्दा ‘स्वतन्त्र मधेशको’ भनेर जवाफ पाउनेछन्।

र पूर्ण स्वराजको यस लडाइँमा, अगाडि जे आए पनि हामी पछि हटनुहुन्न। मधेशीहरूले सदियौं आफ्नो धैर्य र अहिंषा देखाए। तर हाम्रो शान्तिपूर्ण अनुरोधको जवाफ तिनीहरूले बन्दुक र बारुदबाट दिन्छन् भने समय आइसकेको छ, तिनीहरूले हाम्रो शक्ति पनि हेरून्।

यदि आँखाका बदला आँखाले सबैलाई अन्धो बनाउँछ भने त्यसले अझै पनि गोरा-काला रहित दुनियाँको निर्माण हुनेछ। त्यसले अझै पनि रंगभेद रहित समाजको स्थापना हुनेछ, जहाँ छालाको रंग हेरी कसैलाई ज्यानै जाने गरी कसैले पिट्ने छैनन्। खाली दुष्टहरूसँग आँखा बाँकी रहनुभन्दा, उनीहरूले पुन: आफ्नो दुष्टता देखाउने अवसर पाउनुभन्दा आँखाका बदला आँखाले अझै पनि बढी समतामूलक समाजको निर्माण गर्नेछ। दुष्टहरूसँग आँखा बाँकी रहनु झन् खतरनाक छ, के थाहा आँखापछि, घाँटीतिर उसका हातहरू बढोस्। ती आदर्शहरू सुन्नका लागि महान् लाग्छन् तर संसारमा त्यसले दुष्ट र दानवहरू मात्र बाँकी राख्नेछन्। आफ्नो अर्को गाला तिनीहरूअगाडि थाप्नुले तिनीहरूलाई अझ अर्को मान्छेलाई हिर्काउने हौसला मात्र दिन्छ। तपाईं सोच्नुहुन्छ उनीहरूमा मानव जगाउन सकिन्छ? मानवभित्र कहिले पनि मानव थिएन। उनीहरूको कान बेस्सरी बजाएरै हेर्नुस्, अरूलाई हिर्काउनै बिर्सिन्छ।

मानव समाज कहिले पनि सभ्य भएन, कहिले पनि आफ्नो ब्रुट फोर्श इन्सटिङ्गटमाथि, पशुताको धरातलमाथि उठ्न सकेन। सभ्यता ढोंग हो। सभ्य भएको भए संसारमा एउटै पनि हतियार हुने थिएन। विवेक, नैतिकता, नीति आदि बाहिरी आडम्बर मात्रै हुन्, तिनीहरूको असल रूप अँध्यारोमा, क्रोधित भएको बेला देख्न सकिन्छ, उनीहरू घाटा पुग्ने क्षणमा देख्न सकिन्छ, उनीहरूको एजेन्डामा आँच आएको बेला देख्न सकिन्छ।

यदि संसार न्यायसंगत मान्यतामा, आदर्शमा चल्ने भए संसारमा एउटै पनि सैनिक हुने थिएन, एउटै पनि हतियार भण्डार हुने थिएन। यदि तपाईंको साधन-श्रोत कसैले अहिलेसम्म खोसेको छैन भनेर संसार न्यायसंगत मान्यतामा र नैतिकतामा चल्दैछ भने ठान्नुहुन्छ भन्ने पख्नोस्, उनीहरूको आफ्नो साधन-श्रोत पहिला समाप्त हुन दिनुस्। आफ्नो साधन-श्रोत हसुरिसकेपछि तपाईंसँग तेल हुँदाहुँदै उनीहरू अँध्यारोमा बस्नेछन् भन्ने ठान्नुहुन्छ? तपाईंसँग अनाज हुँदाहुँदै उनीहरू भोको बस्लान् भन्ने ठान्नुहुन्छ? यदि तिनीहरूसँग खान केही बाँकी छैन भने तपाईंको पनि टुक्राटुक्रा पारेर खानेछन्, रगत पिउनेछन्, र तपाईं मानवीय मूल्यमान्यताको कुरा गर्नुहुन्छ? केवल सरभाइभल, परित्राण हो, अरू केही होइन ।

चाहे त्यो घरको खाने टेबलमा होस् कि संयुक्त राष्ट्र संघको राउन्ड टेबलमा, शक्तिशाली नै पूजिन्छ। शान्त, झगडा नगर्नेअगाडि घरमा बासी खाना राखिन्छ, तर कराउने, तोडफोड गर्नेकाअगाडि सबभन्दा राम्रो परिकार। पारमाणविक अस्त्र विहीन देशको आवाज कतै सुनिन्न, पारमाणविक अस्त्रको भण्डार भयो भने भिटो पावर पाइन्छ — अरबौं जनताको देशमा बम वर्षा गर्ने लाइसेन्स। हातहतियार नभएमा, अरबौं जनताको देशलाई पनि केही बोल्ने अधिकार हुँदैन, तर पारमाणविक अस्त्रको भण्डार भएको एउटा सानो देशलाई पनि अरू देशलाई धराशायी बनाउने अधिकार।

निशस्त्रीकरण र अहिंषाको नारा शक्तिशालीले कमजोरलाई अझ कमजोर बनाउने धूर्त षड्यन्त्र मात्र हो, शक्तिशाली देशहरूले कमजोर देशहरूलाई अझ कमजोर बनाउने धूर्त षड्यन्त्र मात्र हो, यो विश्वका महान षड्यन्त्रहरू मध्ये एक हो। यसले इतिहासभरि केवल गुलाम पैदा गरेको छ, कतै पनि स्वतन्त्रता ल्याएको छैन।

केही मान्छेहरूले अहिंषाद्वारा गान्धीले भारतमा स्वतन्त्रता ल्याएको अझै विश्वास गर्न चाहन्छन्, उसको सत्याग्रह वा भोकहड्तालहरूले भारतमा स्वतन्त्रता ल्याएको सोचेर रमाइराख्न चाहन्छन्। स्वतन्त्रता दिने ब्रिटिशहरू पनि त्यो सुनेर हाँस्छन्। स्वतन्त्रताको कारक, कुनै कोठाभित्र भोकै बसेको एउटा अर्धनग्न मान्छे थिएन, बरु बाहिर लाखौं मान्छेहरूको नशामा उम्लिरहेको रगत थियो; अगाडि देखिए झैं कुनै साधु मान्छेको मौनतापूर्ण विरोध थिएन, बरु त्यो मौनतापछाडि उभिरहेका लाखौं जनताहरूको ज्वालामुखी झैं फुट्न तयार क्रोध थियो। ब्रिटिशहरूले त्यसमा सलाईको काँटी फेक्नुको परिणाम राम्रोसँग बुझ्थे। ब्रिटिशहरूले भारतीय शाही नौसेना विद्रोह र सुभाष चन्द्र बोसको आजाद हिन्द फौजका बारेमा जान्दथे। यदि निशस्त्र संघर्षमा त्यति शक्ति भएको विश्वास भारतीयहरूलाई अझै छ भने आज पनि तिनीहरूले आफ्ना सबै हातहतियारहरू समुद्रमा फालून्, र कुनै नगरबधूले खुट्टा फट्याएर आमन्त्रित गरे झैं रहेको आफ्नो बजार र उदाङ्ग आर्थिक वेश्वावृति बन्द गरून्, अनि हेरौं, अरबौं जनताको आवाजले अन्तर्राष्ट्रिय जगतमा र राउन्ड टेबलहरूमा कति माने राख्दछ।

संसारमा कति देशहरूले आफ्नो स्वतन्त्रता नैतिकता र वार्ताका बलमा पाएका छन्? कति देशहरूले आफ्नो सीमाना कलमले खिँचेका छन्? हातहतियारको भण्डार भएका कति देशहरू शान्तिको बाटोमा हिँडेका छन्? अमेरिकालाई सोध्नोस्, बेलायतलाई सोध्नोस्, फ्रान्सलाई सोध्नोस्, इजराइललाई सोध्नोस्। तिनीहरूसँग कुटनैतिक रुपमा समस्याहरू सुल्झाउने हरेक साधन-श्रोतहरू उपलब्ध छन्, तैपनि अरू देशमाथि किन पारमाणविक अस्त्र गिराउँदै हिड्छन्, किन कार्पेट बम्बिङ्ग गर्दै हिँड्छन्। सशस्त्र देशहरूले जनताको शान्तिपूर्ण पुकार कहिले सुनेका छन्? तिनीहरूले त शान्तिपूर्ण आग्रहको जवाफ क्रूरतम र कायरतापूर्ण क्षेप्यास्त्रहरूको आक्रमणद्वारा दिने गर्छन्। अरूलाई अर्ती दिनुको साटो, तिनीहरूले किन अहिंषा र शान्तिको बाटो पहिला अपनाउँदैनन्? तर उल्टा तिनीहरू त झन् एकभन्दा अर्को बढी खतरनाक हातहतियार आविष्कार गर्नमा तल्लीन छन्, आकस्मिक कक्षमा रगत छादिरहेको आफ्नो जनतालाई उपचार गराउने पैसा होस् कि न होस्, तर अरबौं-अरब डलर हातहतियार बनाउनमा खर्च गर्छन्। र पनि, अरूलाई चाहिँ हातहतियार नबनाउन भन्छन्, अरूलाई निशस्त्रीकरणको उपदेश दिन्छन्।

संसारमा एउटा मात्र पनि हतियार रहेसम्म हरेक प्राणीसँग आफ्नो लागि हतियार बनाउने अधिकार छ। संसारमा कसैसँग एउटा मात्र पनि पारमाणविक अस्त्र रहेसम्म हरेक प्राणीसँग अर्को पारमाणविक अस्त्र बनाउने अधिकार छ। किन कोही कसैको गुलाम बन्नुपर्यो? यहाँ कोही कसैको गुलाम हुन जन्मेका छैनन्? आफ्नो रक्षा गर्नु, आफ्नो स्वतन्त्रताको रक्षा गर्नु हरेकको नैसर्गिक अधिकार हो।

यदि कसैले शान्ति र अहिंषाको बाटोमा आउन भन्छ भने पहिला उसले साबित गरोस् कि ऊ निशस्त्र मान्छेको आवाज पनि सुन्छ, हातमा कमल फूल लिएको मान्छेको आत्मसम्मानको पनि कदर गर्छ, हातहतियार वा पारमाणविक अस्त्र नबोकेका जनतालाई पनि लोकतान्त्रिक अधिकार दिन्छ। तर दुर्भाग्य, आफ्नो समुचित अधिकारका लागि उठाइरहेको शान्तिपूर्ण आवाजलाई राज्यहरूले सदाका लागि बन्द गर्न चाहन्छन्, तिनीहरूलाई राज्यहरूले अपराधी बनाउँदै बदनाम गर्छन्, एकमाथि अर्को आधुनिक हातहतियार, बम र गोलीहरूले उनीहरूलाई खतम पार्ने कोशिस गर्छन्। राज्यहरूले तिनीहरूलाई सशस्त्र विद्रोहीको संज्ञा दिन्छन्। विद्रोहीहरू कहिले पनि हतियार उठाउँदैनन्, उनीहरू त केवल प्रतिवाद मात्र गर्छन्। राज्यको तुलनामा उनीहरूसँग के नै हुन्छ र? तैपनि ती निहत्थाहरू आफ्नो आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो सबै कुरा त्याग्न तयार हुन्छन्।

तिनीहरूका पनि आफ्ना परिवार र प्यारा-प्यारा बालबच्चाहरू हुन्छन्। तिनीहरू पनि विलासको जीवन, राजमहलको ऐश, पारखीको स्वाद, सुन्दर युवतीको साथ, र राजर्षि जीवनको इच्छा गर्न सक्थे, तर तिनीहरू आफ्नो करोडौंको महल त्यागेर पनि जंगलमा बस्न जान्छन्। दासताको अन्त्य र जनताको स्वतन्त्रताका लागि हरेक पाइलामा मृत्युसँग जुध्दै अग्निपथमा हिँड्छन्। अरूलाई उज्जालो गर्न तिनीहरू आफैंलाई समेत अग्निको लप्का बनाउँछन्। तिनीहरू आफ्नो पथमा अगाडि बढेको देख्दा हजारौं जीसस हिँडेकोभन्दा कम हुन्छ र?

कोही पनि त्यसै आफ्नो ज्यान दिन तयार हुँदैनन्, कोही पनि आफ्नी प्यारी दुलहीलाई त्यसै बिर्सन बाध्य हुँदैनन्, कोही पनि आफ्ना स-साना लालाबालाहरूलाई छोडेर मर्न त्यसै तयार हुँदैनन्, त्यो निस्वार्थ सेवा र त्यागको उच्चतम रूप हो, शहादतको विशुद्ध स्वरूप हो। लाखौं करोडौं मान्छेहरूलाई दासताबाट मुक्ति दिलाउन, लाखौं करोडौं मान्छेहरूलाई आत्मसम्मान सहितको खुशियालीपूर्ण जिन्दगी दिन, तिनीहरू आफ्नै जीवन अर्पण गर्छन्। धन्य धन्य छन् ती शहिदहरू।

तर राज्यले तिनीहरूलाई बदनाम गर्छन्, तिनीहरूलाई अपराधी साबित गर्न खोज्छन्। यदि सशस्त्र क्रान्ति गर्नेहरू अपराधी हुन् भने अमेरिकी स्वतन्त्रता सेनानीहरू सबै अपराधी हुन्, भारतीय स्वतन्त्रता सेनानीहरू सबै अपराधी हुन्, जर्ज वाशिङ्गटन, विन्स्टन चर्चिल, सुभाष चन्द्र बोस सबै अपराधी हुन् र तिनीहरूको नाममा शालिक हैन, पीकदान बनाउनु पर्छ। तर तिनीहरू आज पूज्य छन् र राज्य र शासकवर्गले अहिले जे जस्तो आक्षेप लगाए पनि स्वतन्त्रताका लागि ज्यान दिने सबै पूज्य नै हुनेछन्, इतिहासमा अमर नै हुनेछन्।

अमेरिकी र भारतीयहरू त जे भए पनि केही हदसम्म नैतिक शासकका अधीनस्थ थिए। तर मधेशीहरू त दुई शताब्दीदेखि खुन्खार अपराधीहरूद्वारा शासित छन्, ती अपराधीहरू जसको बर्बरता, क्रूरता र हत्या-हिंषा विश्वमै प्रख्यात छ, जसले मानवताविरुद्ध अनगिन्ती जघन्य अपराधहरू गरेका छन्, जसले अनेकौं नरसंहारहरू गरे, जसले आइमाईको गर्भमा रहेका शिशुहरूलाई समेत सखाप पारे। ती अपराधीहरू जसले हवाईजहाज अपहरण गर्ने, जाली नोटको धन्धा गर्ने, र बमबारी गर्ने गरेको कुरा नेपाली मिडियामा समेत गौरवसाथ प्रचार गर्दै हिँड्थे, ती अपराधीहरू जसले झापामा नरसंहारको ताण्डब मचाए, ती अपराधीहरू जसले हजारौं नेपालीहरूलाई विश्वमै कतै नदेखिएको-नसुनिएको क्रूरतम तरीकाहरू अपनाउँदै हत्या गरे। दुई शताब्दीको नेपालको इतिहासमा नेपाल कुन समयमा अपराधीहरूद्वारा शासित थिएन? यी अपराधीहरूको शासनबाट मुक्ति पाउनु हरेक दृष्टिकोणले, जुनसुकै तरिकाले उचित छ, र त्यो सधैं गौरवको विषय हुनेछ, पवित्र पुण्यको विषय हुनेछ। पापी र दुष्टहरूको नाशका लागि बेलाबेलामा युद्ध अपरिहार्य हुनजान्छ, तर युद्ध भने जहिले पनि अन्तिम विकल्प हुनुपर्दछ, र यहाँ म कुनै नयाँ कुरा गरिरहेको छैन।

[GO TO CONTENTS]

३४. आत्मसम्मानको एक दिन

मधेशी हुनु आज गौरव नभई अभिशाप बन्न पुगेको छ, एउटा त्यस्तो अभिशाप जसबाट सबै टाढा बस्न चाहन्छन्। आज मधेशीको आत्मसम्मान लुटिएको छ र मानवता पहाडीहरूको रंगभेद नीति र अन्धराष्ट्रवाद रूपी अचानोमा राखिएको छ। चारैतिर अन्धकार छ, दासता छ, दबाइएको चित्कार छ, निसासिएको स्वतन्त्रता छ, पीडादायक अनन्त अत्याचार र अन्याय छ, तर मसँग आशा र विश्वास छ, स्वतन्त्रताका लागि ज्यानै दिने आँट छ, अजेय सत्य, सत्यनिष्ठता र लगाव छ, जसकाअगाडि सबै बाधाहरू तुक्ष्य र क्षणिकका अलावा केही हुनै सक्दैनन्। मानवताको उदय, स्वतन्त्रताको फक्राइ, र आत्मसम्मानको पुनर्स्थापना — सबै असंदिग्घ र आसन्न छन्।

कसैको आत्मसम्मान कुनै सेनाको बुटले नकुल्चियोस्, कसैको आवाज बन्दुकको नालले बन्द नगरियोस्, कसैको स्वतन्त्रता क्रूर जंजीरमा नजकडियोस्, र कसैलाई आफ्नै भूमि र घरबाट ननिकालियोस् — यसमा मेरो पूर्ण विश्वास छ।

मार्टिन लुथर जस्तै मेरा पनि सपनाहरू छन्। म त्यो दिनको पर्खाइमा छु जब मसँग मानव सरह व्यवहार गरिने छ, मधेशीलाई पनि मानवको गन्तीमा राखिनेछ, र उनीहरूसँग मानवको सम्मानसहित बाँच्ने अधिकार हुनेछ। म त्यो दिनको पर्खाइमा छु जब मेरा सन्तानहरू आफ्नो शीर ठाडो पारेर हिँड्न सक्नेछन्, उनीहरूलाई नागरिकताबाट वंचित गरिने छैन, उनीहरूको मताधिकार खोसिने छैन, कालो छाला देखेर पहाडीहरूले उनीहरूलाई सडकमा मर्ने गरी पिट्ने छैनन्।

म त्यो दिनको पर्खाइमा छु जब हाम्रा सन्तानहरू स्कूल र लाइब्रेरी निर्धक्क जान सक्नेछन्, जब आफ्नै शिक्षकबाट उनीहरू वर्णभेदको शिकार हुने छैनन्, र कालो छाला भएकै कारणले उनीहरूलाई जागिरबाट वंचित गरिने छैन।

म त्यो दिनको पर्खाइमा छु जब हाम्रा आमा र दिदीबहिनीहरू आफ्नो घरमा सुरक्षित महशूस गर्न सक्नेछिन्, जब कोही आफ्नो घर हुँदा-हुँदै बेघर बनाइने छैनन्, जब कोही आफ्नै भूमिमा भूमिहीन हुन बाध्य बनाइने छैनन्। म त्यो दिनको पर्खाइमा छु जब मधेशीहरूको शीरमाथि वर्षाबाट जोगाउन सक्ने छाना हुनेछ, जब मधेशीहरू आफ्नो फसलले सरकारी खजाना भरेर पनि भोक-भोकै मर्न बाध्य हुने छैनन्। म त्यो दिनको पर्खाइमा छु जब कसैलाई भोकै सुत्नुपर्ने छैन, कसैलाई नाङ्गै रहनुपर्ने छैन, र कसैलाई स्कूल र हस्पिटलको सेवाबाट वंचित हुनुपर्ने छैन। म त्यो दिनको पर्खाइमा छु जब आफ्नो आङमा लुगाफाटा नभएर मधेशीहरू जाडोले कठाङ्ग्रिएर मर्ने छैनन्।

म त्यो दिनको पर्खाइमा छु जब हाम्रा दिदीबहिनीहरू दाइजोका कारण विवाहबाट वंचित हुने छैनन्, कुनै पनि महिलालाई बोक्सीको आरोपमा उत्पीडित गरिने छैन, कुनै पनि बच्चालाई तिर्खा लाग्दा उसको जात सोधिने छैन। म त्यो दिनको पर्खाइमा छु जब फरक-फरक जातका लागि फरक-फरक कानून हुने छैन, जब कोही पनि अछुत हुनै छैन र सबै आत्मसम्मानपूर्वक जीवन व्यतीत गर्न सक्नेछन्।

म त्यो दिनको पर्खाइमा छु जब कुनै मधेशीलाई धोती, काले, मर्स्या जस्ता शब्दहरूले सास्ती दिइने छैन, जब मधेशीलाई ग्यास च्याम्बरभित्र हालेर मेटाउने चेष्टा गरिने छैन, जब नेपाली नाजीहरूसँग मधेशीलाई सिध्याउने कुनै सामर्थ्य हुने छैन।

म त्यो दिनको पर्खाइमा छु जब मधेशीहरू दास हुने छैनन्, कमैया र कम्लहरी हुने छैनन्, जब नेपाली उपनिवेश र क्रूरताको अन्त्य हुनेछ, यो भूमि स्वतन्त्र हुनेछ र हामी स्वतन्त्रताका श्वास लिन सक्नेछौं। म त्यो दिनको पर्खाइमा छु जब कसैको आवाजलाई दबाइने छैन, कसैको अधिकार हनन गरिने छैन।

म त्यो दिनको पर्खाइमा छु जब विश्वका अरू देशहरू, नियोगहरू, कुटनीतिज्ञहरू र नागरिकहरूका आँखामा हाम्रो मानवको दर्जा हुनेछ। म त्यो दिनको पर्खाइमा छु जब मधेशी शब्दले आफ्नो सम्मान र गौरव पुन: प्राप्त गर्नेछ, र कोही मधेशी आफ्नो पहिचानबाट लज्जित हुने छैनन्। म त्यो दिनको पर्खाइमा छु जब मधेशीलाई मधेशी हुनुमा गौरव हुनेछ, आफू हुनुमा आत्मसम्मानको बोध हुनेछ।

आत्मसम्मान विनाको यो जीवन हजारौं मृत्यु समान भयानक लाग्दछ, मृत्युभन्दा कैयौं गुणा खराब लाग्दछ — सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते (गीता २/३४) । जसले जीवन बलिदान गरे, यशस्वी भएर गए। यदि मलाई बाँच्नु छ भने मैले आफ्नो आत्मसम्मानका लागि लड्नै पर्छ, आफ्नो स्वतन्त्रताका लागि लड्नै पर्छ।

स्वर्गको दासताभन्दा मरूभूमि मै भए पनि स्वतन्त्रता मेरो लागि प्यारो छ। स्वतन्त्र भूमिको नागरिक हुनुमा परतन्त्र देशको राजा हुनुभन्दा कैयौं गुणा बढी सम्मान छ। रामवरण यादव र परमानन्द झा त्यसका उदाहरण हुन्, देशका राष्ट्रपति र उपराष्ट्रपति भएर पनि तिनीहरूको स्थान कुकुरभन्दा पनि निकै नै तल छ, अछुतभन्दा पनि खराब छ।

तर मधेशको स्वतन्त्रतासँगै त्यो बदलिनेछ। स्वतन्त्र मधेशमा हरेकले स्वतन्त्र नागरिक हुनुको असीमित गौरव पाउनेछन्, कसैको राष्ट्रियतामाथि फेरि प्रश्न चिन्ह खडा गरिने छैन, कसैलाई राष्ट्र प्रतिको बफादारी साबित गरिराख्नु पर्ने आवश्यकता हुने छैन, रंगभेदको अन्त्य हुनेछ, कसैलाई कालो छालाका कारणले भेदभाव गरिने छैन, र पहाडीहरूको गुलामी गरिराख्नुपर्ने आवश्यकता हुने छैन। जीवनभरिमा एक दिन मात्र भए तापनि यदि आत्मसम्मान पूर्ण त्यस्तो जीवन म आफू जन्मेको भूमिमा बिताउन पाएँ भने म धन्य-धन्य हुनेछु, र शान्तिले म आफ्नो देहत्याग गर्न सक्नेछु।

तसर्थ लक्ष्य प्रष्ट छ, मधेशीहरूको अधिकार तथा आत्मसम्मान र मधेशको स्वतन्त्रता। र, लक्ष्य प्राप्तिका लागि स्पष्ट रूपमा सशस्त्र-निशस्त्र, राजनैतिक-गैरराजनैतिक, सरकारी‍-गैरसरकारी, केपिटलिस्ट-कम्युनिष्ट जस्ता अनेकौं समूहहरू छन्, हुन सक्छन्। तर म केवल दुई समूह मात्र देख्छु — स्वतन्त्रताका लागि जीवन बलिदान गर्न सक्ने र नसक्ने, र मेरो विश्वास केवल पहिलो समूहसँग छ। भित्र र बाहिरका नेता र समूहहरूबाट सदियौंदेखि ठगिएका मधेशीहरूका लागि अब जीवन बलिदान गर्ने तत्परता मात्र निस्वार्थताको परिचायक हुन सक्छ, बाँकी सबै कुनै न कुनै तरिकाबाट स्वार्थी नै छन् र तिनीहरू बेकार छन्। म तयार छु, त्यस निस्वार्थ निर्णायक यात्राका लागि। म तयार छु लड्न, अधिकार र आत्मसम्मानका लागि, स्वतन्त्रता र लोकतन्त्रका लागि। सबै किसिमका बाटाहरू मेराअगाडि छन्। रंगभेद र अन्याय विरुद्ध लड्ने निर्णय मेरो हो, निशस्त्र वा सशस्त्र — त्यो निर्णय उनीहरूको हुनेछ।

[GO TO CONTENTS]

परिशिष्ट

परिशिष्ट क: शान्तिका अग्रदूत गौतम बुद्धलाई एक पत्र

मानस सिंहासन
०५७-०७-२७

हे दीप्त ज्योति,

आत्माको जीवन-रस प्रेम र सौम्य-स्मृतिका कुसुमहरू तिम्रा बुद्धत्वका नाममा समर्पण।

तिम्रा ती पंखहरू ज्ञानका थिए, तिमी उड्यौ सगर छुन एउटा तारा बनी, र गर्न खोज्यौ उज्यालो आफ्नो प्रकाशले, जीवनका अति अन्धकारपूर्ण घना जंगलहरू हुँदैं हिँडिरहेका बटुवाहरूका बाटामा। तैपनि किन घस्रिरहेका छन् तिनीहरू, अनभिज्ञ दिशातिर अर्थहीन भएर, थाहा छ तिमीलाई?

‘बुद्ध’ भनेको ‘बोध भएको’ बुझिन्छ। तिमी बुद्ध हौ, तिमी बुझ्न सक्छौ, अरू केही होलान् बुद्धहरू, तिनीहरूले बुझ्लान्। तर … तर सबैमा अहिले बुद्धत्व जागृत भइसकेको छैन। त्यसैले सबैले बुझ्न सक्दैनन् वा बुझ्न खोज्दैनन्, तिमी र तिम्रा उपदेशलाई। त्यसैले तिमीले दिएको प्रकाशको उज्यालोमा उनीहरूले आफ्नो कर्म पढ्न नसकेर अँध्यारामा अल्मलिएका हुन्।

तिमीले बाँच्ने कला सिकाउन खोज्यौ, शान्ति प्राप्त गर्ने कला … तर आँखा चिम्लेर जंगलमा … किन? गार्‍हो छ भनेर? अहँ, गा‍र्‍हो छैन आँखा चिम्लेर बाँच्नका लागि। भयो, सिकाउनु पर्दैन तिमीले त्यसरी आँखा चिम्लेर बाँच्न संसारमा। सिकाउने नै हो भने, हे गुरु, आँखा खोलेर साहसका साथ कसरी यो संसारमा बाँच्ने भनेर सिकाऊ। आँखा खोलेर पनि मन कसरी मृगतृष्णाहरूतिर नदौडोस्, भनेर ज्ञान देऊ मलाई। त्यो हो व्यवहारिक जीवनको आवश्यकता … यो संसारबाट भागेर, आफ्ना व्यवहारिक जीवनका कर्तव्य र चुनौतीहरूलाई पन्छाएर जंगल पस्नुपरेको छैन मलाई … न त मलाई बरको बोटमुनि बसेर निर्वाण प्राप्त गर्नुपरेको छ … बरु यो भिक्षुलाई यस संसारकै भीडहरूमै पनि कसरी श्रेष्ठतम् आदर्श उब्जाउन सकिन्छ, त्यो सिकाऊ। लाखौंको माझमा पनि कसरी निर्वाण प्राप्त गर्न सकिन्छ, त्यो सिकाऊ। त्यो हुनेछ आजको युगको गीता … कृष्णले भनेको गीता उसको युगको लागि थियो, कुरानमा अंकित मुहम्मदका शब्दहरू उसकै समयका लागि थिए, क्राइष्टका वाक्यहरू त्यही समयका लागि थिए र तिम्रो त्रिपिटक तिम्रै युगको लागि थियो। आज त्यस्तो ग्रन्थ चाहिएको छ जसले उड्न होइन, हिँड्न सिकाओस्। जीवनरूपी जंगलका चुनौती-बाघहरू वा काँडाले ढाकिएका बाटाहरूदेखि डराएर उड्न खोज्नु कायरता हो। त्यसैलै म हिँड्न चाहन्छु … म आँखा खोलेर बाँच्न चाहन्छु, मानव भएर मानवहरूको बीच … संसारका कष्टहरू देख्ने साहस वटुल्न नसकी ध्यान र शान्ति प्राप्तिका नाममा आँखा चिम्लनु हुटिट्याउँले बालुवामा टाउको लुकाएर आफूलाई सुरक्षित ठान्नु जस्तै हो।

आजसम्म इतिहासले आफ्नो काँचुली कति चोटि फेरी सकेको छ, समयका रंगहरू धेरै नै बदलिसकेका छन्। आज तिमी समाधिस्थ छौ, अनन्तकाल समाधिस्थ … तिमी स्थूल भएका छौ, यो जगमा तिमी आज केवल अश्म हौ अश्म। आज तिमी मूर्ति भइसकेका छौ, तिम्रो मुखबाट अब कुनै शब्द निस्किदैन न त कुनै उपदेश … तर हाँसो उठ्छ मलाई, जब कसैले तिम्रो प्रतिमालाई छोएर कसैलाई मार्ने कसम खान्छ। आज तिम्रै जन्मभूमिमा, अझ तिम्रै विषयलाई लिएर हाथ-हथियार सोझ्याउँछन् एक अर्कातिर … आज तिम्रै प्रतिमाअगाडि असहाय निर्दोष मानवको बलि चढाइन्छ, तैपनि चुप छौ तिमी! तिनका रगतका छीटाहरू तिम्रो शरीरमाथि छन्, तिम्रा ओठहरू पनि त्यो रगतले रंगाइएका छन्, तैपनि कसरी मुस्कान प्रस्फुटित भइरहेको छ तिम्रा रक्तरञ्जित ती ओठहरूबाट? विश्वमा घटित चरम हिंषाका यी दृश्यहरूलाई देखेर पनि किन तिमी चोर औंला र बुढी औंला जोडेर ज्ञानमुद्रामा शुभ-संकेत देखाइरहेका छौ? किन ती हाथहरू मुठ्ठीमा परिणत हुँदैनन्? थाहा छ, तिमीले भनेका थियौ कसैले तिमीलाई चड्कन हान्यो भने अर्को गाला पनि थापी दिनू। मैले एकपछि अर्को गाला निरन्तर थापी रहें, तर ती चड्कनहरू आइ नै रह्यो हरेक गालामा, त्यो क्रूरात्माको मन कहिले पग्लेन, न त करुणाको कुनै छाल नै उर्लेर आयो त्यो बालुवामाथि … शायद त्यो मन बुद्धत्वको सागरको किनाराभन्दा निकै नै टाढा थियो। ऊभित्र बुद्धत्व जागृत भएको थिएन वा उसले तिम्रो बुद्धत्वबाट पनि केही सिक्न सकेको थिएन।

जुन रंगको मसीले तिम्रो त्रिपिटक लेखिएको थियो, त्यो अदृश्य छ आज … आजका मानवले बुझ्न सक्दैनन् त्यो … हो, याद गर्न सक्छन् तर उतार्न सक्दैनन् आदर्शका ती तस्वीरहरूलाई जीवनका यी गतिशील पर्दाहरूमा … आदर्श वर्षको ऋतु हो, यो बदलिन सक्नुपर्छ समय-अनुरुप। वसन्त नवदुलही झैं आउँछिन् संसारको बगैंचाभित्र, नयाँ फूलहरू फक्राउँदै र शान्तिको सुवास जगभरि फैलाउँदै। हो, तिमी वसन्त हौ — शान्तिको प्रतीक। तर के वसन्त वर्षभरि नै रहनसक्छ? अवश्य सक्दैन। र, त्यसैले तिम्रा उपदेशहरू पनि समयको पूरै वृत्तमा टिक्न नसकेका हुन्। जसरी ऋतुहरू प्रकृतिको चक्रसँगै बदलिदैं एक दिन वर्षायाम पनि आउँछ, मेघलाई आफ्नो आवाजले आच्छादित गर्दैं र आफ्ना तलवारका प्रहारबाट निस्केका झिल्काहरू आकाशमा चट्याङ्ग बनाई देखाउँदैं, आवश्यक परेको खण्डमा तिमी पनि त्यसरी नै आउन सक्नुपर्छ। के महाभारतको धर्मयुद्धमा अर्जुनले युद्ध नगर्ने भनेपछि युद्धको प्रेरणा दिने कृष्ण स्वयं नै होइनन्? के कृष्णको त्यो काम आदर्श र धर्मभन्दा बाहिर छ? के कुम्भकर्णको रावणको लागि लडाइँलाई कुनै पनि धर्मशास्त्रले अनुचित ठहराउन सकेको छ? अवश्य छैन। किनकि त्यो समय र परिस्थितिको श्रेष्ठ धर्म नै युद्ध थियो। त्यसैले समयको माँग अनुसार युद्ध र शान्ति दुइटै उत्तिकै धार्मिक ठहरिन सक्छ।

तर …

तर फेरि सोच्छु म, एक छिन आफ्ना मनका आवेग र रिसका झोकाहरूलाई थामी, तिम्रा अहिंषा र शान्तिका मार्गका बारेमा … वास्तवमा कति मनोरम छन् ती बाटाका दृश्यहरू … कति शान्तिपूर्ण, कति सुन्दर छन् तिमीले देखाएका मार्गहरू … म हिँड्‌दै जान्छु त्यो बाटोमा फक्रक्क फक्रेका शान्तिका एक-एक फूलहरू नियाल्दै … हर्षले यो मन पुतली झैं नाच्न थाल्छ … अनायासै तिम्रा ती शब्दहरू मेरा कानका पर्दासँग ठक्कर खान्छन् र एउटा नीरव आवाज गुञ्जिन्छ मेरो आत्मा भित्र — चरैवेति: चरैवेति: (हिँड्दै जाऊ, हिँड्दै जाऊ)। एउटा दियोको ज्योति झैं उत्साह भएर फिजिन्छन् ती शब्दहरू मेरा हरेक अंगहरूमा र म आफ्ना पाइलाहरू अगाडि बढाउँदै जान्छु जीवनका गोरटाहरूमा, कहिले पनि नरोकिने गरी … एउटा इतिहास कोर्न, तिम्रो त्रिपिटकलाई नयाँ रंगले रंग्न … म शब्दहरूलाई जोडेर हैन, व्यवहारका मनोरम फूलहरू सँगालेर, निर्जिव किताबहरूमा हैन, म जीवनका जीवन्त पानाहरूमा तिम्रो ज्ञानको बगैंचा स्थापना गर्न चाहन्छु, जहाँ हरेक मानवले शान्तिको अनुभव गर्न सकून् … एक अलौकिक शान्ति, शाश्वत सत्यका साथमा …\\

तिम्रो भिक्षु,
चन्द्र कान्त

(पत्र-लेखन प्रतियोगिता – ०५७ मा प्रथम)

परिशिष्ट ख: श्री ५ महाराजाधिराज तथा सम्बन्धित सबैलाई एउटा खुला पत्र

महाराजाधिराज, सम्बन्धित महानुभावहरू/निकायहरू तथा विद्वानवर्ग,

भनिन्छ, मान्छेको महानता उसले विश्व र मानवलाई हेर्ने हरेक दृष्टिकोणहरूमा झल्किन्छ, उसका मुखबाट अभिव्यक्त हरेक शब्दहरूमा गुञ्जिन्छ, र उसका जीवनका हरेक पाइलाहरूबाट उद्भाषित भइरहेको हुन्छ। उसको महानता हिमालको शिखरको झैं उच्च हेराइमा अडेको हुन्छ, सागरको पींधको झैं गहिरो बुझाइमा अन्तर्निहित हुन्छ, र आकाशको झैं असीम विस्तीर्णतामा फैलिएको हुन्छ। तर सगरका दूरतम् ताराहरू टोलाउँदा-टोलाउँदै आफू कूँवा भित्र खस्नु, कथित महानताको मदमा आफू उभेकै जग भासेको देख्न नसक्नु र त्यसका लागि समय सापेक्ष सतर्कता अपनाउन नसक्नु पनि एउटा मूर्खता नै हो, महानताको लागि उत्प्रेरित मूर्खता। विविध आन्तरिक अन्तर्द्वन्दहरूलाई समभावका नाममा भित्रै पिल्सिदिनु, आफ्नै आँखाअगाडि भइरहेको शोषण, भेदभाव, अन्याय र अत्याचारका उग्र-वीभत्स रुपलाई देखेर पनि समदृष्टिका नाममा मौनता साध्नु हाम्रो वर्तमान समाजले महान् सन्त बन्न-बनाउन राखेका आवश्यक योग्यताहरू भित्र नै पर्दछन्। हाम्रो सोचाइ र समाज नै यस्तै छ — कोक्रोमा झुलिरहेको एउटा शिशु भोकले छट्‌पटाइरहेको किन नहोस्, उसको पेट एसिडले खाइरहेकै किन नहोस्, ऊ चुप लागेर आफ्नी आमालाई ड्रेसिङ्गटेवलअगाडि सुनका नानाभाँती गहनामा सजिरहन, आफ्नो विलासितामा लिप्स रहन दिन्छ भने ऊ ज्ञानी कहलाउँछ, तर ऊ आफ्नो अधिकार र आमाको उत्तरदायित्वको बोधका लागि आफ्नो कमजोर मुखबाट सकी-न-सकी दुई-चार अबोध क्रन्दन मात्र पनि निकाल्छ भने उसलाई छुच्चो, बदमास भनिन्छ, चाहे त्यो रुवाइ आफ्नो मन शान्त गर्न किन नै होस्, पेटको एसिड आँसु बनाएर निकाली छातीलाई शीतलता प्रदान गर्न किन नै होस्। उसले बोल्ने शब्द सिकेको हुँदैन, स-साना कलिला हातहरूले चाहेर पनि दूध खोस्न सक्दैनन्, तर सबभन्दा दयालाग्दो कुरो ऊ आफ्नो पीडा चिच्याइ र आँसुमा बगाउन पनि स्वतन्त्र हुँदैन — अनेकौं आक्षेपहरू छातीमा आएर रोपिन्छन्। चुपलागेर बसिरह्यो भने ज्ञानी, करायो भने बदमास। अरुलाई शोषण गर्न दिइराखी चुप लागिरह्यो भने सज्जन, महान्, तर आफ्नो अधिकारको चर्चा मात्र गरे पनि संकीर्ण-मानसिकता, साम्प्रदायिक, असहिष्णु, अप्राज्ञ आदि नानाथरीका आरोपबाट आक्षेपित हुनुपर्ने। तर पेट भित्रको एसिडलाई भित्र नै त्यसरी चिरकालसम्म राखिरह्यो भने अल्सर र क्यान्सर ग्रस्त हुने सम्भावना हुन्छ, बेगवान क्रन्दनहरू मौनताका धुरीमा त्यसरी नै पिल्सिरह्यो भने, बिस्फोटको सम्भावनालाई नकार्न सकिन्न। मैले कतै पढेको थिएँ — खतरादेखिको सुरक्षाको झुठो आभास जति खतरनाक हुन्छ, खतरा आफैंमा पनि कम, र शायद त्यही भएर आज यो पत्र लेख्ने जमर्को गर्दैछु।

सन्दर्भ ५ गतेको गोरखापत्रमा प्रकाशित महेन्द्र विद्याभूषण पाउनेहरूको नामावलीमा आफ्नो नाम खोज्दै जाँदा त्यहाँ दिइएका केही शब्दहरू र त्यससँगै जोडिएर आउने स्वीकार्नै पर्ने बाध्यताहरूको विषयमा हो। त्यहाँ, पुरस्कार समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुनुपर्ने कुराको जानकारी गराइएको थियो। आखिर के हो त नेपाली राष्ट्रिय पोशाक? मैले किताबमा पढेको छु, कहिलेकाहीं टीभीमा नेताहरूले लाएको देखेको छु, कसरी लाइन्छ अनभिज्ञ छु, अहिलेसम्म हातले छामेको छैन, आङमा राखेको छैन। दौरा, सुरुवाल र टोपी — त्यही लाउनुपर्ने मैले महेन्द्र विद्याभुषण थाप्न जाँदा। मनमा एकाएक प्रश्न उठ्छ, आँधी नै चल्छ, किन? आफूलाई सहज उत्तर दिन खोज्छु म — किनकि त्यो नेपाली राष्ट्रिय पोशाक हो। नेपाली राष्ट्रिय पोशाक? प्रश्न फेरि उब्जिन्छ — जुन तिमीले कहिले नजिकबाट हेर्नसम्म पाएका छैनौ, कहिले तिम्रा बा-बाजेले लाएनन्, त्यो तिम्रो राष्ट्रिय पोशाक? जुन गीत तिमीले पन्ध्र-सोर‌ह वर्ष पार नगर्दासम्म कहिले सुनेनौ, तिम्रो गाउँघरमा कहिले पनि कसैको मुखबाट सुनिएन, त्यो तिम्रो लोकगीत? त्यो तिमीले आफ्नो लोकगीत भनेर गाइदिनु पर्ने? जुन भाषामा लेखेको चिठ्ठी तिम्री दिदीले बुझ्न सक्तिनन्, जुन भाषामा लेखिएका मालपोत कार्यालय र अदालतको सूचना गाउँभरिका मान्छेहरू पढेर बुझाइदिन भन्न आउँछन्, त्यही तिम्रो एक मात्र राष्ट्रभाषा? आखिर किन त? किन तिम्रो भाषा नेपाली भाषा भएन, खस भाषा नै नेपाली भाषा किन? किन तिम्रा दिदीबहिनीका मुखमा सधैं बसिरहने, तिम्रो गाउँघरमा सधैं सुनिने गीतहरू नेपाली लोकगीत भनेर गाउन पाएनौ? देशको सेवामा तिम्रा पूर्खाले हाड खियाइसकेको त्यही भेषमा किन तिमी आफ्नै देशको राजालाई भेट्न सक्तैनौ? खस टोपी बिना नै तिम्रो योग्यताले किन मान्यता पाउँदैन? किन यो देशले जनै लाउनु परेको छ? के नेपाली भाषा भनेकै खस भाषा, नेपाली संस्कृति भनेकै खस संस्कृति, नेपाली भेष भनेकै खस भेष, नेपाली पर्वहरू भनेकै खसमूलका पर्वहरू मात्र हुन्? के त्यो टोपीमा भएका अनुहारहरू मात्रै नेपाली हुन्? कहिले नसिद्धिने प्रश्नहरूको ताँती लाग्छ।

विद्वानवृन्द, तपाईंहरू राम्ररी जान्नुहुन्छ, नेपाल एउटा राष्ट्र होइन, एउटा बहुजातीय वा बहुराष्ट्रिय राज्य हो। ‘राष्ट्र (nation)’ ल्याटिन शब्द natio (=birth/जन्म) बाट आएको हो र यसले साझा उत्पत्ति र विशेषताहरू भएको जनताको समूहलाई बुझाउँछ। जोसेफ स्टालिनले पनि राष्ट्रको उद्भवको आधार साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन, साझा संस्कृति र साझा मनोवैज्ञानिक संरचनालाई बताएका छन्। यो आधारमा नेपाल अहिलेसम्म पनि एउटा राष्ट्र भएको छैन र हुने सम्भावना पनि देखिएको छैन। वी. पी. कोइरालाले पनि यस यथार्थलाई स्वीकार्दै “सन्डे” पत्रिका (२४ जून १९७१) मा दिएको अन्तर्वार्तामा भनेका छन् — “नेपाल एउटा राष्ट्र बनेको छैन, यो एक प्रशासनिक एकाइ मात्र हो”। त्यसै गरी नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको घोषणा पत्रमा “मल्लवंशको शासनकालमा नेपालमा धेरै सामन्तहरूले शासन गर्थे, १७६९ देखि नै नेपाल राणाहरू र तिनका सामन्ती पिठ्युँहरूद्वारा शासित एक केन्द्रीकृत सामन्ती निरंकुश राज्य बनेको छ” भन्ने उल्लेख गर्दा नेपाललाई राष्ट्रको रुपमा अस्वीकार गरी सामन्ती राज्य भनेर देखाएका छन्। यसरी नेपाल एक राष्ट्र नै नभएपछि एउटै नेपाली भाषा, एउटै नेपाली संस्कृति, एउटै नेपाली धर्म, एउटै नेपाली वेषभूषा हुने कुरै उठ्दैन। नेपालभित्र बोलिने सबै भाषाहरू नेपाली भाषा, सबै वेषभुषाहरू नेपाली राष्ट्रिय पोशाक, सबै संस्कृति नेपाली संस्कृति हुनुपर्ने हो, देशभित्रका सबै धर्महरूलाई समादार गर्नुपर्ने हो। तर कथित एकीकरणदेखि अहिलेसम्म ‘एउटै भाषा एउटै भेष’, ‘एक राष्ट्र एक संस्कृति एक धर्म’लाई थोपर्ने काम गरिंदै आएको छ। खस भाषा भनेकै नेपाली भाषा, खस संस्कृति भनेकै नेपाली संस्कृति, खस कै वेशभूषा नै नेपाली राष्ट्र-पोशाक र शासक वर्गको धर्म नै राष्ट्र धर्म! पृथ्वी नारायण शाहको दिव्योपदेश (?) नै थियो — “नेपाल असिल हिन्दूस्थान हो सबैलाई चेतना भया। कचहरी पिच्चे यक् यक् पंडित राखी शास्त्र बमोजिम अदालत चलाउनु”। जन्मसँगै आधुनिक नेपाललाई त्यसरी जनै लगाइयो, र एक हिन्दू खस भएर नेपाल हुर्कंदै गयो र अझ पनि त्यसरी नै बढ्दै छ। अरु जाति, धर्म र संस्कृतिमाथि अतिक्रमण गर्न प्रशासनिक व्यवस्था, दण्ड कानूनको व्यवस्था पनि त्यही अनुसार गरिँदै आएको छ। जात-पातमा विभाजन गर्ने, उँच-नीच छुट्टयाउने अनेकौ षड्यन्त्रहरू भइरह्यो, सन् १९५४ को मुलुकी ऐनमा समेत हिन्दू दण्डसंहितामा आधारित जातै-पिच्छे अलग अलग सजायको व्यवस्था गरी समाजलाई पूर्ण हिन्दूकरण गर्ने प्रयास गरियो। आज पनि कतिपय बुजुर्गहरूले, नेपालको धार्मिक र जातीय विविधता दर्शाउन पृथ्वी नारायण शाहको वाणी गौरव गर्दै सुनाउँछन् — “नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो”। यो वाक्य आफैंमा वर्ण-जातबाट निर्मित केवल हिन्दूहरूको नेपालतिर इंगित गर्ने गर्छ; एकता होइन, शासकवर्गको वर्ण र जाति अनुसार शासन गर्ने मानसिकता दर्शाउँछ। के नेपालमा ती हिन्दू वर्णजात बाहेकका जनता छैनन्?

आज प्रजातन्त्र दिवसको साँझ यो पत्र लेखिरहँदा मलाई आफ्नो वाल्यावस्थाको सम्झना आइरहेको छ, ती दिनहरू अझै पनि मेरा आँखाअगाडि स्पष्ट झल्झली नाचिरहेका छन्। प्रजातन्त्र दिवसको अवसरमा हामी रंग-विरंगी ध्वजा-पताकाहरू सजाएर लहरै लाइनमा हिँड्‌दै गाउँभरि घुम्नुपर्थ्यो, घाँटी नै सुक्ने गरी जोर-जोरले नारा लाउनुपर्थ्यो — एउटै भाषा एउटै भेष, हाम्रो राजा हाम्रो देश आदि आदि। अर्थको बोध खासै त्यसबेला हामीमा थिएन, हामी नारा लगाएपछि पाइने चकलेटको स्वादसँग बढी परिचित थियौं शायद। त्यही बारम्बारको रटाइ, अन्धसमर्थनको गुञ्जन, र धर्म र आस्थाको तुवाँलोमा हामीलाई हुर्काउने प्रयास गरियो। गाउँको प्राथमिक शिक्षापछि म माध्यमिक स्कूलमा गएँ, त्यहाँ कक्षा शुरु हुनुअगाडि प्रार्थना गराइन्थ्यो — हाम्रो पंडित सरले शिव स्तुति, सरस्वती वन्दना र अन्य एक-दुई थोक गराउनुहुन्थ्यो। मभन्दा तल्लो कक्षामा रमजान मंसूरी र अन्य मूस्लिम साथीहरू पनि थिए, हाम्रो लाइन आसन्न हुन्थ्यो। अहिले म सम्झन्छु, आँखा चिम्लेर उसको जिब्रोले संस्कृतका ती हिन्दू श्लोकहरू उच्चारण गर्दा उसको अन्तरात्मा कति पोलेका होलान्। आज प्रजातन्त्रको पुर्नस्थापनाको एक दशकभन्दा बढी विते पनि स्थिति के फरक छ र? ०४७ सालको संविधानले नेपाललाई हिन्दू राष्ट्र घोषणा गरेकै छ, हिन्दू श्लोकहरू गैर-हिन्दूका जिब्रामा डाम्ने प्रयास भएकै छन्, दिनरात रेडियो-टिभीबाट हिन्दू प्रभुत्व र श्रेष्ठताका कोलाहल फिँजाएर त्यसमा आफ्नो अन्तरात्माको आवाज विलाउन बाध्य भएकै छन् गैर-हिन्दूधर्मीहरू। यो कहाँको धर्म स्वतन्त्रता हो? शासक वर्गले दशैंलाई राष्ट्रपर्वका रुपमा घोषणा गरी आफ्नो चाडपर्व मनाउन कहिले विदा नपाउनेहरूलाई पनि दशैं मनाउन बाध्य बनाइ नै रहेका छन्। आज पनि कर्मचारीहरूलाई दशैं खर्च भनेर दिइन्छ, इद वा लोसार खर्च भनेर होइन। दशैंलाई आर्यहरूले अनार्यमाथिको विजयको प्रतीकका रुपमा मानिने हुँदा अनार्यहरूले यसलाई आफ्नो पतनका दिनका रुपमा, पूर्खाको पराजय र अपमानका दिनका रुपमा लिने गर्छन् तैपनि पूर्खाको पराभवको दिनमा यो चाड मनाउन बाध्य हुन्छन्।

भाषाको सन्दर्भमा पनि त्यसै गरी सन् १९०५ मा प्रधानमन्त्री चन्द्र शमशेरको ‘नेपाली भाषामा लेखिएका बाहेक अरु कुनै पनि भाषाका लिखतहरूको वैधानिक मान्यता नहुने’ घोषणासँगै यस भाषालाई न्यायिक एवं प्रशासकीय क्षेत्रमा अनिवार्य गराइयो। सन् १९५६ मा राष्ट्रिय शिक्षा योजना आयोगले सबै शिक्षालाई ‘नेपाली’ भाषामा लागू गराउने र प्राथमिक स्तरमा पनि ‘नेपाली’ बाहेक अन्य कुनै भाषा पढाउन प्रतिबन्ध लगाई खस प्रभुत्वलाई जिब्रोमा लाद्ने काम गर्यो। एकचोटि राणाहरूको पालामा सिरिथेवे लिम्बुले नेपालमा लिम्बूभाषा र लिपीमा पढाउन खोज्दा राजद्रोहको अभियोगमा आफ्ना अनुयायी सहित सिक्किम निर्वासित हुनु परेको थियो। परिणामस्वरुप, आज आफ्ना भाषा बिर्सन वाध्य भएका छन्, आफ्नै लिपी, आफ्नै पहिचान, आफ्नै संस्कृति गुमाउन विवश छन् गैर-खसभाषीहरू।

जुन खस भाषालाई सबै नेपालीहरूले बुझ्ने भाषाका रुपमा खस-विद्वानहरूले चित्रित गर्छन् त्यो खस भाषालाई रेडियो, टीभी र पत्रपत्रिका मार्फत् जति नै घोटाए तापनि, आफ्नै मातृभाषा बिर्सन बाध्य गराई बाल-जिब्रोदेखि नै जति रटाए तापनि, त्यसको हालत कस्तो छ भने एसएलसी पास गरिसक्दा पनि धेरैले खस भाषा बोल्न जानेका हुँदैनन्, स्नातक भइसक्दा पनि भाषागत समस्याले जहिले पनि प्रतियोगिताहरूमा पछाडि पर्न बाध्य हुन्छन् गैर-खसभाषीहरू।

म आजसम्म पनि आफ्नी दिदीलाई आफ्नै मातृभाषामा पत्र लेख्न असमर्थ छु, मैले त्यसको लागि आफ्नो भाषासँग सम्बन्धित किताब खोजें, तर काठमाडौंभरिमा मैले खासै काम नलाग्ने दुई-तीनवटा किताब बाहेक केही भेटाउन सकिनँ। आजसम्म म आफ्नो भाषाको पत्रिका पढ्न पाएको छैन। मेरो इतिहास खसविद्वानहरूले रचना गरेका शासकवर्गका ती प्रशंसा-पत्र वा दस्तावेजहरूमा पिल्सिएर लोप हुन पुगे झैं, भाषा र संस्कृति पनि आज चरम अवस्थामा निसासिरहेको छ। यस्तै भाषिक अन्तर्विरोधको पृष्टभूमिबाट प्रेरित भएर एकताका विभिन्न राष्ट्रिय भाषाहरूलाई पनि ‘नेपाली’ भाषा सरह सरकारी कामकाजको माध्यम भाषा बनाउनुपर्छ भनेर उपत्यकाभित्र नेपाल भाषा र जनकपुर र राजविराज नगरपालिकाद्वारा मैथिली भाषा प्रयोग गरिने प्रयास गरिदाँ पनि सर्वोच्च अदालतको निर्णयले त्यसको घाँटी रेटिसकेको छ।

एकातिर नेपाल भाषाको FM खोलिँदा शासकवर्गले त्यसलाई साम्प्रदायिक विभाजन ल्याउने खतरा औंल्याउँछन्, भने अर्कोतिर अहिले त ठाउँठाउँमा खसभाषाका FM स्टेशनहरू खोलेर त्यहाँको लोक भाषा र संस्कृतिको घाँटी अठ्याउने काम भइरहेको छ। खस भाषालाई बहुसंख्यकको भाषा मान्ने नै हो भने पनि देशभरिको लागि गरिने प्रसारण खस भाषामा गर्न सकिन्छ, FM त स्थानीय जनताको लागि स्थानीय प्रसारण हो, यो स्थानीय भाषामा नै हुनुपर्छ, यो स्थानीय भाषा र संस्कृतिलाई अभिवृद्धि गर्ने-गराउनेतिर परिलक्षित हुनुपर्छ। त्यसबाट खस भाषा र संस्कृतिको प्रभुत्वलाई प्रसारण गर्नु सांस्कृतिक अधिनायकत्व होइन र? मानौं, अछाम, डोटीमा गएर नेपाल वा राजवंशी वा मैथिली भाषाको FM खोलियो भने त्यसको के अर्थ लगाउन सकिन्छ? आज पूर्वमा खस प्रभुत्व प्रसारण गर्ने FM खोल्नु त्यहाँको राई, तामाङ्ग, लिम्बु, मगर भाषी र तराईका बहुसंख्यक मैथिली/थारू भाषामाथिको प्रत्यक्ष अतिक्रमण होइन र? भाषिक एवं जातीय अन्तर्विरोधका कारण टुक्रेको पाकिस्तान र सन् १९५६ को आधिकारिक भाषा कानूनले निम्त्याएको श्रीलंकाको समस्यालाई हामीले बिर्सनु हुँदैन।

हाम्रो नेपालमा पनि खस जातीय अहंकारवादको विरुद्धमा बेलाबेलामा विद्रोहहरू नभएका होइनन् — २०२० सालमा तौलिहवामा भएको सशस्त्र विद्रोह, वाग्यान्-पर्व, ऋतिक-रोशन काण्ड जस्ता कैयन् काण्डहरू भइराखेकै छन्। आजको नेपालले भोगिरहेको वर्ग-संघर्ष र माओवादी क्रान्ति पनि यसकै उदाहरणका रुपमा लिन सकिन्छ, त्यसको समाधानका लागि वार्ताका अनेकौं प्रसङ्गहरूमा बहस हुने गर्छन्, तर मूलसम्मै पुगेर समस्याको समाधान गर्नेतिर तिनीहरूको ध्यान गएको देखिन्न। धूवाँको मुस्लो र रगतको आलो टाटोलाई बाहिरी आवरणले ढाकेर समस्या समाधान भएको भनेर विश्वस्त हुन खोज्छन्। तर धूवाँको श्रोतसम्मै, समस्याको जरासम्मै पुगेर त्यसलाई निर्क्यौल गर्ने पहल गरिएन भने भोलि त्यहाँबाट भड्किन सक्ने अनियन्त्रित ज्वालाको सम्भावनालाई नकार्न मिल्दैन। त्यसैले समस्याको मूलसम्मै पुगेर खस अन्धराष्ट्रवाद र धार्मिक मनुवादी शोषणको अन्त्य, सांस्कृतिक अधिनायकत्वको उन्मूलन गर्नुका साथै जातीय, भाषिक र धार्मिक समानता ल्याउनुपर्ने आवश्यकता देखिन्छ।

तर आजसम्म पनि शासकवर्गको मनस्थिति परिवर्तनतिर उन्मुख भएको देखिँदैन, आज पनि राष्ट्रिय पोशाकका नाममा सम्भवत: ३१% मात्र खसको परम्परागत पहिरन रहेको दौरा-सुरुवाललाई सबै संस्कृतिमाथि जबरदस्ती लाद्ने काम गरिएको छ। खसहरू आफैंमा समेत पनि अहिले यो लोपावस्थामा छ, पूर्व र मध्य नेपालबाट यो बिलाउनै लागेको छ भने पश्चिम नेपालमा पनि यसको प्रयोग द्रूततर गतिमा घट्दो छ। नयाँ पुष्तामा त झन् यसको प्रयोग बत्ती लिएर खोज्नु पर्ने स्थितिमा छ। यो पोशाक अहिले मन्त्री र सांसद्‌हरूको शरीर छोप्न विवश भएर भ्रष्टाचारको प्रतीकको रुपमा देखिँदै आएको छ। यस्तो निरीह पोशाकको आयु बढाउने प्रयत्न स्वरुप प्रशासन संयन्त्रले यसलाई राष्ट्र-पोशाकका रुपमा लाउनै पर्ने वाध्यता सिर्जना गर्नुले गैर खस संस्कृति र वेषभूषा भएको जनताको मन नखल्बलिएला भन्न सकिन्न। एउटा गुरुङ्ग गुरुङ्ग भेषमै, लिम्बु लिम्बु भेषमै, मैथिल आफ्नै भेषमै, मूस्लिम आफ्नै टोपीमै गौरन्वावित महशूस गर्ने गर्दछन् र उनीहरूको संस्कृति त्यसमै जोडिएको हुन्छ। उनीहरूलाई त्यसमै समादरको अनुभूति हुन्छ र समग्र देशको भलाइ पनि त्यही अनुभूतिसँगै जोडिएको हुन्छ। के अझै पनि यहाँ दाउरा-सुरुवाल र टोपी लाएकालाई मात्र नेपाली भनेर चिनिन्छ? के तिनीहरू मात्रै नेपाली हुन्? के तिनीहरूको संस्कृति मात्र नेपाली संस्कृति हुन्? के खस भाषा बोल्न नजान्ने नेपाली हुन सक्दैनन्? के मेरा साथीहरू रजिया खातुन र रमजान मंसूरीले मौसुफसँग भेट गर्न जाँदा जनै लाउनै पर्ने हुन्छ? के मेरो डिग्रीलाई खस दौरा-सुरुवाल र टोपी नलाइदिएसम्म महेन्द्र विद्याभूषण पाउन योग्य हुँदैन? तर कहिलेसम्म? यो प्रश्नहरूको उत्तरको रुपमा म आउँदो समारोहलाई लिन चाहन्छु, म त्यस उत्तरको पर्खाइमा छु।

यहाँ कुरा व्यक्तिगत नभएर समग्र प्रवृत्ति र देशको नीतिको हो। एकता र सद्‌भावको हो। देशको एकता र सद्‌भावलाई बढाउने हरेक निर्णय मेरो लागि स्वीकार्य हुनेछ। यहाँ खस भाषा, संस्कृति, वेषभूषा र हिन्दू धर्मलाई विरोध गर्न खोजिएको होइन, म तिनीहरूलाई निकै नै सम्मान गर्दछु, खसविद्वानहरूबाट पनि यस अंधराष्ट्रवादलाई हटाउने प्रयास नगरिएको पनि होइन, तिनीहरूको प्रयासका बारेमा लेख्न थाल्ने हो भने पनि लामै हुन आउँछ। तर यहाँ जाति, भाषा, धर्म र संस्कृतिसँग सम्बन्धित अझै पनि विद्यमान थिचोमिचोलाई हटाई सबैलाई समादार दृष्टिकोणले हेर्नु पर्ने अर्थमा यो पत्र लेखिएको हो, र यसलाई त्यसै रुपमा लिनुहुन अनुरोध छ।

अन्त्यमा, आम जनजीवनमा हुर्केको म, यस लेखाइका क्रममा, आवश्यक औपचारिकता, अनुशासन र विनम्रताको अभाव पनि भएको होला, आफूसँग भएको सीमित ज्ञानको दायराभित्र बसेर यी अनुभूतिहरू पोख्दा त्रुटीहरू पनि भएका होलान्, त्यसका लागि म मौसुफसँग, तथा अन्य विद्वानहरू समक्ष क्षमा माग्दछु। सरकार जो हुकुम।

(यो लेख तयार गर्दा गोविन्द न्यौपानेद्वारा लिखित ‘नेपालको जातीय प्रश्न’ लगायतका किताबहरूबाट सन्दर्भ लिइएको थियो।)

परिशिष्ट ग: मधेश आन्दोलनका क्रममा दिइएका सार्वजनिक वक्तव्यहरू

वि. सं. २०६३ माघ १२ गते जारी गरिएको सार्वजनिक वक्तव्य

“First they ignore you, then they laugh at you, then they fight you, then you win.”
– Gandhi

नेपाल सरकार र यसका गठबन्धनका दलहरूद्वारा प्रहरी, सशस्त्र-प्रहरी र आफ्ना लडाकू जत्थाहरूलाई परिचालित गरी नेपालगंज, बिराटनगर, लहान, इनरूवा, जनकपुर, वीरगंज लगायत मधेशका अन्य ठाउँहरूमा सुनियोजित रुपमा मधेशीहरूमाथि गरिएको र गरिँदै आएको आक्रमण, लुटपाट, आगलागी तथा निर्मम हत्याहरू अब गोप्य नभई जनता समक्ष नाङ्गो सत्यको रूपमा उभिएर खड़ा भएको छ। सरकार र यसका गठबन्धनका दलहरूले गरेका कुकृत्य, वीभत्स र क्रूरतम अपराधहरूलाई नेपाल सरकारले कुन हदसम्म ढाकछोप गर्ने प्रयास गरे भन्ने कुरा पनि अब लुकेको छैन। यति हुँदा-हुँदै पनि मानवअधिकार संगठनहरू, गैरसरकारी संस्थाहरू, कूटनीतिज्ञहरू प्राय: चुप लागेर बस्नु आफैंमा पनि आश्चर्यजनक छ। सरकार र यसका गठ़बन्धनका दलहरूद्वारा गरिएको र हाल पनि भइरहेको मानवतालाई नै कलंकित गर्ने खालका यस्ता क्रूर र बर्बर कार्यहरूको हामी घोर भर्त्सना गर्दछौं। यस समयमा सत्यलाई ढाकछोप नगरी वास्तविक समाचारहरू प्रेषण गर्न हामी देशभित्र र बाहिरका संचार-माध्यमहरूसँग अनुरोध पनि गर्दछौं, तथा सरकारद्वारा रचिएको नर-संहारका यी वीभत्स दृष्यहरू प्रति सबै मानवअधिकार संगठन, गैरसरकारी संस्थाहरू र सम्बन्धित सबै निकायहरूको ध्यानाकर्षण पनि गराउन चाहन्छौं।

अन्त्यमा सत्यको नै सदैव विजय हुने हुनाले, सबै मधेशीहरू एक-जुट भई लागेमा मधेशलाई आफ्नो अधिकार र स्वतन्त्रता पाउनबाट कसैले पनि रोक्न नसक्ने कुराको स्मरण पनि गराउन चाहन्छौं। त्यसैले, मधेशका सम्पूर्ण जनताहरू, कार्यकर्ताहरू, पार्टीहरू, नेताहरू र सबै संघ-संस्थाहरूलाई मधेशका लागि अति नै महत्वपूर्ण यस ऐतिहासिक घड़ीमा एक-जुट भएर अगाडि बढ्न र आ-आफ्नो तर्फबाट सक्दो योगदान दिनका लागि अपील गर्दछौं। एक-अर्काका कार्यकर्ताहरूको हत्या गर्दै हिँड्ने विपरित ध्रुवका नेपाली पार्टीहरू आफ्नो अधिकार खोसिँदा एक-जुट भएर संघर्ष गर्न सक्छन् भने, मधेशीकै अधिकारका लागि लडिरहेका हामी विभिन्न पार्टीहरू, नेताहरू, कार्यकर्ताहरू र संघ-संस्थाहरू यस ऐतिहासिक घड़ीमा सबै किन एक-जुट हुन सक्दैनौ? तसर्थ, हामी जुनसुकै पार्टीको भए तापनि, जुनसुकै संघ-संस्थाको भए तापनि, जुनसुकै राजनैतिक विचारधारा राखे तापनि मधेशका लागि अति नै महत्वपूर्ण यस घड़ीमा आफ्नो व्यक्तिगत वा पार्टीगत कुरालाई अहिले केही समय पन्छाई औपचारिक रुपमा नै सबै एक-जुट हुनका लागि सम्बन्धित सबै पार्टीहरू, नेताहरू र संघ-संस्थाहरूसँग अनुरोध गर्दछौं। यसले मधेशी जनतामा रहेको केही असमञ्जस्यताको स्थितिलाई समाप्त पार्ने र एकीकृत नेतृत्वद्वारा आन्दोलन अति नै प्रभावशाली बन्ने तथा यसले मधेशीवर्गलाई आफ्नो अधिकार र लक्ष्य शीघ्र नै प्राप्त हुन मद्दत मिल्ने भन्ने कुरामा हाम्रो प्रबल विश्वास रहेको छ।

मधेशको अधिकार र स्वतन्त्रताका लागि आफ्नो ज्यान बलिदान गर्ने मधेशका वीर सपूतहरू रमेश महतो, बेचन यादव, मोहम्मद मोदाकसिन, प्रमोद सादा र विजय कुमार साहनि लगायत अन्य अज्ञात शहिदहरू प्रति हामी उच्चतम कदर टक्राउँदै हार्दिक श्रद्धान्जलि अर्पण गर्दछौं। हाम्रा वीर मधेशी शहीदहरूले देखाएको वीरता र साहस प्रति हामी गौरवान्वित छौं, र उनीहरूले देखाएको स्वतन्त्र-मधेशको मार्गमा हामी सबै मधेशी एक-जुट भएर लाग्ने बचन दिन्छौं। तथा, उनीहरूले दिएको बलिदानको रगतको एक थोपा पनि खेर जान नदिने र उनीहरूले देखाएको स्वतन्त्र-मधेशको सपनालाई साकार पारी छाड्ने प्रतिवद्धता पनि जाहेर गर्दछौं। मधेशको अधिकार र स्वतन्त्रताका लागि हाल संघर्षरत सम्पूर्ण कार्यकर्ताहरूलाई हामी मुरी-मुरी धन्यवाद दिँदै, मधेशले आफ्नो अधिकार र स्वतन्त्रता प्राप्त नगरेसम्म एक-जुट भएर आन्दोलन जारी राख्न सबैसँग आह्वान गर्दछौं।

अन्त्यमा, गान्धीजीको उपर्युक्त भनाइ झैं नेपाल सरकारले मधेशीहरूलाई पहिले सदियौं नदेखेको जस्तो गरिरहे, पछि हाम्रा माँगहरूको खिल्ली उडाए, अहिले तिनीहरू हामीसँग लड्‌दै छन् तर अन्त्यमा विजय हाम्रो नै हुनेछ, सत्यको नै हुनेछ।

सत्यमेव जयते।

आजाद, केन्द्रिय समिति सदस्य
मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन

वि. सं. २०६३ माघ १७ गते बुधवार जारी गरिएको सार्वजनिक-वक्तव्य

मधेशको अधिकार र स्वतन्त्रताका लागि हाल संघर्षरत मधेशका सम्पूर्ण वीर-सपूतहरू र समस्त मधेशवासीहरू,

सबभन्दा पहिला मधेश र मधेशीहरूको अधिकार र स्वतन्त्रताका लागि आफ्नो ज्यान पनि बलि दिन पछि नपर्ने मधेशका ती वीर-सपूतहरूलाई स्मरण गर्दै र उहाँहरूको बलिदानको कदर गर्दै हामी हार्दिक श्रद्धान्जलि अर्पण गर्न चाहन्छौं। हाम्रा वीर शहीदहरू सदाका लागि अमर रहनेछन् र सम्पूर्ण मधेश उहाँहरूको योगदानको सदैव आभारी रहनेछ। मधेश र मधेशीहरूको अधिकार र स्वतन्त्रताका लागि निर्भय भएर मधेशका विभिन्न ठाउँमा हाल संघर्षरत स्वतन्त्रता-क्रान्तिका तमाम योद्धाहरू समक्ष हामी आफ्नो आदर र एकवद्धताको सलाम टक्र्याउन चाहन्छौं।

आज इतिहासमा पु:न एक पटक मधेश र मधेशीहरूलाई नेपालका शासकवर्गले आफ्नो सुनियोजित षड्यन्त्रमा फसाउँने प्रयास गरेका छन्। देखावटी केही बुँदे सम्झौताका नाममा र त्यसलाई नाटकीय ढंगले के-के न दिए जस्तो प्रस्तुत गरी मधेशीहरूको आवाजलाई दबाउने षड्यन्त्र गरिएको छ। यथार्थमा यो एउटा सम्झौता नभएर मधेशीहरूले एकजुट भई उठाइरहेको आवाजलाई दबाउने एउटा कुचाल मात्र हो। गोली बर्साउँदा‍-बर्साउँदा मधेशीहरूको आवाज दबाउन नसकी थाकिसकेका सरकार र यसका गठबन्धनहरूद्वारा गरिएको यो सम्झौता बोली फ्याँक्ने एक अर्को अदृष्य शस्त्र मात्र हो। आज हामी सबै मधेशीहरू सावधान भई यस षडयन्त्रबाट बच्नु आवश्यक छ। आज हामी सबैले यस बारेमा सोच्नु जरूरी छ, आखिर यस सम्झौताले आम-मधेशीलाई के दिएको छ? मधेशीहरूको कुन समस्यालाई समाधान गरेको छ त? यसले मधेशका केही नेताहरूको समस्या समाधान गर्न सक्ला, तर आम-मधेशीहरूले के पाएको छ त? के परिवर्तन आएको छ त आम-मधेशीका लागि? सांसद्‌मा लड्न नपाएका केही नेताहरू थप केही ठाउँबाट लड्न पाउनेछन्, बढीमा थप केही नेताहरूलाई संसद्‌को आरामदायी सीटमा बसेर निदाउँने अवसर प्राप्त होला, तर त्यसले मधेशीको जीवनमा के परिवर्तन ल्याउने छ त? के अहिले संसद्‌मा मधेशी सांसद्‌हरू छैनन्? अनि किन मधेशीहरूमाथि सरकारले अन्धाधून गोली चलाउँदा तिनीहरूले रोक्न सकेनन् त? किन मधेशीहरूमाथि पहाडीहरू, सरकारका सशस्त्र-प्रहरीहरू र माओवादी जवानहरूले आक्रमण गरी लुटपाट गर्दा तिनीहरूले केही गर्न सकेनन् त?

केही मधेशी नेताहरू अब नयाँ पार्टी नै खोल्न पाइने भइयो, वा सांसद् बनेर भोट बटुल्न पाइने भइयो, वा थप केही सांसद्हरू उठाउन पाइने भयो भनेर सम्झौताबाट तत्काल अहिले खुशी पनि हुन सक्ला, श्रेय बटुल्न हतारिएका तिनीहरू आफ्नो विजय जुलुस पनि निकाल्न सक्ला, तर तिनीहरूको सांसद् बन्ने सपना पनि पूरा हुने भन्ने कुरा संदेहनीय नै छ। यस सम्झौतामा यस्ता शर्तहरू जोडिएका छन् कि सरकार र यसका गठबन्धनहरूले आफ्नो संविधान-सभा चुनावको काम निकाल्न खोजेको प्रष्टै देख्न सकिन्छ, र एक-पटक आफ्नो काम पुरा भएपछि यी सम्झौताहरूलाई पनि धोती लाउन के बेर?

र, कसै-कसैले त मधेशीलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाइदिनाले मधेशीहरूको समस्या समाधान हुने जस्ता हास्यास्पद कुराहरू पनि प्रस्तावित गर्छन्। त्यसले पनि कुनै एक मधेशी नेताको सपना पूरा होला, तर आम-मधेशीहरूको जीवनमा त्यसले कुनै परिवर्तन ल्याउने छैन। डिजेल र पेट्रोलको भाउमा एक रूपैयाँ बढाउँदा त व्यापक विरोध र दंगा हूने देशमा मधेशी प्रधानमन्त्री वा राष्ट्रपतिले मधेशीको लागि के निर्णय गर्न सक्ला त? सिटौला वा प्रचण्डलाई कारबाही गर्न सक्ला? मधेशी मन्त्रीहरूलाई एउटा प्यूनले समेत नटेर्ने र गाली दिने ठाउँमा, मधेशीको लगभग शून्य समावेशी रहेको नेपाल सैनिकले मधेशी प्रधानमन्त्रीलाई टेर्ला त? कुन चाहिं निर्णय लिन सक्ला त मधेशी प्रधानमन्त्रीले? याद रहोस् यसभन्दा अगाडि एउटा मधेशी उपप्रधानमन्त्रीले “गिरिजालाई कारबाही गर्ने” भन्दा गिरिजा प्रसाद कोइरालाले उक्त मधेशीलाई “आफ्नो हैसियत भित्र बसेर कुरा गर्ने” चेतावनी दिएका थिए, र यही मानसिकता शासक वर्गका प्यूनदेखि प्रधानमन्त्रीसम्म सबैमा लागू हुन्छ र यो कुरा तपाईंहरूले एउटा मधेशी अधिकारीका रूपमा दैनिक आफ्नै कार्यालयमा पनि अनुभव गर्न सक्नुहुन्छ। त्यही भएर कसैले एउटा मधेशीको प्रधानमन्त्री वा राष्ट्रपति बन्नाले मधेशीको समस्याको निवारण हूने दिवा-स्वप्न देख्दछ भने, उहाँहरूलाई त्यस स्वप्नबाट शीध्र नै ब्यूँझी मधेशी-सैनिक सहितको स्वतन्त्र मधेश बनाउने तर्फ अग्रसर हुनका लागि हामी सचेत गराउँदछौं।

र, मानौं सरकारले अहिले भने झैं संघीय-राज्य प्रणाली र निवार्चन क्षेत्रको पुनर्निधारणका कुराहरू लागू गरे तापनि यसले हामीद्वारा पूर्व उठाइएका मधेश र मधेशीहरूको कुन मूलभूत समस्याहरूको समाधान गर्दछ त? के यसले सम्पूर्ण मधेशलाई अखण्ड राखी एउटै राज्य हुने ग्यारेन्टी गर्दछ? के यसले मधेशीहरूको जमीन पुन: नखोसिने र पहाडीहरूलाई मधेशमा नबसाइने कुराको ग्यारेन्टी गर्दछ? स्मरण रहोस्, बाबुराम भट्टराई अहिले नै मधेशको जग्गा हदबन्दी गरेर पहाडीहरूलाई दिने योजना बनाइसकेको छ, विभिन्न अन्तर्वार्ताहरूमा हेर्नुस्। के यसले मधेशका सम्पूर्ण प्रशासकहरू मधेशी नै हुने कुराको ग्यारेन्टी गर्दछ? होइन भने, पछि पनि ती पहाडी अधिकारीहरूद्वारा यस्तै नै कर्फ्यू लगाई मधेशीमाथि आक्रमण गरिराखिनेछ, पहाडी शासकहरूद्वारा यसरी नै शोसन जारी नै रहनेछ। के यसले ऋतिक रोशन कांड र नेपालगंज घटना जस्ता सुनियोजित क्रियाकलापहरू गराई मधेशीहरूमाथि फेरि पनि लुटपाट र आक्रमण नहुने कुराको ग्यारेन्टी गर्छ? के यसले मधेशका काम-काज र जागिरका पदहरू मधेशीहरूलाई नै मिल्ने कुराको ग्यारेन्टी गर्छ? के यसले मधेशको सम्पूर्ण आय र दाता राष्ट्रहरूबाट प्राप्त अनुदानहरूको समुचित भाग मधेशमा लगानी हूने कुराको ग्यारेन्टी गर्छ? कि मधेशलाई खाली विश्वबैंक र ADB को ऋण मात्रै बोकाइने छ? के यसले देशभित्र र बाहिर रहेको मधेशीको पहिचानको समस्यालाई समाधान गर्छ? के यसले मधेशबाट पहाडी सैनिक अड्डाहरू हटाएर पूर्ण मधेशी सैनिक बनाउने कुराको ग्यारेन्टी गर्छ? होइन भने जतिबेला पनि ती सैनिकहरू परिचालन गरेर केन्द्रिय सरकारले जे पनि गर्न सक्छ, जे संविधान पनि लागू गर्न सक्छ, जे नियम पनि बनाउन सक्छ। केन्द्रिय सरकारले आपत्कालीन स्थितिको घोषणा गरी मधेशीहरूको सम्पूर्ण अधिकार मिनटभरिमै निलम्बन गर्न सक्छ। के यसलाई हामीले उपलब्धि ठान्ने? यसलाई हामीले सम्पूर्ण मधेशीहरूले दिएको बलिदान र संघर्षको मूल्य ठान्ने?

आज संयुक्त राष्ट्र-संघ लगायत सारा विश्वको ध्यान नेपालतिर रहँदा त नेपाल सरकार र नेताहरूले मधेशीविरुद्ध यसरी ज्यादती गर्न सक्छन्, आफ्नै प्रशासन र पुलिसद्वारा लुटपाट गराउन सक्छन्, सशस्त्र प्रहरी परिचालन गरी मधेशीहरूको नर-संहार गर्न सक्छन् भने भोलि विश्वको ध्यान पनि नेपालतिर नरहँदा मधेशीहरूमाथि कुन हदसम्मको आक्रमण गराउने होला? कसैको जन-निर्वाचित बहुमत सरकार नरहँदाको आजको संक्रमणकालीन् स्थितिमा यिनीहरूले यसरी ज्यादती गर्न सक्छन् भने भोलि यिनीहरूको बहुमतको सरकार बन्यो भने मधेशीहरूविरूद्ध के-के निर्णय गर्ने होला? अहिले यिनीहरूले आफूलाई तानाशाहको शक्ति प्रदान गर्ने संविधान बनाई लागू गर्न सक्छन् भने भोलि यिनीहरूबाट कस्तो कानून र राज्यको अपेक्षा गर्न सकिन्छ त? त्यसमाथि १३००० मान्छेहरूको निर्मम हत्या गरेका हिजोसम्मका माओबादी आतंककारीहरू सबै अब नेपाली सेना हुने कुरा छ, यी हत्यारा सत्ताधारी र सैनिकहरूमाथि कुन आधारमाथि विश्वास गर्न सकिन्छ? अहिलेको स्थितिमा त प्रचण्ड, बाबुराम र अन्यनेताहरूले शान्तिप्रिय मधेशीहरूलाई आतंककारीको दर्जा दिँदै कुनै पनि वार्ता गर्नबाट साफ अस्वीकार गरी मधेशीविरूद्ध सैनिक परिचालन गर्ने कुरा सोच्छन् भने भोलि यिनीहरू सत्तामा भएको बेला के मात्र गर्न छोड्ला र?

त्यसैले, हामी सबै मधेशीहरू अहिलेका सत्ताधारी नेताहरूले आफ्नो काम निकाल्न गरेको यस घोर षड्यन्त्रबाट बची मधेशलाई स्वतन्त्र घोषित नगरेसम्म आफ्नो संघर्षलाई जारी राख्ने प्रतिबद्धताका साथ अगाडि बढौं। यसका लागि मधेशका सम्पूर्ण जनताहरू, पार्टीहरू, नेताहरू, कार्यकर्ताहरू र संघ-संस्थाहरू सबै एक जुट भई लागौं। हाम्रा पूर्वजहरू दासताविरुद्ध लडेनन्, दासतालाई स्वीकार गरे, जसको सजाइ हामीहरूले भोग्यौं र भोग्दैछौं; एउटा दास भएर, दोश्रो-दर्जाको नागरिक भएर आफ्नै भूमिमा लाखौं अपमान र हेपाइसहितको गरिमारहित जिन्दगी विताइरह्यौं। तर के हामी आफ्ना भावी सन्ततिलाई, आफ्ना बच्चाहरूलाई पनि त्यही घृणामय जिन्दगी दिन चाहौंला? आफ्ना बालबालिकाहरूको भविष्यलाई पनि त्यही पहाडी शासकवर्गका हातमा दिई तिनीहरूलाई अनेकौं ठक्कर खानका लागि छोड्न चाहौंला? आफ्ना बालबालिकाहरूको भविष्यलाई त्यही भेदभावपूर्ण अन्धकारमा धकेल्न चाहौंला? होइन भने, आज हामी सबै एकजुट भएर मधेशलाई स्वतन्त्र घोषणा नगरेसम्म आफ्नो आन्दोलन जारी राखौं।

हाम्रो सहपाठी मित्रले पहिला पनि भने झैं कसले कहाँ के वार्ता गर्यो र कुन नेताले के पायो भन्ने कुरातिर नलागी अब हामी आफैंलाई सोधौं, ‘के हामी स्वतन्त्र भइसक्यौं? के मधेश स्वतन्त्र भइसक्यो?’। र, यसको जवाफ ‘अँ’ भनेर सकारात्मक नआएसम्म हामी संघर्ष गर्दै जाऔं, आफ्नो अधिकार र स्वतन्त्रताका लागि लड्‌दै जाऔं। मधेशलाई २३८ वर्षको दासताबाट उन्मुक्त हुन अब कसैले रोक्न सक्ने छैन, मधेश र मधेशीहरूलाई स्वतन्त्र हुनबाट अब कसैले रोक्न सक्ने छैन।

जय मधेश!

आजाद, केन्द्रिय समिति सदस्य
मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन

वि. सं. २०६३ फाल्गुण ७ गते सोमबार जारी गरिएको सार्वजनिक-वक्तव्य

वार्ताका लागि उपयुक्त वातावरण बनाउन भनी रोकिएको मधेश आन्दोलनपछाडि बितेका यी दश दिनहरूमा नेपाल सरकार र यसका गठबन्धनहरूले देखाएको असंवेदनशीलता र लापरबाहीले सरकार र यसका गठबन्धनहरू मधेशीको कुनै पनि माँग प्रति गम्भीर नरहेको कुरा पु:न एकपटक पुष्टि गरेको छ। प्रधानमन्त्रीद्वारा जारी गरिएका सम्बोधनहरू र देखावटी संविधान संशोधन मधेशीहरूलाई अल्झाइराख्ने र मधेशीहरूको आवाज दबाउने एउटा षड्यन्त्र बाहेक केही नभएको कुरा यसले छर्लङ्ग पार्दछ। मधेशका वीर शहीदका रगतका टाटाहरू सडकमा सुक्न नपाउँदा-नपाउँदै, लाखौं-लाख मधेशीहरूद्वारा मधेशका गाउँ-गाँउ र शहरहरूमा गुञ्जाइएका ती आवाजका प्रतिध्वनिहरू साम्य हुन नपाउँदै मधेशीहरूको आन्दोलन र न्यायपूर्ण माँगहरू सरकार, यसका संयन्त्रहरू र संचार माध्यमहरूबाट ओझेल हुन पुगेका छन्। मधेशी आन्दोलनलाई रोक्न बन्दुकको भरमा गोली बर्साएर तीस जनाभन्दा बढीको ज्यान लिने र सयौं मधेशीहरूलाई गोलीले घायल बनाएका नर-संहारक हत्याराहरूलाई सरकारले अविलम्ब कडा-कारबाही गर्नु पर्नेमा सरकार र यसका गठबन्धनहरू हालसम्म उत्तरदायित्व लिन समेतबाट पन्छिँदै आई यस बारेमा कुरा गर्न पनि पन्छिँदै आएको छ। मधेशमा आन्दोलनरत समूहहरूसँग वार्ताका लागि हालसम्म पनि कुनै पनि पहल नगर्नुले सरकारको वार्ता प्रस्ताव अन्तर्राष्ट्रिय जगत र अन्य मानवअधिकारवादी संस्थाहरूको आँखामा धूलो छर्ने र मधेशीहरूको आन्दोलन दबाउने कुचाल मात्र रहेको भन्ने कुरा अझ प्रष्ट पार्दछ।

शासन-संयन्त्र निर्माणारत यस घडीमा यदि मधेशीहरूले तीन-हप्तासम्म अबिरल आफ्नो ज्यानसम्मको परवाह नगरी एक जुट भई उठाएका माँगहरू प्रति सरकार र यसका गठबन्धनहरू संवेदनशील हुन सक्दैनन्, र उल्टो आफ्ना सशस्त्र-प्रहरी र सैनिकहरू परिचालन गरी मधेशीका माँगहरूलाई शासकवर्गले आफ्नो पैताला मुनि सदाका लागि कुल्चन चाहन्छन् भने त्यस देश, सरकार र संयन्त्रसँग मधेशीहरूले फेरि‍-फेरि भिखारी बनेर आफ्नो हात फैलाउनु र सरकारका सैनिकहरूको गोली खाइराख्नुको के औचित्य छ र?

कसैको पनि बहुमतको सरकार नभएको र माओवादीहरू पूर्णसत्तामा नभएको बेला आजको यस घडीमा जब सरकारले सैनिक परिचालन गरी मधेशीहरूको आवाजलाई सदाका लागि दबाइदिन चाहन्छन् भने, भोलि पनि मधेशीहरू यसै संयन्त्रभित्र रहेमा दास बन्नु बाहेक अरु के विकल्प हुन आउँछ र? आज प्रचण्ड सत्तामा नभएको बेला आफ्नो जनसेना लगाएर मधेशीको नरसंहार गराउन चाहन्छ भने भोलि ऊ राष्ट्रप्रमुख भएको बेला, उसले मधेशीहरूको नर-संहार गर्ने सरकारी लाइसेन्स प्राप्त गरेको बेला, उसका चालीस हजार जनसेनाहरू सरकारी अत्याधुनिक हतियारले सुसज्जित रहेको वेला मधेशीहरूसँग मर्नु वा दास बन्नु बाहेक अरु के नै विकल्प बाँकी रहन्छ र? र यो कुनै अनुमान वा अड्कल होइन, यथार्थ हो; सम्पूर्ण मधेशीहरू एक जुट भई आफ्नो जायज माँग राख्दा प्रचण्डले मधेशीहरूलाई आतंककारीको दर्जा दिदैं सैनिक र जनसेना परिचालन गर्ने भनेकै हो, उसका चालीस हजार जनसेनाहरू सरकारी सेना हुने नै भएको छ, ढिलो-चाँडो माओवादीहरू सत्ता पनि कब्जा गर्ने नै छन्, र मधेशीहरूको जमीन खोस्ने र पहाडीहरूलाई मधेशमा सर्वेसर्वा बनाउने जस्ता नीतिहरू पनि उसले सार्वजनिक गर्दै नै आएको छ। यदि आजको तुलनात्मक-सहज परिस्थितिमा यदि मधेशीहरूले आफ्ना जायज माँग राख्दा सयौं गोली खानुपर्छ, आफ्नै घरमा पनि सशस्त्र प्रहरी र पहाडीहरूद्वारा आक्रमण खप्नु परेको छ, आफ्नै घर-जमीन छोडेर हजारौं मधेशीहरू अहिले नै शरणार्थी बन्न बाध्य हुनु परेको छ भने माओवादी वा अन्य पहाडी शासकहरूको सशक्त सत्ता भएको बेलामा मधेशीहरूको जमीन हड्पेर उनीहरूलाई शरणार्थी बनाउन बाध्य गराइयो भने मधेशीहरूले कसरी आफूलाई प्रतिरक्षा गर्न सक्ला त?

र, कसैले नयाँ राजनैतिक परिवेशमा चुनावद्वारा मधेशीको भाग्य फेर्ने स्वप्न देख्छ भने, उहाँहरूलाई पनि चाँडै नै उक्त दिवा-स्वप्नबाट ब्यूँझन आग्रह गर्दछु। नयाँ राजनैतिक परिवेशमा मधेशलाई कैयौं टुक्रामा विभाजित गरिने कुरा लगभग सुनिश्चित छ। सत्ताका गोली खाएर दर्जनौं मधेशीहरू मरिरहेका बेलामा त एकत्र हुन नसकेका मधेशका पार्टीहरू र नेताहरू राज्यसत्ताको अंशवंडाका वेलामा एक हुने कुरा सोच्नु व्यर्थ छ। यसरी नयाँ राजनैतिक परिवेशमा भौगोलिक र राजनैतिक रुपमा पनि छिन्न-भिन्न मधेशीहरू अहिलेको भन्दा पनि अप्रभावकारी स्थितिमा पुग्ने कुरा प्रष्ट देख्न सकिन्छ, र अहिलेको जस्तै पहाडी शासकहरूको चाकडी गरी आफ्नो लागि एक-दुईवटा मन्त्रीको कुर्सी हत्याउने बाहेक मधेशका नेताहरूले मधेशीका लागि केही गर्न सक्ने कुरामा आशावादी हुनु व्यर्थ छ। नयाँ राजनैतिक परिवेशमा प्रवेश गरेको २-३ वर्ष भित्रमा नै मधेशीहरूले नयाँ राज्य-संयन्त्र उनीहरूको कुनै पनि समस्या समाधान गर्न र उनीहरूको लागि कुनै पनि आमूल परिवर्तन ल्याउन कति असक्षम छ भने कुरा अनुभव गर्न सक्नेछन् र राज्य-संयन्त्रबाट शीध्र नै आजित हुनेछन्, र त्यतिबेला कुर्सीका लागी हतारिएका यी मधेशी नेताहरू र पार्टीहरूले मधेशीहरूको तिरस्कार भोग्नु बाहेक के नै बाँकी रहला र? त्यसैले मधेशका विभिन्न पार्टीहरू र नेताहरूलाई मधेशीहरूको आन्दोलनलाई सीट र कुर्सी हत्याउने साधनको रुपमा प्रयोग नगरी सबै मधेशीले आफ्नो अधिकार र स्वतन्त्रता पाउने सही दिशातिर नेतृत्व दिनका लागि प्रयत्न गर्न पनि अनुरोध गर्दछौं। मधेशीहरूले कुनै विजय पाएको छैन, केही थप सीटहरूमा आफ्नो उम्मेदबार उठाउन पाइयो भन्दैमा त्यसलाई झुठो रुपमा मधेशीको विजय भनेर चित्रित गरी आम मधेशीलाई भ्रममा पार्नु र मधेशीको बलिदान र संघर्षसँग खेलबाड़ गर्नु आफैंलाई आत्मघाती स